ढुनबहादुर बुढाथोकी
बुधवार, श्रावण १, २०७६
414

नेपालमा बाढीले के–कति क्षति पु-याएको छ भन्ने कुराको संकेत पाउन पछिल्लो १० वर्षको आँकडा केलाए पुग्छ ।

विश्व इतिहासमा बाढीपहिरोले नोक्सान पु-याएका थुप्रै घटना छन् । विश्व इतिहास खोतल्ने हो भने बाढीका कारण लाखौंले जीवनबाट हात धोएको नजिर छ । सन् १५३० नोभेम्बरमा हल्यान्डको सेन्ट फिलेक्स नदीमा आएको बाढीले ४ लाख, सन् १६४२ चीनको काइफेङ नदीमा आएको बाढीले ३ लाख ५० हजार, सन् १८८७ अक्टुबरमा चीनको हङ्गी नदीमा आएको बाढीले ६९ लाख, सन् १९३१ अगस्टमा चीनकै हङ्गी नदीमा आएको बाढीले ४० लाख, सन् १९५९ जुलाईमा चीनकै नर्थन नदीमा आएको बाढीले २० लाख मानिसको ज्यान लिएको कालो इतिहास छ ।
भौगोलिक रूपमा नेपाल आफैंमा पहाडी भूमि हो । पहाड छिचोल्दै सानाठूला करिब ६ हजार नदीनाला उत्तर– दक्षिण बगिरहेका छन् । वर्षालाई बाढीपहिरोको मूल कारक मानिन्छ र वर्षभरिमा औसत १६ सय मिलिमिटर वर्षा हुने गरेको छ । औसत ८० प्रतिशत वर्षा वर्षायाममा हुन्छ । यसको मतलब बाढीपहिरोको जोखिम वर्षायाममै अधिक रहन्छ भन्ने नै हो । जलवायु परिवर्तन पनि बाढीपहिरोको जड कारण हो । अना वर्षा, अधिवर्षा र खडेरी प्रकोप वृद्धि हुनुमा जलवायु परिवर्तनको कम्ति हात छैन । बाढीपहिरोको खोखिमका लागि आवास निर्माण, पूर्वाधार निर्माण, नदीको वहाब परिवर्तन, एक्साभेटर तथा डोजरको प्रयोग पनि कम्ती उत्तरदायी छैनन् । यी सबथोकका कारण ४९ जिल्ला भू–क्षय र बाढीको जोखिममा छन् । बाढीपहिरोबाट वार्षिक औसत ३ सय जनाको ज्यान गुमिरहेको छ । यसैले नेपाल बाढीपहिरोको जोखिमबाट नेपाल पनि मुक्त छैन । संयुक्त राष्ट्रसंघीय प्रतिवेदन–२००४ ले बाढी–पहिरोको जोखिममा ३० औं स्थानमा रहेको देखाएको छ । यी सबथोकका कारण बाढीपहिरोबाट वार्षिक औसत ३ सय जनाको ज्यान गुम्ने गरेको छ । नेपालमा बाढीले के–कति क्षति पु-याएको छ भन्ने कुराको संकेत पाउन पछिल्लो १० वर्षको आँकडा केलाए पुग्छ ।

वि.सं. २०६५ भदौ २ गते सप्तकोसीको बाँध फुट्यो । बाँध फुट्दा कोसी ब्यारेज निकटका कुसाह, हरिपुर, श्रीपुर, लौकीलगायतका बस्तीहरू तहसनहस बने । कुल ७ हजार ५ सय ६३ परिवार विस्थापित भए । वि.सं. २०७० आषाढ ३ गते महाकाली नदीले वितन्डा मच्चायो । दार्चुलाको सरदमुकाम खलङ्गा तवाह बन्यो । बाढीले १५८ घरहरू बगाउदा २०० अधिक परिवार प्रभावित भए ।
वि.सं. २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा पहिरो खस्यो । पहिरोले १ सय ५६ जनाको ज्यान लियो । तीनवटा गाउँका २ सय १९ परिवार विस्थापित भए । अर्बौं लागतको सडक, जलविद्युत् परियोजना, घरखेत, पशुधन, अन्नपात क्षति भयो । जुरेको घाउ सेलाउन नपाउँदै सोही साउनको अन्तिम हप्तातिर अविरल वर्षा मात्र खनिएन, बाढीमा २ सय ६० को ज्यान गुम्यो । हजारौं बिघा उर्वर जमिन बगरमा परिणत हुन कसैले रोक्न सकेन ।
वि.सं. २०७२ जेठ २७ गते उत्तरपूर्वी नेपालमा १ सय ३० मिलिमिटर वर्षा भयो । वि.सं. २०४५ यताकै ठूलो वर्षा थियो । वैशाख १२ को भूकम्पले थिलो–थिलो पारिएका पहाड बग्दा कैयन् गाउँ बगे । पहिरोमा खोक्लिङ, लिवाङ, सान्थाक्रा, थिङलाबु, लिङतेपलगायतका ६ गा.वि.स.का ५५ जनाको ज्यान गयो ।
वि.सं. २०७३ साउन १२ गते मध्यपश्चिम नेपालमा वितण्डा पुनरावृत्ति भयो । बाढीपहिरोका कारण पूर्वी तराई र मध्यपश्चिम क्षेत्र त्राहीमाम बन्यो । साउन १२ गते आएको अविरल वर्षाले प्युठान, दाङ, गुल्मी, बागलुङ तथा रोल्पामा वितन्डा मच्चायो । सिरहा, सप्तरी, बाँके, महोत्तरी डुबानमा परे । मुलुकभर बाढीपहिरोबाट २ सय ५७ मानिसको ज्यान गयो । सडक, तटबन्द, सिँचाइ आयोजना पुलपुलेसालगायत भौतिक पूर्वाधारहरू तहसनहस भए । घरखेत, धनमाल बाढीमा निलिदियो । गरिखाने खेतबारी खण्डहरमा रूपान्तरण भयो ।
२०७४ साउन २८ गते अविरल वर्षा हुँदा मुलुक पुनः तवाह–तवाह बन्न पुग्यो । अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट झापा, सुनसरी, मोरङ, सप्तहरी, सिन्धुली, चितवन, पाल्पा, दाङमा १ सय २३ मृत्यु, ३५ बेपत्ता र ३९ जना घाइते भए । बाढीप्रभावित क्षेत्रमा करोडौं मूल्यको सडक, पुल, विद्युत् र दूरसञ्चारलगायत भौतिक संरचनाहरू ध्वस्त भए । प्रभावित २६ जिल्लामध्ये तराईका ११ जिल्लाको ८० प्रतिशत भूभाग डुवानमा परे । बाढीप्रभावित क्षेत्रमा पशु, माछा, फलपूmल, कुखुरासहित ८० प्रतिशन कृषिजन्य उपज नोक्सान भयो । बाढीपहिरोबाट २ अर्ब ७६ करोडको कृषिजन्य वस्तुको क्षति भयो ।
२०७६ असार २४ देखि ३० गतेसम्म अर्थात् हालसालै मुलुकभर लगातार वर्षा भएको छ । वर्षाका कारण रौतहत, सिरहा, महोत्तरी, वारा, पर्सा मात्र होइन; मकवानपुर, भोजपुर, ओखलढुंगा, सिन्धुली, काठमाडांै, ललितपुर, इलाम, डोल्पालगायत २८ जिल्ला प्रभावित भएका छन् । यी हरफ कोरिउन्जेलसम्म रौतहट, महोत्तरी, सप्तहरीलगायत तराईको जनजीवन सामान्य हुन सकेको छैन । वर्षाका कारण कुलेखानीको ड्याम भरिएको, जनकपुर–जयनगर–बर्दिवास रेलमार्ग क्षति भएको, धादिङमा निर्माणाधीन सिमेन्ट उद्योग बगेको मात्र छैन, ६५ जनाको ज्यान गएको छ भने २५ जना बेपत्ता भएका छन् । हामीविरुद्ध कति निर्मम बनिरहेको छ वा नेपालले बाढीको विडण्डा कसरी झेलिरहको छ भन्ने दृष्टिान्तहरू हुन् यी । त्यसो त भर्खरै असार पूरा भई साउन महिना भित्रिँदो छ, जुन बाढीपहिरोको महिना पनि हो । पानी पर्नु साउन–भदौ महिनाको धर्म र विशेषता नै हो । यसको मतलब यस वर्षको बाढीपहिरोको सकस जीवितै छ भन्ने हो ।
अविरल वर्षाले राम्रो चिज केही गर्दैन । जटिल अवस्था मात्र निम्त्याउँछ । अविरल वर्षाले निम्त्याएको दुर्घटनाका कारण विद्युत्, सञ्चार, यातायात, खाद्यन्न, पानी, पुलपुलेसा नोक्सान हुन्छन् । बालीनाली, उर्वर जमिन, वस्तुभाउ क्षति हुन्छ । अन्ततोगत्वा भोकमरीले डेरा मात्र जमाउँदैन, बल्कि कुल गार्हस्थ्य उत्पादन, आर्थिक वृद्धि, निर्यात व्यापार र बचतमा समेत नकारात्मक असर पर्छ ।
बाढीपहिरो पूर्वसूचना दिएर आउँदैन । एकाएक टप्कन्छ र तवाह गर्छ । नेपालजस्तो भौगोलिक अवस्था रहेको मुलुक चाहेर पनि बाढीपहिरो, डुबानको जोखिममाबाट मुक्त हुन सक्दैन । यसैले यसबाट बच्ने वा क्षति न्यूनीकरण गर्ने उपाय अबलम्बन गर्नु बुद्धिमानी ठहर्छ । त्यसो त बाढीपहिरो, डुबानको विपद् रोक्न वा पूर्वानुमान गर्न नसकिए पनि पूर्वसावधानी अपनाई जीउधनको रक्षा वा भौतिक क्षति न्यूनीकरण गर्न भने पक्कै सकिन्छ । बाढीपहिरोको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र विपदपश्चात्को व्यवस्थापन गरी दुईवटा उपाय अवलम्बन गर्नु श्रेयष्कर हुन्छ ।
पूर्वतयारीको हकमा बाढीपहिरो, डुबानको जोखिमयुक्त क्षेत्र कहाँ–कहाँ के–कस्तो अवस्थामा छन्, पहिचान गर्नु, सम्भाव्य जोखिम कम गर्न के गर्नु उपयुक्त हुन्छ उपायपहिल्याउनु, जोखिम स्थानान्तारण गर्न सक्ने भए स्थानान्तरण गर्नु, बाढी, पहिरो, डुबान आइलागेमा के गर्ने, समुदायमा आधारित विपद्को पूर्वतयारी गर्नु बाढीपहिरो, डुबानको पूर्वसूचना समुदायलाई कसरी प्रवाह गर्ने आदि कुरामा चनाखो हुनुपर्छ । विपद्पश्चात्को व्यवस्थापनको हकमा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीको समन्वयात्मक परिचालन गर्नुपर्छ । केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई प्रभावकारी तुल्याउन सक्नुपर्छ । राहत वितरण, पुनःस्थापना र पुनःनिर्माणलाई तथ्यपरक बनाउन क्षतिको अभिलेख दुरुस्त पार्नुपर्छ । क्षति भएका भौतिक संरचनाहरूकोे पुनःनिर्माणका निमित्त कोषको प्रबन्ध गर्न आन्तरिक तथा बाह्य दाताहरूसँग समयमै हारगुहार माग्र्नुपर्छ । पछि हुन सक्ने क्षतिलाई न्यून गर्न विकासको पूर्वाधार मानिने राजमार्ग, सडक, पुल, जलविद्युत् आयोजना, बाँध, विमानस्थल आदि प्राकृतिक विपदबाट बचाउन सकिने दूरीमा निर्माण गर्न पर्छ ।