कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
415

पाठकले लेखको शीर्षक मात्रै हेरेको भरमा वा शीर्षक मात्रै पढेर नकारात्मक नसोच्नुहोला । किनभने, आमनेपालीमा मिडियाका अन्य माध्यममा प्रकाशित वा प्रसारित लेख, फिचर, समाचार, प्रतिक्रिया आदि पूरै पढेरभन्दा पनि शीर्षक पढेर-सुनेर हल्का ढंगले वा भनौं जताभावी प्रतिक्रिया दिने आम प्रचलनजस्तै भएको छ ।
शीर्षकमै भनियो कि, ‘धाउन नसक्ने र गाउन नजान्ने अभिकर्ताहरू’ सफल बिमा अभिकर्ता अर्थात् एजेन्ट बन्न सक्दैनन् । झन् नेपालजस्तो जीवन बिमा फिटिक्कै नबुझेका सर्वसाधारण मानिस धेरै भएको र केही पढालेखा तथा बुद्धिजीवीहरू नै जीवन बिमा भनेपछि नकारात्मक धारणा राख्ने हाम्रो देश नेपालमा बिमा गराउन साह्रै गा-हो काम हो । अझ पढालेखा र बुद्धिजीवीहरू भनिएका लालबुझक्कड बुद्धिजीवीहरू जो जीवन बिमालगायत समग्र बिमा क्षेत्र र देशको अर्थतन्त्र बुझेकाहरू त हुन्, तर पढालेखा र बुद्धिजीवीहरू भनिएका यी लालबुझक्कड बुद्धिजीवीहरूलाई नै जीवन बिमा गरौं न त ! भन्नेबित्तिकै परपर हुने, अभिकर्ताहरूले हजारौं पटक धाएर, दुःख गरेर बल्लबल्ल बिमितलाई बिमा गराएर बिमा कम्पनीबाट कमाउने वा भनौं पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउँदै २५-३० प्रतिशत कमिसन आउँछ होइन ? भनी प्रश्न गर्ने र कमिसन मात्रै देख्ने पढालेखा र लालबुझक्कड बुद्धिजीवीहरू पनि हाम्रै देशमा छन् । अब यस्ता पढालेखा र लालबुझक्कड बुद्धिजीवीहरू नै जीवन बिमा भनेपछि नकारात्मक हुन्छन्, उनीहरू नै नकारात्मक प्रतिक्रिया दिन्छन् भने कसका बाबुको के लाग्छ र ?

अझ कतिपय यस्ता पढालेखा र लालबुझक्कड बुद्धिजीवीहरू त जीवन बिमा भनेपछि आफु तर्कने मात्रै होइन, अभिकर्ताले जीवन बिमाबारे कुनै क्लाइन्टलाई बुझाउँदै गरेको भेटेमा क्लाइन्टलाई नै भड्काउने हिसावले ‘ ए ..., तिमीहरूलाई यसरी बिमा गराएबापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी प्रश्न गर्छन् । सुझ न बुझ टिकी ट्यास–ट्यास... भनेजस्तो ! कतिवर्षे प्लान हो ? कुन प्लान हो ? कति रकमको बिमा गर्ने हो ? केही अत्तोपत्तो छैन, एकैचोटि २५–३० प्रतिशत कमिसन ... !!! भनेपछि अरू बेला दुईवटा मात्रै आँखा हुने महादेवको पनि एकैचोटि २५–३० प्रतिशत कमिसन ... !!! भनेको सुनेपछि सायद देवादिदेव महादेवको पनि ‘तीन नेत्र’ हुने होला । अनि मान्छेको मन त झन् ... बल्लतल्ल हजारौं पटक फोन गरेर र कोठैमा-घरैमा गएर फकाएको-मनाएको क्लाइन्ट त झन् के कम हुँदो हो ! ऊ झन् नराम्रोसँग भड्किन्छ । ए ... यसले मलाई ... वर्षदेखि पिछा गरेको कारण त यसरी २५–३० प्रतिशत कमिशन खान पाउने रहेछ र पो ... !!! स्मरणीय के छ भने बिमा ऐन–२०४९ ले अभिकर्ताले आफुले बिमा गराएबापत समयावधि हेरेर कम्पनीबाट (बिमित-क्लाइन्टबाट होइन) ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म कमिसन पाउने उल्लेख गरेको छ ।
कतिपय पढालेखा र लालबुझक्कड बुद्धिजीवीहरू जो जीवन बिमा भनेपछि आफु तर्कने मात्रै होइन, अभिकर्ताले जीवन बिमाबारे कुनै क्लाइन्टलाई बुझाउँदै गरेको भेटेमा क्लाइन्टलाई नै भड्काउने हिसाबले ‘ए ..., तिमीहरूलाई यसरी बिमा गराएबापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी प्रश्न गर्छन् । सुझो न बुझो टिकी ट्यास–ट्यास... भनेजस्तो ! उनीहरू आफु पनि जीवन बिमा भनेपछि नकारात्मक हुन्छन्, यस्ता पढालेखा र लालबुझक्कड बुद्धिजीवीहरूबाट तर्किन नसक्ने, उस्तै परे उनीहरूसँग भड्किने अनि बिमा गर्न चाहने क्लाइन्टले बोलाएको समय र स्थानमा जान (धाउन) नसक्ने, बिमा गर्न चाहने क्लाइन्टले सोधेको प्रश्नको सही जवाफ दिन (गाउन) नसक्ने मान्छेहरू साँच्चै सफल अभिकर्ता बन्न सक्दैनन् ।
त्यसो त हालसालै एक अनलाइन पोर्टलले छापेको समाचारअनुसार नेपालमा हालसम्म ५ लाख ४६ हजार २ सय ७६ जना अभिकर्ता छन् । तर, प्रश्न गर्न सकिन्छ, ती बिमा अभिकर्तामध्ये कतिले आफ्नो जीवन बिमा गरेका छन् ? कति अभिकर्ताले आफ्नो परिवारको जीवन बिमा गरेका छन् ? कि कसो हो, जीवन बिमा गराएर आफ्नो र परिवारको जिन्दगीको रथ गुडाउँछु भनी सपना साँच्ने अभिकर्ता कमरेडहरू ?
निनाम कुलुङ ‘मंगले’