कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
364

उदयपुरको पहाडी क्षेत्रमा प्रशस्त मात्रामा पाइने अल्लो वर्षौंदेखि गाईवस्तुको सोत्तर र मलका रूपमा प्रयोग हुँदै आएको छ । स्थानीयलाई अल्लोको महत्व र प्रशोधन गर्ने तरिका थाहा नहुँदा वर्षौंदेखि किसानको गाईभैसी गोठमा अल्लो कुहिँदै आएको हो । जिल्लाका दुई दर्जनभन्दा बढी गाउँमा पाइने अल्लोलाई कतिपय किसानले भने मल बनाउन मलखादमा कुहाउँदै आएका छन् ।
जंगल, पाखा, पखेरा र करेसाबारीमा प्रशस्त पाइने अल्लोलाई स्थानीयवासीले गाईवस्तुको खोले र खेतीका लागि मल बनाउन प्रयोग गर्दै आएको स्थानीय बासिन्दाहरू बताउँछन् । नेपालमा उत्पादित अल्लोको कपडा विदेशमा समेत निर्यात हुँदै आएको छ । तर, महँगो मूल्यमा बिक्री हुने अल्लोको कपडा बुन्न आवश्यक धागो उत्पादन गर्नेतर्फ समेत जिल्लामा कसैको ध्यान पुग्न सकेको छैन । अल्लो प्रवद्र्धनका लागि सम्बन्धित निकायको ध्यान जान नसक्दा लाखौं रुपैयाँबराबरको अल्लो बर्सेनि किसानको मलखादमा कुहिरहेको छ ।

जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे, ताम्लिछा, बाराहा, जाते, बलम्ता र रौतामाई गाउँपालिकाको पोखरी, रौता, आ“पटारलगायतका दुई दर्जनभन्दा बढी गाउँमा प्रशस्त अल्लो पाइन्छ । तर, अल्लोका बारेमा चेतना नहुँदा सर्वसाधारणले काटेर मलखादमा पुर्ने र कतिपयले खोलेका रूपमा प्रयोग गर्ने गरेको स्थानीयले वताए । खेतबारीको छेउमा आफैं उम्रिने अल्लोले अन्न्नबालीलाई नोक्सानी गर्ने गरेकाले किसानले काटेर मल बनाउने गरेको रौताका श्याम तामाङले बताए ।
सिस्नु बहुउपयोगी छ । यसलाई तरकारीका रूपमा पनि खाने गरिन्छ । तर, अल्लो भने काटेर मलखादमा कुहाउने गरिएको छ । लाखौं रुपैयाँबराबरको अल्लो बर्सेनि किसानको मलखादमा कुहिनु हुँदैन ।
संखुवासभा, भोजपुर, इलामलगायतका पूर्वका अन्य जिल्लामा अल्लोको खेती नै सुरु गरिएको छ । व्यावसायिक रूपमै खेती गर्ने त्यहा“का किसानले अल्लोलाई प्रशोधन गरेर कपडा तयार गरी प्रशस्त लाभ लिइरहेका छन् । तर, उदयपुरको पहाडी क्षेत्रमा खेती नै नगरी प्रशस्त मात्रामा उत्पादन भइरहेको अल्लो प्रयोगमा आउन सकेको छैन ।
उदयपुर जिल्लाको पहाडी क्षेत्रमा १०-१५ वर्षसम्म पुग्ने अल्लो त्यत्तिकै खेर गइरहेको छ । केही गैरसरकारी संस्थाले सिस्नु प्रशोधनका लागि प्रयास गरे पनि अल्लोका बारेमा स्थानीयमा चेत नै आउन सकेको छैन । अल्लोको महत्व बुझाउँदै गाउँलेलाई प्रशोधन गर्ने तरिका सिकाइदिने हो भने यसबाट धेरै किसानले लाभ लिने उनको भनाइ छ ।
नेपालमै महँगोमा बिक्री हुने अल्लोको कपडा पछिल्लो समय विदेशसमेत निर्यात हुन थालेको छ । तर, आवश्यक ज्ञान र प्रशोधनको अभावमा बर्सेनि लाखौं रुपैयाँ आम्दानी लिन सकिने अल्लो उदयपुरको पहाडी क्षेत्रमा भने वर्षौंदेखि किसानका मलखादमा कुहिरहेको छ ।
अल्लोको महत्व र यसको प्रसोधनका बारेमा किसानलाई ज्ञान दिनु आवश्यक छ । ज्ञान र महत्वको अभावमा किसानले प्रशस्त मात्रामा आर्थिक लाभ लिन सक्ने अल्लो त्यसै खेर गइरहेको छ । अल्लोको प्रशोधनका लागि किसानलाई आवश्यक सीप सिकाउने काममा गाउँपालिका लाग्नुपर्छ । आगामी आर्थिक वर्ष ०७६-७७ को बजेटको अन्तिम तयारीमा रहेका उदयपुरका स्थानीय तहले प्राकृतिक रूपमा उत्पादित अल्लोको संरक्षण, संवद्र्धनमा लाग्नुपर्ने नीति, कार्यक्रम बनाउनु आवश्यक छ । अल्लोको संकलन, उत्पादन र भण्डारण गरी यसबाट घरेलु वस्तुको उत्पादन गरेर बजारीकरण गर्नुपर्ने देखिन्छ । मूल्यवान् अल्लोलाई मलखादमा सडाउँदा माल पाएर चाल नपाएजस्तो देखिएको छ । नेपालका विभिन्न क्षेत्रमा प्रकृतिले विभिन्न जटिबुटी, वनस्पतिलगायतका उत्पादन भए पनि त्यसको उपयोग हुन सकेको छैन । वास्तवमा जटीबुटी, वनस्पतिको संरक्षण, संवद्र्धन, उपयोगमा ध्यान दिन सके नेपालको समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन ।
—गोपाल पोखरेल