अच्युतप्रसाद पौडेल ‘चिन्तन’
सोमवार, भदौ ९, २०७६
556

गरगहना, कपडा, भड्किलो खानपिन, लामो समयसम्मको नाचगान आदि अनुत्पादक कार्यहरूले तीजजस्ता चाडबाडहरू भड्किला हुँदै आइरहेका छन् ।

बाबुको मुख हेर्ने पर्व कुशे औंसी सकिनासाथ हिन्दू नारीहरूको एकलौटी पर्व तीज विशेष चहलपहलका साथ सुरु हुन्छ । यस पर्वलाई ‘हरितालिका विशेष पनि भनिन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वती शिवलाई आफ्नो जीवनसाथी बनाउने इच्छामा थिइन् । बाबु हिमालयले विष्णुसँग बिहे गर्ने सुनेर खिन्न हुँदा साथीहरूद्वारा हरण गरिएर अन्यत्र एकान्त स्थलमा गई शिवको प्रार्थना गरेका कारण सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिकाको अर्थमा यस दिनलाई हरितालिकाका रूपमा मनाइने गरिएको चर्चा भविष्य पुराणमा वर्णित छ । भाद्र शुक्ल तृतीया तिथिलाई तीज अर्थात् हरितालिका भनिन्छ ।
हरितालिकाको अघिल्लो रात्रिमा विशेष खाना बनाई महिलाहरूले दर खाने गर्छन् । यस पर्वभरि प्रायशः विवाहित स्त्रीहरू आफ्नो माइतीघरमा बसेर पूर्ण स्वतन्त्र रूपमा तीजपर्व मनाउने गर्छन् । छोरीबेटीहरूलाई तीज विशेषमा दाजुभाइहरूले माइतीमा विशेष निम्ता गर्ने चलन छ । वर्षभरिका दुःख, कष्ट र असामान्य परिस्थितिलाई समेत बिर्सेर हँसी–ठट्यौली गर्दै शिवको अनुष्ठान गर्दै मनाइने पर्व तीजमा रसिला, मीठा र व्यंग्यात्मक गीतहरू गाउने, नृत्य गर्ने पनि चलन छ ।

तीजका दिन निराहार व्रत बसी महादेवको पूजा–आराधना गरिन्छ । साँझ साथीहरूसाथ बालुवाको शिव लिंग बनाई महादेव–पार्वतीको पूजा गर्ने गरिन्छ । दीप, कलश, गणेश र बालुवाको प्रतिमासहितको शिवलिङ्गमा उमा महेश्वरको पूजा गर्ने, षोडशोपचार विधिले पूजा सम्पन्न गर्ने, कथाश्रवण गर्ने परम्परा रहेको छ । तीजका दिन रंगीन, सौभाग्यका कपडाहरूले सजिएर, निकै ठाँटिएर नारीहरू देवस्थल खासगरी शिवमन्दिरमा पुगी दर्शनका लागि भिड लाग्ने गर्छन् । पशुपतिनाथ मन्दिर परिसर, कुम्भेश्वर ललितपुर आदि क्षेत्रमा त त्यसदिन पाइला राख्ने ठाउँ नै पाइँदैन । तीजको पावन अवसरमा विशेष व्रत बस्नाले पतिको आयु वृद्धि हुने पौराणिक मान्यता छ भने कुमारीहरूले यस्तो व्रत गर्दा भावी पति असल हुने विश्वास गरिन्छ ।
अघि सखीहरूले साथ भई शिवको आराधाना गर्दा पार्वतीलाई महादेव पति प्राप्तिको इच्छा पूर्ण भएको स्मरणस्वरूप पनि हरितालिका व्रत गर्ने चलनले पौराणिक कालदेखि हालसम्म नै निरन्तरता पाएको देखिन्छ । तीजको पूर्णता भने ऋषिपञ्चमीमा सप्तर्षिहरूको पूजा गरेपछि मात्र पूरा हुन्छ । गणेश चतुर्थीको भोलिपल्ट पर्ने पञ्चमी नै ऋषिपञ्चमी हो । सती अरुन्धतीसहित सप्तर्षिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जगदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूको विशेष व्रत, उपासना, दर्शन, पूजन गरिने हुनाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो ।
प्रकृतिको विधानअनुरूप नारीधर्म, रजस्वला, रजोवती समय मासिक धर्म !
वर्षाकालमा नदीहरू पनि रजस्वला हुन्छन् भनिएको छ । सिर्जनाको निरन्तरतालाई कायम राख्ने केही निश्चित विधान छन् । केवल स्त्रीहरूलाई प्राप्त सिर्जनाका यी विशेषताहरू नारीहरूको मौलिक गुण पनि हुन् । अघि ब्रह्महत्या दोष देवताका राजा इन्द्रवाट झिकी विभिन्न चार स्थानमा नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर पर्वत भाग, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा राखेपछि अपवित्र भएका यी स्थानमध्ये नारीको रजस्वलाका समय भाँडाकुँडा स्पर्श गर्नु नहुने, खाद्यान्न सामग्रीहरूबाट पर रहनुपर्ने र चार दिनमा स्नान गरेपछि मासिक धर्म दोष निवारण हुने कुरा शास्त्रमा विस्तृत वर्णन छ । वैज्ञानिक विचारमा पनि नारी रजस्वलाको रक्त अशुद्धि, विषाक्त कीटाणु आदिका कारण विशेष सरसफाइमा ध्यान्न दिनुपर्ने देखिन्छ ।
स्त्रीहरूको रजोधर्म दोषको निवारणहेतु ऋषिपञ्चमीको व्रत र सप्तर्षिहरूको पूजा, कथाश्रवण गर्नुपर्ने विषयमा विभिन्न पुराणमा चर्चा पाइन्छ । ऋषिपञ्चमीमा ऋषिहरूको पूजा गर्नुअघि बिहानै नदी जलाशयमा गई विशेष स्नान गर्नुपर्ने हुन्छ । वर्षभरिका अशुद्धिहरू हटाउन ३ सय ६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने विधान छ । प्रतिदिन विशेष स्नान गर्न असुविधा हुने कारण यसलाई संस्कार गर्दै वर्षभरिकै एकै दिन विशेष स्नान गर्ने परम्पराले मान्यता पाएको छ । काठमाडौंको टेकुक्षेत्रमा सप्तर्षिको स्थान छ ।
कतिपय महिला त्यहाँ गई सप्तर्षिको पूजा लगाउने, गोदान, पूर्णपात्र गर्ने गर्छन् । नाचगान गर्दै गर्दै काठमाडौंका विभिन्न स्थानमा पुगी रंगीन उत्सवसमेत मनाउँछन् । केही दिदीबहिनीहरू नदीकिनारामा, मठमन्दिरमा ठूलो उत्साहका साथ आफ्ना साथीहरूका साथमा ऋषिपञ्चमीको पूजा गर्ने गर्छन् । देवालय, मन्दिरहरूमा ठूलो चहलपहल हुन्छ । कोही आमा–दिदीबहिनीहरू घरघरमा बसेरै पनि सामूहिक पूजा र कथा श्रवण गर्ने गर्छन् । नारीजातिमा प्रतिमास देखा पर्ने रणोधर्ममा ब्रह्महत्या दोष रहने र त्यसको निवृत्तिको सजिलो उपाय ऋषिहरूको दर्शन, पूजा नै हो भनी शास्त्रले किटान गरेको छ ।
ज्ञान, तप, त्याग र विवेकका प्रतीक ऋषिहरूको चिन्तन गर्नाले मानवजीवन सुखद हुन्छ, । कतिपय अर्थमा मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन । पुरुषहरूले गर्ने तर्पण आदि कार्य, ब्रह्मसूत्रको कार्य नारीहरूबाट यिनै ऋषिहरूको चिन्तन–मनन गर्नाले पूर्ण हुन्छ । वायु पुराणले ऋषिहरूको चर्चा गर्दै ऋषि भन्नाले श्रुति (वेद), सत्य, त्याग र तप हो भनी बताएको छ । आदर्श हिन्दू नारीहरू सहनशील छन्, जसले तीज विशेषमा वैदिक परम्परालाई निर्वाह गर्दै ऋषिपञ्चमी कादिन बिहानै उत्तर, पूर्व फर्की विशेष स्नान गर्दै ऋषिपञ्चमीको व्रत, सप्तर्षिहरूको पूजा गर्ने संकल्प पनि गर्छन् । माता अरुन्धतीलाई विशेष सौभाग्य दान गर्दै आफू निरन्तर सौभाग्यवती रहन कामना पनि गर्छन् ।
ऋषिपञ्चमी व्रत गर्ने नारीहरूले यस दिन एक छाक खाने गर्छन् । नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदि खाई हविष्यान्न भोजन गर्छन् । महिनावारी भएका वखत अन्जानमा भएका त्रुटिहरूको प्रायश्चित्त गर्ने एकमात्र सरल साधनका रूपमा रहेको ऋषिपञ्चमी व्रत अनुष्ठानले नारीहरूमा छुट्टै तेज वृद्धि हुने, दीर्घायु, निरोगी र पूर्ण सौभाग्यवती हुने कुरा धर्मशास्त्रहरूले विशद वर्णन गरेका छन् ।
विगत केही वर्षयतादेखि हाम्रो मौलिक चाड तीज भड्किलो चाडका रूपमा देखा परेको छ । यो आफैं भड्किलो भएको भने होइन, बनाइएको हो । हाम्रा दिदीबहिनीहरूले पार्टी प्यालेसहरूलाई माइती घर बनाएर हो, होटलहरूलाई माइतीघर बनाइदिएर हो । हाम्रा दिदीबहिनीहरू हुने खाने मात्र होइन, हुँदा खाने पनि छन्, मीठो–मसिनो खान तीज र दसैँ नै पर्खनुपर्नेहरू पनि छन् । यस वर्ष सुनको भाउले सगरमाथा छोयो, यसअघि यस्तो कहिल्यै भएको थिएन । गरगहना प्रदर्शन गर्ने चाडका रूपमा पनि हेर्ने गरियो तीजलाई । मौलिकपना हराउँदै जान लागेकोमा धर्म–संस्कृति र संस्कारविद्हरू चिन्ता पनि प्रकट गर्दैछन् ।
एक महिनाअघिदेखि भड्किलो रूपमा दर खाने÷खुवाउने चलन चल्यो । चाडबाडका दिन आफुखुसी गर्नु स्वाभाविक हुन सक्छ, परन्तु आफ्नो धर्म, संस्कृति, संस्कारविपरीत आर्थिक रूपमा ढाडै सेक्नु राम्रो हुन्न । यसपालि कतिपय स्थानीय प्रशासनले सूचना जारी गरेरै यस्ता कार्यमा ध्यानाकर्षण पनि गराएका छन् । यसलाई संकेतका रूपमा सबैले बुझ्नुपर्ने हुन्छ । काभ्रे, धादिङ, कास्की, रुपन्देही, पर्वत, स्याङ्जा आदि क्षेत्रमा स्थनीय प्रशासनले यस्तोे सूचना जारी गर्दा व्यवसायीहरूबाट विरोधका स्वर पनि आएका छन् ।
गीतका उच्च स्वरले ध्वनि पनि प्रदूषण हन सक्छ, खानपानमा ध्यान नदिँदा रोगहरू लाग्छन् । जुन दिनमा हो, त्यसै दिनका लागि हो मनोरन्जन वा अन्य कार्यहरू । महिनौँ अघिदेख त्यसैमा रस्साकस्सी गर्नु राम्रो होइन । अर्को कुरा जसरी तीज संस्कृति सुरुवात भयो त्यो देवी पार्वतीबाट भएको हो र उनले यो व्रत बस्न अघिल्लो दिन राति केवल तीन अन्जुली पानीको दर खाएर यो परम्पराको सुरुवात भएको हो, हिजोआज जस्तो होटल पार्टी प्यालेसमा पुलाउ र मासुबाट होइन ।
साँच्चै भन्ने हो भने व्रतीको आहार पूर्ण सात्विक हुनुपर्छ, खानपिनको कुरो व्यक्तिगत विषय होला, तर तामसी खानपिनबाट व्रतको फल प्राप्त हुन्न न धर्मकै जगेर्ना हुन सक्छ । आडम्बर र देखावटीपनाले हाम्रो संस्कृति बिस्तारै लोपोन्मुख हुँदैछ, अग्रज बुजु्रकहरूको राय पनि आवश्यक हुन्छ । धर्म र संस्कृति प्रदर्शन होइन, नितान्त दर्शन हो, त्यो पनि जीवनदर्शन । गरगहना, कपडा, भड्किलो खानपिन, लामो समयसम्मको नाचगान आदि अनुत्पादक कार्यहरूले तीजजस्ता चाडबाडहरू भड्किला हुँदै आइरहेका छन् । विषयको गहिराइतिर जानु बढी श्रेयस्कर हुन्छ ।