समीर रेग्मी
सोमवार, भदौ ९, २०७६
777

सन् २०२० को चुनावसम्म भए पनि अमेरिका मन्दीमा फस्ने चेतावनी मत्थर भएको छ । अमेरिकी अर्थतन्त्रको ठूलो हिस्सा उपभोक्ता खर्चमा निर्भर रहँदै आएको छ । त्यसैले अमेरिकी अर्थतन्त्र वृद्धिमै जाने वा रोकिने भन्ने विषय उपभोक्तामा नै निर्भर रहन्छ । उनीहरूले खर्च गर्ने वा नगर्ने भन्ने विषयले अमेरिकी अर्थतन्त्रको वृद्धि हुने वा मन्दीमा फस्ने भन्ने विषयको निक्र्योल गर्छ ।
अहिलेसम्मको उपभोक्ता खर्च राम्रै छ । बेरोजगारी दर झन्डै ५० वर्षकै न्यून भएको विषय कुनै आश्चर्यको होइन । ज्याला पनि राम्रैसँग बढेको छ । किनभने उपभोक्ता खर्च देशको आर्थिक गतिविधिको ७० प्रतिशतको हिस्सा ओगटेको छ ।

उपभोक्ताले देशको अर्थतन्त्रलाई डो-याउने गर्छन् । यदि अमेरकी घरधुरीले खर्च बढाए भने अमेरिकी अर्थतन्त्र नबिग्रने अवस्थामा रहन्छ । यस्तो अवस्थामा अमेरिका मन्दी छल्नका लागि सफल हुन सक्छ । तर, अमेरिकी उपभोक्ताले खर्च रोके भने सो अवस्थामा अमेरिका मन्दीमा फस्न सक्छ ।
हालका लागि भए पनि अमरिकी उपभोक्ता खर्च रोक्ने पक्षमा देखिँदैनन् । हाल अमेरिकाको बेरोजगारी दर केवल ३.७ प्रतिशत मात्रै छ । यो लगातार १७ औं महिनामा पनि ४ प्रतिशतमुनि रहेको छ । बेरोजगारको संख्या वृद्धि हुन थालेको छ । यो चिन्ताको विषय हो ।
अमेरिकी जनताले अझै पनि श्रम बजारका बारेमा राम्रो महसुस गरिरहेका छन् । यसले उनीहरूको खर्चका बारेमा पनि राम्रो धारणा बनाउन सक्छ ।
तर, रोजगारदाताहरूले गत वर्षको समान अवधिको तुलनामा यो वर्षका लागि एक चौथाइले मानिसलाई जागिरमा लिने विषयलाई घटाएका छन् । धेरै मानिसलाई जागिर दिँदा व्यवसाय ओरालो लाग्यो भने बेरोजगारी दर पुनः बढ्न थाल्छ । यो २०२० को वसन्तको समयमा हुन सक्ने सम्भावना ५० प्रतिशत रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
अहिलेसम्म बलियो भए पनि उपभोक्ता खर्चमा गिरावट आउन सक्ने केही सम्भावना पनि छन् ।
महँगा वस्तुहरू कार र घरको बिक्री कमजोर भएका छन् । यी दुवै गत वर्षको समान अवधिको तुलनामा यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा २ प्रतिशतले ओरालो लागेका छन् । यद्यपि न्यून ब्याजदरले कर्जा लिनका लागि सस्तो रहेको देखिएको छ ।
घरको बिक्रीमा देखा पर्ने सुस्तताले खर्चमा नियन्त्रण गर्न सक्छ । यसले फर्निचरदेखि लिएर एप्लायन्सेस, पेन्ट र कार्पेट उद्योग समेत प्रभावित हुन सक्छ ।
धितोपत्र बजारमा देखिएको पछिल्लो हलचलले उपभोक्ताको मनोबलमा गिरावट ल्याएको छ ।
आर्थिक अनिश्चितताका बीच उपभोक्ताले वैकल्पिक खर्च कटौती गर्ने र महँगा वस्तुको खरिद पनि रोक्न सक्छन् ।
तर आगामी ६ महिनाका लागि बिदा मनाउने योजना बनाउने मानिसको संख्या २ प्रतिशत बिन्दुले बढेको छ । यसलाई उपभोक्ताले सबै वैकल्पिक खर्च नरोकेको संकेतका रूपमा हेर्न सकिन्छ । हवाई यात्राको तथ्यांकले उच्च भाडाका बाबजुद यो वर्षको हालसम्मको अवधिमा ४ प्रतिशत बढी मानिसले हवाई यात्रा गर्ने देखाएको छ ।
सरकारी तथ्यांकले धेरै मानिसले बढी खाना खाएको देखाएको छ । यसलाई पनि अर्को वैकल्पिक खर्चका रूपमा लिन सकिन्छ ।
केही प्रमुख खुद्रा विक्रेताहरू जस्तै वालमार्ट टार्गेटले अमेरिकी बिक्री मजबुत भएको देखाएको छ । आफ्ना उपभोक्ताको आर्थिक स्वास्थ्य राम्रो र ठोस भएको वालमार्टको सीएफओ ब्रेट बिग्सले गत साता लगानीकर्ताहरुलाई बताइसकेका छन् । टार्गेटले पनि अमेरिकी बिक्रीमा ३ प्रतिशतको वृद्धि भएको सार्वजनिक गरिसकेको छ ।
यसरी सरसती हेर्दा अमेरिका तत्काल मन्दीमा फस्ने देखिँदैन । तर, चीनलगायत अन्य मुलुकबाट आउने सामग्रीमा भन्सार शुल्क लगाएकाले सामान महँगिएपछि उपभोक्ताको खर्च घट्यो भने दीर्घकालीन अवधिमा अमेरिका मन्दीमा नजाला भन्न सकिन्न ।