रमेश घिमिरे
बिहिवार, भदौ ५, २०७६
359

अनिवार्य शिक्षाले प्रतिभालाई प्रस्फुटन हुनबाट रोक्छ । यस्तो शिक्षाले मानिसहरूको समय पनि अनावश्यक रूपमा मारिरहेको छ ।

हिन्दू शास्त्रअनुसार बालबालिकालाई ८ देखि १२ वर्षको बीचमा उपनयन (नयाँ आँखा) गरेर शिक्षा प्रारम्भ गर्नुपर्छ । त्यस्तै, आधुनिक बालमनोविज्ञानअनुसार, ६ वर्ष पुगेपछि मात्र बालबालिकालाई शिक्षा आरम्भ गर्नुपर्छ । नेपाल, भारतजस्ता मुलुकमा यो सिद्धान्तको उल्लंघन गरिएका कारण बालमनोविज्ञान र मस्तिष्कमा गम्भीर नकारात्मक असर परिरहेको छ ।
अमेरिकामा धेरै रिसर्चपछि प्रतिपादित भई विश्वभर अहिले लागू भइरहेको आधुनिक बालमनोविज्ञान सिद्धान्तले १० वर्षमुनिका बालबालिकाले असल काम गरे प्रशंसा, सामान्य गल्ती गरे बेवास्ता र गम्भीर गल्ती गरे छेकबार मात्र लगाउने भनेको छ । यो काम राम्रो हो, यो नराम्रो हो भनेर उनीहरूलाई सिकाउनु हुँदैन, पूर्ण स्वतन्त्र छोड्नुपर्छ । १० वर्षपछि भने जे माग ग-यो, त्यो पूरा गरिदिनु हुँदैन भनेको छ ।

हिन्दू शास्त्रअनुसार शिक्षा गुरुकूल पद्धतिमा दिनुपर्छ । बन्द कोठाभित्र होइन, खुला प्रकृतिमा प्रयोगात्मक शिक्षा दिनुपर्छ । शिक्षा अनिवार्य हुनु हुँदैन, स्वेच्छिक हुनुपर्छ । बालबालिकाको भित्री क्षमता जाँच गरेर उसमा जुन प्रतिभा लुकेको छ, त्यही विषयको शिक्षा दिइनुपर्छ । त्यस्तै, अमेरिकी आधुनिक पद्धतिमा ६ वर्ष पुगेपछि विद्यालय शिक्षा अनिवार्य भए पनि प्रयोगात्मक बनाउनुपर्छ, प्रकृतिमा सिकाउनुपर्छ भन्ने मान्यतालाई स्वीकार गरिएको छ ।
विकसित समाजमा साना विद्यार्थीलाई गृह कार्य दिइँदैन । घरमा अभिभावकसँग खेल्ने र घरेलु कुरा सिक्ने अवसर दिइन्छ । परीक्षाको प्राप्तांकका आधारमा प्रथम, दोस्रो भनेर दर्जा पनि छुट्ट्याइँदैन । यहाँ भने साना बालबालिकालाई स्कुलमा शिक्षकले चाहेअनुसार र घरमा अभिभावकले चाहेअनुसार कण्ठ पार्न लगाइन्छ । बालबालिकालाई प्रथम बन्नुपर्छ भनेर दबाब दिने गरिन्छ । पढाइ कमजोर भयो भनेर होच्याउने, सजाय दिने, माग पूरा नगरिदिने, पिट्ने जस्ता कार्य गरेर बालबालिकालाई मानसिक तनाव दिने गरिन्छ ।
यहाँ पनि कानुनतः बालबालिकालाई शारीरिक र मानसिक चोट पु-याउनु अपराध मानिन्छ । तर, यसलाई कार्यान्वयन भने गरिँदैन । छ–सात वर्षको उमेरमा जुन कुरा सिक्न उनीहरूको मस्तिष्क तयार हुन्छ, त्यही कुरा दुई–तीन वर्षमा सिकाउने प्रयत्न गरिन्छ । शिक्षक र अभिभावकले चाहेको समयमा चाहेअनुसार सिकेन भनेर बालबालिकालाई पीडा दिइन्छ, जबकि त्यो कुरा सिक्न कतिपय बालबालिकाको मस्तिष्क आठ–नौ वर्षमा मात्र तयार हुन सक्छ ।
पछिल्लो समय शिक्षकहरूलाई बालमनोविज्ञानबारे तालिम दिएर केही सुधार भएको देखिन्छ । पहिले–पहिले जस्तो आफूले चाहेअनुसार विद्यार्थीलाई बनाउन कुटपिट गर्ने प्रवृत्ति अहिले कम भएको छ । सामान्य कुटपिट र गालीगलौज, अपमान गर्ने विधि अझै निमिट्यान्न हुन सकेको छैन । घरमा आफ्ना छोराछोरीलाई कुट्ने, गाली गर्ने, तर्साउने, दुःख दिने आफूहरूको अधिकार भएको र उनीहरूको राम्रोका लागि आफूहरूले त्यो गर्नु आफ्नो कर्तव्यसमेत भएको भ्रममा अभिभावकहरू विश्वस्त छन् ।
विकसित मुलुकमा स्कुल शिक्षा सकिएपछि अर्थात् १८ वर्ष पुगेपछि किशोरहरू के पढ्ने, के गर्ने भन्नेमा स्वतन्त्र हुन्छन् । नेपाल भारतजस्ता मुलुकमा त्यसपछि पनि अभिभावकको दबाबमा विद्यार्थीले पढ्नैपर्ने र त्यो पनि अभिभावकको इच्छानुसार पढ्नुपर्छ भन्ने मान्यता रहेको छ । कुन विषय पढ्दा राम्रो हुनेछ भन्ने किशोरहरूलाई थाहा नहुने हुँदा अभिभावकले नै भनेको पढ्नुपर्छ भन्ने मान्यता राखिन्छ ।
कुनै पनि कुरा अनिवार्य गर्नु वा व्यक्तिमा लाद्नु भनेको नैसर्गिक अधिकारको हनन हो, प्राकृतिक नियमको विपरीत हो । दुई–तीन वर्षकै उमेरमा अनिवार्य शिक्षामा भर्ना गरिदिएपछि बालबालिकाले आफ्नो इच्छा र विवेक प्रयोग गर्न पाउँदैनन् । उनीहरूले शिक्षा चाहेमा मात्र दिलाउने अभिभावकको कर्तव्य हुनुपर्छ । समाजमा सामान्य शिक्षा त आवश्यक हुन्छ नै । त्यसैले हरेक बालबालिकाले त्यो आवश्यकता महसुस गर्छ । कसैले पाँच वर्षमा गर्ला त, कसैले दस वर्षमा । त्यसपछि उसलाई शिक्षा दिनुपर्छ ।
उदाहरणका लागि अभिभावक वा अरूसँग हिंड्दा कुनै साइनबोर्ड देखेपछि बच्चालाई के लेखेको होला भन्ने जिज्ञासा जहिले आफैं उत्पन्न हुन्छ । कुनै समय बालबालिकालाई अक्षर, शब्द र वाक्य आफैं लेख्न इच्छा जाग्छ र आफैंले आवश्यकता महसुस गर्छ । यसैगरी जोड घटाउ पनि आफ्नै दैनिक जीवनमा आवश्यक भएको स्वतः महसुस गर्छ । त्यतिखेर आवश्यकता र मागअनुसारको शिक्षा उपलब्ध गराउनु अभिभावक र राज्यको कर्तव्य हो ।
सानो उमेरमा जबरजस्ती कक्षामा प्रथम बनाइएको शिक्षाले भविष्यसम्म कुनै सम्बन्ध राख्दैन । एसएलसीमा बोर्ड फस्ट भएकाभन्दा दोस्रो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीले स्नातकोत्तर वा त्योभन्दा माथि राम्रो नतिजा ल्याएको उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । नर्सरी, केजी र १ कक्षाको प्रथम दोस्रोको कुनै अर्थ रहने कुरै भएन । २÷३ कक्षामा १२–१३ सम्मको गुणा कण्ठ पार्न लगाएर परीक्षामा धेरै अंक दिनुको कुनै औचित्य छैन ।
विकसित मुलुकमा त अनिवार्य र प्रतिस्पर्धाको शिक्षाका कारण बालबालिकादेखि किशोरसम्मलाई मानसिक रोग बढेको मनोविश्लेषकहरूले बताइरहेका छन् । नेपाल–भारतजस्ता मुलुकमा स्कुल र घरको जबरजस्ती वातावरणले बालबालिकाको मनोविज्ञानमा कति नकारात्मक असर पारे होला ? यहाँ एसईई फेल भएर विद्यार्थीले आत्महत्या गरेको मात्र समाचारमा आउँछ । त्योभन्दा सानै उमेरमा स्कुल वा अभिभावकको पीडाबाट बालबालिका घर छोडेर हिंड्ने, विष किन्न पसल जाने, अभिभावकको डरका कारण बेलुकी घरभित्र नआउने, आत्महत्याको प्रयास गर्ने घटना धेरै हुने गर्छन् ।
प्रतिस्पर्धाले त विद्यार्थीहरूमा आपराधिक भावना पैदा गर्छ । कक्षामा सधैं प्रथम हुने विद्यार्थीलाई दोस्रो, तेस्रो हुनेले शत्रुका रूपमा हेर्छ । घर–समाजमा तैंले फलानोलाई जितेर प्रथम हुन सकिनस् भनेर उसलाई मानसिक पीडा दिइएको हुन्छ । प्रथम एक जना हुने हो, सबै हुन सम्भव हुँदैन । सबै विद्यार्थी जेहेनदार नै भए पनि कुनै एक अन्तिममा पर्नैपर्छ । यसले आफ्ना साथीबीच बालबालिकाको मनमा दूरभावना पलाउँछ । फलानोका कारण मैले गाली खानुप-यो, पिटाइ खानुप-यो भन्ने छाप पर्छ ।
विकसित मुलुकमा स्कुलमा मात्र होइन, विश्व विद्यालयहरूमा समेत रुचि, आवश्यकताका आधारमा प्रयोगात्मक र अनौपचारिकतालाई जोड दिएर अध्ययन–अध्यापन गर्ने गराउने कुरालाई सिद्धान्ततः स्वीकार गरेर लागू गर्ने प्रयत्न भइरहेको पनि देखिन्छ । तर, प्रतिस्पर्धाको भावनाबाट यो प्रणाली अझै अलग्गिन सकेको छैन । त्यसैले अमेरिकामै कतिपय विद्वान्ले केही समयका लागि स्कुल र विश्वविद्यालयहरू बन्द गर्नुपर्नेसम्मका विचार व्यक्त गर्न थालेका छन् ।
विकसित मुलुकमा शैक्षिक प्रमाणपत्रलाई कम महत्व र सम्बन्धित कामको सीप र क्षमतालाई बढी महत्व दिने प्रचलन सुरु भइसकेको छ । अघिल्लो एक दशकमा योग्यताको प्रमाणपत्रलाई दिइने महत्व अहिले नै ५० प्रतिशतले घटिसकेको देखिन्छ । विश्व शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न विकल्पहरूको खोजी भइरहेका छन् ।
अनिवार्य शिक्षा, स्कुल कार्य र गृहकार्यको नियम साँच्चै सबै मानिसले अनुसरण गरेका हुन्थे भने विश्वमा कुनै पनि आविष्कार हुँदैनथे । अभिभावकको इच्छा र विद्यालयको नियममा विद्रोह गरेर मात्र मानिसहरू विद्वान्, वैज्ञानिक, आविष्कारक बनेका छन् । अनिवार्य शिक्षाले प्रतिभालाई प्रस्फुटन हुनबाट रोक्छ । यस्तो शिक्षाले मानिसहरूको समय पनि अनावश्यक रूपमा मारिरहेको छ । काम गर्ने र उत्पादन गर्ने समय शिक्षाको नाममा खर्च भएको छ ।