गोविन्द चापागाईं
बिहिवार, श्रावण २, २०७६
423

देश अहिले बाढीपहिरोको चपेटामा परेको अवस्था छ । धेरै मानिसले हतासमा आफ्नो अमूल्य जीवन गुमाए भने धेरै जनधनको क्षति भयो । हो, बर्खाको सिजनमा बर्सेनि यस्ता घटनाहरू घट्छन् । घटना हुनुभन्दा अगाडि केही सचेत भए धेरै जनधनको क्षति हुन पाउने थिएन । अहिले राजधानीलगायत देशका धेरै ठाउँमा बाढीपहिरोले ल्याएको वितण्डा मात्र समाचारमा सुनिन्छन्, देखिन्छन् । हाम्रै ससानो गल्तीले गर्दा धेरै ठाउँमा जनधनको क्षति हुन पुग्छ भने धेरै प्राकृतिक प्रकोपले गर्दा उत्पन्न हुने परिणामबाट नराम्रो क्षति हुन पुग्छ ।
राजधानीमा बग्ने बाग्मती, विष्णुमती, हनुमन्ते, मनोहरा, धोवी खोलालगायत अरू ससाना खहरे खोल्साहरूबाट बर्सेनि बर्खाको समयमा अत्यधिक बाढी आउँछ । यिनीहरूको निकास राम्रोसँग हुन नसक्दा राजधानी जलमग्न हुने गर्छ भने धेरै धनमालको समेत क्षति हुने गरेको छ । किन बर्सेनि यस्तो बाढीको सामना गर्नुपरेको नेपाली जनताले ? बाढी आउनुपूर्व सचेत हुने कुनै पनि उपाय नअपनाएरै हो त ? कि गलत ठाउँमा संरचनाहरू निर्माण गरेर ? हो, हामी प्रकृतिसँग जुध्न सक्दैनौं । सामना भने पक्कै गर्न सक्छौं ।

तर, कलंकी, भक्तपुरलगायत राजधानीका धेरै ठाउँमा जलमग्न भएको देख्दा त मानिसहरूकै लापरबाहीका कारणले हो कि जस्तो लाग्छ । राजधानीभित्र भएर बग्ने अधिकांश नदीका छेउ, किनारामा बनेका धेरै संरचना मापदण्डविपरीत बनेका छन् । भूमिसुधारको मिलेमतोमा खोला, जुन ठाउँबाट बग्नुपर्ने हो, त्यो ठाउँबाट नबगी मानव बस्तीमा छिरेको प्रस्टै देखिन्छ । यदि खोलाको भाग छुट्टै तरिकाले मापदण्ड बनाएर करिडोर निर्माण गर्दै गएको भए सायद आज यो अवस्था आउने थिएन ।
मनोहरा खोला हेरौं, खोला बग्ने ठाउँमा घरहरूका संरचना बनेका छन् । बाग्मती खोला हेरौं, धेरै ठाउँमा सुकुमवासी बस्ती छन् । हनुमन्ते खोला हेरौं, धेरै ठाउँमा घरहरू निर्माण भएका देखिन्छन् भने कलंकीको डुबानलाई पनि यही गलत तरिकाले बनेका संरचनाकै कारणले निम्त्याएको देखिन्छ । यस विषयमा प्रश्न गर्ने को ? यसमा भूमाफिया र मालपोतको मिलेमतो नभएको भए खोला पहिलेको जुन अवस्थामा थियो, उसको गति ऊ आफंैले निर्धारण गरेर आउँथ्यो । भनिन्छ, १० वर्षपछि खोला फर्कन्छ । हो, आज त्यसैको परिणाम हामी भोग्दैछौं ।
हाम्रो देशको भौगोलिक अवस्थाले गर्दा पनि यहाँ बर्सेनि बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तराई क्षेत्रमा बर्सेनि धेरै मानिसको ज्यान लिन्छ भने धेरै परिवारको उठिबास लाग्छ । देशको पूर्वी भागदेखि पश्चिम भागसम्म भारतले बनाएको बाँधले बर्खाको समयमा नेपालतर्फ पानी बग्दा तराई क्षेत्र अत्यधिक डुबान हुने गर्छ ।
यसमा भारतले पनि नेपालसँगको सहकार्यमा नेपाली भूमिमा बाढीले वितण्डा नमच्चाउने उपाय गर्न दीर्घकालीन समाधानका लागि वार्ता गरी समस्या समाधानमा लाग्नु असल छिमेकीको कर्तव्य हुन्छ । यस्ता समस्या लामो समयसम्म रहिरहँदा मित्रराष्ट्रको दौत्य सम्बन्धमा कटुता उत्पन्न हुन सक्छ । आज भारतकै कारणले नेपाल डुब्दैछ भने भारतविरोधी भावना नेपालमा फैलाउनु भारतका लागि पनि राम्रो होइन । कोसी ब्यारेजका ढोका खुल्ला छैनन् वा सिमानामा बाँधजस्ता सडक बनेका छन् भने यसमा द्विपक्षीय बैठक बसेर समस्याबारे छलफल गर्नु जरुरी छ, अन्यथा नेवाल डुब्दा भोलि भारत पनि डुब्छ नै । समस्या पर्दा एक–अर्कालाई साथ दिन सक्नु नै असर छिमेकी सम्बन्धको परिचायक हो । तब मात्र मित्रराष्ट्रले एक–अर्काको सहयोगप्रति गर्व हुन्छ ।
दुःख सबैलाई पर्छ, भारतमा पनि धेरै राज्यमा डुवानका घटना भएकै हुन् । मुम्बईको बाढीको बितण्डा पनि सुनेकै हो । त्यसैले यस्तो घमन्ड नगर्दा नै हुन्छ । दुःख पर्दा एकले अर्कालाई साथमा साथ दिनुपर्छ । तत्काल भारत सरकारले कोसी ब्यारेजको ढोका खोली नेपालको भूभाग डुवान हुनबाट बचाउनुपर्छ । उहिलेको सन्धिलाई नेपाल सरकारले खारेज गरी तत्काल समस्या समाधानको बाटो खोल्नुपर्छ ।
देशमा आइपरेको विषम परिस्थिति र बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपबाट ६० भन्दा बढी नेपाली दाजुभाइको मृत्यु भइसकेको छ भने कैयन् हराइरहेको अवस्था छ । यस्तो दुःखद परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी पीडितहरूको उद्धारमा जिम्मेवारी हुनसमेत आग्रह गर्छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्छु ।