समिर रेग्मी
बुधवार, असार ११, २०७६
3551

१९९० मा सोभियत संघको विघटन भएपछि विश्व एकल अमेरिकी धु्रवीय नियन्त्रणमा रहँदै आएको छ । अमेरिकाले एकपक्षीय रूपमा विश्वमाथि आफ्नो नियन्त्रण गर्दै आएको छ । अमेरिकाले विश्वमाथि शासन गर्नु भनेको उसले विश्वका धेरै मित्र राष्ट्रहरूलाई आफ्नो वशमा राख्न सक्नुले नै हो । चाहे हतियारको सहयोगबाट होस् वा व्यापारको सहयोगबाट । जापान, युरोपेली संघका मुलुकहरू सबै नै लामो समयदेखि अमेरिकाको मित्रशक्ति राष्ट्रका रूपमा रहँदै आएका छन् । तर, अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको उदय भएपछि विश्वले केही उथलपुथलको अवस्था महसुस गरेको छ । उसले लामो समयका मित्रहरू जापान, युरोप र भारतलाई पनि व्यापारयुद्धको माध्यमबाट चिढ्याउँदै आएको छ । सुरुमा स्टिल आल्मुनियममा भन्सार शुल्क थोपरेर व्यापारयुद्धको शंखनाद गरेपछि पहिलेका मित्र राष्ट्रहरू ऊसँग चिढिन थालेका छन्, तर गर्न सक्ने अवस्था केही नभएकाले उनीहरू चुप लागेर बसेका छन् । जर्मनीबाट उत्पादन हुने कारमा भन्सार शुल्क बढाउने, फ्रान्सको वाइनमा भन्सार लगाउने, भारतलाई सौविध्यपूर्ण व्यापार सुविधाबाट हटाउने काम गरेर उसले आफ्नै मित्र राष्ट्रहरूलाई चिढ्याउन थालेको छ ।
जर्मनीले त नर्ड स्ट्रिम–२ ग्यास पाइपलाइनबाट रूसी ग्यास आयात गर्ने र आफू अमेरिकाको उपनिवेश नभएको टिप्पणी गरि नै सकेको छ । तर, अमेरिकाले यदि जर्मनीले रूसबाट आयात गरिने ग्यासको योजना अगाडि बढाएमा नराम्रो हुने चेतावनी दिइसकेको छ । यसमा जर्मनी पनि टस न मस भएर बसिरहेको छ । यसले अमेरिकाका पुराना मित्रराष्ट्रहरू जर्मनी र फ्रान्स अमेरिकी गुटबाट बाहिरिने संकेत देखिएको छ । जर्मन अधिकारीले रूसलाई लगाइने प्रतिबन्धले अमेरिकालाई मात्रै फाइदा हुने र आपूmहरू मूकदर्शक मात्रै हुने बताएर अमेरिकी नेतृत्वको गतिविधिबाट अलग्गिने संकेतसमेत गरेका छन् । यसबाट अमेरिकी नियन्त्रणको एकल धु्रवीय विश्वको अन्त्यमा केही भरथेग गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले पनि अमेरिका र नेटोसँग पृथक् भएर रूससँग सम्बन्ध राख्ने बताएपछि अमेरिकी नेतृत्वको पर्खालको अर्को इँटा झरेको छ ।
पछिल्लो समयमा भारतलाई पनि व्यापारमा आक्रमण गरेपछि चीनका कारण अमेरिकासँग नजिकिएको भारत पनि उसको मित्रका रूपमा रहिरहन सक्ने देखिएको छ ।
६ शक्तिशाली राष्ट्रहरू तथा इरानबीचको परमाणु सम्झौताबाट फिर्ता हुने अमेरिकी निर्णयले अन्य शक्तिशाली राष्ट्रहरूमा अमेरिका एकलौटी गर्न लागेको आशंका उब्जिएको छ । यसले पछिका सहकार्यहरूमा पनि शंका गर्न सकिने अवस्था आउन सक्छ । यसैले विश्वले विश्व मञ्चमा अमेरिकाको विकल्प खोज्ने समय आउन थालेको भान हुन्छ ।
ईयूले इरानको परमाणु सम्झौताको समर्थन गरेको छ भने ऊसँगको व्यापारलाई सहयोग गर्नका लागि गैरडलर व्यापारको नयाँ भुक्तानी प्रणाली प्रयोग गर्ने जनाएको छ । बेलायत, फ्रान्स र जर्मनीले स्थापना गरेको इन्स्ट्रुमेन्ट इन सपोर्ट अफ ट्रेड एक्सचेन्ज तथा इन्सटेक्सले ईयूका निकायहरूलाई अमेरिकी प्रतिबन्धलाई बाइपास गर्दै इरानसँग व्यापार गर्नका लागि सहयोग गर्ने देखिन्छ ।
वासिङ्टनले लगाएको कठोर प्रतिबन्धबाट प्रभावित भएर तेहरान अमेरिकी डलरको विकल्प खोज्नका लागि बाध्य भएको छ । आफ्नो मुलुकको मुद्राको आधिकारिक विनिमय दरको निर्धारणका लागि इरानले अमेरिकी डलरलाई चिनियाँ युआनमार्फत विस्थापित गरिसकेको छ । यसलाई एउटा महत्वपूर्ण प्रतिक्रियात्मक कदमका रूपमा हेर्न सकिन्छ ।
यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा अमेरिकी डलरको ठूलै प्रभाव रहँदै आएको छ । विश्व मञ्चमा राजनीतिक र आर्थिक प्रभावका लागि वासिङ्टन अभैm पनि सर्वशक्तिमान मुलुकका रूपमा रहँदै आएको छ । अमेरिकाले आदेश जारी गर्ने र अन्य मुलुकले यसको पालना गर्नुपर्ने अवस्था अभैm पनि विद्यमान रहँदै आएको छ ।
तर, पछिल्ला विश्व गतिविधि र क्रियाकलाप हेर्दा विश्व एक ध्रुवीय अमेरिकी नियन्त्रणबाट बहुध्रुवीयतर्फ जाने संकेत देखिएको छ ।