डा. जयकान्त राउत
मंगलबार, श्रावण २८, २०७६
327

स्थानीय तरकारी बजारदेखि ठूला–ठूला सुपरमार्केटसम्म च्याउको उपस्थिति बलियो हुँदै गइरहेको अवस्था छ ।
देशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान न्यून रहेका बेला सरकारले समग्र राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रूपान्तरण र सुदृढ अर्थतन्त्रको निर्माण गर्ने सोचका साथ यस क्षेत्रमा उल्लेख्य लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।

राजनीतिक सङ्क्रमणकालको अन्त्यसँगै मुलुकभित्र लगानीकर्ताहरू विभिन्न औद्योगिक उत्पादनमा लगानी गर्न उत्साहित देखिएका छन् । उद्योग स्थापनाबाटै राष्ट्रिय उत्पादकत्व वृद्धि हुने र यसैको माध्यमद्वारा मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्छ । देशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान न्यून रहेका बेला सरकारले समग्र राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रूपान्तरण र सुदृढ अर्थतन्त्रको निर्माण गर्ने सोचका साथ यस क्षेत्रमा उल्लेख्य लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ । नेपाल लगानीको उच्च अवसर भएको मुलुक हो ।
यहाँका पूर्वाधार विकास, पर्यटनलगायतका सेवामूलक क्षेत्र, जलविद्युत्, कृषि, वन र खनिजलगायत प्राकृतिक स्रोतमा आधारित परियोजनाले उच्च प्रतिफल दिन सक्ने अवस्था छ । नेपाली अर्थतन्त्र कृषिमा आधारित भएकाले कृषिक्षेत्रको विकासले नै नेपाल समृद्ध बन्नेछ । सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई सफल पार्न कृषिक्षेत्रमा ठूलो लगानीको खाँचो छ । पछिल्लो समयमा नेपालमा कृषिमा लगानी गर्नुपर्छ भन्ने सकारात्मक सोचको विकास भएको र लगानी बढ्दो क्रममा समेत रहेको छ ।
नेपालका ठूला औद्योगिक घरानामध्ये गोल्छा अर्गनाइजेसन, ज्योति समूह, दुगड, मुरारका अर्गनाइजेसन, वैद्यज अर्गनाइजेसन, निम्बस समूह, डाबर नेपाल, बुद्ध एयर, पञ्चकन्या समूह, गोल्यान समूहलगायत कृषिमा लगानी गर्ने अग्रणी समूह मानिन्छन् । विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल र ६ सयभन्दा बढी लगानीकर्ताको उपस्थितिमा गत चैत्र १५ र १६ मा काठमाडौँमा सम्पन्न नेपाल लगानी सम्मेलन २०१९ ले समेत नेपालको कृषि क्षेत्रलाई लगानीको दृष्टिकोणले प्रचुर सम्भावनायुक्त क्षेत्रकोरूपमा पहिचान गरेको हो । यहाँ कृषिमा आधारित साना–ठूला उद्योग स्थापनाको प्रशस्त सम्भावना रहेको छ ।
कृषिका विभिन्न उपक्षेत्रहरूमध्ये च्याउ अत्यन्त नाफामुलक, छोटो समयभित्र प्रतिफल प्राप्त गर्न सक्ने, रोजगारमैत्री कृषि व्यवसाय हुनुका साथै खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र हो । नेपालमा व्यावसायिक रूपमा च्याउखेतीको थालनी भएको चार दशक बितिसक्दा पनि अपेक्षित रूपमा यसको विकास र विस्तार हुन सकेको छैन ।
विश्व च्याउ उद्योग प्रविधिको विकाससँगै नयाँ युगमा प्रवेश गरिसकेको छ । उच्च स्तरका यान्त्रिकीकरणसहित विश्वका धेरै मुलुकहरूमा च्याउ उद्योग हाइटेक इन्डस्ट्रीको रूपमा स्थापित भइसकेको अवस्था छ । उन्नत प्रविधि र यान्त्रिकीकरणको अभावमा नेपाली च्याउ क्षेत्रको उत्पादन र उत्पादक दुवै न्यून रहेको पाइन्छ । कम लगानीको संरचना प्रयोग गरी परम्परागत तरिकाबाट कृषकस्तरमा मात्र च्याउ उत्पादन भइरहेका छन् र मुलुकभित्र हालसम्म औद्योगिक स्तरमा च्याउको उत्पादन हुन सकेको छैन । पछिल्लो समय संसारभरि च्याउको उत्पादन र उपभोग दुवै तीव्र गतिमा विस्तार भइरहेका बेला नेपाली च्याउ उद्योगको गति भन्ने अत्यन्त सुस्त रहेको र अझै शैशव अवस्थामै रहेको देखिन्छ ।
हाम्रो उत्तरी छिमेकी मुलुक चीन छोटो समयमै विश्वको सबभन्दा ठूलो च्याउ उत्पादकको साथसाथै उपभोक्ता राष्ट्र समेत बन्न सफल भएको छ जहाँ ३ करोडभन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा च्याउ व्यवसायमा संलग्न छन् । चीनमा समग्र मुलुकको राजस्व सिर्जनाका हिसाबले च्याउ छैटौं महŒवपूर्ण बालीको स्थानमा छ ।
हाल नेपाल सरकारले पनि विशेष गरी नेपालीहरूको आय आर्जन, रोजगारी सिर्जना, खाद्य तथा पोषण सुरक्षाको लागि च्याउलाई प्रमुख नगदेबालीको रूपमा पहिचान तथा सूचीकृत गरेको छ । नेपालको विशिष्टकृत भू–बनौट र हावापानी च्याउखेतीको लागि अत्यन्तै अनुकूल छ । सस्तो घरेलु श्रमशक्ति, अनुकूल हावापानी, प्रचुर मात्रामा विभिन्न किसिमका सस्तो कच्चा पदार्थ, सस्तो बीउ सजिलै उपलब्ध हुने भएकोले नेपाल पनि विश्वको प्रमुख च्याउ उत्पादक राष्ट्रहरूको सूचीमा सूचीकृत हुने र प्रचुर मात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने प्रवल सम्भावना बोकेको एउटा मुलुक हो । श्रमशक्ति, विभिन्न किसिमका कच्चा पदार्थ, बीउलगायत अन्य सामग्री अरू देशको तुलनामा सस्तोमा उपलब्ध हुने साथै च्याउको विश्व बजारमा माग र आपूर्तिमा देखिएको असन्तुलन तथा महँगो श्रमशक्तिका कारण जापान, ताईवान, दक्षिण कोरियाजस्ता मुलुकको च्याउ उत्पादनमा भएको भारी कटौतिले नेपालमा उत्पादन हुने च्याउको विश्व व्यापार बढी हुने सम्भावना देखिन्छ ।
आधुनिक विज्ञानले च्याउलाई प्रशस्त प्रोटिन, भिटामिन र खनिज तत्वको साथसाथै शून्य कोलेस्ट्रोल र न्यून क्यालोरी भएको एउटा स्वस्थ्य र पोसिलो खाद्यपदार्थका रूपमा प्रमाणित गरिसकेकाले पछिल्लो समयमा च्याउप्रतिको ज्ञान र चेतनामा भएको अभिवृद्धिले नेपालीहरू पनि यसको कृत्रिम उत्पादन र उपभोग दुवैमा उलेख्य रूपमा आकर्षित भएको पाइन्छ । यहाँको स्थानीय उत्पादनले कुल मागको लगभग एक चौथाइ मात्र पुर्ति गर्न सकेको छ । हाम्रो आन्तरिक माँग पनि धेरै रहेको कुरा विभिन्न तथ्याङ्कबाट देखिन्छ ।
विवाह, व्रतबन्धजस्ता विभिन्न सामाजिक उत्सवहरूमा च्याउका परिकारहरू पाक्न थालिसकेका छन् । स्थानीय तरकारी बजारदेखि ठूला–ठूला सुपरमार्केटसम्म च्याउको उपस्थिति बलियो हुँदै गइरहेको अवस्था छ । च्याउको बढ्दो मागलाई पूरा गर्न मसरुम सुपको नाममा धूलो च्याउ होस् वा च्याउका अन्य उत्पादनहरू बर्सेनि करोडौं मूल्यको आयात हुने गरेको छ । रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन गर्न वर्तमान च्याउ उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्दै च्याउको उत्पादन र उत्पादकत्व दुवैमा तत्काल वृद्धि गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यसका लागि ठूलो लगानीको खाँचो छ र लगानीको दृष्टिकोणले च्याउ क्षेत्र भर्जिन रहेको हुनाले लगानीकर्ताहरूका लागि यो क्षेत्र एउटा ठूलो अवसर पनि हो ।
(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा वरिष्ठ च्याउविज्ञका रूपमा कार्यरत छन् ।)