दिलीपकुमार मुनंकर्मी
आइतवार, असार १, २०७६
1370

पुँजीबजारमा लगानीको मुख्य उपकरण सेयर र ऋणपत्र (डिबेन्चर) मध्ये नेपालमा सेयरको दबदबा रहेको छ । एक हिसाबले नेपाली पुँजीबजार भनेको सेयर बजार (इक्विटी मार्केट) मात्रै हो । उद्योग, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका लागि पुँजी व्यवस्थापनको वैकल्पिक उपायका रूपमा विश्वभरि प्रचलित डिबेन्चर नेपालमा भने त्यति प्रचलनमा छैन । विगतमा केही उद्योग तथा नेपाल विद्युत् प्राधिकरणले पुँजी व्यवस्थापनका लागि प्रयोगमा ल्याएको डिबेन्चर हाल आएर बैंक तथा वित्तीय संस्थाहरूले पुँजी व्यवस्थापनको राम्रो उपकरणका रूपमा अपनाउन थालेका छन् । प्राधिकरणले ऋणपत्रकै अर्को स्वरूप बन्ड जारी गरेको थियो । गत वर्षदेखि नेपाल राष्ट्र बैंकले ऋणपत्र जारीमा सहजीकरण र प्रोत्साहित गरेसँगै बैंकहरूले डिबेन्चर जारी गर्ने क्रम पनि बढेको छ । हाल १५ बैंकहरूबाट २७ अर्ब ६५ करोड हाराहारीको विभिन्न अवधिको २९ वटा डिबेन्चर जारी भएका छन् । यसमध्ये नेपाल बंगलादेश बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री भइरहेको छ । कृषि विकास बैंकको ४६ करोड र ग्लोबल आईएमई बैंकको ४० करोडको डिबेन्चरको अवधि सकिने लागेको छ । एनआईसी एसिया, प्रभु, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ«े र हिमालयन बैंकले पनि ऋणपत्र जारी गर्न गइरहेका छन् । यसले डिबेन्चरको आपूर्ति बढाउनुका साथै लगानी वा बचत परिचालनको विकल्प पनि बढाएको छ ।
मुद्दती निक्षेपमा जस्तै निश्चित अवधि र दरमा ब्याज पाइने डिबेन्चर धेरैका लागि बचत परिचालनको विकल्प पनि हो । यहाँ डिबेन्चरका अन्य पक्षहरूभन्दा र मुद्दती निक्षेपको विकल्प हुन सक्छ वा सक्दैन् भन्ने पक्षबाट चर्चा गर्ने प्रयास गरिएको छ ।


डिबेन्चर के हो ?

कम्पनी वा व्यावसायिक संस्था वा सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुँजी व्यवस्थापनका लागि रकम संकलन गर्न ऋणदाता वा साहू–महाजनसँग गरिने कबुलियत वा तमसुक नै डिबेन्चर हो । यो व्यक्ति–व्यक्ति वा व्यक्ति–बैंक वा कम्पनी र बैंक बीच ऋण लिए जस्तै हो । यसमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ । त्यसैले डिबेन्चर जारी गर्ने र किन्ने बीचको सर्तसहितको लिखित करार नै डिबेन्चर हो । यसमा तोकिएको दर र अवधिमा ब्याजका साथै समयावधि पछि सावाँ भुक्तानी हुने वा शर्त अनुसार हुने कानुनी सुनिश्चितता गरिएको हुन्छ ।
शब्दकोषका अनुसार १) आसामीले ऋण लिएको प्रमाणस्वरूप साहूलाई लेखिदिने तमसुक, र २) राष्ट्र बैंकद्वारा निर्धारित समयमा साँवा–ब्याज फर्काउने गरी समयसमयमा जारी गरिने वा खरिद–बिक्री हुने विभिन्न रकमको पत्रलाई ऋणपत्र भनिन्छ । यस अनुसार डिबेन्चर सरकार वा व्यावसायिक संस्थाद्वारा जारी हुनसक्छ । सरकारी ऋणपत्रलाई सामान्यतः बन्ड भनिन्छ र यसको अवधि निजी व्यावसायिक संस्थाद्वारा जारी हुने कर्पोरेट डिबेन्चरभन्दा लामो अवधिको हुन्छ । तुलनात्मक रूपमा बनड ऋणपत्रभन्दा बढी सुरक्षित मानिन्छ ।


मुद्दती निक्षेप के हो ?

कानुनी परिभाषा अनुसार ‘मुद्दती खाता’ भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतयाः निक्षेप झिक्न नपाउने गरी जम्मा गरिराखेको रकमको हरहिसाब लेखिएको आवधिक खाता सम्झनुपर्छ । आमरूपमा बैंक तथा वित्तीय संस्थामा निश्चित अवधिसम्म रकम राख्ने गरी संचालित निक्षेप खाता नै ‘मुद्दती निक्षेप’ हो । यसमा तोकिएको अवधिभन्दा अगाडि रकम निकाल्न पाइँदैन र रकम जम्मा गर्दा सम्झौता भएको दर र समयमा ब्याज प्राप्त हुन्छ । यस्तो ब्याजदर सम्झौता अवधिभर परिवर्तन समेत हुँदैन् । सामान्यतः ३ महिनादेखि ५ वर्षसम्मको मुद्दती निक्षेप प्रचलनमा रहेको छ ।


मुद्दती कि डिबेन्चर ?

निश्चित अवधि र तोकिएको ब्याजदर पाइने समान प्रकृतिको मुद्दती खाता वा डिबेन्चरमध्ये कुन लाभदायक भन्ने उपलब्ध रकम, प्रचलित ब्याजदर, अवधिमा निर्भर हुन्छ । बचत प्रकृतिको मुद्दती निक्षेपमा आफूसँग पैसा हुँदा बैंक तथा वित्तीय संस्थामा गएर रकम जम्मा गर्न सकिन्छ भने डिबेन्चर जारी भएको बखत वा धितोपत्र बजारमा कसैले विक्री गरेको अवस्थामा मात्र खरिद गरी लगानी गर्न सकिन्छ । त्यसैले कतिपय अवस्थामा बढी ब्याजदर पाइने डिबेन्चरमा पैसा हुँदैमा लगानीको अवसर नपाइन सक्छ भने मुद्दतीमा सहजै पैसा बचत गर्न सकिन्छ ।

 निष्कर्ष

सरसर्ती हेर्दा बचत र लगानीका उपकरणजस्तो देखिने मुद्दती र डिबेन्चरमध्ये कुनमा बचत रकम परिचालन गर्ने र बढी लाभदायक भन्ने रकम, अवधि, ब्याजदर, अवसरको उपलब्धता, भविष्यमा रकम आवश्यक पर्ने सम्भावना र जोखिम लिने क्षमता, धितोपत्र बजारमा पहुँचमा निर्भर गर्नेछ । निश्चित अवधिसम्म सुनिश्चित ब्याज आम्दानीको अवसर सहितका मुद्दती र डिबेन्चरमध्ये लामो अवधि रकम परिचालन गर्न सक्ने तरलता भएका व्यक्ति तथा संस्थाहरूका लागि मुद्दतीभन्दा डिबेन्चर केही फाइदाजनक हुन सक्छ । संस्थागत निकायहरूले मुद्दती निक्षेप राख्न कोटेसन वा सिलबन्दी प्रस्ताव आह्वान गर्नुपर्ने र लामो अवधिको रकम मुद्दतीमा प्रचलनमा नरहेको अवस्थामा निश्चित अवधि र ब्याजदरसहितको डिबेन्चर लगानीको लागि सहज र प्राथमिकता रहन सक्छ ।
त्यस्तै छोटो तथा पाँच वर्षको अवधिसम्म रकम परिचालन गर्ने व्यक्तिहरूका लागि मुद्दती निक्षेप सहज हुन सक्छ । अनि बजारमा ब्याजदर बढिरहेको समयमा केही वर्षको मुद्दती तथा ब्याजदर घटिरहँदा डिबेन्चर तुलनात्मक रूपमा बढी फाइदाजनक हुन सक्छ । ब्याजदर परिवर्तनको लाभ र कुल प्रतिफलको सन्तुलन कायम गर्दै उपलब्ध कुल रकमको एक हिस्सा मध्यम अवधि (२–३ वर्ष) को मुद्दती र केही रकम उपलब्धमध्ये बढी ब्याज पाइने डिबेन्चरमा लगानी गर्नु बुद्दिमानी हुनेछ ।
समान प्रकृतिको लाभ र निश्चित अवधिको बचत र लगानी उपकरणहरू मुद्दती र डिबेन्चरमध्ये धितोपत्र बजारमा खरिद–बिक्री, बचत र ऋण पुँजीको समेत विशेषता हुने डिबेन्चरको बजार भने उलेख्य विस्तार हुन सकेको छैन् । पुँजी परिचालन र बचतको विशेषतायुक्त डिबेन्चरको प्रवद्र्धनमार्फत धितोपत्र बजारमा वैकल्पिक लगानी तथा बचत परिचालनको अवसर सिर्जना गर्न क) मार्केटको व्यावहारिक तथा कानुनी समस्याको अध्ययन, ख) सहज कारोबारका लागि शुल्क, मार्केट मेकर वा डिलरको व्यवस्था, ग) कारोबार शुल्क र बजार मूल्यमा निर्धारणमा सहजीकरण, घ) ब्याजमा कर छुट, ङ) ब्याज भुक्तानीको अन्तराल मुद्दतीको जस्तै मासिक वा त्रैमासिक गरिनु उपयुक्त हुन्छ ।