नरेन्द्रमान श्रेष्ठ
आइतवार, असार ८, २०७६
864

मर्जर प्रक्रिया लम्बिँदा र मर्जर प्रक्रिया असफल हुँदा सेयरधनी लगानीकर्ताहरू धेरैजसो मारमा पर्ने गरेका छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा र सेयर बजारमा चर्चाको विषय बन्यो— प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकको एक्वायर प्रक्रिया भाँडिएको विषयमा । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भएकोमा अन्तिममा आएर सम्झौता भाँडियो, यसले सेयर बजारमा ठूलो चर्चा पायो । साथै यसमा एक–अर्काले आरोप–प्रत्यारोप पनि गरे । साथै, नेपाल राष्ट्र बैंककै कर्मचारीले सम्झौता भाँड्न खेलेको भन्ने पनि सुन्नमा आयो । तर, प्रइमसँग सम्झौता भाँडिएलगत्तै ओम डेभलपमेन्ट बैंकले एनएमबी बैंकसँग मर्जर गर्ने सम्झौता गरिसकेको छ ।
यस सम्बन्धमा कम्पनीहरूको साधारणसभामा बोल्ने एक जना वक्ता सेयरधनीले एक साधारणसभामा एनएमबी बैंकले जग्गेमा रहेकी दुलहीलाई अपहरण गरेर लगेजस्तै एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई अपहरणको शैलीमा लगेको भनेर आरोपसमेत लगाए । त्यसो त बैंकहरूबीच एक–आपसमा मर्जर गर्ने, एक्वायर गर्ने प्रक्रिया असफल हुने, भाँडिने, तोडिने गरेको प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक पहिलो उदाहरण भने होइन । यसभन्दा पहिले पनि थुप्रै बैंक तथा वित्तीय कम्पनीहरूको मर्जर प्रक्रिया असफल भएका छन् । उदाहरणका लागि लक्ष्मी बैंक र एभरेस्ट बैंकको मर्जर पनि त सफल नभएकै हो । तर, यसले भने त्यति चर्चा पाएन जति प्राइम र ओम डेभलपमेन्ट बैंकको मर्जर तथा एक्विजिसन भाँडिँदा पाए । कम्पनीहरू एकआपसमा मर्जर तथा एक्विजिसन प्रक्रिया भाँडिए वा तोडिए तथा असफल भए पनि कम्पनीहरूलाई भने त्यति नोक्सान हुने गरेको छैन जति नोक्सान सेयर बजारका लगानीकर्ताहरू वा सेयरधनीहरूलाई नोक्सानी गरेको छ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया भाडिँदा प्राइम कमर्सियल बैंकका सेयरधनीहरूलाई नोक्सान नभए पनि ओम डेभलपमेन्ट बैंकका सेयरधनीहरूलाई भने नोक्सान भयो । ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकले एक्वायर गर्ने सम्झौता भएकाले ओम डेभलपमेन्ट बैंकको सेयर दोस्रो बजारमा कारोबार भएन भने यिनीहरूको मर्जर तथा एक्विजिसन प्रक्रिया पनि लामो अवधिसम्म चलेर अन्तिममा भाँडियो । अब फेरि एनएमबीसँग मर्जर हुने भएकाले फेरि ओम डेभलपमेन्ट बैंकको सेयर सेयरबजारमा कारोबार बन्द भएको छ ।

हिजोको दिनमा पनि बैंक तथा वित्त कम्पनीहरू एक–आपसमा मर्जर गर्ने, एक्वायर गर्ने गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई आ–आफ्नो पुँजी लगभग ४ गुना बढाउन निर्देशन दिएपछि कतिपय बैंक तथा वित्त कम्पनीहरूले मर्जर पनि गर्ने गरेका थिए । यसै क्रममा मर्जर तथा एक्विजिसन सम्झौता गरेका कतिपय बैंक तथा वित्त कम्पनीहरूको मर्जर सफल भयो भने कतिपयको असफल पनि भयो । त्यसो त बैंक तथा वित्तीय संस्थाले एउटा कम्पनीसँग मर्जर प्रक्रिया असफल भए फेरि अर्को कम्पनीसँग मर्जर गर्नका लागि पार्टनर खोज्ने गरेको पनि देखिन्छ ।
अहिले फेरि बिग मर्जरको चर्चा भइरहेको छ । बिग बैंकहरूको संख्या घटाउनका लागि मर्जरमा जान बिग मर्जर उपयुक्त भए पनि यस्ता बिग मर्जरहरू सफल नै हुन्छन् त भन्नेबारेमा पनि चर्चा–परिचर्चा चल्ने गरेको छ । नेपालमा कतिपटा बैंक चाहिने हो, बजारले यसका बारेमा निक्र्योल गर्ने हो कि राष्ट्र बैंकले गर्ने हो । बिग बैंकहरूको बिग मर्जर अन्य बैंक तथा वित्तीय संस्थाका झैं अन्तिममा आएर कठिनाइ आई बिग मर्जर नै असफल हुने पो हो कि ? यस्तो अवस्थामा के गर्ने ? यसले कम्पनीहरूलाई त्यति नोक्सान नगरे पनि सेयरधनी लगानीकर्ताहरूलाई भने नोक्सान गर्छ नै ।
नेपालमा ‘टु बिग टु फेल’ अर्थात् धेरै ठूलो हुँदा जोखिम पनि ठूलै भएर त्यस्ता बैंक तथा वित्तीय संस्था धराशायी हुँदा अर्थतन्त्रमा नै असर पर्न पनि सक्ने के–कस्तो अवस्था छ ? बजारको आकार तथा आयतन सानो भएकाले ठूलो जोखिम उठाउन बैंक तथा वित्तीय संस्थाहरू कति सक्षम छन् ? बैंकको क्षमतामात्र होइन, बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय तथा पुँजीबजारको नियामक निकायको क्षमता तथा दक्षता कति छ ? यी यस्ता प्रश्न हुन्, भोलि हरेक सेयरधनीले सोध्नु आवश्यक छ ।
बैंक तथा वित्तीय कम्पनीहरू वा अन्य कम्पनीहरू एक–आपसमा मर्जर गर्दा मर्जर असफल हुने, भाँडिने, तोडिने धेरै कारणमध्ये स्वाप रेसियो तथा मानव संसाधनको व्यवस्थापन हो । साथै, यसमा अर्को प्रमुख तŒव भनेको दुई ठूला बैंकका व्यवस्थापन समिति तथा अध्यक्षको समायोजना पनि हुन्छ । सरोकारवालाहरूको भनाइमा सञ्चालक समिति, अध्यक्ष तथा समितिमा प्रतिनिधित्व गर्ने कर्मचारी समायोजनमा पनि समस्या आएर मर्जर प्रक्रिया असफल भएका छन् ।
त्यसो त स्वाप रेसियोको निर्धारण डीडीएले गर्ने गरेको भए तापनि कतिपय अवस्थामा स्वाप रेसियोका लागि चलखेल पनि हुने गरेको, कमिसनको चक्कर पनि चल्ने गरेको बताउँछन् भुक्तभोगीहरू । जुनसकै कारणले मर्जर असफल भए पनि नोक्सानमा पर्ने भनेका सेयरधनीहरू लगानीकर्ताहरू नै हुने गरेका छन् । त्यसो त कतिपय अवस्थामा एक कम्पनीसँग मर्जर तोडिएलगत्तै अर्कोसँग तत्काल नै मर्जरमा जाने गरेको पनि देखिएको छ । यसले लगानीकर्ताहरू दोहोरो मारमा पर्ने गरेका छन् ।
त्यसो त कम्पनीहरू एक–आपसमा मर्जर प्रक्रियामा रहँदा उनीहरूको सेयर दोस्रो बजारमा कारोबार हँुदैन । यसले लगानीकर्ताहरूको लगानी ब्लक हुने गरेको छ । यसरी मर्जर प्रक्रिया लम्बिँदा र मर्जर प्रक्रिया असफल हुँदा सेयरधनी लगानीकर्ताहरू धेरैजसो मारमा पर्ने गरेका हुन् । यसले गर्दा पनि कतिपय लगानीकर्ताको भनाइमा मर्जर गर्ने कम्पनीहरूले पहिले मर्जरसम्बन्धी एक–आपसमा अनौपचारिक छलफल नै गर्नुर्पछ । अनौचारिक छलफलमा कुरा मिलेपछि मात्र मर्जरका लागि सम्झौता गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ, तर यसमा पनि समस्या के छ भने बजारमा हल्ला चलाएर नाफा कमाउने एउटा वर्गले खेल्न सक्छ । तर, यस प्रकारले मर्जर तथा एक्विजिसनमा जाँदा अन्तिममा आएर मर्जर प्रक्रिया भाँडिने, तोडिने समस्यामा कमी आउन सक्ने देखिन्छ, जसबाट कतिपय सेयरधनी लगानीकर्ताहरूलाई आफ्ना सेयर धेरै समय ब्लक नहुने र छिटो निर्णय भई कारोबार खुल्ने हुँदा काम धेरै नोक्सान पर्दैन । धेरै समय अवधिसम्म आफ्नो सेयर ब्लक नहुँदा लगानीकर्तालाई मात्र होइन, बजारको विकासमा पनि यसले योगदान गर्न सक्छ ।
मर्जर तथा एक्विजिसनका नाममा कतिपय अवस्थामा कम्पनीहरूको सूचना चुहाएर सेयर बजारमा सेयरको भाउमा चलखेल गर्ने पनि गरेको छ । यसमा मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरू चनाखो हुनुपर्ने देखिन्छ । त्यसो त कतिपय कम्पनीको मर्जर तथा एक्विजिसन प्रक्रिया समाप्तिपछि सेयरको भाउ तलमाथि हुने गरेको पनि देखिन्छ, जसबाट दोस्रो बजारका लगानीकर्ताहरूलाई असर गर्ने गरेको छ ।
पछिल्लो समयमा बिग मर्जरको हल्ला बजारमा पिटाएर दोस्रो बजारमा केही लगानीकर्ताले चलखेल नगरून् भनेर धितोपत्र बोर्ड मात्र होइन, नेपाल राष्ट्र बैंक पनि सजग हुनुपर्ने अवस्था छ । बिग मर्जर अर्थतन्त्रको हितका लागि हो वा निश्चित केही समूहको स्वार्थ पूरा गर्न हो भन्ने नबुझी बजारको हल्लाको पछाडि लाग्दा साधारण लगानीकर्ताहरू डुब्न सक्ने सम्भावना पनि उत्तिकै छ । यदि बिग मर्जरमा गएका बिग बैंकहरूको मर्जर तथा एक्विजिसन प्रक्रिया भाँडिए वा तोडिए लगानीकर्ताहरूलाई पनि ‘बिग नोक्सानी’ हुने हुनाले एउटा निश्चित वर्गको पहुँचमा मात्र बिग मर्जरको कुरा गरिएको हो कि भन्ने पनि चर्चा बजारमा छ । कम्पनीहरूले बिग मर्जरका बारेमा छलफल चलाइँदा औपचारिक सम्झौता नभएसम्म यसको सूचना गोप्य राख्ने कुरामा धितोपत्र बोर्ड तथा राष्ट्र बैंक दुवै सजग हुनु आवश्यक छ । बेला–बेलामा राष्ट्र बैंकबाटै सूचना चुहिएका पनि बजारमा हल्ला हुने गरेका प्रशस्त उदाहरण छन् । राष्ट्र बैंकबाट सेवानिवृत्त भएको दोस्रो दिन नै कार्यकारी निर्देशक सीधै बिमामा जागिर खान गएको भर्खर नै हो । यस्तोमा सेयर बजारमा कति सूचना कसरी बाहिर आउँछन् भन्ने पनि आकलन गर्न सकिन्छ । यसले पनि सेयर बजारमा हल्ला चलाउनेहरूलाई फाइदा हुन्छ । सबै कुरा कानुनी वा गैरकानुनी भन्ने व्याख्यामा मात्र नहेरी नैतिक वा अनैतिकताको कसीमा पनि हेर्नुपर्ने हो कि ? हुन त बजार नैतिकताको बाटो हिँड्दैन तापनि बजारका लगानीकर्तालाई डुब्नबाट जोगाउन कानुनी बाटो मात्र नहेरी धितोपत्र बोर्डले नैतिक तथा अनैतिकताको कसीमा पनि हेर्ने हो कि ?