डा. दधि अधिकारी
सोमवार, असार २, २०७६
962

आर्थिक क्रियाकलापमा आर्थिक प्रक्षेपणको निकै ठूलो महत्व हुन्छ । गलत प्रक्षेपणका लागि राष्ट्रले मूल्य चुकाउनुपर्ने हुन्छ ।

 आर्थिक क्रियाकलापमा आर्थिक प्रक्षेपणको निकै ठूलो महत्व हुन्छ । गलत प्रक्षेपणका लागि राष्ट्रले मूल्य चुकाउनुपर्ने हुन्छ । 
गत वर्षको बजेटमा देशको आर्थिक वृद्धि ८ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो, तर अहिले घटाएर ६.८१ प्रतिशतमा ल्याइएको छ । अर्कातर्फ एसियाली विकास बैंकले यस वर्ष नेपालको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान गरेको छ । यो वर्षको बजेटले ८.५ प्रतिशतको वृद्धि प्रक्षेपण गरेको छ, तर विपक्षीहरू ८.५ प्रतिशतको वृद्धि कुनै पनि हालतमा प्राप्त हुँदैन भन्दैछन् । हाम्रा पञ्चवर्षीय योजनाले प्रक्षेपण गरेको वृद्धिदर दुईवटा योजनाका लागि मात्र मिलेका छन् । सरकारले बजेट भाषण गर्दा अनुमान गरेका राजस्व र खर्च अर्को वर्षको बजेट हेर्दा कहिल्यै मिलेका हुँदैनन् ।
यस्तो किन हुन्छ ? अर्थात् हाम्रा प्रक्षेपणहरू किन मिल्दैनन् ?आर्थिक क्रियाकलापमा आर्थिक प्रक्षेपणको निकै ठूलो महत्व हुन्छ । गलत प्रक्षेपणका लागि राष्ट्रले मूल्य चुकाउनुपर्ने हुन्छ । सरकारका प्रक्षेपण गलत हुन जाँदा देशको विश्वसनीयतामा नै आँच आउन सक्छ । प्रक्षेपण सही भएमा आममानिसमा भविष्यप्रति आत्मविश्वास बढ्छ, सुनिश्चितता बढ्छ । यसले मानिसको आर्थिक क्रियाकलापमा असर गर्छ । अन्ततोगत्वा यसले राष्ट्रकै आर्थिक क्रियाकलापमा प्रभाव पार्छ ।गलत आर्थिक प्रक्षेपण नेपालको मात्र समस्या होइन । यो विश्वव्यापी समस्या हो । अक्टोबर २१, १९२९ का दिन यस विश्वविद्यालयका विश्वविख्यात प्राध्यापक अर्विङ फिसरले निकै आत्मविश्वासका साथ भने, “स्टक स्थायी रूपमा उच्च पठारमा (सगरमाथाको चुचुरोमा भने जस्तो–लेखक) पुगेको छ ।” उनको भनाइको अर्थ देशको वित्तीय अवस्था निकै राम्रो छ भन्ने हो । तर, उनले यो भनेको तीन दिनपछि ‘कालो बिहीबार’ आयो र अमेरिकालाई १९२९ को प्रसिद्ध ‘ग्रेट डिप्रेसन’ मा धकेलिदियो ।
२००८ को मन्दीलाई पनि कुनै अर्थशास्त्रीले अनुमान गर्न सकेका थिएनन् । यसै सन्दर्भमा बेलायतकी महारानीले लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापकहरूलाई किन कुनै पनि अर्थशास्त्रीहरूले यो मन्दीलाई आकलन गर्न सकेनन् भनेर सोधेकी थिइन् । २००८ को उक्त मन्दीमा बेलायतकी महारानीले करिब २ करोड ५० लाख पाउन्ड गुमाउनुपरेको थियो । गलत आर्थिक प्रक्षेपणका यस्ता धेरै रमाइला घटनाहरू विश्वभरि देख्न र सुन्न पाइन्छ । यहाँ भन्न खोजिएको के हो भने गलत आर्थिक प्रक्षेपण विश्वव्यापी समस्या हो । युरोपमा त सरकारले गर्नुपर्ने प्रक्षेपण कुनै अर्को स्वतन्त्र निकायलाई गर्न दिने कि ? भन्ने पनि बहस चलेको थियो ।आर्थिक प्रक्षेपण चार कुरा मिलेर बन्छ ः तथ्याङ्क, प्रारूप (मोडल), मान्यताहरू (एजम्पसन्स) र यी कुरा बनाउने र चलाउने मानिसको क्षमता । यीमध्ये कुनै एकमा कमजोरी भयो भने प्रक्षेपण गलत हुन जान्छ । प्रक्षेपणका लागि प्रयोग गरिएका तथ्याङ्कको गुणस्तरीयता र विश्वसनीयता भएन भने प्रक्षेपण स्वतः गलत हुन्छ ।
तथ्याङ्कको गुणस्तरीयता यसको सङ्कलन विधि, नमुना छनोटको तरिका (स्याम्पलिङ मेथड), नमुनाको आकार (स्याम्पल साइज), गणकको प्रश्न सोध्ने तरिका, कच्चा तथ्याङ्कको प्रशोधन गर्ने तरिका आदिले निर्धारण गर्छन् । तथ्याङ्कको गुणस्तरीयताले कसरी प्रक्षेपणलाई असर गर्छ भन्ने कुरा एउटा सानो उदाहरण लिएर हेर्न सकिन्छ । उदाहरणका लागि, पन्ध्रौँ योजनाले निर्धारण गरेको १०.९ प्रतिशतको वृद्धिदरको लक्ष्य प्राप्तिका लागि करिब ९८ खर्ब बराबरको लगानी गर्नुपर्ने अनुमान गरेको छ । लगानीको यो अनुमान सीमान्तपुँजी उत्पादन अनुपात ४.९ मानेर गरिएको हो, तर यदि देशको सीमान्त पुँजी उत्पादन अनुपात ४.९ होइन रहेछ भने लगानीको अनुमान र वृद्धिदरको प्रक्षेपण मिल्न जाँदैन । त्यसैले मुख्य प्रश्न यो ४.९ सही हो कि होइन, यसको अनुमान कसरी गरियो, यो अनुमान गर्न प्रयोग गरिएका तथ्याङ्क कहाँबाट आए, कुन प्रारूप प्रयोग गरेर यो संख्या पत्ता लगाइयो, त्यो प्रारूपका मान्यता सही छन् कि छैनन् भन्ने हो ।तथ्याङ्कपछि आर्थिक प्रक्षेपणलाई असर गर्ने अर्को तत्व हामीले प्रयोग गर्ने मोडल अर्थशास्त्रीय र अर्थमितीय (इकोनोमेट्रिक) मोडल हो । मोडलको छनोट गर्न निकै दक्षता चाहिन्छ ।
मानौं हामीले वृद्धिको प्रक्षेपण गर्दै छौँ भने हामीसँग ह्यारोड–डोमर मोडल प्रयोग गर्ने कि सोलो–स्वान मोडल प्रयोग गर्ने कि, रोमर मोडल प्रयोग गर्ने कि, वा विशुद्ध समय–श्रेणी अर्थमितीय मोडल (टाइम सिरिज इकोनोमेट्रिक मोडल) प्रयोग गर्ने भन्ने जस्ता विभिन्न विकल्प हुन सक्छन् । सबैभन्दा उत्तम विकल्प छान्न सकियो भने मात्र हाम्रा प्रक्षेपण मिल्न जान्छन् । सबैभन्दा उत्तम विकल्प प्रयोग गर्नका लागि गुणस्तरीय तथ्याङ्क र ती मोडलमा काम गर्न सक्ने दक्ष जनशक्ति चाहिन्छ । प्रक्षेपणलाई असर गर्ने तेस्रो तत्व प्रक्षेपण गर्ने बेलामा बनाइएका मान्यताहरू हुन् । यी मान्यता तथ्याङ्कका बारेमा, देशको अवस्थाका बारेमा वा हामीले प्रयोग गर्ने मोडलका बारेमा बनाइएका हुन सक्छन् । उदाहरणका लागि हामीसँग पूर्वी रुकुमको प्रतिव्यक्ति आयको तथ्याङ्क छ तर पश्चिमी रुकुमको तथ्याङ्क छैन भने हामीले पूर्वी र पश्चिमी रुकुमको प्रतिव्यक्ति आय बराबर छ भन्ने मान्यता बनाउन सक्छौं । तर यदि यी दुई जिल्लाका आय बराबर रहेन रहेछन् भने पश्चिमी रुकुमको प्रक्षेपण गलत हुन सक्छ ।
यस्तै प्रकारले देशको अवस्थाको बारेमा पनि मान्यताहरू बनाइएको हुन सक्छ र ती मान्यता मिल्न गएनन् भने प्रक्षेपण पनि मिल्दैनन् । उदाहरणको लागि भारतले नाकाबन्दी गरेको वर्ष हाम्रो कुल गार्हस्थ्य उत्पादनको प्रक्षेपण नमिल्नु स्वाभाविक हो किनभने सो प्रक्षेपण गर्दा नाकाबन्दी होला भन्ने मान्यता नै बनाइएको थिएन ।प्रक्षेपण गर्नका लागि प्रयोग गरिएका मोडलका मान्यताहरूले पनि प्रक्षेपणमा असर गर्छन् । उदाहरणका लागि यदि हामीले वृद्धि र लगानीको प्र्रक्षेपणका लागि ह्यारोड–डोमर मोडलको प्रयोग गरेका छौँ भने यो मोडलका मान्यताहरू मिल्न गएनन् भने हाम्रा प्रक्षेपण पनि मिल्दैनन् । ह्यारोड–डोमर मोडलका मान्यता निकै कडा छन् । पूर्ण रोजगारको अवस्था, वैदेशिक व्यापार र सरकारी हस्तक्षेप नभएको अर्थतन्त्र जस्ता मान्यताहरू यो मोडलमा छन् र यी मान्यताहरू वास्तविक संसारमा पूरा हुदैँनन् । अतः यो मोडलका आधारमा गरेका प्रक्षेपण पनि मिल्न जाँदैनन् ।
कुनै बेला मिले पनि त्यो संयोगले मिल्न गएको हुन्छ ।प्रक्षेपणलाई असर गर्ने चौथो तत्व प्रक्षेपण कार्यमा संलग्न मानवीय शक्तिको क्षमता हो । उसको ज्ञान, इमानदारिता र लगनशीलताले पनि प्रक्षेपणलाई असर गर्छ । भर्खर बजेटमा देखिएका गलत तथ्याङ्क मानवीय स्रोतको कमजोरी हो ।
यसबाहेक सरकारले बेला–बेलामा आफूले देश र जनताको पक्षमा राम्रो काम गरिराखेको छु भन्ने देखाउन पनि प्रक्षेपणलाई जानी जानी बढाउने घटाउने गरेको पाइन्छ ।सार्वजनिक वित्तसँग सम्बन्धित प्रक्षेपण नमिल्नु विश्वव्यापी समस्या हो । माथि भनिएजस्तै यो नमिल्नुमा नितान्त प्राविधिक कारणहरू पनि हुन सक्छन् वा जानी जानी गलत प्रक्षेपण गरिएको हुन सक्छ । पहिलो प्रकारको कमजोरी स्विकार्न सकिन्छ तर दोस्रो प्रकारको कमजोरी अपराध हो र यो दण्डनीय हुनुपर्छ । जानी–जानी गलत प्रक्षेपण गर्ने, गलत तथ्याङ्क प्रस्तुत गर्ने, तथ्याङ्कमा हेरफेर गर्ने कार्य दण्डनीय कार्य हुन् । विकसित मुलुकमा प्रक्षेपण गलत हुनुलाई स्वीकार गर्ने गरेता पनि गलत तथ्याङ्क प्रस्तुत गर्ने, तथ्याङ्कमा हेरफेर गर्ने कार्यलाई निकै गम्भीरतापूर्वक लिइन्छ र यस्तो कार्य गर्ने व्यक्ति कठोर सजायका भागीदार हुन्छ ।नेपालको सन्दर्भमा भन्ने हो भने आर्थिक प्रक्षेपणमा सुधार गर्न केही काम गर्न आवश्यक देखिन्छ । पहिलो तथ्याङ्कको उपलब्धता हो । हामीसँग पर्याप्त तथ्याङ्क नै छैन । मुलुक संघीयतामा गइसकेपछि अब सबै स्थानीय निकायको पनि तथ्याङ्क आवश्यक हुन जान्छ । यसका लागि कानुनी रूपमै स्थानीय निकायले राष्ट्रको नीति निर्माणमा आवश्यक पर्ने गुणस्तरीय र विश्वसनीय तथ्याङ्क सङ्कलन गर्नु पर्ने व्यवस्था गर्नुपर्छ र यसरी सङ्कलित तथ्याङ्क सार्वजनिक रूपमा सबैलाई उपलब्ध हुनुपर्छ । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने गुणस्तरीय र विश्वसनीय तथ्याङ्कको अभावमा राम्रा नीति तथा कार्यक्रम बन्नै सक्तैनन् ।दोस्रो महत्वपूर्ण कुरा पारदर्शीताको पनि हो ।
पन्ध्रौँ योजना निर्माण गर्दा प्रयोग गरिएको सीमान्त पुँजी उत्पादन अनुपात ४.९ कहाँबाट कसरी अनुमान गरियो भन्नेबारे जानकारी राख्न चाहनेले सो जानकारी पाउनुपर्छ र उसले चाहेमा यो गणनालाई दोहो-याउन (रेप्लिकेट) सक्नुपर्छ । यसका लागि विकसित देशहरूमा प्रत्येक त्यस्ता गणनाको लागि कम्तीमा पनि गणनामा प्रयोग गरिएको विधि, तथ्याङ्क, तथ्याङ्कको स्रोत उपलब्ध गराइएको हुन्छ । धेरै जसो अवस्थामा त पृष्ठभूमि पत्र (ब्याकग्राउन्ड पेपर) नै उपलब्ध गराइएको हुन्छ । नेपालमा पनि त्यस्तो व्यवस्था बाध्यकारी गराउनु आवश्यक छ । अन्त्यमा, आर्थिक प्रक्षेपण नमिल्नु विश्वव्यापी समस्या हो । कतिपय देशमा प्रक्षेपणको जिम्मेवारी स्वतन्त्र निकायलाई दिने कि ? भन्ने कुरा पनि उठ्यो । पछि तथ्याङ्कमा सहज पहुँच हुने हुनाले प्रक्षेपण सरकारले नै गरेको राम्रो हुने भन्ने कुरा आयो । तर, मुख्य कुरा त्यो प्रक्षेपण नमिल्ने समस्याको जड के हो भन्ने हो । यदि लापरवाही वा जानी–जानी गलत प्रक्षेपण गरिएको हो भने त्यो दण्डनीय अपराध हो । नेपाल पनि अब तथ्याङ्कको सन्दर्भमा गम्भीर देखिनुपर्छ । अपर्याप्त, अविश्वसनीय र खराब गुणस्तरका तथ्याङ्कले प्रक्षेपण नमिल्ने मात्र होइन, नीतिहरू नै गलत बन्न जान्छन् । यसबाहेक सरकारी वा गैरसरकारी निकायले गर्ने विभिन्न गणना र प्रक्षेपण कार्य पारदर्शी बनाउने र अपारदर्शी गणनालाई नीति–निर्माणमा प्रयोग नगरिने बाध्यकारी नियम बनाउनु आवश्यक छ ।