कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
244

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नंं. ६, धातिवाङका बासिन्दाहरू व्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । प्रदेश नं. ५ भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयअन्तर्गत जिल्लाको प्रदेशसभा–२ अन्तर्गत छनोट भएको कृषि गाउँ कार्यक्रमले यहाँका बासिन्दा व्यावसायिक खेतीमा लागेका छन् । साविक धातिवाङ ५ र ८ वडाका ९० घरधुरीका सबै घरमा कम्तीमा १ देखि बढीमा ७ वटा सम्म टनेल निर्माण गरी व्यावसायिक खेतीमा लागेका हुन् । कार्यक्रम सुरु भएपछि गाउँमा ९० घरधुरीमा १ सय २१ टनेल बनेका छन् ।
शिद्धेश्वर स्मार्ट गाउँ कार्यान्वयन समितिको सहजीकरणमा कृषकहरूलाई आत्मनिर्भर बनाउन, आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र प्राथमिकताप्राप्त बाली वस्तुका उत्पादन एवं उत्पादकत्व वृद्धिका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रमको तर्जुमा र सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको कार्यान्वयन समितिका अध्यक्ष पुष्कर पौडेलले जानकारी दिए ।

“यहाँका सबैजसो घरमा टनेल र उन्नत जातका पशुपालन छन्, अहिले गाउँमा टमाटर, गोभी, बन्दा, सिमीलगायतका तरकारी उत्पादन हुँदैछन्, बजारको व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्दैछौँ,” अध्यक्ष पौडेलले भने ।
युवा उमेरमै विदेश गएर फर्किएका रमेश पौडेलको घरमा ३ वटा उन्नत जातका भैंसी तथा गाई छन् । उनले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । रमेशले भने, “स्मार्ट कृषि गाउँ कार्यक्रमले थप टेवा पुगेको छ, टनेल निर्माण गरी व्यावसायिक तरकारी खेतीमा लागेको छु ।”
स्मार्ट कृषि कार्यक्रमले युवाहरूलाई कृषि र पशुपालनमा लाग्न प्रेरित गरेको अमर आधारभूत विद्यालयका प्रअ तथा मेहनती कृषक हिमलाल पौडेलले बताए । उनले भने, “घरघरमा खानेपानी तथा सिँचाइको राम्रो सुविधा रहेको धातिवाङमा कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको बताए ।”
कृषियोग्य जमिन र अन्य प्राकृतिक क्षेत्र एवं जैविक विविधताको संरक्षण, संवद्र्धन र प्रदूषण रोकथामका लागि आवश्यक काम गर्ने, अगुवा कृषकबीच समन्वय गरी प्राथमिकप्राप्त बाली बजारको मागअनुसार उत्पादन, प्रशोधन, बजारीकरणलगायत कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख देवेशकुमार मिश्रले बताए ।
प्रदेशसभा सदस्य रामजी घिमिरे भन्छन्, “कृषि कार्यक्रमको दिगोपनका लागि सहकार्य, कार्यक्रम लागू भएको क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु, सामाजिक समावेशीकरणलाई मध्यनजर गर्दै प्लास्टिक टनेल निर्माण गर्ने, गोठसुधार गर्ने, उन्नत जातका पशुहरू ल्याउने, भएका पशुहरूलाई नश्ल सुधार गरी उन्नत जातमा परिणत गर्ने गरी स्मार्ट कृषि गाउँ बनाउन प्रदेशले कार्यक्रम अगाडि बढाएको र गत वर्षको प्रतिफलका आधारमा चालू आवमा अगाडि बढाउने बताए ।
स्थायी टनेलबाट नर्सरी उत्पादन गर्ने प्रक्रियालाई अवलम्बन गर्दै हाइटेक नर्सरी पद्धतिलाई अगाडि बढाउने, कृषिमा आधुनिकीकरणको प्रयोगलाई बढाउन, परम्परागत हँसिया, हलो, कोदालोको सट्टा हाते ट्याक्टर, च्यापकटर, ड्रिल मेसिनको प्रयोग बढेको घिमिरेले बताए ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले भने, “घरको आर्थिक अवस्था कमजोर भएकाहरूलाई कृषि, पशुपालन तथा तरकारी उत्पादन गरी निर्वाहमुखी खेती र पशुपालन गर्ने प्रवृत्तिको अन्त्य गर्दै व्यवसायीकरण भई आत्मनिर्भर बन्दै आर्यआर्जनको बाटोमा लाग्ने, बिदेसिएका युवा स्वदेशमा फर्केर कृषिमा लाग्न प्रेरित हुने बेरोजगारलाई गाउँमै स्वरोजगारको माध्यम स्मार्ट कृषि कार्यक्रम बनेको बताए ।
आधुनिक प्रणालीमा सुरु भएको कार्यक्रमले प्रत्येक टनेलमा थोपा सिँचाइ, मल्चिङ प्लास्टिकको प्रयोग, बिरुबाको पात काट्नका लागि सिकेचरको प्रयोग, बिरुबाहरूलाई संरक्षण गर्नका लागि विषादीको प्रयोग हटाई प्राङ्गारिक औषधीको प्रयोगका लागि स्पेयरको प्रयोग, ३ वटा स्थायी टनेल निर्माण, मिनिटेलर ४ वटा खरिद गरी यान्त्रीकरणको प्रयोग बढ्दो, खाडल खन्नका लागि ड्रिल मेसिनको प्रयोग, कृषकहरूलाई क्षमता अभिवृद्धि तालिम, उन्नत खालका गाई तथा भैंसी ल्याई दूध उत्पादनमा वृद्धि भएको छ ।
पशुपालन र कृषि खेतीका लागि उपयुक्त मानिएको धातिवाङमा यातायातको सुविधाका कारण लाभान्वित हुनेको संख्या बढ्दै गएको छ । पशुपालनतर्फ गाई र भैंसीपालनका लागि उपयुक्त हावापानीसहित हरियो, सुक्खा घाँसपात पाइने हुनाले पनि पशुपालन गर्नेको संख्यामा वृद्धि भएको पाइन्छ । उत्पादित तरकारी बिक्रीका लागि बजार व्यवस्थापनमा चुनौती रहेका कारण यसमा सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ ।
घनश्याम पौडेल