सुनिता भण्डारी घिमिरे
बुधवार, फाल्गुन २, २०७४
671

महिला सशक्तीकरण अभियानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न उपकरणमध्ये लघुवित्त पनि एक हो । कतिपय अवस्थामा महिला सशक्तीकरण अभियानमा नकारात्मक प्रभाव पारेको भनेर आलोचना खेप्नुपरे पनि लघुवित्तले समाजमा महिलाहरूलाई सशक्त बनाउन खेलेको भूमिकालाई बेवास्ता भने गर्न सकिँदैन ।
लघुवित्त कार्यक्रमहरूलाई महिलाहरूमा अर्थको पहुँचलाई सहज बनाउने मात्र नभई बचत गर्ने स्वभावमा विकास गर्ने तथा बचतको सही परिचालन तथा उच्चतम उपयोग गर्ने एउटा साधनका रूपमा विकास गर्न सकिने कुरा धेरै अनुसन्धानले देखाएका छन् । त्यतिमा मात्र सीमित नभएर यस्ता कार्यक्रमलाई अनुभव साटासाट गर्ने, व्यक्तिगत एवं समूहगत काम सुरु गर्ने, मूर्तिकला तथा शास्त्रीय वाद्यवादनजस्ता परम्परागत कामहरूको जगेर्ना गर्ने अनि संगठनात्मक रूपमा बजार विकास तथा विस्तार गर्ने थलोका रूपमा विकास गर्न सकिन्छ ।

सकारात्मक सोचसहित अरूलाई मद्दत गर्न सक्ने क्षमताका साथै सामाजिक तथा राजनीतिक परिवेशको उचित विश्लेषण तथा निर्णय गर्न सक्ने क्षमतामा विकास हुनु सशक्तीकरणको पर्याय हुनाले पनि लघुवित्त यसका लागि सशक्त माध्यम हुने नै भयो ।
आफ्नो तथा परिवारका सदस्यको विकास तथा दैनिकीमा टेवा पु¥याउनुका साथै ससाना सामाजिक काममा समेत योगदान गर्न सक्ने क्षमतालाई सशक्तीकरणअन्तर्गत व्याख्या गरिने सन्दर्भमा लघुवित्तको भूमिका अझ स्पष्ट हुन आउँछ ।
एक सर्वेक्षणअनुसार विश्वभर १३ करोडभन्दा बढी मानिस लघुवित्तबाट प्रत्यक्ष रूपमा लाभान्वित छन् भने अप्रत्यक्ष रूपमा समेत प्रभावित हुनेको संख्या जोड्ने हो भने त्यो करिब ५० करोड हुन आउँछ । तर, यसरी लघुवित्तबाट लाभान्वित हुनेहरूमध्ये २० प्रतिशतजति मात्र गरिब छन् । यसको लाभ लिनेमा धनी भनिएकाहरूबाट यो थाहा हुन्छ कि लघुवित्तबाट गरिब मात्र होइन, धनीहरू पनि लाभान्वित भएका छन् ।
लघुवित्तले महिला सशक्तीकरणमा खेलेको भूमिकाको चर्चा गर्नुपहिले संक्षेपमा यसको इतिहासबारे उल्लेख गरौँ । ल्यास्यन्डर स्पुनरले १८ औं शताब्दीको मध्यमा गरिबी निवारणको एक नयाँ सिद्धान्तका रूपमा यसलाई प्रतिपादन नगरुन्जेल यो शब्द व्यापक रूपमा प्रयोगमा आएको थिएन । उनले १८४६ मा किसानहरू लघुवित्तका माध्यमबाट कसरी लाभान्वित हुन सक्छन् भन्ने विषयमा चर्चा गरेका थिए । पछि दोस्रो विश्वयुद्धको अन्त्यतिर मार्शलले यसलाई बढी प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए, तर पनि महिला सशक्तीकरण र गरिबी निवारणको सशक्त हतियारका रूपमा भने यो १९ औं शताब्दीमा मात्रै प्रयोग भयो ।
संस्थागत कुरा गर्ने हो भनेचाहिँ अन्य धेरै संस्थाले लघुवित्तजस्तै काम गरेको भए पनि सिकागोमा सन् १९७४ मा स्थापित भएको ‘शोर’ बैंकलाई नै पहिलो लघुवित्त बैंक मानिन्छ । तापनि आधुनिक लघुवित्तसम्बन्धी पहिलो संस्था भने बंगलादेशमा सन् ९१८३ मा खोलिएको ग्रामीण विकास बैंक नै थियो । यसैले लघुवित्तले महिला सशक्तीकरणमा पु¥याएको योगदानको चर्चा गर्ने क्रममा भने सबैभन्दा अग्रपंक्तिमा बंगलादेश नै आउँछ ।
२००६ को शान्तिका लागि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले १९८३ मा बंगलादेशा ग्रामीण बैंकको अवधारणामा लघुवित्तको प्रभावकारी सोचको विकास गरेका थिए । ग्रामीण विकास बैंकमार्फत उनले बिना धितो बंगलादेशका गरिब जनतालाई एकपटकमा करिब २ हजार रुपैयाँबराबरको ऋणका साथै सो रकमलाई उपयोगी र उत्पादनशील कसरी बनाउने भनेर सल्लाह पनि दिएर आफ्नो सोचको कार्यान्वयन गरेका थिए । अहिले यो बैंकले विभिन्न अन्य सहायक किसिमका संस्थाहरू सञ्चालन गरेर तथा राम्रो भन्दा राम्रो बिजन उपलब्ध गराउने, दूध संकलन केन्द्रहरू खोलिदिने, उनीहरूका उत्पादनहरू खरिद गरिदिने जस्ता गतिविधिहरू सञ्चालित गरेर ऋणीहरूलाई थप सहयोगसमेत गर्ने गरेको छ ।
लघुवित्त महिलाहरूका लागि किन बढी उपयोगी भयो भने महिलाहरूसँग धितो राख्नका निमित्त भौतिक सम्पत्तिको अभाव नै हुन्छ । बिनाधितो ऋण पाउनु नै पनि उनीहरूको निम्ति महत्वपूर्ण हुन्छ । यसका साथै उनीहरूलाई सल्लाह र सुझाव साथै सहयोग पनि मिल्ने भएकाले ग्रामीण बैंक उनीहरूका लागि बढी उपयोगी देखिएको हो । हरेक हप्ता हुने भेलामा उनीहरूले आफूसँग भएका समस्याका बारेमा छलफल गर्न सक्ने र राम्रो निर्णय लिन सक्ने हुनाले पनि यो उपयोगी देखिएको हो ।
पोंडेचोरी इन्डियामा सेल्फ– हेल्प समूहमा गरिएको एक अनुसन्धानले महिलाहरू लघुवित्त कार्यक्रमहरूबाट मनोवैज्ञानिक, सामाजिक तथा आर्थिक रूपमा सशक्त हुने कुरा देखाएको छ ।
सशक्तीकरण भनेको परिवर्तन हो, जो धेरै सूक्ष्म तहमा हुने गर्छ र त्यो सकारात्मक हुनछ । छोटो समयमा परिणाम खोज्न खोजियो र कुनै उद्देश्य परिपूर्ति हेतुले सशक्तीकरणका नाममा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संगठनका निहित स्वार्थ परिपूर्ति हुने खालका कामहरू भएमा यसले नकारात्मक परिणाम ल्याउन सक्ने जोखिम बढी हुन्छ र यही कुरालाई बुझ्न पनि महिला सशक्तीकरण आवश्यक छ ।
महिला सशक्तीकरणलाई बल पु¥याउँदा–पु¥याउँदै पनि लघुवित्तले केही नकारात्मक प्रभाव पनि पारेको चर्चा सुनिन्छ । बंगलादेशमा त यसले दाइजो प्रथालाई समेत अप्रत्यक्ष रूपमा प्रोत्साहन गरेको आरोप लगाउनेहरू धेरै छन् । महिलाले ऋण पाएका कारण र आर्थिक रूपमा सबल भएका कारण कतिपय अवस्थामा पुरुषलाई होच्याउने, दबाउने आदि गर्नाले पारिवारिक कलह केही हदसम्म बढाउन यसले भूमिका खेलेको ठान्नेहरू पनि धेरै छन् ।
केही अनुसन्धानात्मक प्रतिवेदनले पनि बङ्गलादेशमा लघुवित्त कार्यक्रमले सकारात्मक प्रभाव मात्र नपारेर नकारात्मक प्रभाव बढी पारेको कुरा आंैल्याएका छन् । यस्ता कार्यक्रमहरूले बंगलादेशको सांस्कृतिक, सामाजिक तथा मौलिक संरचनालाई नराम्रोसँग तहसनहस गरेको भन्ने कुरा धेरै नै पढ्न पाइन्छ । सरकारले कस्ता कार्यक्रमहरूलाई कसरी लागू गर्ने भन्ने कुरामा सुस्पष्ट नीति–नियम बनाएर त्यसको नियमित नियमन तथा अनुगमन गरेको खण्डमा सायद कुनै पनि कार्यक्रमले पार्ने नकारात्मक प्रभावलाई कम गर्दै वास्तविक लक्ष्य हासिल गर्न सकिने थियो कि ! यस विषयमा महिलाहरू नै बढी सजग र सचेत हुनु आवश्यक छ ।
हामीमा एउटा सोच के छ भने परिवर्तन भन्नेबित्तिकै एकदम ठूलो हुनुपर्छ र हामीले देखे, भोगेका र गर्दै आएका सबै कुरालाई छोडेर अलग्गै बाटो अपनाउनुपर्छ । हामी जे–जस्तो संस्कृति, संस्कार, समाज, रहनसहनमा हुर्केका छौं र जे जानेका छौं, त्यही कुरालाई प्रचलनमा ल्याएर सुधार गर्न सकेमा सशक्त हुन सक्छौँ । तिनै कुरामा अनुसन्धान गर्ने, जगेर्ना गर्ने, कुनै पनि कुराका नकारात्मक पक्षलाई परिमार्जित गर्दै सकारात्मक पक्षको विकास तथा संवद्र्धन गर्ने गरेमा सबल तथा सक्षम जीवनयापन गर्नबाट हामीलाई कसैले वञ्चित गर्न सक्नेछैन ।
समग्रमा भन्नुपर्दा, यति हुँदाहँुदै पनि ८० प्रतिशत लघुवित्त कार्यक्रमहरू अझैसम्म पनि तल्लो स्तरसम्म पर्याप्त मात्रामा पुग्न सकेका छैनन् र यस दिशामा जे–जति काम भएका छन् ती प्रायः केही पाएका र भएका सक्षम महिलाहरूप्रति केन्द्रित छन् । अतः लघुवित्तको माध्यमबाट महिलाहरूलाई सशक्त बनाउने दिशामा अझ धेरै काम गर्न बाँकी नै देखिन्छ, साथै लघुवित्तलाई सही दिशामा कार्यान्वयन गराउनका निमित्त सबैको सहकार्यको खाँचो देखिन्छ ।

सुनिता भण्डारी घिमिरे