दिलीपकुमार मुनकर्मी
आइतवार, भदौ ८, २०७६
1260

बैंकहरूले बोनस, मर्ज वा प्राप्तिबाट स्वपुँजी बढाउने र ऋणपत्रबाट थप पुँजी जुटाउँदै पुँजी परिचालन र प्रतिफलमा ध्यान दिन थालेको देखिन्छ ।

केन्द्रीय बैंकको व्यवस्था अनुरुप न्यूनतम आठ अर्बको चुक्ता पुँजी योजनाले आव २०७५-७६ मा पूर्णता पाउँदै गर्दा बैंकहरु पुनः नयाँ नियामकीय व्यवस्थाहरू र व्यवसायिक विस्तारका लागि थप पुँजी व्यवस्थापनमा केन्द्रित हुनपर्ने बाध्यतासँगै पर्याप्त निक्षेप र लगानीयोग्य रकमको अभावका बावजुद सन्तोषजनक नाफा कमाउन सफल भएका छन् । एनएफआरएस लागू भएसँगै वित्तीय ढाँचामा परिवर्तनले कतिपय शीर्षकका रकम मिलान हुँदा तुलना र गणना असहज भएकाले यहाँ चौथो त्रैमासिक वित्तीय विवरणका आधारमा बैंकहरुको वर्तमान अवस्थाको सामान्य समिक्षा गरिएको छ ।

पुँजी तथा सञ्चित र जगेडा कोष
घोषित लाभांसबाट आठ अर्ब चुक्ता पुँजी पु-याएर पनि रु. ७ अर्ब २ करोड देखाउँदा चुक्ता पुँजीको आधारमा एनसीसी सबैभन्दा कमजोर तथा जेविल्स फाइनान्स प्राप्ति गरेर रु. १२ अर्ब ८७ करोडका साथ नेपाल इन्भेन्टमेन्ट सबल देखिएको छ । आव ७५-७६ मा बैंकहरूको औसत चुक्ता पुँजी बढेर रु. ८ अर्ब ८१ करोड पुगेको छ ।
आव २०७५-७६ को तेस्रो त्रैमासदेखि सेयर प्रिमियम, संचित मुनाफा र जगेडामा छुट्याइएको विगतको सञ्चित र जगेडा सहजताका लागि जोडेर एकमुष्ठ प्रस्तुत गरिएको छ । उपलब्ध कोष रु. १९ अर्ब ६३ करोडसहित नेपाल बैंक सबैभन्दा बलियो तथा रु. १ अर्ब ७५ करोडका आधारमा सेञ्चुरी कमजोर देखिन्छ । बैंकहरूसँग औसतमा रु. ६ अर्ब ७६ करोड र कुल १ खर्ब ८९ अर्ब ३५ करोडको संचित र जगेडामा देखिन्छ । राष्ट्रिय बाणिज्य र नेपाल बैंक सञ्चित मुनाफामा गएसँगै बैंकिङ क्षेत्र सञ्चित नोक्सानी मुक्त देखिएको छ ।

निक्षेप र कर्जा तथा सापटी
आव ७५-७६ को तेस्रो त्रैमासदेखि निक्षेप र कर्जा तथा सापटीलाई ग्राहक, नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा छुट्याइँदा कुल निक्षेप र कर्जा तथा सापटीको रकममा केही अन्योलता र विगतसँग तुलना असहज भएकाले बैंकको मुख्य आधार र उल्लेख्य हिस्सा रहने ग्राहकबाट संकलित निक्षेप तथा ग्राहकलाई प्रदान गरिएको कर्जा तथा सापट मात्र लिइएको छ । बैंकहरूले ग्राहकबाट कुल २७ खर्ब ९० अर्ब रुपैयाँ हाराहारी संकलन गर्दा ग्राहकलाई कुल २३ खर्ब ९७ अर्ब हाराहारी कर्जा तथा सापटी प्रदान गरेका छन् । ग्राहकबाट राष्ट्रिय वाणिज्यले १ खर्ब ९० अर्ब र एनआईसी एसियाले १ खर्ब ७६ अर्ब बढी निक्षेप संकलन गर्दा सिभिलले ४२ अर्ब रुपैयाँ मात्र पाएको छ । एघार बैंकले ग्राहकबाट १ खर्ब माथिको निक्षेप लिएका छन् ।
यस्तै, राष्ट्रिय बाणिज्यले १ खर्ब ४४ अर्ब र एनआईसी एसियाले १ खर्ब ४२ अर्ब रुपैयाँको कर्जा तथा सापट ग्राहकलाई उपलब्ध गराएर अग्रता लिँदा नविल र नेपाल इन्भेष्टमेन्टले पछ्याइरहेको अवस्थामा केवल ४२.६९ अर्ब रुपैयाँसहित सिभिल अन्तिममा रहेको छ ।

नेटवर्थ, खुद मुनाफा र प्रतिसेयर आय
बैंकहरूले कुल रु. ६५ अर्ब ४० करोड खुद मुनाफा कमाएको देखिए पनि २४७ अर्बको चुक्ता पुँजीमा करिव २६ प्रतिशत, ४३६ अर्बको कुल इक्विटीमा १४.६३ प्रतिशत, औसतमा रु. २ अर्ब ३४ र सेयरधनीलाई वितरणयोग्य रु. ४७ अर्ब ५९ करोड मात्र हो । खुद मुनाफातर्फ राष्ट्रिय वाणिज्यले रु. ५ अर्ब ३३ करोड कमाएर उत्कृष्ठ हुँदा सूचीकृतमध्ये कृषिले रु. ४ अर्ब ३५ करोड कमाउँदै नविलको पहिलो स्थान खोस्दा रु. ७६ करोड मात्र कमाएको सिभिल अन्तिममा रह्यो । बाँड्न मिल्ने नाफा पनि राष्ट्रिय बाणिज्यसँग ३ अर्ब ६२ करोड उपलब्ध हुँदा नेपाल बैंकसँग कम नाफाका बाबजुद ३ अर्ब ४५ करोड, कृषिसँग ३ अर्ब ३१ करोड र नविलसँग ३ अर्ब ३८ करोड रुपैयाँ तथा कम सेञ्चुरीसँग रु. ५४ करोड र सिभिलसँग रु. ५६ करोड देखिन्छ ।
लगानीकर्ताको सबैभन्दा चासोको प्रतिसेयर आय (ईपीएस) तर्फ नबिल बैंकले ४७.६५ रुपैयाँ कमाएर सूचीकृत मध्ये पहिलो स्थान कायमै गर्दा रु. ९.५० सहित सिभिल अन्तिममा छ । राष्ट्रिय बाणिज्यले प्रतिसेयर रु. ५९.१७ कमाएर सबैलाई उछिन्दा बैंकहरूले प्रतिसेयर औसतमा रु. २६.२३ कमाएकोमा रु. १९.१० बाँड्न मिल्ने देखिन्छ । कृषि र एभरेष्टको अग्राधिकार सेयरको कारण ईपिएस र वितरणयोग्य आयमा केही फरक पर्न सक्छ ।
सेयर धनीहरूको खुद सम्पत्ति (नेटवर्थ) वा सेयरको किताबी मूल्यका आधारमा रु. ३ सयको नेटवर्थसहित नेपाल बैंक अधिक र सेन्चुरी रु. १२०.८० सहित न्यून रह्यो । कृषिले प्रकाशित गरेको रु. ३१४.१८ को नेटवर्थ गलत देखिन्छ ।

पुँजीकोषको अवस्था
हाल न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गर्दै आएका बैंकहरूले नयाँ नियामकीय व्यवस्था बमोजिम आव ७६-७७ को अन्त्यसम्ममा जोखिम भारित एक्सपोजरको २ प्रतिशत काउन्टर साइक्लिकल बफरसहित करिव १३ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुनसक्छ । समीक्षा अवधिमा बैंकहरूको औसत पुँजी कोष १३.२० प्रतिशत देखिए पनि १० वटाको पुँजी कोष १४ प्रतिशतभन्दा बढी, १६ वटाको १२ देखि १४ प्रतिशत रहँदा प्राइमको ११.५८ र लक्ष्मीको ११.३३ प्रतिशतले तत्काल थप पुँजीगत क्षमता वृद्धिको दवाव आउन सक्छ ।
हुनतः आव ७५-७६ को लाभांस नीति र बाध्यकारी ऋणपत्र बिक्रीले बैंकहरूको पुँजीकोष प्रभावित हुनेछ । उच्च पुँजीकोष भएका कृषि, स्ट्याण्डर्ड चार्टर, सिभिल, मेगा र नेपाल बैंकले पुँजी उपयोगमा र १३ प्रतिशत वा कम पुँजीकोष भएका र नियामकबाट विभिन्न शीर्षकमा क्यापिटल चार्ज गरिएका बैंकहरूले भने पुँजी कोष व्यवस्थापनमा ध्यान दिनुपर्ने हुनसक्छ ।

मूल्य आम्दानी अनुपात (पीई)
लगानीकर्ताहरूको विश्वास र मनोविज्ञानसँगै जोखिमलाई मूल्यमा व्यक्त गर्ने र प्रत्येक कारोबारको मूल्यसँगै परिवर्तन हुने पीई अनुपात कम भएको कम्पनीलाई लगानीको प्राथमिकतामा राख्दछन् । पछिल्लो बजार मूल्यका आधारमा बैंकहरूको औसत पीई १२.८७ पुगेको छ । लगानीका हिसावले १० भन्दा कम पीईका एनसीसी र कृषि जस्ता अनि १०–१५ पीई भएका १६ वटा बैंकहरू लगानीयोग्य देखिँदा १५ भन्दा बढीका ९ बैंकहरू केही महँगा देखिएका छन् । तर, कम्पनी र बजारको अवस्थाका साथै आफ्नो जोखिम लिने क्षमताका आधारमा कति पीई उपयुक्त स्वनिर्णय गर्नुपर्छ ।

निचोड
आव ७५-७६ मा बैंकहरूले बोनस, मर्ज वा प्राप्तिबाट स्वःपुँजी बढाउने र ऋणपत्रबाट थप पुँजी जुटाउँदै पुँजी परिचालन र प्रतिफलमा ध्यान दिन थालेको देखिन्छ । नियामकले पुँजीगत क्षमता वृद्धिमा जोड दिँदै मर्ज वा प्राप्तिलाई प्राथमिकता दिएसँगै कुन बैंक रहने वा नरहने र तिनको वित्तीय अवस्था कस्तो हुने अनुमान गर्नै नसकिने भएको अवस्थामा (क) वित्तीय विवरणको ढाँचामा भइरहेको परिवर्तन, (ख) गत त्रैमासको विवरण प्रकाशित नहुनु, (ग) प्रकाशित तथ्यांकमा शुद्धता र पारदर्शिताको अभावले लगानी निर्णय र व्यवस्थापन थप जटिल र अन्योलग्रस्त बनेकोे छ ।
हाल चुक्तापुँजीमा नेपाल इन्भेष्टमेन्ट र निक्षेप तथा कर्जामा एनआईसी एसियाको पहिलो स्थान ग्लोवल आईएमईले हाथवे प्राप्ति अनि जनतासँग मर्ज पश्चात् फरक पर्नेछ । यस्तै एनएमबी र ओमको मर्ज, प्राइम कमर्सियलले कैलास र ललितपुर तथा सिटिजन्स्ले सहयोगी प्राप्ति पश्चात् पुँजी, व्यवसायको आकार, मुनाफाको आधारमा बैंकहरूको क्रम अनि लगानी प्राथमिकता फरक पर्नेछ ।
यति हुँदाहुँदै उपलब्ध समग्र बैंकहरूलाई निश्चित मापदण्डमा स्कोरिङ गर्दा तथ्यांकीय आधारमा तालिका अनुसार लगानीको पहिलो प्राथमिकतामा नविल, कृषि, एनआईसी एसिया र अन्तिममा सिभिल देखिएको छ । व्यवहारिक रुपमा लगानी व्यवस्थापन गर्दा प्रतिसेयर आय, मूल्य आम्दानी अनुपात, नेटवर्थ र पुँजीकोष अनुपातलाई मुख्य आधार बनाउँदै इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), ब्याजदर अन्तर (स्प्रेड), निष्क्रिय कर्जा र तरलताको अवस्था जस्ता सूचकांकहरूको विश्लेषण गर्दै औसत अवस्थासँग तुलना गर्नुपर्छ । यस्तै व्यवसायको वृद्धि, लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन क्षमतालाई पनि ध्यान दिनु लाभदायी नै हुनेछ ।