दामोदर तिमल्सेना
सोमवार, श्रावण २७, २०७६
263

पर्यटन क्षेत्र नेपालको तुलनात्मक लाभको क्षेत्र र आर्थिक विकासको प्रमुख संवाहक भएकाले यस क्षेत्रको विकास र विविधीकरणबिना राष्ट्रिय अर्थतन्त्रले गति लिन नसक्ने देखिन्छ । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य, सामाजिक तथा सांस्कृतिक विविधता र मौलिक ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाले भरिपूर्ण नेपाल विश्वभरका पर्यटकहरूको प्रमुख रोजाइस्थलका रूपमा परिचित रछ ।
आर्थिक सर्वेक्षण ०७५।७६ अनुसार सन् २०१८ मा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २.२ प्रतिशत छ भने प्रतिपर्यटक औसत बसाइ १२.४ दिन छ र प्रतिदिनप्रति पर्यटक खर्च ४४ अमेरिकी डलर रहेको छ । यस अवधिमा आएका कुल पर्यटकमध्ये भ्रमणको उद्देश्यका आधारमा मनोरञ्जन ६० प्रतिशत, पदयात्रा तथा पर्वतारोहण १६ प्रतिशत, तीर्थयात्रा १४.४ प्रतिशत र अन्य ९.६ प्रतिशत रहेको पाइन्छ । सन् २०१८ मा पर्यटक आगमन वृद्धि भए तापनि पर्यटकको औसत बसाइ अवधि र खर्च भने घटेको छ । यसरी सरकारी तथ्याकंका आधारमा विचार गर्दा पर्यटन क्षेत्रबाट आशातीत लाभ लिन नसकिएको अवस्था रहेको पाइन्छ । यसको मुख्य कारणहरूमा पर्यटकीय पूर्वाधारको विकास नहुनु, स्थानीय वस्तु तथा सेवाको उपयोगमा लाभ लिन नसक्नु, यस क्षेत्रमा संलग्न जनशक्तिलाई उपयुक्त तालिम तथा प्रशिक्षण प्रदान गर्न नसक्नु, पर्यटकहरूलाई सोझै नेपालसम्म आउन सक्ने एयरवेज, हाइवेज, र रेलवेजको संजाल विस्तार नहुनु, पर्यटकीय स्थलहरूमा स्तरीय होेटल तथा बासस्थानको व्यवस्था नहुनु, पर्यटन व्यवसायको बजारीकरणका लागि आधुनिक सूचना–प्रविधिको प्रयोग नहुनु, राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको सही लेखांकन गर्न विस्तारित लेखा प्रणलीको प्रयोग नगरिनु नै मुख्य कारणहरू रहेका छन् ।

पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पु-याउन, विदेशी मुद्राको आर्जन बढाउन, रोजगारीका अवसरको वृद्धिसँगै जनताको जीवनस्तरमा सुधार गरी पर्यटनलाई गरिबी निवारण र आर्थिक विकाससँग आवद्ध गर्न देहायबमोजिम पर्यटन क्षेत्रको विकास र विविधिकरण गरिनु पर्दछ ।
व्यावसायिक पर्यटन : सभासम्मेलन, व्यापार मेला, सांस्कृतिक महोत्सवजस्ता गतिविधिले नेपालमा व्यावसायिक क्रियाकलापहरू आयोजना गर्न प्रोत्साहन गर्ने ।
पर्वतारोहण पर्यटन : पर्वतारोहणलाई बढी व्यवस्थित र वातावरणमैत्री तुल्याई नेपालका हिमचुलीहरूलाई आरोहणका लागि क्रमश खुला गर्दै लानुपर्छ ।
पदयात्रा पर्यटन : पदयात्राका लागि नयाँ रुटहरूको खोजी र विकास गरिनुपर्छ । जस्तै ग्रेट हिमालयन ट्रेल, गुरिल्ला ट्रेल । पदयात्राका लागि आवश्यक पर्ने सुरक्षा तथा पथ प्रदर्शकको व्यवस्था गरिनुपर्छ ।
जलयात्रा : यसका लागि सम्भाव्य नदीहरूको खोजी गर्ने, जलयात्राका लागि सम्भाव्य नदी तथा नदीखण्डहरूमा निजी क्षेत्रसँगको समन्वयमा आपत्कालीन उद्धार र सुरक्षाको व्यवस्था गरिनुपर्छ ।
साहसिक पर्यटन : जल, स्थल र वायुमा आधारित मनोरञ्जनपूर्ण क्यानोनिङ, -याफ्टिङ, बन्जिजम्पिङ, प्याराग्लाइडिङ, स्काई डाइभिङ, हेली स्काईजस्ता साहसिक पर्यटन क्रियाकलापहरू देशका सुरक्षित र सम्भव देखिएका नदी, पहाड, तथा हिमशिखरहरूको उपयोग गरी सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनुपर्छ ।
धार्मिक पर्यटन : नेपालका धार्मिक पर्यटकीय गन्तव्यलाई आध्यात्मिक एवं प्रमुख तीर्थस्थलका रूपमा विकास गरिनुपर्छ । लुम्बिनीलाई बौद्ध धर्म, दर्शन एवं अन्तर्राष्ट्रिय शान्ति र आध्यात्मिक शान्ति केन्द«का रूपमा विकास गरी पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरजस्ता प्रमुख धार्मिक स्थलहरूलाई हिन्दू तीर्थयात्रीहरूको प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गरिनुपर्छ । क्षेत्रीय पर्यटन संजाल विकासका लागि बुद्ध सर्किट, शिव सर्किट तथा रामायण सर्किटजस्ता परियोजना संचालनमा ल्याइनुपर्दछ ।
खेलकुद पर्यटन : उच्च आय वर्गका पर्यटकहरूलाई आकर्षित गर्न गल्फ, हात्ती पोलो, क्रिकेट, फुटबलजस्ता खेलकुद प्रतियोगिताको आयोजना गर्ने ।
चलचित्र पर्यटन : विभिन्न स्थलहरूलाई चलचित्र छायांकन स्थलका रूपमा विकास गरिनुपर्छ भने नेपालमा छायांकनका रूपमा आउने विदेशी चलचित्र निर्माताहरूलाई एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउनुपर्छ ।
शैक्षिक पर्यटन : गुणस्तरीय शैक्षिक प्रतिष्ठानहरूलाई बजारीकरण गरी विदेशी विद्यार्थीहरूलाई तालिम तथा अध्ययनको अवसर प्रदान गरिनुपर्छ । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक अनुसन्धान तथा खोज स्थलको रुपमा विकास गरिनुपर्छ । बेलाबेलामा विभिन्न किसिमका शैक्षिक परामर्श, गोष्ठी, अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू संचालनमा ल्याइनुपर्छ ।
स्वास्थ्य पर्यटन : नेपालमा उपलब्ध वनस्पति तथा जडीबुटीहरूको उपयोग गर्दै प्राकृतिक उपचार पद्धति तथा आयुर्वेदजस्ता परम्परागत उपचार पद्धतिको विकासका साथै आध्यात्मिक साधना, ध्यान, योगसाधना केन्द«का रूपमा नेपाललाई विकास गरिनुपर्छ । नेपालको हावा, पानी, माटोका बारेमा विशेष रूपमा प्रचारप्रसार गरी स्वास्थ्य उपचारपश्चात आराम प्राप्तिका लागि नेपाललाई प्राकृतिक स्थलको रुपमा विकास गरिनुपर्छ ।
कृषि पर्यटन : पर्यटकीय स्थलहरूमा कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने र कुनै खास किसिमका वस्तु उत्पादन हुने क्षेत्रमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालनमा ल्याई त्यस्ता उल्पादनको बजारीकरण गर्ने ।
ग्रामीण पर्यटन : पर्यटनलाई गाउँगाउँसम्म विस्तार गर्न होम स्टे सञ्चालन, विकट पहाडी तथा हिमाली क्षेत्रहरूमा केवलकार सञ्चालन गरी स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बजारीकरण गर्ने । विभिन्न क्षेत्रमा भएका पर्यटकीय सम्पदाहरूको छुट्टाछुट्टै विशिष्ट पहिचान बनाई एक स्थान एक पहिचानको नीति अवलम्बन गर्ने ।
पर्या पर्यटन : नेपालका विभिन्न स्थानमा रहेका वन, जंगल तथा जैविक विविधताहरूको उचित संरक्षण तथा व्यवस्थापन गरी आन्तरिक तथा बाहय पर्यटकहरूलाई जंगल सफारी, वन्यजन्तुहरूको अवलोकन, बर्ड वाचिङ, ताल, सिमसार क्षेत्रको अवलोकन तथा नौका विहारजस्ता आमोद–प्रमोद गतिविधिबाट आम्दानी बढाउन सकिन्छ भने कार्वन व्यापार मार्फत बिदेशी डलर प्राप्त गर्न सकिन्छ । मनोरञ्जनात्मक, फुर्सदको उपयोग गर्ने तथा गर्मी छल्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी पहाडी क्षेत्रलाई शीतल आराम क्षेत्र (हिल स्टेसन) का रूपमा विकास गर्न सकिन्छ ।
ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने, नयाँ पर्यटकीय स्थलहरूको खोज, पहिचान, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराइने वस्तु तथा सेवाको गुणस्तरमा सुधार गर्ने, सहज पहुँच, सुरक्षित गन्तव्य, बसाइको उपलब्धि लम्ब्याउने जस्ता कार्यक्रममार्फत नेपाल भ्रपण वर्ष–२०२० सफल हुन जाने देखिन्छ ।