युवकध्वज जीसी
सोमवार, भदौ ९, २०७६
453

कृषकको बारीमा कुनै बाली व्यवस्थापनसम्बन्धी समस्या छ भने कृषक पाठशालामा त्यसैका बारेमा छलफल गर्नुपर्छ ।

 के हो एकीकृत शत्रुजीव व्यवस्थापन ?
एकीकृत शत्रुजीव व्यवस्थापन आर्थिक रूपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त दिगो जसमा एकभन्दा बढी बाली संरक्षणका विधिहरूको प्रयोग गरी कीरा, चरा, मुसा, झारपात र बाली रोगलाई कृषकले आर्थिक नोक्सानी बेहोर्नु नपर्ने गरी व्यवस्थापन गरिन्छ । यस पद्धतिमा विभिन्न प्रकारका प्रणालीहरू संयुक्त रूपमा प्रयोग गरिन्छन् । जस्तै— खेती गर्ने तरिकाबाट नियन्त्रण प्रणाली (जस्तो— बालीचक्र र सफाइ गरिने), प्राकृतिक परजीवी र हिंस्रक कीराहरूको उपयोग जस्तै : माकुरा, बारुला, सिकारी कीराको प्रयोग, कुन प्रकारका पिराहा जीव र रोग विद्यमान छन् र कुन स्तरमा छन् सो यकिन गर्न नियमित रूपमा बाली सर्वेक्षण र अरू नियन्त्रण प्रणालीहरूको पूरकका रूपमा अति उपयुक्त जीवनाशक विषादीहरूको सावधानीपूर्वक उपयोग । यसको अर्थ रासायनिक विषादी पनि अन्य विधिहरू कामयाबी भएनन् भने अन्तिम अस्त्रका रूपमा सुरक्षित समूहका विषादी मात्र यस विधिमा पनि संलग्न गरिन्छ । यसको मतलब रासायनिक पदार्थ एकीकृत शत्रुजीव व्यवस्थापनको सौता होइनन् । यो पद्धतिलाई अगाडि बढाउने माध्यमका रूपमा कृषक पाठशाला सञ्चालन गरी विज्ञान र व्यावहारिक पद्धतिको सिकाइ अगाडि बढाइन्छ ।

के हो कृषक पाठशाला ?
कृषक पाठशाला भनेको २०–२५ जना कृषकको समूहलाई कृषकको खेतलाई नै पाठशालाका रूपमा लिई व्यावहारिक ज्ञान दिने थलो हो । यो कुनै घर र छानोबिनाको पाठशाला हो, जहाँ कृषिका विविध विषयमा कृषकको ज्ञान, सीप, क्षमता र आत्मविश्वासको अभिवृद्धि गरीन्छ । यो पाठशाला कृषक समुदायमा गई बालीनालीमा आइपरेका विविध समस्यामा आधारीत विषयवस्तुलाई नै पाठ्यक्रम मानी कक्षाकोठामा पठनपाठन गराउनुको सट्टा कृषकको खेतबारीलार्ई पाठशालाका रूपमा लिई सोही खेतमा व्यावहारिक, प्रयोगात्मक र खोजपूर्ण तरिकाहरू अपनाई नियमित रूपमा बाली पर्यावरणीय प्रणालीको अवलोकन, विश्लेषण तथा समूह छलफलका आधारमा आ–आफैंले ठोस निर्णय लिएर तत्काल आएका समस्याहरू समाधान गर्न सक्ने गरी दक्ष हुने वातावरण सिर्जना गरिन्छ, जसका लागि सहजकर्ताहरूले सहयोगीको भूमिका निर्वाह गर्छन्, न कि शिक्षकको । खेतबारीमै उपलब्ध बालीनाली, रोगकीरा र उपलब्ध वातावरण नै पठनपाठनका साधन मानिन्छन्, जसमा आएका समस्याहरू हल गर्नु नै यसको पाठ्यक्रम बन्छ । यो आधुनिक कृषि प्रविधिको प्रचारप्रसारका लागि यो एउटा सशक्त माध्यम हो, जसमा काम गरेर मात्र सिक्न सकिन्छ अर्थात् ‘लर्निङ बाई डोइङ’ भन्ने मूल मन्त्रमा आधारित रहेर सिक्ने–सिकाउने कार्य सञ्चालित हुन्छ । यसमा किसान स्वयं तथा कृषि प्रसार कार्यकर्ताले प्राप्त गरेको अनुभव तथा अवलोकनहरूलार्ई परस्परमा ग्रहण गर्ने गरिन्छ । यसरी सहभागीहरू शिक्षामूलक वातावरणमा रही समूह निर्माण, परिचालन, बिरुवा अवस्था, बाली पर्यावरणीय प्रणाली, मित्रजीव, शत्रुजीव आदिको नियमित अवलोकन गरी बोट–बिरुवाको वृद्धिसँगै आएका परिवर्तनहरूको यथोचित विश्लेषण गरी आफ्नो ज्ञानको भण्डारलार्ई क्रमश: वृद्धि गर्दै जान्छन् ।

कृषक पाठशालाको उद्देश्य
कृषकको निर्णय गर्न सक्ने क्षमता सुधार गरी कृषकलार्ई दक्ष बनाउनु नै कृषक पाठशालाको मुख्य उद्देश्य हो । कृषक पाठशालाले अवलोकन, अनुभव तथा प्रयोगात्मक अभ्यासबाट प्राप्त जानकारीहरूको विश्लेषण गर्न सक्ने क्षमताको विकास यसका सहभागीहरूलार्ई गराउँछ, जसले गर्दा कृषकहरू अवस्थाअनुसारको निर्णय लिन सक्ने हुन्छन् । साथै विभिन्न क्रियाकलापहरू स्वयं परीक्षण गर्ने, आफैं निर्णय लिने, नयाँ प्रविधिको विकास गर्ने तथा विकसित प्रविधिको अवलम्बन गर्ने जस्ता कार्यहरू यथोचित रूपमा गर्न सक्ने हुन्छन् ।
भित्ता नभएको स्कुल जसमा २५ देखि ३० जना कृषक साप्ताहिक रूपमा वा आवश्यकताको आधारमा जम्मा हुने, अवलोकन निरीक्षण गर्ने, खोजपूर्ण तरिकाले विश्लेषण, छलफल, समस्या केलाउने, समस्या समाधानको निष्कर्षमा पुग्ने, जसका लागि खेत नै प्रयोगशालाका रूपमा उपयोग गरिन्छ । यो विधिमा बाली अवधिभर नै प्रयोगात्मक समस्या पहिचान र समस्या समाधानको खोजपूर्ण तरिका अवलम्बन गरिन्छ र स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरिन्छ । मतपेटिका परीक्षाद्वरा सहभागीहरूको स्तर मापन गर्नुका साथै विभिन्न परीक्षण, खेत परीक्षण, प्रणाली विश्लेषण, चार्ट, कीराखोर, डिब्बा, नमुना संकलन आदि सामग्रीको प्रयोग गरिन्छ । शिक्षक वा प्रशिक्षकभन्दा पनि सहयोगीका रूपमा आईपीएम प्रशिक्षण गराइन्छ र पूरै सहभागितात्मक प्रक्रिया अपनाइन्छ । अन्त्यमा कृषक दिवस कार्यक्रम गरी प्राप्त नतिजालाई प्रचारप्रसार गरिन्छ । यसका लागि तयारी बैठक करिब तीन हप्ता समय लाग्न सक्छ, जसमा कृषि वातावरणीय प्रणाली अध्ययन, समूह क्रियाकलाप, विशेष कक्षा, कृषक पाठशाला सञ्चालन करिब १० हप्तादेखि १३ हप्ता, कृषक दिवस करिब १ हप्ता र तथ्यांक विश्लेषण १ हप्ता लगाई क्रियाकलाप अगाडि बढाइन्छ ।

कृषक पाठशालाको तालिम पद्धति
सुनेर, देखेर भन्दा बढी गरेर जानिन्छ
कृषकहरू सुनेर भन्दा बढी प्रयोग गरेर सिक्छन् । भनिन्छ, पढेर भन्दा परेर जानिन्छ, कुनै पनि प्रविधिका बारे कुनै कक्षाबाट सुनेको भरमा भन्दा त्यस प्रविधिलार्ई प्रयोगमा उतार्दा धेरै बढी सिक्ने अवसर मिल्नुका साथै हरेक चरणको कठिन तथा सबल पक्षको अवलम्बन गर्न सजिलो हुन्छ । त्यसै हुनाले यसमा अभ्यास गर्नु तथा किसानको आफ्नै अनुभवबाट सिक्नु धेरै महत्वपूर्ण हुन्छ । किसानलार्ई तिनीहरूको आफ्नै सरसल्लाहरूलार्ई प्रयोगमा ल्याउन उत्साहित गर्नुका साथै साना–साना प्रयोगात्मक अभ्यासहरू गर्न लगाउनुपर्छ ।

अनुभव नै सबै सिकाइको सुरुवात हो
धेरै जसो सिकाइ अनुभवहरूको विश्लेषण तथा विश्लेषित नतिजाको नयाँ परिस्थितिमा प्रयोग गरेर मात्र हुन्छ । त्यसै हुनाले कृषक पाठशालाले प्रशस्त नयाँ अनुभव किसानहरूलार्ई उपलब्ध गराउँछ । प्रशिक्षकको सहयोगमा कृषकहरूले अनुभवहरू विश्लेषण गर्नुका साथै निचोड निकाल्छन् । विश्लेषणबाट प्राप्त सम्भाव्य नतिजा विद्यमान समस्याको समाधान पनि हुन सक्छ । यस प्रकारको सल्लाह सुझाव कृषक पाठशालामा परीक्षण गरिन्छ, जसबाट प्राप्त सुझावको प्रभावकारिताको नतिजा थाहा पाउन सकिन्छ । यसैगरी पुन: नतिजाको विश्लेषण गरिन्छ । यस प्रकारको अनुभव–विश्लेषण–निचोड–अवलम्बनको प्रक्रियागत चक्रलार्ई प्रयोगात्मक सिकाइको चक्र भनिन्छ, जसले नै धेरैजसो मानिसलार्ई सिक्ने वास्तविक प्रक्रियाकोे वर्णन गर्छ ।

कक्षाकोठा नै खेतबारी हो
खेतबारी जहाँ कृषकहरू काम गर्छन् त्यही नै तालिम प्राप्त गर्ने ठाउँ हो, जसले ती सहभागी कृषकहरूलार्ई विश्वसनीय बनाउँछ । कृषक पाठशालाका आफ्नो जस्तै कुनै एक कृषक खेतमा सञ्चालित हुने हुँदा यसबाट सिकेको ज्ञान र सीपलार्ई सजिलैसँग आफ्नो खेतमा अवलम्बन गर्न सकिने हुन्छ । यसमा कृषकहरूले आफ्नै खेतबारीलार्ई नयाँ किसिमले अवलोकन गर्न सक्ने हुन्छन् जहाँ कि विभिन्न किसिमका पर्यावरणीय प्रक्रियाहरू भइरहेका हुन्छन् ।

उपयुक्त विषयवस्तुको चयन हुने
कृषक पाठशालाको विषयवस्तु वास्तविक खेतबारीको अवस्थासँग आबद्धित हुनुपर्छ, साथै स्थानीय अवस्था तथा आवश्यकतासँग प्रतिबद्धित हुनुपर्छ । कृषक पाठशालाको पाठ्यक्रम कुनै निश्चित विषयवस्तुमा मात्र सीमित हुँदैन, यसमा आवश्यकताअनुसार थपघट गर्न सकिन्छ । यो बालीको अवस्था तथा खेतको अवस्थामा आधारित रहेर अवलम्बन गरिएको हुन्छ । ती विषयवस्तु छलफल गरिन्छन् जुन कि खेतबारीमा विद्यमान हुन्छन्, जसले गर्दा कृषकले खेतबारीमा बिरुवाको अवस्थासँग सिक्नु साथै सोही रूपमा अवलम्बन गर्न सजिलो पर्छ । यसका अतिरिक्त कृषक पाठशालाको पाठ्यक्रमलार्ई कृषकको खेतबारीको अवस्था तथा आवश्यकताअनुरूप अवलम्बन गर्नु एक सफल सहजकर्ताको दायित्व हो । यदि कृषकको खेतमा उक्त अवस्थामा उपलब्ध छैन भने त्यस्तो नयाँ प्रविधिका बारे छलफल गर्नुपर्ने कुनै आवश्यकता छैन । यदि कृषकको बारीमा कुनै बाली व्यवस्थापनसम्बन्धी समस्या छ भने कृषक पाठशालामा त्यसैका बारेमा छलफल गर्नुपर्छ । यो पनि एउटा कारण हो कि हरेक कृषक पाठशालाहरूको सुरुवात आधारभूत तथ्यांक संकलन तथा बाली पात्रो निर्माणबाट हुन्छ ।

किसान दक्ष हुनु
सामान्यतया कृषक पाठशालाका सहभागी कृषकहरूले खेतमा विभिन्न अध्ययन–परीक्षण तथा साना परीक्षणहरू सञ्चालन गरेका हुन्छन् । यी अध्ययन–परीक्षणहरूका विषयवस्तुहरू कृषक आफैंले खेतको अवस्थामा आधारित भएर छानेका हुन्छन् । कृषक पाठशाला सञ्चालनका क्रममा कृषकहरूले अनुसन्धान गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाहरू अवलम्बन गर्नुका साथै नतिजाहरूको विश्लेषण समेत आफंैले गर्ने गर्छन्, साथै छलफलबाट निस्किएका निष्कर्षहरू आफ्नो अवस्था हेरि अवलम्बन गर्न सक्ने हुन्छन्, यस प्रकारका अभ्यास तथा तुलनात्मक अध्ययनबाट कृषक स्वयं बाली व्यवस्थापनको लागि दक्ष बन्छन् ।

किसानहरू नै निर्णयकर्ता हुनु
कृषक पाठशालामा कृषक स्वयंले खेतबारीको अवलोकन गर्नुका साथै तथ्यांक संकलन, विश्लेषण, प्रस्तुीतकरण, साथै समाधानको निर्णय लिने हुन्छन् । कृषक स्वयंले समस्या पहिचान गर्न सक्नुका साथै सम्भाव्य समाधानहरू केलाउनु, ती समाधानको खेतबारीमा परीक्षण गर्नु, नतिजाको विश्लेषण गरी निचोड निकाल्नेसम्मका क्रियाकलापहरू आफैंले गर्ने हुँदा कृषकको निर्णय गर्ने सीपको विकास हुँदै जान्छ र अन्त्यमा राम्रो निर्णयकर्ता बन्छन् ।

नीतिगत पहल
विगतका दशकदेखि नै स्वस्थ कृषि उत्पादनका लागि नेपाल सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आइरहेको छ । कृषि नीति र कृषि विकास रणनीति तथा नेपाल सरकारले अगाडि सारेका विभिन्न आवधिक आयोजनाहरूमा विषादीरहित कृषि, प्रांगारिक कृषि र कमभन्दा कम आयातित रासायनिक पदार्थ प्रयोग गरी नेपालको मौलिक उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउनु आजको आवश्यकता भएकाले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारका प्रमुख एजेन्डामा पर्नुपर्ने देखिन्छ । एकीकुत शत्रुजीव व्यवस्थापन वातावरणीय प्रकृतिको भएका कारण यो रासायनिक विषादीको कमभन्दा कम मात्रामा प्रयोग गर्न कृषक पाठशाला अचुक उपायका रूपमा तीनै तहका सरकारमा यी कार्यक्रमहरू प्राथमिकतामा छन् ।
(लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हुन् ।)