गोविन्द चापागाईं
शुक्रवार, भदौ ६, २०७६
301

देश अहिले अत्यन्त बाढीपहिरोको चपेटामा परेको अवस्था छ । धेरै नेपाली दाजुभाइहरूले बाढीपहिरोका कारण मानवीय क्षति बेहोर्दै आइरहेका छन् । कतिको जनधनको क्षति भएको छ । यसमा नेपाली सेना, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले आ–आफ्नो ठाउँबाट उद्धार तथा राहत वितरणजस्ता महत्वपूर्ण कार्य गर्दै आइरहेका छन् । यसमा हामी सबै नेपालीले गौरव गर्नैपर्छ ।
तर बिडम्बना यहाँ छ कि राज्यको धेरै ठाउँमा विशेष गरी तराइ क्षेत्र जहाँ भारतीय सिमानासँग जोडिएका धेरै सीमास्तम्भ छन्, ती सबै सही तरिकाले रहेका छन् त ? विभिन्न सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन भए अनुसार धेरै नेपाली सीमास्तम्भहरू रातारात भारतीय पक्षबाट नेपाली भूभाग आँखाअगाडि मिचिरहेको अवस्था छ । भारतीय सेना खुलमखुला नेपाली भूमिमा हतियारसहित प्रवेश गरी नेपाली जनतालाई धम्क्याउने जस्ता कार्यहरू सिर्जित भएको अवस्था छ । यहाँ न्याय छ त ? यस्ता कार्यहरू तत्काल बन्द गरिनुपर्छ ।

पश्चिम किल्ला काँगडादेखि पूर्वमा टिष्टासम्म फैलिएको हाम्रो देश आज रातारात नेपाली भूमि आँखाअगाडि मिचिँदा नेपाल आमाको छाती दुख्दैन ? हामी नेपालीहरूलाई अन्याय भएन र ? अन्याय सहेरै बस्ने ? राज्यलाई जनताले चुनौतीसाथ भन्छन्, तपाईंहरू सिमानामा गएर अध्ययन गर्नुहोस् ।
सीमास्तम्भ के–कस्तो अवस्थामा छन् ? हाम्रो नेपाली भूमि पहिले कहाँसम्म थियो ? अहिले कहाँ छ ? यस विषयमा अत्यन्त गम्भीर हुनु तपाईं–हामी, नेपाल सरकार, सचेत नागरिक, बुद्धिजीवीलगायत सबै जना गम्भीर हुनु नितान्त आवश्यक देखिन्छ । हिजोका पुर्खाहरूको अमूल्य रगत रहेको चिनारी, गौतम बुद्ध जन्मेको देश, धार्मिक सहिष्णुता तथा मेलमिलापले भरिपूर्ण हाम्रो देश, प्राकृतिक सौन्दर्यताले भरिएको तथा विश्वको सर्वोच्च शिखर सगरमाथा भएको हाम्रो देश आज विभिन्न राजनीतिक भागबन्डाले गर्दा देशको राज्य व्यवस्था कमजोर भएको अवस्थामा दिनहुुँ बाहिरी पक्षबाट कुनै न कुनै रूपमा दिन प्रतिदिन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू शोषणमा परिरहेकै हुन्छन् । वैदेशिक रोजगारीमा हुने श्रम शोषण, घरेलु हिंसामा हुने शोषण, बलात्कार, ठगीजस्ता घटनाहरू मौलाउँदै गइरहेको अवस्था छ । खोइ त न्याय ? न्याय कहाँ छ ?
यसको अन्त्य कहिले हुन्छ ? समृद्ध नेपाल सुखी नेपाली भनेर हामीले कहिले गर्व गर्ने ? भ्रष्टाचारले देश आर्थिक ऋणको चपेटाको अवस्थामा छ । कसैलाई पनि अहिलेसम्म कडा कारबाही गरेको कहीं–कतै सुनिँदैन । आँखैअगाडि भ्रष्टाचार गरेको सत्यतथ्य थाहा हुँदाहुँदै पनि प्रहरीले पक्राउ गर्छ अनि सीमित धरौटीमै छोड्ने हुन्छन्, यो कस्तो नियम ? जताततै सडकमा ट्राफिक जामैजामले दिनहुँ सर्वसाधारण हैरान भएको अवस्था छ, यसको समाधान खोइ त ? निर्मला बलात्कारपछि हत्यकाण्डको एक वर्ष पूरा भयो, खोइ त पीडितलाई न्याय ? दिनहुँजस्तो सुनतस्करी मौलाइरहेको अवस्था छ, खोइ त तस्करलाई कारबाही ? भारतले पठाएको विषादीयुक्त तरकारी खाँदा पनि सरकार टुलुटुलु हेर्न मिल्छ ? कारबाही गर्ने निकाय छैनन् ? दैनिक नेपाली जनता महँगी र कालोबजारीको चपेटामा परेको अथार्थ थाहा हुँदा पनि खोइ त नियन्त्रण ? मेलम्ची खानेपानी आजसम्म पनि राजधानी भित्रिन सकेको छैन । केही दिनअघि मात्रै राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भयो । तर, मौद्रिक नीतिअनुसारको बजारभाउ कुनै पनि कर्मचारी तन्त्र, गरिब निमुखालगायत निम्न आय भएको परिवारमा लागू हुन सक्दैन, न त यसले ठूला उद्योगीहरूलाई मात्र प्रोत्साहनको बाटो खोलेको छ ।
देशमा हुने पटक–पटक बन्द, हड्तालले गर्दा पनि देशको अर्थतन्त्र सधैं ओरालो लागिरहेको अवस्था छ । एक दिनको बन्दले देशको अर्बांै रुपैयाँ आर्थिक भार व्यावसायिक दुनियाँमा असर पर्न जान्छ । राज्यलाई असर गर्छ । सर्वसाधारण मारमा पर्छन । कालोबजारी गर्ने मौलाउँछन् । अन्त्यमा नेपाली जनता नै हुन् समस्या र अन्यायको चपेटामा पर्ने । जनताको कुरा कसले सुन्छ ? जब घटना घट्छ अनि सञ्चारमाध्याममा आउँछ अनि सार्वजनिक हुन्छन्, नत्र जस्तोसुकै घटना होस्, जब सार्वजनिक हुन पाउँदैन सधैंभरि पीडितहरूले मनमा पिल्साएर राख्नुबाहेक कुनै उपाय छैन । हो, रूढिवादी परम्परा, जातीय छुवाछूत यसका ज्वलन्त उदाहरण हुन् । जबसम्म यसको अन्त्य हुँदैन तबसम्म नेपालीलाई जनता परिवर्तनको बाटोमा हिँड्न निकै मुस्किल पर्ने देखिन्छ । त्यसैले नेपाली जनता भन्छन्, न्याय कहाँ छ ?