कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
328

सैद्धान्तिक धरातलमा हेर्ने हो भने ब्याज र ब्याजदरजस्ता बैंकिङ अभ्यास पुँजीवादकै एउटा रणनीति वा अभ्यास हो र यो पुँजीवादसँगै मौलाएको छ ।

वित्तीय संस्थाहरूले व्यक्ति तथा व्यावसायिक समूहहरूसँग करार गर्ने ब्याज र ब्याजदरको अभ्यास झट्ट हेर्दा सम्पूर्ण रूपले प्राविधकजस्तो लागे पनि यसको सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण र झन् सान्दर्भिक हुन आउँछ । साहू–महाजनकहाँ गई ब्याजमाा पैसा लिएर गर्जो फुकाउने हाम्रो नेपाली परम्पराले वि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको स्थापनासँगै संस्थागत रूप हासिल गरेको इतिहास सर्वविदितै छ । स्थापनाकालमा सो बैंकको मुख्य काम भनेकै धितोमा निक्षेप स्वीकार गरी ब्याजमा कर्जा प्रवाह गर्ने थियो । त्यसपछि क्रमशः थुप्रै बैंक स्थापना हुँदै गए । कर्जा केवल उद्यम र व्यापारका लागि मात्र नभई घर, परिवहन, शिक्षा आदिजस्ता विविध शीर्षकमा पनि प्रवाह हुन थाल्यो । छातीमा हात राखेर भन्नुपर्दा बैंकका यी क्रियाकलापले उनीहरूको व्यवसाय दिन दुई गुना रात चौगुना बन्दै गयो, तर यता देशको अर्थतन्त्र र उत्पादकत्वको स्थिति भने झन्–झन् नाजुक बन्दै गएको कुरामा दुईमत छैन ।
परिणामस्वरूप केही वर्षअगाडि तत्काीलन गभर्नर युवराज खतिवडाको टिमले एउटा नमीठो निर्णय गर्नुप-यो । त्यो भनेको घर कर्जा शीर्षकमा प्रवाह गरिने रकमको प्रतिशतमा एक–एक कटौती । साँच्चै भन्नुपर्दा त्यो बेला नेपाल राष्ट्र बैंकले नेपाली अर्थतन्त्रलाई एउटा डरलाग्दो दुर्घटनाबाट बचाएकै हो, भलै केही रियलस्टेट व्यवसायीहरूको स्थिति भने यता नाजुक नै बन्न पूग्यो ।

कर्जा लिने र दिने दुवै पक्ष इमानदार देखिएनन् । उद्यम नगर्ने, कुनै प्रकारको जोखिम नमोल्ने र आनन्दले बसी–बसी खान खोज्नेहरूका लागि सबैभन्दा उत्तम उपाय भनेकै निक्षेप हो । यता बैंकको क्रियाकलाप यस्तो रह्यो कि आफू सबैतिरबाट सुरक्षित बन्ने, धितोलाई चार खण्डको एक खण्ड मूल्यांकन गर्ने र सेवाशुल्कलगायत यस्तै अन्य विविध शुल्क लगाएर अति चर्को ब्याजदरमा कर्जा प्रवाह गर्ने आदि । अर्कातिर व्यापार र व्यवसाय प्रवद्र्धनभन्दा पनि बैंकको पैसामा अनेक प्रकारका चलखेल गरी व्यवसायलाई केवल देखाउने माध्यम बनाउने कथित उद्यमीको बाहुल्यता रह्यो । यस्तो अवस्थामा निश्चय नै ब्याज लिने र दिने प्रणालीमाथि नै सैद्घान्तिक प्रश्न उठ्न सक्छ र भन्न मन लाग्छ, कतै ब्याज खाने र तिर्ने प्रचलन नै गलत पो छ कि खासगरी देश र जनताको हितमा भनेर । वर्तमान परिपे्रक्ष्यमा नेपाली अर्थतन्त्रको कुरा गर्ने हो भने पनि प्रस्ट हुन्छ, उद्यम र व्यापार दिनानुदिन खस्किँदो छ, तर च्याउ उम्रिएजस्ता वित्तीय कम्पनीहरूको कागजी नाफाले जो–कोही जनता सोच्न बाध्य भएका छन् कि यी वित्तीय कम्पनीहरू राष्ट्रको विकासमा कत्तिको सहभागी भएका छन् भनेर ।
फेरि ब्याज लिने र दिने परम्परामा इतिहासदेखि निकै बहस र पैरवी नभएका पनि होइनन्, तर नेपालमा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ब्याजदर विश्वमै उच्च दरको छ । तैपनि कर्जा लिन बाध्य छन् नेपालीहरू, तर ब्याज खानु सिद्घान्ततः कति उचित हुन्छ भनेर प्रश्न गर्नुअगाडि विश्व इतिहासलाई नियाल्नुपर्ने हुन आउँछ ।
त्यसो त कर्जाबिना जीवन, उद्यम, व्यवसाय ठप्प हुन्छ भनेरै होला । कर्जाको इतिहास खोज्न इसापूर्व ५०० वर्षभन्दा अगाडि पुग्नुपर्ने हुन आउँछ । इस्वीको २५०० देखि ५०० वर्ष अगाडिसम्म हेब्रुले शासन गरे । पास्चोरल युगसँगसँगै जब उनीहरूले तुलनात्मक रूपमा स्थायी बसोबास र जीवनशैलीलाई अँगाले, त्यसपछि नै सुरु हुन्छ मानवको सामाजिक क्रियाकलाप । यसैमध्येको आर्थिक पक्ष जीवनको अभिन्न अंग बनेर आयो भन्ने कुरा अहिलेसम्मको प्रामाणिक इतिहास मानिन्छ । भलै कि हिन्दूकुश क्षेत्रमा मौलाएको वैदिक संस्कृति त्यसभन्दा पनि पुरानो छ भनेर दाबी गर्नेहरूको जमात पनि कम छैन । त्यसो त विक्रमाब्दको प्रारम्भ नै इस्वीभन्दा ५७ वर्षअगाडि छ, त्यसैले इतिहासको फेरो समाउन तंगी लागेका प्रमाणहरू अटाइ–नअटाइ छन् । हामीले पश्चिमाहरूको संस्कार र संस्कृतिलाई अथ्र्याउने प्रस्थान बिन्दु भनेको चाहिँ माथि भनिएजस्तै इसापूर्व २५०० देखि ५०० वर्षसम्मको हेब्रुको समय हो । त्यसैले मानिसको सामाजिक क्रियाकलापको व्याख्या गर्दा त्यतैतिरबाट यात्रा सुरु गर्नुपर्छ अर्को प्रामाणिक इतिहास नभेटेसम्म ।
समाजलाई सुन्दर, समुचित, सभ्य र सुसंस्कृत बनाउन इतिहासदेखि मानिस लागिपरेको छ । वास्तवमा भन्नुपर्दा शोषणरहित समाज र न्यायोचित वितरण प्रायः सबै खाले समाजको साध्य हो । हेबु्रले पनि यसैका लागि भगिरथ प्रयास गरे र खास गरी उत्पादनमा न्यायोचित वितरण र सामाजिक अनि आर्थिक नीतिका लागि तिनको आफ्नै योजना कार्यक्रम र लक्ष्य थियो । त्यो समाजमा पनि हुने र नहुनेबीचको खाडल देखा प-यो, आजको हामीले जति नै समानता र साम्यवादको विचार अगाडि सारे पनि यो असमानता भइ नै हाल्दो रहेछ । खासगरी मानव समाजमा । त्यो असमानतालाई कसरी सही व्यवस्थापन गर्ने भन्नेचाहिँ मुख्य कुरा हुन आउँछ । हिब्रु समाजमा कर्जा लिने–दिने काम हुन्थ्यो, तर उद्योग–व्यवसायका लागिभन्दा पनि खानैका लागि । हुनेले नहुनेलाई बिनाब्याज कर्जा उपलब्ध गराउनुपर्ने, ६ वर्षभित्रमा कर्जा चुक्ता गरिसक्नुपर्ने र केही गरी सातौं वर्ष लाग्यो भने कर्जा मिन्हा गरिदिनुपर्ने । यस्तो विधानले के इंगित गर्छ भने कर्जा भनेको दिने मान्छेका लागि केवल सम्पत्तिको सुरक्षण मात्र हो, त्यसबाट अरू सम्पत्ति बनाउने वा वृद्घि गर्ने कुरा भएन र पाउने मानिसका लागि भन ेगर्जो टार्ने उपाय । त्यसकारण मूलधन सुरक्षित रूपले फिर्ता गर्नुपर्ने तर ब्याजको ‘ब’ पनि उनीहरूको अभ्यासमा थिएन । तिनीहरूले अभ्यास गर्ने मोजाइक कानुनले त ब्याजलाई निषेध नै गरेको थियो, तर धितोचाहिँ लिने गर्थे ।
यता ग्रिकको समयमा जुन इसापूर्व ५०० देखि यता मानिन्छ । प्लेटोले राज्यको आवश्यकता नै अर्थशास्त्रसँग लगेर जोडेका छन् । मानिसको संख्या वृद्धिसँगै त्यो पनि विशेष गरी सहरमा नागरिकका आवश्यकताहरू बढ्दै गए र तिनको परिपूर्तिका लागि आर्थिक संस्थाहरू जन्म्ाँदै गए । संस्थाको अर्थ यहाँ सांगठनिक निकाय नभई सामाजिक अभ्यासको अर्थमा लक्षणिक छन् । त्यसैले कर्जा, धितो, ब्याज र ब्याजदर ग्रिकको पनि अभ्यस्थ संस्था हुन पुग्यो, किनकि कर्जा मानवीय जीवनको अभिन्न अंग भएको कुरा ग्रिक सभ्यताले पनि नकार्न सकेन । त्यसैले अरस्तूको समयसम्म आइपुग्दा उनले न त कर्जालाई नकार्न सके, न त मुद्राको भूमिकालाई, तर ब्याजका सन्दर्भमा भने उनको मत पनि हिब्रुकै छेउछाउ रह्यो र ब्याज लिनु–दिनु दुवै गलत हो भन्ने उनको ठम्याइ रह्यो । मुद्राको भूमिकालाई अत्यन्तै उच्च मूल्यांकन गर्ने एरिस्टोटलका लागि मुद्राका तीनवटा काम भनेको वस्तु विनिमयको माध्यम, वस्तुको मूल्य मापन र मूल्यको भण्डारण हुन् । यीबाहेक मुद्राको अर्को काम हुन सक्दैन । खास गरी उनको विमति भनेको मुद्रा अर्को सम्पत्ति बनाउनका लागि होइन । अझ प्रस्ट रूपमा भन्दा मुद्रा दिएर ब्याज लिने कामले मुद्राको सिद्धान्तमा नै प्रश्न उठाउन पुग्छ ।
एरिस्टोटल भन्छन्, ब्याज सबैभन्दा घृणित कर्म हो र यसले पैसाको प्राकृतिक सिद्धान्तमाथि नै आक्रमण गर्छ । पैसा र मुद्रालाई ब्याज खाने परम्पराले यसको प्राकृतिक रूपमा रहन दिँदैन र सम्पत्ति आर्जन गर्ने सबैभन्दा अप्राकृतिक शैली नै ब्याज हो भन्ने एरिस्टोटलको तर्क हो । जब रोमन साम्राज्यको उदय भयो इसाको सुरुवातसँगै तिनको सबैभन्दा ठूलो योगदान भनेकै कानुन हो । हरेक क्रियाकलापमा न्याय खोज्ने परम्पराले रोमनलाई धेरै अगाडि ल्यायो, जस्तो कि उनीहरूले प्रयोग गर्ने जस भन्ने शब्द जेमा पनि जोडिन थाल्यो र ब्याज र पैसाको सन्दर्भमा पनि जस भन्ने शब्दको भरपुर प्रयोग र व्याख्या हुन पुग्यो । उनीहरूले चाहिँ ब्याजलाई स्विकारेको पाइन्छ, तर न्यायोचित दरमा मात्र । जस्तो कि उनीहरूले ब्याजदरलाई लगानीको जोखिमसँग लगेर जोडे र जति जोखिम बढी हुन्छ त्यति नै दरमा ब्याज निखन्न पाउने एउटा न्यायोचित तर्क अगाडि सारे । प्रशिद्ध अर्थशास्त्री एस.के. श्रीवास्तव आफ्नो पुस्तकमा लेख्छन्— रोममा निकै कम त्योभन्दा पनि लगानीको जोखिम हेरी ४ देखि ८ प्रतिशतसम्म ब्याज लिने गर्थे भने त्यसअन्तर्गत अन्य राज्यहरूमा १० गुणासम्म पनि ब्याज लिएको पाइन्छ । यसले के कुरा प्रमाणित गर्छ भने दूरदराज र शासकको दृष्टि ओझेल पर्दा ब्याजको नाममा मनपरी गरेर निर्धालाई शोषण गर्ने अभ्यास त्यतिबेला पनि रहेछ ।
सैद्धान्तिक धरातलमा हेर्ने हो भने ब्याज र ब्याजदरजस्ता बैंकिङ अभ्यास पुँजीवादकै एउटा रणनीति वा अभ्यास हो र यो पुँजीवादसँगै मौलाएको छ । संसारमा पुँजीवादको सुरुवातको कुरा गर्दा कसैले पन्ध्रौं शताब्दी भने त कसैले अठारौं शताब्दीको मध्य तर पुँजीवादलाई यसको अकाट्य चरित्रका आधारमा व्याख्या गर्ने हो भने यसको सुरुवात इशापूर्वबाट सुरु भएको हुनुपर्छ । जब मानिसहरू घुमन्ते युगबाट एउटा निश्चित स्थानमा बसोबास गर्न थाले, सबैभन्दा पहिले तिनीहरूले जानेको कुरा भनेकै जम्मा गर्ने ।
जब यो संकलनको संस्कार मानव जातिले सुरु ग-यो तबदेखि नै पुँजीवादको रफ्तार संसारमा संसारमा सुरु भयो । यो रफ्तार कहिल्यै रोकिएन भन्ने हाम्रो मान्यता हो र यसको अन्त्य हुनेवाला पनि छैन । पुँजीवादको अन्त्य हुनु भनेको मानव सभ्यताकै अन्त्य हुनु हो । किनभने मनोविज्ञानको पाटोलाई समातेर होलिस्टिक एप्रोचमा समाजको विश्लेषण गर्ने हो भने पुँजीवाद र मानवजाति यस्ता अविभाज्य सामाजिक यथार्थ हुन् कि जसलाई छुट्ट्याएर व्याख्या गर्न किमार्थ सकिंदैन । त्यसर्थ ब्याज र ब्याजदर पनि मानव जाति र पुँजीवादसँग टाँसिएरै आएको आर्थिक पक्ष हो र यो सबै सामाजिक धरातलमा उभिएको हुन्छ । फरक यत्ति हो, यसलाई हामी विशुद्व प्राविधिक शोच र शैलीमा व्याख्या गर्छौं ।
त्यसको लगत्तै देखा परेको मर्कन्टालिज्म पनि केही विशिष्ट चरित्र लिएर आयो । जतिसक्दो व्यापार बढाउने उनीहरूको ध्याउन्न थियो । उनीहरूले निर्यातमा जोड दिए र राज्यलाई सुन र चाँदीले भरिपूर्ण बनाउनुपर्छ भन्ने उनीहरूको मान्यता थियो भने अर्कातिर मुद्राको मान जति धेरै यसको विनिमय भयो त्यति धेरै बढ्छ भन्नेमा उनीहरू विश्वस्त थिए । यही सिद्धान्तमा वस्तुनिष्ट भएर मर्कन्टालिस्ट लागेका कारण कर्जाको अभ्यास र कर्जामा लाग्ने ब्याजदर उनीहरूका लागि निरपेक्ष हुन सकेन । मर्कन्टालिस्ट थोमस ममले ब्याजको उपादेयताका बारेमा राम्रो व्याख्या गरे । उनी भन्छन्, राज्यका विधुवा, अनाथ र यस्तै अरू आफैं उद्यम गर्न नसक्नेका लागि सम्पत्ति ब्याजमा लगाउँदा सीप भएर पुँजी नहुनेहरू लाभान्वित हुन्छन् । फेरि अर्कातिर विधवा, अनाथ र यस्तै अरू केही सीमान्तकृत समुदाय आफैं उद्यम गर्न सक्दैनन् । देश–विदेश जान सक्दैनन्, न त व्यापार नै गर्न सक्छन् । तसर्थ तिनीहरूका सम्पत्ति ब्याजमा लगाउन जति उत्तम अरू केही हुनै सक्दैन । त्यसैले कस्तो पुँजी ब्याजमा लगाउने भन्नेबारे मर्कान्टालिस्टहरू प्रस्ट थिए ।
सन् १६६८ मा सर थोमस कपलरले ब्याज लिए पनि धेरै कम दरमा लिनुपर्ने सुझाव दिएका थिए भने उनैका छोराले त ब्याजको तीव्र आलोचना गरे । तर, उनीहरूले ब्याज लिनु हुँदैन वा लिए पनि अत्यन्तै कम लिन सुझाएका चाहिँ त्यसको सामाजिक प्रभावभन्दा पनि प्राविधिक दृष्टिले हो, किनभने उच्च ब्याजदरले बजारमा मुद्रा प्रदाय कम हुन्छ र यसको मूल्य वृद्धि हुन्छ भन्ने उनीहरूको तर्क थियो । अहिले पनि सबैतिर मुद्राको उच्च अभावका बेला उच्च ब्याजदर कायम गरेर निक्षेपकर्तालाई आकर्षण गर्ने गरिन्छ ।
फेरि नेपालकै परिपेक्ष्यमा कुरा गर्दा पनि पुँजीवाद मानव समाजको विकासक्रमसँगै प्रत्यक्ष र परोक्ष रूपमा अगाडि बढेको एउटा नैसर्गिक सत्य हो र यसको श्रृंखला थामिँदैन । वित्तीय संस्था र यसको क्रियाकलाप पनि त्यही पुँजीवादको जगमा टेकेर आएको एउटा आर्थिक अभ्यास हो । तर, ब्याजको विकल्पमा पनि अभ्यास गर्न सक्छ । एउटा सक्कली पुँजीवादी अभ्यास हुन सक्छ भन्ने कुरा संसारमा इस्लामिक बैंकहरूले देखाइदिएका छन् । अब नेपालमा सञ्चालित वित्तीय संस्थाहरूले पनि त्यसतर्फ किन नसोच्ने अनि ब्याजमा खेलेर व्यावसायिक विकास भएको भन्नु दलाल पुँजीवादबाहेक केही होइन । नमीठो लाग्ला, दलाल पुँजीवाद भनेकै मेहनतभन्दा पनि झूटो विज्ञापनको सहाराले जनतालाई मुर्ख बनाउने प्रवृत्ति हो । यसको मूल जरो भनेको नीति–निर्माता र राज्य नै हो । उसैको कार्यदिशा प्रस्ट नहुँदा देशको अर्थतन्त्र लथालिंग हुन पुग्यो । व्यवसायीले व्यवसाय गर्ने जुन बाटो देखाइदियो त्यतै हिंड्छन् ।
नाफा आर्जन गर्नु उनीहरूको लक्ष्य हो । राष्ट्र राष्ट्रियता उनीहरूका लागि दोस्रो कुरा हो । तसर्थ वित्तीय संस्थाहरूको यो ब्याजमा आधारित व्यावसायिकताको दूरगामी असर त्यति राम्रो देखिँदैन । खास गरी हाम्रो जस्तो देशमा जहाँ मान्छेको स्वभाव नै बिनाउद्यम नाफामुखी हुन खोज्छ । तसर्थ, अन्त्यमा विश्वव्यापीकरणको प्रभावमा अल्झिएर हामीले गर्दै आएको बैंकिङ अभ्यासमाथि समाजशास्त्रीय कोणबाट सिद्धान्त र बहसको थालनी ग-यौँ भने मात्र दीर्घकालीन उपचार भेट्न सक्छौँ, अन्यथा हाँगाबाट पलाएको प्राविधिक पक्षलाई मात्र केलाएर बस्यौँ भने हामी कहिल्यै उँभो लाग्न सक्दैनौँ । विशुद्ध अंक गणितीय हिसाबले समाजमा जरो गाडेको कुनै पनि संस्थाको विश्लेषण हुन सक्दैन ।
(लेखक अधिवक्ता तथा अर्थ समाजशास्त्री हुन् ।)

मिलनराज गर्तौला