बिनिता भट्टराई
मंगलबार, असार २४, २०७६
266

अबको पर्यटन नीति विस्तृत अध्ययनमार्फत संख्या बढाउने भन्दा पनि पर्यटकलाई उपलब्ध गराउने गुणस्तरीय सेवाप्रति लक्षित हुनुपर्छ ।

नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा हेरिन्छ । विदेशीहरू नेपालमा आधुनिकता हेर्न नभएर यहाँको प्राकृतिक सुन्दरता, जीवन्त–संस्कृतिलगायत साहसिक मनोरञ्जन लिन सकिने लोभले आउने हुन् । विदेशी पर्यटक आकर्षित गर्न प्रकृतिले दिएका अनुपम उपाहार छन् कि त पितापुर्खाले छोडेर गएका ऐतिहासिक धरोहर । तर, तिनको संरक्षण र संवद्र्धन गर्न आजसम्म सिन्को भाँच्ने कामको सुरुवातसमेत भएको छैन, विशुद्ध तिनको दोहनमा हामी रमाइरहेका छौं । विगतमा नेपालका अधिकांश हिमाली तथा पहाडी जिल्लाहरू सडक सञ्जालबाट मुक्त थिए । विशुद्ध विदेशीले खोजेजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण थिए । आज विदेशीले आनन्द लिने पदमार्गहरू वर्षायाममा हिलाम्मे अनि हिउँदमा धुलाम्मे, पर्यावरणीय दृष्टिकोणबाट अति जोखिमयुक्त डोजर बाटाले भरिएका छन् । पदमार्गहरूमा विशुद्ध हिमाली चिसो हावाले मनोमञ्जित हुने सट्टा अगाडि–पछाडि कुद्ने सवारीले उडाउने धूलो र धूवाँले श्वास–प्रश्वाससम्बन्धी रोगको सिकार हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । काठमाडौंमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरू अवलोकन गर्ने पर्यटकहरू पछिल्लो समय बढ्दै गएको धूवाँ–धूलो तथा प्रदूषणबाट सन्तुष्ट हुन सक्ने अवस्था छैन । पर्यटन क्षेत्रका नयाँ गनतव्यहरू पहिचान हुँदै गरेको भए पनि ती स्थलहरूमा पर्याप्त भौतिक पूर्वाधारको विकास हुन सकेको छैन । सन् २०१८ मा २ लाख ७४ हजार ९७ पर्यटक भिœयाउने भुटानमा १ सय ३६ वटा तारे होटल पर्यटकलाई सेवा दिन दर्ता भएका देखिए । नेपालमा सोही समयमा झन्डै १२ लाख पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक भए पनि तारे होटल १ सय २५ मात्र दर्ता भएका देखियो ।
भुटान र नेपालको प्राकृतिक भूबनोट, धर्म–संस्कृति झन्डै समान प्रकृतिको भए पनि पर्यटन नीति बिल्कुल फरक छ । भुटान सरकारको नीति पर्यटकको संख्या बढाउने हैन, पर्यटकको गुणस्तरलाई प्राथमिकता दिने छ । न्यूनतम सुविधाका लागि प्रतिदिन २ सय अमेरिकी डलर खर्च गर्न नसक्ने पर्यटक भुटान प्रवेश नै पाउँदैनन् । पर्यटकले प्राप्त गर्ने सुविधा पर्यटकले किन्ने प्याकेजमा भर पर्छ । भुटानले अवलम्बन गरेको हाई भ्यालु लो इम्प्याक्ट पर्यटन क्षेत्रको स्लोगनले कति पर्यटक भिœयाउने सरोकार राख्दैन । स्थानीय धर्म, संस्कृति र वातावरणमा विल्कुलै असर नगर्ने गरी पर्यटन प्रवद्र्धन गरेकै कारण भर्खरै मात्र अन्तर्राष्ट्रिय स्तरको ग्रिन डेस्टिनेसन गोल्ड अवार्डबाट सम्मानित हुने अवसर प्राप्त ग¥यो । भुटान पर्यटन क्षेत्रमा आफूलाई हरित गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सफल भएको छ । नेपालका प्रधानमन्त्रीले भने नेपालले पर्यटन क्षेत्रको सही व्यवस्थापन गर्न नसक्दा सगरमाथामा कसरी हिमाल आरोहीको भीड लाग्यो भन्ने सन्दर्भमा विश्व समुदायमा नूर गिर्ने गरी आलोचित भई बीबीसीको अन्तर्वार्ता सामना गर्नुप¥यो ।

नेपाल सरकारको प्रमुख ध्येय पर्यटकको संख्या वृद्धि गरेर राजस्व बढाउने वा विदेशी मुद्रा आर्जन गर्ने रहेको छ । सस्तो पाउरोटी खोज्दै हिँड्ने, बिनागाइड ट्रेकिङ जाने विदेशी पर्यटकबाट कस्तो अपेक्षा गर्न सकिन्छ । यसको परिणाम हामीले पटकपटक भोगि सकेका छौं । सन् २०१४ मा अन्नपूर्ण पदयात्रामा गएका पदयात्रीमध्ये अधिकांश सस्ता पर्यटकसँग पर्याप्त आवश्यक सामग्री नभएको र गाइड नभएका कारण मृत्यु भएको हो भन्ने अनुमान मात्र हैन, नेपाल सरकारका आधिकारिक व्यक्तिको अभिव्यक्ति समेत त्यस्तै थियो । पटक–पटक दोहोरिने यस्ता घटनाले विश्व जमातमा नेपालको छविमा नकारात्मक प्रभाव त पार्ने नै भए, पर्यटन व्यवसायमा ठूलै धक्का लाग्ने गर्छ । पर्यटकको आगमन वृद्धि गर्ने प्रमुख नीतिको कारण हुनुपर्छ । नेपालमा विगतको इतिहास हेर्दा १० वर्षे सशस्त्र जनयुद्धका केही वर्ष र सन् २०१५ मा आएको विनाशकारी भूकम्पको वर्षबाहेक हरेक वर्ष नेपाल भित्रिने पर्यटको संख्या बढ्दो छ । पर्यटकको गुणस्तर अध्ययन गर्ने हो भने विगत १० वर्षमा नेपाल आउने पर्यटकले प्रतिदिन गर्ने खर्च र पर्यटकको स्रोत राष्ट्र अध्ययन गर्न सकिन्छ ।
पर्यटन विभागका अनुसार सन् २००१ म झन्डै ४० अमेरिकी डलर प्रतिदिन खर्च गर्ने पर्यटक सन् २०१८ मा ४४ अमेरिकी डलर खर्च गरेको देखियो । सत्र वर्षअघि र अहिले बजार मूल्य वृद्धि हेर्दा पर्यटकको खर्च गर्ने क्षमतामा ह्रास आएको सहजै अनुमान गर्न सकिन्छ । पर्यटक आउने स्रोत राष्ट्रमध्ये भारत विगतदेखि नै अग्रपंक्तिमा पर्ने देखिन्छ । कुल पर्यटक संख्यामा लगभग १८ देखि २० प्रतिशत भारतीय रहेको भए पनि यो तथ्यांकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अन्यत्रबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटक समावेश गरिएको छैन । उल्लेख्य मात्रामा नेपाल आउने अस्ट्रेलिया, क्यानडा, जर्मनी, फ्रान्स, स्पेन, इटाली जस्ता देशका पर्यटकहरूको योगदान विगत एक दशकको तथ्यांक हेर्दा समग्र पर्यटकको संख्यामा ओरालो लागेको अवस्था छ । पछिल्लो समय चीन, दक्षिण कोरिया, म्यानमार, थाइल्यान्ड तथा जस्ता राष्ट्रबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । चिनियाँ पर्यटकको हालको अवस्था अध्ययन गर्दा अबको केही वर्षमा चिनियाँ पर्यटकले भारतीय पर्यटकलाई उछिन्ने निश्चित छ । नेपाल सरकारले भने पर्यटक संख्या बढाउनकै लागि चिनियाँ नागरिकलाई १ सय ५० दिनसम्म निःशुल्क पर्यटन भिसा दिने व्यवस्था गरेको छ । निःशुल्क भिसाको दुरुपयोग गरी चिनियाँ नागरिक व्यवसाय गर्ने गरेका समाचार समेत बेलाबखत आइरहन्छन् । चिनियाँ पर्यटकले चिनियाँ व्यवसायीमार्फत विद्युतीय माध्यमबाट कारोबार गर्दा नेपालमा कति खर्च भयो देखिने संयन्त्र नबन्दा चिनियाँ पर्यटकले नेपालमा गरेको खर्च चीनमा नै पुग्ने गरेको छ । पाँच महिनासम्म बिनाशुल्क भिसा दिने र चिनियाँ पर्यटकको संख्या बढाएर विदेशी मुद्रा आर्जन बढ्ने अपेक्षा गर्नु कति जायज हुन्छ, पुनर्विचार गर्नुपर्ने बेला आएको छ । प्रभावकारी अनुगमन गर्न नसक्दा यस्ता विषय समय–समयमा समाचार बन्ने गरेका छन् । उल्लेख्य विदेशीको उपस्थिति भएका क्षेत्रहरूमा तिनको सिको गर्ने, व्यवहार र चालचलन नक्कल गर्दा प्रत्यक्ष÷परोक्ष रूपमा हाम्रा संस्कार र संस्कृतिमाथि प्रहार भइरहेको छ ।
नेपाल सरकारले पहिलो पटक सन १९९८ मा ५ लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाएको दुई दशक भएछ । दोस्रो पटक सन् २०११ मा १० लाख पर्यटक भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको झन्डै ९ वर्षपछि तेस्रो पटक नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भएको छ । नीतिगत, योजनागत संस्थागत विकासका दृष्टिकोणबाट हेर्दा नेपालको पर्यटन क्षेत्रको विकास झन्डै ६ दशकअघि सुरु भएको देखिन्छ । पर्यटन क्षेत्रको विकास र संवद्र्धनबाट रोजगारी सिर्जना गर्ने तथा समग्र राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउने नेपाल सरकारका नीति तथा रणनीतिहरूले पर्यटन आगमन संख्या बढाउने प्रमुख रणनीतिका रूपमा लिएको छ । युरोपका कतिपय महŒवपूर्ण पर्यटकीय सहरहरूमा टुरिस्ट गो होम भन्ने अभियान चल्न थालेको छ । बार्सिलोना भेनिसजस्ता सहरहरूमा विदेशीले स्थानीयवासीको मूल्य–मान्यतामा प्रहार गर्ने गरेको साथै अभद्र व्यवहारका कारण स्थानीयहरू पर्यटकप्रति रुष्ट देखिन थालेको देखिन्छ । नेपालले कम गुणस्तरका पर्यटकको संख्या बढाएर भविष्यमा यसको दृश्य परिणाम भोग्नु नपरोस् भन्नका लागि अहिल्यै सचेत हुन आवश्यक छ । कम पर्यटक आगमनबाट पनि पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्ने विषय भुटानले प्रमाणित गरिसकेको छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि स्थापित सरकारी निकायहरूले हचुवाको भरमा पर्यटन नीति तर्जुमा गरेको देखिन्छ । नीति तर्जुमामा देखिएका कमजोरीहरू सुधार गर्दै लैजानु आवश्यक छ । अबको पर्यटन नीति विस्तृत अध्ययनमार्फत संख्या बढाउने भन्दा पनि पर्यटकलाई उपलब्ध गराउने गुणस्तरीय सेवाप्रति लक्षित हुनुपर्छ ।
(लेखक अध्यागमन विभाग, कालिकास्थानका निर्देशक हुन् ।)