झलनाथ खतिवडा
मंगलबार, भदौ १०, २०७६
380

नेपाल सरकारले निर्माण गरेका विद्युतीय पोलमा देखिने अनगिन्ती तारको भारले भनिरहेको छ कि कोही यस्तो बुझ्ने व्यक्ति छ भने मलाई यो जालोबाट मुक्त गरिदेऊ, किनकि मेरो यति धेरै भार थेग्ने क्षमता छैन । अधिकांश सहरका बिजुलीका खम्बाले भनिरहेका शब्दहरूलाई हामीले बुझ्न सकिरहेका छैनौं । खम्बामा रहेका तारहरूबाट कहिलेकाहीं विध्वंस हुने गरेको समाचार कुनै नौलो होइन । अस्ति भर्खर मात्र नेपालको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार परिषद्मा आगलागी भयो । उक्त आगलागीको प्रमुख कारण अरू केही नभएर विद्युतीय खम्बामा टाँगिएका अनगिन्ती तारबाट निस्किएको आगो हो । विद्युत्बाट उत्पन्न भएका यस्ता आगजनीका क्रियाकलापले सिङ्गो देशलाई नै कुरूप बनाइरहेको छ ।
सरकार र विद्युत् प्राधिकरणको आपसी समन्वय हुनु जरुरी छ । विश्व विकास–निर्माणकोे हिसाबले, वातावरणीय सौन्दर्यका दृष्टिकोणले धेरै अगाडि रहेको अहिलेको सन्दर्भमा नेपालमा विद्युत्का खम्बामा रहेका ती काला प्रतिविम्बले नेपाल र नेपालीलाई लज्जित बनाइरहेको छ । सरकारले ल्याउने बजेटमार्फत विकास खर्चमा यो एउटा बुँदा अटाउनु आवश्यक देखिन्छ । राजधानी काठमाडौंको मूल सडक र सहायक भित्री सडकमा देखिएका यस्ता दृश्य हर्दा जति कहालीलाग्दो छ, त्यत्तिकै जोखिम पनि छ । यसतर्फ सम्बन्धित निकायको गम्भीर ध्यान जानु आवश्यक छ ।

नेपाल सरकारको भ्रमण वर्ष– २०२० लाई यस सन्दर्भमा जोड्न चाहन्छु कि सरकारले नेपाल भ्रमण वर्ष–२०२० सुरु हुनै लाग्दा जो नेपाल घुम्न आउँछन् ती आन्तरिक तथा बाह्य पर्यटकले नेपाल र नेपालका सहर–बजारमा देखिएका छन्, जुन रातो कार्पेटले छोपेर छोप्न सकिँदैन र जस्तापाताले टालेर टाल्न सकिँदैन । म सरकार र सम्बन्धित निकायसम्म प्रश्न गर्न चाहन्छु कि भ्रमण वर्ष–२०२० लाई कसरी सफल बनाउन सकिन्छ ? विद्युतिय खम्बामा भएका अधिक तारको व्यवस्थापन कसरी गर्नुहुन्छ ? भ्रमण वर्ष सुरु हुन करिब तीन–चार महिना मात्र बाँकी छ ।
खम्बा प्रयोग गरेबापत निजी क्षेत्रका व्यवसायीले कर तिरेका होलान्, तर कर तिरेर उपभोग गर्ने भन्दा पनि सरकारसहित सम्बन्धित निकायले विचार गर्नुपर्ने मानवीय संवेदनशीलता, त्यसले पछि गएर के–के कुरामा असर गर्छ, कर असुल गर्ने अरू धेरै क्षेत्रको विकास गर्न सरकारलाई आह्वान गर्छु कि विद्युतीय खम्बालाई बलिको बोको नबनाइयोस् । यसबाट आगलागी, करेन्ट सट भएर करेन्ट लाग्ने र सिङ्गो सहरलाई कुरूप बनाउने भएकाले यसको वैकल्पिक उपायको खोजी गरी ताररहित खम्बाको अवधारणा ल्याउन सके नेपालका सहरहरूको स्वरूप फेरिन्थ्यो कि ? अव्यवस्थित तार टाँग्ने प्रवृत्तिले गर्दा साधारण बाटोमा हिँड्ने बटुवादेखि उद्योगी–व्यवसायीसम्म सुरक्षित हुन सकिरहेका छैनन् । सरकारी तथा ती तार टाँगेर आफ्नो व्यवसाय विस्तार गरिरहनुभएका व्यवसायीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछौं । सरकारले पनि यस विषयलाई गम्भीरताका साथ लिन आवश्यक ठान्छु, किनकि प्रकृति रहेमा देश रहन्छ, देश रहेमा हामी नेपाली रहन्छौं, हाम्रो वातावरण रहेमा पछिल्लो पुस्ताले देशको अस्तित्व पाउने भएकाले यसतर्फ नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराउन चाहन्छौं ।