कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
483

जनताको करलाई खोलाको भेलमा लगेर हालिएको छ अनि विषादीयुक्त आयातित सामग्रीमा परनिर्भर बनाइएको छ ।


‘मह काढ्नेले हात चाट्छ ।’ पुरानो समयमा यो उक्ति सान्दर्भिक थियो । काम हुन्थे, मुखमा पनि स्वाद पथ्र्यो, तर आजकल यो शब्द मुखले बोले पनि काम नगरी नै हात चाट्ने घटनाले महलाई कुल्चेको छ अनि देखावटी गर्दै हरेक विकासका पक्षहरूमा दोहन बढेको छ । यो गलत प्रवृत्ति झांगिँदा गणनै गर्ने हो भने कुनै पनि स्थान र व्यक्ति यो मामलाबाट टाढा रहेको पाइन्न । सरकारदेखि व्यक्तिसम्म लुटको शैलीमा काम गर्ने र गराउने गलत देखावटी शैलीमा अग्रसर भएका छन् । यसले विकास शब्दको खिल्ली मात्र होइन, बेइज्जत नै गराएको छ ।
बरु हामी अब सबै उही ड्याङका मूला हौँ भने विकास नभनौं । टालटुले काम भनौँ अनि सुहाउला । नत्र विकासको नाम जप्दै र फलाक्दै न काम राम्रोसँग सुरु गरेका छौँ, न अन्त्य गरेका छौँ । सबैलाई र सबै ठाउँ टालेका छौँ र त्यसैलाई विकासको नाम दिएका छौँ । काम गरेको बहानामा स्रोतको दोहन मात्र होइन, रिचार्ज हुने क्षमता सबै ध्वस्त गरेका छौँ । जताततै नाफामुखी काम गरेका छौँ । जोखिमलाई निमन्त्रणा गर्दै क्षणिक सुख र भोगमा विकास शब्दलाई साटासाट गरेका छौँ । के यही हो विकास ? यही शैलीलाई विकास भनिन्छ ? व्यक्ति बदमास हुन सक्छ तर संस्थागत बदमासीलाई पनि छुट दिने हो भने राज्य, समाज, समुदाय किन चाहियो ? कहिले सोच्ने र ट्र्याकमा ल्याउने ?
यसकारण कृपया अब विकास नभनौँ । यी सबै विनाशकारी कार्य हुन्, जुन अहिले यो तालले हामी परिवर्तनको बाटो पक्रिएका छौँ । छमछम पानी पर्दा बाटो बनाउने, त्यसमा पनि पिच गर्ने, पूर्वाधार निर्माणका अन्य कार्य गर्ने जुन सो समयमा गर्नुपर्ने नै होइन । जानेरै पनि हामी त्यही बेला गरिरहेका छौँ । कुनै पनि आयोजना समयमा सकिँदैनन्, म्याद थपिन्छ अनि पनि बन्दैनन् । के यही हो विकास ? यहाँ राष्ट्रिय गौरवका आयोजनाहरूको त टुंगो छैन । त्यसमै जीवन गइसक्दा पनि बनेका छैनन्, अरू ससाना आयोजनाको त कुरै गर्नु व्यर्थ छ ।
आज विकास शब्दसँग मोलमोलाइ भएको छ । राजनीतिक चरम भ्रष्टाचारको स्थान बनेको छ विकास । खाना कटाएर तिरिएको जनताको करमा यहाँ मोजमस्ती छ । दलहरूले खाएका छन्, सांसदले चैन गरेका छन्, विकास बजेटको त कुरै नगरौँ, सबै अन्यत्रै छरेर सिध्याएका छन् । सेवा–सुविधा नेतालाई पु¥याउनमै जनताले दुःखले तिरेको करको दुरुपयोग गरेका छन् ।
अनेक बहानामा विकासलाई धकेलिएको देशमा यो पटक स्थायी सरकार भयो, संघीयता कार्यान्वयनमा आयो, राजनीतिक स्थिरता भयो भनेर जनताले थोरै आशा गरे पनि दुईतिहाइको सरकार त्यहीँमाथि बलियो सरकारबाट पनि विकास शब्द न बुझेको पाइयो, न कार्यान्वयन पक्षमा देखियो । आफूकेन्द्रित क्रियाकलाप र पपुलिष्ट बन्ने दौडमा विनाश र अस्थिरताको बाटोतर्फ सरकार नै उद्धत रहेको छ । विकास शब्दलाई सरकारले नै कुल्चिएर हिँडेको छ । मादलको चुट्के शैलीमा सरकार उफ्रिँदा न जनताले सरकार पाए, न विकासे काम । पाए त पाए केवल, गफ–झूट–अन्योलता ।
ताला–चाबी दुवै भएको मान्छे जिम्मेवार बन्न सक्नुपर्छ । जस्तै बिग्रिएको व्यक्तिलाई पनि यी दुई चिज दिनुपर्छ, सुध्रन्छ भनिन्छ । तर यहाँ त यसको पनि दुरुपयोग भएको छ । सरकारको नेतृत्व, सहकार्यकर्ता, सहयोगी सबै लुगा लगाए पनि नाङ्गो भएर हिँडेका छन्, बोलेको छन् र गरेको देखाएका छन् । लोकतन्त्रभित्र निरंकुशता लागू गर्न खोज्दैछ सरकारले, भिन्न मत राख्नेलाई यहाँ छौँडा, निम्छरा शब्दको प्रयोग गर्दै हिँडेका छन्, जुन कानुनी रूपमा बर्जित र असमान छ ।
विकासको भजन गाएर जथाभावी गर्नेलाई दण्ड, जरिवानाको प्रावधान छैन यहाँ, अनि २ हजार सेवाशुल्क लिएका खरिदार, मुखिया, टाइपर, शिक्षक आदिलाई लिन्न भन्दा पनि जब्बरजस्ती गोजीमा हालिदिएको पैसाको गणना गरी मुद्दा चलाइएको छ । हुन त रिश्वत ठूलो र सानो हुँदैन, कारबाही दुवैलाई समान हुनुपर्छ । तर, ठूलो रकमले सबैलाई मिलाउँछ अनि २ हजार पाएको सामान्य मानिसले मिलाउनु, के मिलाउनु ? अनि उसैलाई जाकेका छन् यहाँ ।
विकास बजेटको चरम दुरुपयोग आजको रोग होइन, पुरानै हो । नयाँले यो कुरामा सावधानी अपनाएर नमुना बन्न सक्थ्यो, तर यही असार महिनामा देशभरमा विकासका नाममा अदिगा हरेक कार्यले देखाउँछ— विकास शब्दलाई बाटोमा राखेर बुलडोजर चलाइएको छ । जनताको करलाई खोलाको भेलमा लगेर हालिएको छ अनि विषादीयुक्त आयातित सामग्रीमा परनिर्भर बनाइएको छ । यही हो विकास ?
भन्नलाई चाहिँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हवाला दिइएको छ । तिनै तहका सरकार क्रियाशील भई आर्थिक–सामजिक विकासतर्फ अगाडि बढेको छ भनिएको छ तर यथार्थमा विकासको नाममा गलत प्रवृत्ति झनै झांगिएको छ । समृद्ध नेपाल सुखी नेपालीको सोच बनाउँदै वि.सं. २१०० को प्रारम्भिक प्रारूपसहितको परिदृश्य तयार गरे पनि सो अनुसारका दिगो क्रियाकलापहरू भएका छैनन् । सम्झनुस न, सबै कुरा भाग मिल्दा र खाँदामात्र बनाइएका छन्, नत्र बजेट नै फ्रिज ! यो कुरा पुनः दोहो¥याउनु नपर्ला । किनकि यस्ता कुरा हामी सुन्छौँ, रिसाएजस्तो गर्छौं अनि अर्को कानले उडाइदिन्छौँ । अनि बाढी, प्रकोपको बेला पछुताएर बस्छौँ । के यही हो विकास ?
योजनाका हरेक पेजहरूमा लेखिने शब्द हो— विकास र समृद्धि । कुन पानाका शब्द हुबहु गरिएका छन् भनिदिनुहोस् त । मुलुकको सुशासन, विकास र समृद्धिका लागि उपयोग गर्न शासकीय अवयवहरूको कुशलतापूर्वक परिचालन भनेको घिच्ने अनि गरेजस्तो गर्ने हो ? यदि यसो हो भने हामी जनता नै गलत रहेछौँ भन्नुपर्ला । समृद्धिको आधार नै माथि उल्लिखित कुरा भए पनि त्यही माथिको दोहनले विकासका नाममा भ्रष्टाचार र अनियमितता जताततै फैलिएको छ ।
भन्नलाई राजनीतिक क्षेत्रमा युगान्तकारी परिवर्तन भए भनिन्छ, तर त्यसको महŒवपूर्ण पक्षहरू जस्तै ः आर्थिक, सामाजिक तथा आधुनिक यातायात तथा पूर्वाधार विकासका क्षेत्रमा खै त सफलता ? जनतामा सचेतनाको स्तर बढ्यो, असमानता हट्यो भन्दै गर्दा बोक्सीको आरोपमा जनप्रतिनिधिलाई साक्षी राखेर दिसा खुवाइएको, कुटपिट गरेको घटनाहरू किन रोकिएका छैनन् ? देशमा सियो कारखाना छैन, कृषिप्रधान देशमा सबै आयातित वस्तुको बिगबिगी छ । खै, यस कुरालाई रोकेको अनि आफ्नो पूर्वाधार विकास र आत्मनिर्भरताको बीउ रोपेको ? न स्वाधीनता जोगिएको छ, न हस्तक्षेप नै, उल्टै गोडामोलाइमा विकास चेपाएका छन् ।
सरकार ! ३ करोडको घर बनाउन सक्नेलाई घर अगाडिको केही हजारको सडक बनाउन दबाब देऊ न । त्यहाँ करको दुरुपयोग नगर । नसक्ने ठाउँका लागि बजेट देऊ, आफैँ बसेर काम गराऊ, गुणस्तरीय बनाउल ताकि तिम्रो गुणगान कैयौँ वर्षसम्म जनताले गाइरहून् । जनताको करलाई साइरन बजारएर मोजमस्तीमा नसक । जसले फोहोर गर्छ उसैलाई सफा गर्न लगाऊ, अन्तिमको व्यवस्थापन तिमीले गरिदेऊ न । घरअगाडिको बाटोमा चौपयाले गोब्य्राएको गोबर तिमीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट सोहोर्नु पर्दैन, उही घरवालालाई सोहोरेर घरमा लगेर मल बनाऊ भन्न सक्छौ । चौतारा बनाउनलाई प्रधानमन्त्री जोडेर गर्नुपर्छ र ? स्थानीयलाई स्वतःस्फूर्त परिचालन गरिने वातावरण बनाऊ । बिना कुनै शुल्क खडा हुनेछ । नत्र तिम्रा नामले यहाँ गोबर उठाउने, सडकको दुबो उखेल्ने, रोपाइँ गर्ने, जनप्रतिनिधिहरूको कपडा धुने, पाटी बन्ने जस्ता कार्यको तस्बिर र घटनाहरूले स्थान पाउने रहेछन् । तिम्रा तथ्यांकमा घटाइएको १८ प्रतिशतको गरिबी झूटको खेती जस्तो तिमीलाई लाग्दैन ?
युवा बिदेसिने क्रम रोक्न वा निरुत्साहित गर्न यस्ता टार्ने कार्य कसैका लागि सह्य हुँदैन । यसले घटाएको छैन उल्टै बढाएको छ । अर्थतन्त्रमा औद्योगिक उत्पादन घटेका छन, उद्योग छैन, भएकाको हालत पतला छ । आयातको मात्रा सुनिसक्नु र देखिसक्नु छैन । विप्रेषण बढेको छ, सामजिक सुरक्षा जोखिम अवस्थामा छ । आर्थिक वृद्धिको हवाला पिटेर उत्पादन र उत्पादकत्वमा कुनै सुधार ल्याउन सकिएको छैन । शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, आर्थिक, राजनीतिक, प्राविधिक पक्षमा खुइ... भन्ने अवस्था छ । अनि तिमी फलाक्न छाडेका छैनौ, सबैठाउँ बाटो पुग्यो, बिजुली पुग्यो, खानेपानी पुग्यो, गाडी पुग्यो...। पुगेको चिज कुन अवस्थामा छ कहिल्यै हेर्ने र मूल्यांकन गर्ने क्षमता राख्यौ, राख्दैछौ ? प्रायः अधिकांश कार्यहरूमा जोखिमताले दर्शन दिएको छ ।
तसर्थ विकास बरु नगर, गर्न सकेनौँ भन, तर शब्दको दूरुपयोग नगर । तिमीले गरेका कार्यहरू असली विकास होइनन्, लेप हुन् । अब तिम्रा हरेक क्रियाकलापमा खबरदारी गर्नुपर्ने दिन आएका छन् किनकी तिमी भ्रष्ट छौ, प्रस्ट भइसक्यो । तिमीले व्यापार गरिरहेका छौ । तिमी सिकारी हौ, जनतालाई सिकार गरिरहेका छौ । अब जनता डराउँदैनौँ, भन्छौँ तिमी राजाहरू उत्पादन गरिरहेका छौ । तिमीले विकासको नाममा राजनीति गरिरहेका छौ । तिमीले सबै जनतालाई भ्रष्ट बनाइसक्यौ ।

रुद्रप्रसाद भट्टराई