भगवान खनाल
बुधवार, भदौ ११, २०७६
376

मुलुकमा विद्यालय शिक्षा अन्तर्राष्ट्रिय स्तरको पाइनुमा गर्व गर्नुपर्छ । तर, यसमा सर्वसाधरणको पहुँच छैन ।

नेपालमा केही विद्यालय र क्याम्पसको नाममै अन्तर्राष्ट्रिय शब्द लेखिएको पाइन्छ । यस्ता विद्यालय-क्याम्पसको संख्या न्यून छ । ती विद्यालयहरू काठमाडौं उपत्यकामा केही संख्यामा र उपत्यकाबाहिर पनि केही छन् । नाममा अन्तर्राष्ट्रिय लेख्ने प्रवृत्ति बढ्दो छ । यसको मानक के हो ? आधार के हो ? के प्रक्रिया वा तह पार गर्नुपर्ने हो ? वा आफूखुसी विद्यालयका साहूहरूले नै विद्यालयको नाममा अन्तर्राष्ट्रिय राख्न पाउने हुन् ? यसको कही कतै बहसपैरवी भएको कम्तीमा मैले चाहिँ पाउँदिनँ ।
अन्तर्राष्ट्रिय भनिएका विद्यालयको अनुगमन, मूल्यांकन वा कुनै पनि मापन नेपालका कुन एजेन्सीले कसरी गरिरहेको छ ? वा गरिन्न ? सरकारी विद्यालयमा विद्यालय निरीक्षण, सुपरिवेक्षण नहुँदा समस्या सिर्जना भएको बताउने गरिन्छ तर यस्ता अन्तर्राष्ट्रिय विद्यालयको सुपरिवेक्षण गर्ने ल्याकत स्थानीय तहको शिक्षा विभाग वा शाखाले राख्छ-राख्दैन ? संघीय-प्रदेश सरकारका शिक्षाका एजेन्सीले राख्छ-राख्दैन ? ती विद्यालयको सरकारी विद्यालय सरह अनुगमन, सुपरिवेक्षण, निरीक्षण गरी विद्यालयको सम्पूर्ण पक्षको लेखाजोखा राख्नुपर्छ ।

नेपालको कानुनमा विद्यालयको नाममा अन्तर्राष्ट्रिय शब्द अंकित गर्ने, नगर्ने स्पष्ट भएजस्तो लागेन । यद्यपि, विद्यालयका नाममा ग्लोबल, वल्र्ड, अन्तर्राष्ट्रियजस्ता शब्दांकन भएको छ । तर सरकारले विद्यालयको नाम राख्दा नेपाली भाषामा राख्नुपर्ने नियम भने बनाएको छ । तथापि यसको पूर्णरूपेण परिपालना भएको छैन । सबै सरकारी विद्यालयको नाममा भने नेपाली शब्दमा छ ।
अन्तर्राष्ट्रिय शब्द पनि लेखिएपछि ती विद्यालय बहुराष्ट्रिय हुन् ? स्पष्ट हुन जरुरी छ । पक्कै पनि ती विद्यालय सुविधा सम्पन्न छन् । विद्यालयको शैक्षिक लगानीका पक्षहरू मजबुत छन् । शैक्षिक लगानी मात्रै होइन, प्रक्रिया पनि उस्तै हुनुपर्छ । शैक्षिक उत्पादन कस्तो छ भन्नेबारे प्रामाणिक कथ्यहरू पनि थाहा हुन जरुरी छ । मुलुकमा विद्यालय शिक्षा अन्तर्राष्ट्रिय स्तरको पाइनुमा गर्व गर्नुपर्छ । तर यसमा सर्वसाधरणको पहुँच छैन ।
ब्रिटिस काउन्सिल नेपालले सन् २०१८ मा नेपालका १९ वटा विद्यालयहरूलाई पुरस्कृत गरेको थियो । ४२ वटा विद्यालयहरूले छनोटका लागि आवदेन गरे पनि १९ वटा विद्यालयलाई ब्रिटिस काउन्सिल नेपालले पुरस्कृत गरेको थियो । जसमा सुर्खेतको नेपाल राष्टिय चन्द्र गंगा स्कुल, चितवनस्थित अर्किड स्कुल, काठमाडौंको द सेलिब्रेसन को–एड विद्यालय, काभ्रेको विद्या सागर अंग्रेजी माध्यमिक विद्यालय थिए । यसैगरी रुपन्देहीको नवीन औद्योगिक कडकबहादुर रीता स्कुल, काठमाडौंका संस्कृति अन्तर्राष्ट्रिय स्कुल, हिम रश्मी माध्यमिक विद्यालय, त्रैविद्य शिक्षा सदन स्कुल, बेबोलिन स्कुल र छाउनीको साकल्य स्कुल (युरो किड्स) थिए ।
यस्तै झापाको प्रज्ञान एकेडेमी, सुनसरीको के–के इन्टरनेसनल स्कुल, भक्तपुरको माउण्ट भ्यू बोर्डिङ स्कुल, ललितपुरको सुदेश हाइस्कुल थिए । यसैगरी सुनसरीको युरेका स्कुल, झापाको झापा मोडल स्कुल, कास्कीको सिर्जना माध्यमिक विद्यालय, अम्बिका माध्यमिक विद्यालय, दाङको गोरखा अन्तर्राष्ट्रिय पब्लिक विद्यालय थिए । काउन्सिलले यो पुरस्कार वार्षिक रूपमा दिने गर्छ । विद्यालयले आवेदन दिन्छन् र काउन्सिलले निश्चित विधि र प्रक्रियाहरूका आधारमा विद्यालय छनोट गर्छ । खासगरी शिक्षण र सिकाइका पक्षहरूमा राम्रोपन भएका, युवाहरूमा विश्वव्यापी नागरिकको भावना विकास गराइएका विद्यालयहरू यसमा छनोटमा पर्छन् ।
विद्यालयका पाठ्यक्रमहरू परियोजनामा आधारित भएकाको खोजी गरिन्छ । प्रमाणहरूका आधारमा मात्रै काउन्सिलले त्यस्ता काम गरेका विद्यालयलाई पुरस्कृत गर्दै आएको छ । काउन्सिल, साविकको शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूले आवेदित विद्यालयहरूको एउटा निश्चित प्रक्रियाको आधारमा छनोट गर्छ ।
गुगलमा खोजी गर्दा भेटिने केही तथ्यहरूले नेपालमा अन्तर्राष्ट्रिय हैसियत स्कुलमा द ब्रिट्रिस स्कुल (टिबिस), द लिंकन स्कुल, युलेन्स स्कुल, रुपिज इन्टरनेसनल स्कुल, मल्पी इन्टरनेसनल स्कुल, प्रिमियर इन्टरनेसनल स्कुल, बुढानिलकण्ठ स्कुल, फ्रेन्च इन्टरनेसनल स्कुललाई समावेश गरेको पाइन्छ । यी विद्यालयको मान्यता र सदस्यता पनि त्यस्तै रहेको पाइयो । जस्तो कि काउन्सिल अफ इन्टरनेसनल स्कुल्स (सिओआइएस), काउन्सिल अफ ब्रिटिस इन्टनेसनल स्कुल्स् (सिओबिआइएस), न्यू इंग्लिस एसोसिएसन अफ स्कुल्स एण्ड कलेजल्स् (एइएएससी)ले मान्यता र सदस्यता प्रदान गर्ने गरेको पाइयो । नेपालमा सञ्चालनमा रहेका ती विद्यालयहरू विदेशका फरकफरक संस्थाहरूका मान्यता प्राप्त र सदस्यता प्राप्त गरेका छन् । जस्तै काठमाडौंस्थित द ब्रिटिस स्कुल (टिबिएस) द फेडेरेशन अफ ब्रिटिस स्कुल्स इन एसिया (फोबिसिए) र सिओबिआइसको मान्यता र सदस्यता प्राप्त गरेको पाइन्छ भने युलेन्सले आफूलाई नेपालको पहिलो आइबी (इन्टरनेसनल बाकाल्युरियेट प्राप्त विद्यालय दाबी गरेको छ । ती विद्यालयहरूमा नेपालको अलाबा विदेशी पाठ्यक्रममा पनि आधारित रहेको विद्यालयका वेबसाइटले बताउँछ । जस्तो युलेन्सको पाठ्यक्रम र दर्शन ब्यांक स्ट्रिट डेभलपमेन्टल इन्टरयाक्टिभ एप्रोचमा आधारित छ ।
पाठ्यक्रम, भाषा, प्रविधिलगायतका पक्षमा ती विद्यालयमा फरकपन पाउन सकिन्छ । साथै प्रशासन, व्यवस्थापन, परीक्षा तथा मूल्यांकन पद्धतिमा पनि भिन्न छन् । शुल्कमा विविधता छ । विद्यार्थीले पाउने सुविधा, कक्षाकोठामा विद्यार्थी संख्या र कक्षाकोठा व्यवस्थापन, अतिरिक्त र सहक्रियाकलापमा पनि भिन्नता रहन्छ । कुन र कस्तो उद्देश्य राखेर यस्ता विद्यालयमा शैक्षिक उत्पादन वा जनशक्ति उत्पादन गर्ने भन्ने पनि अहंम सबाल हुन्छ । उदाहरणको लागि ए लेबल, ओ लेबल, बी लभेल आदि । वा विदेशी भाषा वा विदेशको कुनचाहिँ कोर्सको लागि तयार गर्ने भन्ने । द्वि-त्रैभाषिक विद्यालयले जुन देशमा गए पनि जनशक्तिलाई सहज वातावरण बनाउन सहयोग गर्लान् ।
विभिन्न नाम र कामका आधारमा नेपालमा अन्तर्राष्ट्रिय विद्यालयहरू सञ्चालनमा छन् ।
नामको सन्दर्भमा एउटा प्रसंग उल्लेख गर्न सान्दर्भिक देखें । विलियम शेक्सपियरले लेखेको नाटकमा भनिएको छ, नाममा के छ ? जसलाई हामी गुलाब भन्छौं, गुलाब बाहेक अन्य नाम राखेपनि त्यस फूलले उत्तिकै सुवास दिन्छ । यस कवितांशले नाम आफैंमा केही होइन भन्ने छ । के विद्यालयको नाममा अन्तर्राष्ट्रिय शब्द झुन्ड्याउँदैमा त्यो अन्तर्राष्ट्रिय शिक्षा दिन लायक हो ? साँच्चै नामांकन भएझैं त्यस्तो शिक्षा दिइरहेको छ ? अन्तर्राष्ट्रिय विद्यालय हुनका लागि चाहिने मापदण्ड के हो र शब्दांकनले मात्रै वास्तविक रुपमा त्यसलाई अन्तर्राष्ट्रिय बनाउने हो कि अन्य केही मानक पनि छ ? निश्चय नै राज्यले हिसाबकिताब राखेको हुनुपर्छ । कुनै पनि देशमा सञ्चालनमा रहेका विद्यालयले त्यस देशको राष्ट्रिय पाठ्यक्रमभन्दा बाहिरको पाठ्यक्रम लागू गर्नु अन्तर्राष्ट्रिय मानक हो ?
वा अन्य केही ? ती विद्यालयको पाठ्यक्रममा एक–दोस्रोसँग विविधता छ । ती विद्यालयले विश्वव्यापी नागरिक उत्पादन गर्ने हुन् ? वा अन्य केही ? वा निजी विद्यालयले प्रतिस्पर्धाले आफूखुसी विद्यालयको नाममा अन्तर्राष्ट्रिय शब्दांकन गरेका पो हुन् कि ? पक्कै पनि राज्य यस्ता जिज्ञासाबाट बेखबर छैन भन्ने ठानेको छु । खैर नेपाली धनी, नवधनी र मध्यमवर्गीय अभिभावकको ध्यानाकर्षण गर्न ती विद्यालय सफल छन् ।
अर्कातिर कुनै पनि मुलुकमा कार्यरत विदेशी कूटनीतिज्ञ, मल्टी नेसनल कम्पनी, संस्था वा निकायमा कार्यरत जनशक्तिका छोराछोरीलाई शिक्षा प्रदान गर्न कुनै पनि देशमा अन्तर्राष्ट्रिय प्रकृतिका विद्यालय आवश्यक छ । यो माग र आवश्यकताका रूपमा पनि देखिएको छ । यसैले अन्तर्राष्ट्रिय र द्वै-त्रैभाषिक विद्यालयहरू कुनै पनि देशमा रहेको पाइन्छ । तिनका अभिभावक जुन देशमा सरुवा भएपनि त्यस्ता विद्यालयमा पढेका तिनका सन्तानले अर्को देशमा जाँदा शिक्षामा सहज पहुँच पाउनका लागि यस्ता अन्तर्राष्ट्रिय विद्यालयले भूमिका खेल्छन् ।


सातामा धेरै पढिएको