कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
348

देशको वर्तमान परिस्थिति नियाल्ने हो भने एकदमै दयनीय रहेको देख्न सकिन्छ । भर्खरै बाढीपहिरोका कारण जनधनमा क्षति पुग्यो । हाम्रो देशमा बर्खायाममा यस्तो समस्या आइरहन्छ भन्ने कुराबाट हामी अनभिज्ञ छैनौं, न त सरकार नै छ । तर, सरकारले यस कुरामा ध्यान नदिएका कारण जनताको स्थिति झनै दयनीय भएको छ ।
विषादी खाएर रोगी हुनेको संख्या पनि बढ्दो छ, फलफूल, तरकारीदेखि लिएर हरेक कुरामा खाद्यवस्तुमा विषादी प्रयोग भएको पाइन्छ । यी विषादीयुक्त फलफूल तथा तरकारीहरूको आयात हाम्रो छिमेकी मुलुक भारतबाट गरिन्छ, यहाँ भित्र्याउनुभन्दा अघि त्यसको जाँच राम्ररी नगर्ने कारणले गर्दा यस्तो बिगबिगी बढेको हो ।

जुन देशको ८० प्रतिशत जनसंख्या कृषिमा आबद्ध छ त्यस देशले झन्डै ६२ प्रतिशत वस्तु भारतबाट आयात गर्छ । खाद्यवस्तु, पहिरिने वस्त्रदेखि दाँत माझ्ने मन्जनसम्म आयात गरिरहेको छ हाम्रो देशले ।
आफ्नो देशको खोलामा पानी बढ्दा, बाँध लगाइएको ढोका खोल्नका लागि पनि छिमेकी मुलुकसँग गिड्गिडाउनुपरेको अवस्था हामीलाई थाहै छ, भारतले नाकाबन्दी लगाउँदा भोग्नुपरेको कष्ट पनि हामी बिर्सन सक्दैनौं, तर अचम्म त्यो छ कि यति हुँदाहँुदै पनि हामी गर्व गर्छौं कि हामी सार्वभौम छौँ । हो, हामी थियौं झुक्दै नझुक्ने नेपाली, तर याद रहोस् थियौं !
दिनहुँ अपराधजन्य घटना घट्ने क्रम बढ्दो छ । निर्मला पन्तले न्याय नपाएको एक वर्ष पनि नाघिसक्यो, गत वर्ष १ हजार ८ सय ७३ वटा बलत्कारका घटनाह टिपोट गराइयो । ठगी–चोरीको त हिसाब नै छैन । जुन देशमा दुस्मनहरूको शिर काट्न मात्र खुकुरी उठाइन्थ्यो, त्यस देशमा आफन्तहरूलाई मर्न थालियो । ठूला, धनी मानिसहरूले मनपरी गरिरहेका छन्, सबै भ्रष्टाचारको कारण हो । भ्रष्टाचार त प्रमुख कारण हो, देशको विकास पछि परेकोमा ।
सर्वसाधारणले पनि बुझ्नुपर्ने कुरा हो, सभामा सामेल हुनुको मतलब अगाडि उपस्थित मानिसले जे भने पनि ताली बजाउने मात्रै होइन, ठाउँको ठाउँ सभ्य ढंगले प्रतिकार गर्न वा सवाल उठाउन सक्नुपर्छ । विभिन्न प्रलोभनमा फसेर,चुनाव जिताउनु कदापि उचित होइन । हामीले हाम्रालाई भन्दा पनि राम्रालाई जिताउनुपर्छ, पार्टीको जरुरत छैन, हामीलाई चाहिएको एक असल नेतृत्व लिन सक्ने, देशलाई प्रगति र उन्नतिको बाटोमा लैजाने क्षमता भएको नेतृत्वकर्ताहरू हो, हास्यान्त प्रहसन गर्ने व्यक्ति होइन । हँसाउन अनि हाँस्न त तब मज्जा आउँछ जब घरघरमा पाइपबाट ग्यास पुग्छन् अनि रेलमा आनन्दले बिनामास्कको प्रयोग गरी स्वच्छ वातावरणमा यात्रा गर्ने अवसर पाइन्छ ।
हाम्रो जुम्लाको स्याउलाई कुनै पनि देशको स्याउले जित्न सक्दैन ! हाम्रो देशको ढाकाजस्तो आकर्षक पहिरन अरू कुन देशको हुन सक्छ र ? पोखरा, बन्दिपुर, लुम्बिनी, इलामजस्ता थुप्रै पर्यटकीय स्थल छन् जसले ठ्याक्कै स्वर्गको आह्वान दिलाउँछ । उब्जाउ हुने जमिन त कति छ कति ! जलस्रोतको दोस्रो धनी देश हो नेपाल, बिजुली उत्पादनको सम्भावना पनि निकै देखिन्छ । यी सबै स्रोतहरूको सही सदुपयोग गर्ने हो भने कुनै युरोपेली राष्ट्रभन्दा कम हुँदैन, हाम्रो देश । तर, नैराश्यता त यो छ कि गत वर्ष मात्र ६३ हजारभन्दा बढी नेपाली विद्यार्थी पढ्न विदेश गएका छन्, खाडी मुलुक जानेको त झन् ओइरो नै छ । जसरी घरको जग मजबुत हुनुपर्छ घर मजबुत हुनलाई, त्यसरी नै देशका युवाहरू मजबुत हुनुपर्छ देश सबल बनाउनलाई, तर यसरी युवाहरू पलायन भएपछि देशमा बाँकी रहने भनेका कि त बालबच्चा कि त वृद्धहरू अनि देशको विकासमा लाग्ने को ? राष्ट्रको कमजोरी हो, कि उसले आफ्नो युवापुस्तालाई बस्न सक्ने वातावरण बनाइदिएको छैन । देशमा पढ्नका लागि लोन पाउँदैनन् विद्यार्थीले, तर बाहिर कुनै देश जानुपरेमा थपक्क दिन्छ, कतै देशले नै प्रोत्साहन गरेजस्तो लाग्छ, युवालाई आफ्नो जोस–जाँगर श्रम अरू राष्ट्रमा खर्चन पलायन हुन दिनमा । यदि युवापिँढीलाई प्रोत्साहन दिएर, यहीं बस्ने वातावरण मिलाउने हो भन्ने साँच्चै नेपालको नक्सा बदलिन सक्छ !
युवाले पनि अरू राष्ट्रमा गएर खर्चिने श्रम आफ्नै राष्ट्रमा सही ठाउँमा लगानी गर्न सक्यो भने कसैले पनि विदेशमा बस्ने सपना देख्नु पर्दैन । अनि मात्र देशले काँचुली फेरिन्छ । सबैले यति कुरा बुझ्नुपर्छ कि आफ्नो राष्ट्रमा रहेर मात्र आफ्नो पहिचान बनाउन सकिन्छ अनि यदि नेपाल रहने भने हामी नेपाली पनि रहँदैनौ । सरकारले यस विषयलाई गहन रूपमा लिएर समस्याको हल शीघ्र निकाल्नु जरुरी छ ।
श्रीना नेपाल