प्रा. डा. हरि शर्मा
बिहिवार, भदौ ५, २०७६
351

राजनीतिक दाउपेच र सत्ताको होडबाजीले गर्दा मुलुकको उन्नतिका लागि पर्यटन क्षेत्रलाई समुन्नत बनाउन दलहरू जुट्न नसक्नु एउटा दुर्भाग्य हो ।

भिजिट नेपाल–२०२० को हालसम्मको प्रगति विवरण हेर्दा, बुझ्दा र सुन्दा यो राष्ट्रिय अभियान एउटा टालटुले अभियानका रूपमा सन् ६० को दशकतिर तराईका धुलाम्मे सडकमा गुड्ने पुरानो लहरी गाडीझैँ गुडिरहेको अनुभूति हुन्छ । शंका छैन गाडी हाँक्नेहरूको क्षमता र सीपमा, तर ती क्षमतावान् लहरी चालकहरूको ध्यान कहीँ अन्तै केन्द्रित छ, लक्षित गन्तव्य हासिल गर्नेतर्फ भने पक्कै छैन । भिजिट नेपाल–२०२० प्रतिको सरकारको उदासीनताले पर्यटन पेसामा समर्पित पेसेवारहरू अचम्भित छन् । बरु पूर्वाधार निर्माण र सुधारका सम्पूर्ण काम सकेर मात्र भिजिट नेपाल वर्ष मनाउनेतर्फ पाइला चाल्दा पो हुन्थ्यो कि ? सय दिनभित्रै के नेपालमा चमत्कार हुनेवाला छ र ? राष्ट्रिय ध्वजावाहक ३२० र ३३० को दलदलमा फसेको अवस्था छ ।
राजमार्गहरू पहिरो र बाढीले अवरुद्ध छन् । वातावरण धुलाम्मे छ । हिलाम्मे छ । कसका आँखामा छारो हाल्न हो कुन्नि, सरकारको विकास–निर्माणको पूर्णांकी नाटक बडो जोडतोडका साथ मञ्चन भैरहेको देखिन्छ । सुशासन सिंहदरबारका पर्खाल नाघेर घर–घरमा जाने निहुँमा जंगलतिर लाग्ने तर्खरमा रहेको होइन त ? गरिबीले गाँजेको हाम्रो ग्रामीण समाजमा आममानिसहरूलाई कसरी छाक टार्ने र कसरी सरकारलाई कर बुझाउने भन्नेबाहेक अन्य विषयमा चिन्ता गर्ने फुर्सद छैन । अभावमा पिरोलिएका नेपाली जनता सदा संयमित स्वभाव लिएर बस्ने छैनन् । यसबाट फाइदा लिन पल्किएका शासकहरूले विगतका घटनाहरूको स्मरण गर्दै अब त केही गरौँ आमनेपालीहरूका लागि भन्ने बुझ्न जरुरी छ ।

सामाजिक सञ्जालहरूमर्फत पर्यटन व्यवसायीहरूले आफ्नो स्वर बुलन्द गर्न थालिसकेका छन् । ‘पर्यटनमा राजनीति बन्द गरौँ । यही हो आजको आवश्यकता ।’ यसभन्दा अघि सन् २०११ मा डिस्कभर नेपाल अभियान सुरु गर्दा मुलुकका सबै राजनीतिक दलका शीर्ष नेताहरूले टँुडिखेलमा एकत्रित भई मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति अहितकर हुने बन्द, हड्ताल र चक्काजाम हुन नदिने प्रण गर्दै जनसमक्ष सार्वजनिक रूपमा आ–आफ्नो दलको प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यो एउटा स्तुत्य कार्य थियो । अहिले बन्द, हड्ताल र चक्काजामको अवस्था छैन, तर राजनीतिक दाउपेच र सत्ताको होडबाजीले गर्दा मुलुकको उन्नतिका लागि पर्यटन क्षेत्रलाई समुन्नत बनाउन दलहरू जुट्न नसक्नु एउटा दुर्भाग्य हो । चातुर्दिक फैलिएको भ्रष्टाचारको जालोले त झन् मुलुकलाई जर्जर पारेको अवस्था छ ।
जनताको सरकारले जनतालाई कुनै महŒव नदिँदै आफ्ना आसेपासे र दलका कार्यकर्ताहरूको भरणपोषणमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित पारेको छ । आमजनताको हितका लागि न कुनै ठोस कार्यक्रम छ, न कुनै नीति नै अपनाइएको देिखन्छ । विद्यालय र महाविद्यालयका स्तातक बुद्धिजीवी र सृजनशील युवापुस्ता उच्च अध्ययनका नाममा बिदेसिने क्रम यथावत् चलिआइरहेको छ । मुलुकले यसतर्फ बर्सेनि झन्डै ६० अर्ब रुपैयाँको भार बोक्नुपरिरहेको छ ।
अर्कातिर शक्तिवान् युवा समूह मलेसिया, कतार र अन्य खाडी मुलुकतिर दिनहुँ गइरहेका छन् । वृद्ध–वृद्धा र अशक्त जनशक्तिले मौन रही मुलुकको यथास्थिति नियालेर बस्नुबाहेक अरू केही रहेको छ त ? विकास योजनाका नाममा रूख काटिने, कुनै अध्ययनबिनै बाटा घाटाका योजना बन्ने र भ्रष्टाचार मौलाउने तथा वातावरण र पर्यावरण नाश हँुदै जाने र हाम्रो यो स्वर्गभन्दा सुन्दर मुलुक फोहोर र रोगको मात्र वासस्थान बन्दै गइरहेको सत्य तथ्यलाई बुझ पचाएर व्यक्तिगत र दलीय स्वार्थका लागि स्वयंलाई समर्पित गर्दै कपोलकल्पित गौरव गाथा गाइरहने अवस्थाबाट आम नेपालीले मुक्ति खोजिरहेको छ ।
देशका श्री–सम्पदाहरू ओझेलमा रहिरहेका छन् । तिनको संवद्र्धन कसले गर्ने ? यस्ता विषयहरूलाई औंल्याउँदा यो प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हो भन्दै संघीय सरकार पन्छिन खोज्छ । राष्ट्रसेवकहरूको मनोबल उकास्ने कुनै नीति छैन । उच्च ओहदामा पुग्नेहरूले पुस्तौंपुस्तालाई पुग्ने गरी विभिन्न अवैध माध्यमबाट धनार्जन गर्ने गरिरहेको हामी ट्वाँ परेर हेर्न बाध्य छौँ । जनताको करमाथि जनप्रतिनिधिहरूको मनपरी रजाइँ देख्दा देशभक्त नागरिकको मन कति क्षुब्ध हुँदो हो ! त्यसमाथि अहिले पर्यटन उद्योगमा संलग्न पेसाकर्मीलाई भिजिट नेपाल–२०२० को तिलश्मी सपना हेर्न लगाएर सरकार नेरोको बाँसुरीमा मुग्ध बसिरहनु कदाचित उपयुक्त होइन ।
कामको कुनै आकलन र मूल्याकंन नगर्ने र नेताहरूको भाषणमा मात्र भुल्ने हाम्रो छद्म चरित्रलाई अझ उजागर नगरौँ । २० लाख पर्यटक भिœयाउने संकल्प छ । यस्ता संकल्प पूरा गर्न निजी क्षेत्रले खर्बाैंको लगानी गरिसकेको अवस्था छ । एक वर्षमा डेढ खर्बको कृषिजन्य वस्तु आयात, निर्यात शून्यप्रायः । विदेशी हवाई सेवाहरूले र अन्य कम्पनीहरूले यहीँबाट अकुत सम्पत्ति आर्जन गरिरहेका छन् । दिगो विकासको लक्ष्य प्राप्तितर्फ कुनै प्रगति छैन ।
विभिन्न कर, चुलिँदै गरेको महँगी, भड्किलो रीतिरिवाज र आडम्बरले सामान्य नागरिकको जीवन जटिल बन्दै गइरहेको अवस्थामा हाम्रा नेताश्रीहरूले रंगीन सपना बाँड्ने काम बन्द गरी देशवासीहरूको हितका लागि, मुलुकको अर्थतन्त्रका लागि र सुखी नेपाली समृद्ध नेपालका लागि आमजनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने खालका उपलब्धि मूलक कार्य सिद्धी गर्न अत्यावश्यक छ । मुलुकका सबै समस्याको समाधान अन्यत्र होइन, संविधानभित्रैबाट खोजिने संस्कारको विकास हुनुपर्छ ।
भिजिट नेपाल–२०२० को सन्र्दभमा फेरि एउटा सानो गुनासो । गत साता बिहानै दिल्लीबाट र सायद दुबईबाट एकैचोटि दुईवटा भरिभराउ जहाजहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । अवतरणपश्चात् धेरै यात्रु स्वाभाविक रूपमा सोझै शौचालयतर्फ लागे । आगमनतर्फ तीनवटा शौचालय छन्, एउटा अपांगमैत्री । दुईवटा शौचालयबाहिर अध्यागमनमा देखिने भन्दा लामो क्यू ! शौच जान आत्तिएको एउटा विदेशीले भनिहाल्यो– ‘इज दिस एन इन्टरनेसनल एयरपोर्ट ?’
विमानस्थलका अधिकारीहरूलाई प्रश्न गर्दा, उनले पनि प्रश्नमै उत्तर दिए “यात्रुहरूका लागि भौतिक सुविधा नपुग नै छ । त्यसभन्दा माथि साबुन राख्यो, हराउँछ । टाबेल राख्यो हराउँछ । चिम फे-यो तुरुन्तै हुँदैन । यो विडम्बनाबाट कसरी छुट्करा पाउने, खोइ ?’
उपसंहारमा पंक्तिकारका तर्फबाट बुदाँगत केही सुझाव अघि सारिएको छ :

(क) भिजिट नेपाल–२०२० अभियानलाई एक वर्षपछि धकेलियोस् ।
(ख) त्यस दौरान निर्माणाधीन सम्पुर्ण पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गरियोस् ।
(ग) पोखरा र भैरहवामा विमानस्थलहरूको कार्य युद्धस्तरमा अघि बढाइयोस् ।
(घ) फास्ट ट्र्याकको काम पुरा गरियोस् ।
(ङ) ट्रेकिङ रुटका खोलानालाहरूमा पुल–पुलेसाहरू बनाइयून् । तुइनलाई पूर्ण रूपमा विस्थापित गरियोस् ।
(च) वृक्षारोपणलाइ सामूहिक रूपमा निरन्तर प्रोत्साहित गरियोस् ।
(छ) गाउँ–गाउँमा गरिने सडक निर्माणको वैज्ञानिक मापदण्ड निर्धारण गरियोस् ।
(ज) राष्ट्रिय ध्वजावाहकको सुदृढीकरणका निम्ति कार्य प्रारम्भ होस् ।
(झ) विमानस्थल र बस टर्मिनलहरूमा भौतिक सुविधाहरूको अभिवृद्धि होस् ।
(ञ) सवारी साधनको आयात नियन्त्रित होस् ।
(ट) पुराना र जीर्ण सवारी साधनहरूलाई विस्थापित गरी ट्राफिक व्यवस्थालाई सुदृढ बनाइयोस् ।
(ठ) मुलुकभरि शान्ति–सुरक्षाको प्रत्याभूति गरियोस् ।
(ड) अप्राकृतिक मूल्यवृद्धि अविलम्ब नियन्त्रित होस् ।
(ढ) उपत्यकाभित्र र उपत्यकाबाहिरका सडकहरूको छिटोभन्दा छिटो मर्मत–सम्भार-पुनर्निर्माण सकी तिनको सौन्दर्यीकरणतर्फ ध्यान जाओस् । हामीले कुनै साजबिनाको संगीतमा नृत्य प्रस्तुत गर्ने प्रयासलाई रोक्नैपर्छ ।