समिर रेग्मी
आइतवार, असार १, २०७६
6065

चीन तथा अमेरिकाबीच जारी व्यापारयुद्धका बीच अचम्म लाग्ने खबर आएको छ । अमेरिकाले भारी मात्रामा भन्सार शुल्क थोपारे बाबजुद चीनको निर्यातमा वृद्धि भएको छ । मे महिनामा चीनको निर्यातमा १.१ प्रतिशतको वृद्धि भएको छ, तर अमेरिका–चीन व्यापारयुद्धका कारण चिनियाँ निर्यात ओरालो लाग्ने अपेक्षा सर्वत्र गरिदै आएको थियो । अमेरिका नै चीनको सर्वाधिक ठूलो व्यापार साझेदार मुलुक भएकाले यस्तो अनुमान लगाइदै आएको हो । तर, टीठलाग्दो कुरा के छ भने चीनले गरेको आयातमा भने गिरावट आएको छ । यसले अर्को पक्षतर्फ पनि संकेत गरेको छ । चीनको आयात कम हुनुमा चीनमा घरेलु खपतमा कमी आएको र मागमा पनि आएको संकेतका रूपमा हेर्न सकिन्छ ।
तर, निर्यातमा वृद्धि हुनुका पछाडि अर्को कारण पनि हुन सक्छ । अमेरिकाले चिनियाँ सामग्रीमा भन्सार शुल्क लगाउनुपूर्व नै चीनबाट अमेरिकामा सामग्रीको ढुवानी भएकाले पनि यस्तो हुन सक्ने जानकारहरूको तर्क छ, जसका कारण यो बढेको देखिएको हुन सक्छ ।

यद्यपि समाचार संस्था रोयटर्सका अनुसार चीनको निर्यात वृद्धिका बावजुद अमेरिका–चीन व्यापारयुद्ध लामो समयसम्म चल्यो भने यसले विश्वव्यापी अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने आशंकालाई अस्वीकार गर्न सकिँदैन ।
जानकारहरूका अनुसार चीनको आयातमा आएको कमीलाई मध्यनजर गर्दै यो मुलुकले आफ्नो बजारलाई समर्थन गर्नका लागि राहत प्याकेज दिनु आवश्यक छ । चीनको कुल गार्हस्थ्य उत्पादनमा करिब २० प्रतिशत हिस्सा निर्यातको रहँदै आएको छ । चीनको आयातमा ८.५ प्रतिशतको गिरावट आएको छ, जुन विगत तीन वर्षकै ठूलो गिरावट हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत १० मेमा २ सय अर्ब डलरका चिनियाँ वस्तुमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याएका थिए । बाँकी ३ सय अर्ब डलरका सामग्रीमा पनि भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् । यसको प्रतिउत्तरमा चीनले पनि अमेरिकी वस्तुमा भन्सार शुल्क बढाएको छ ।
ट्रम्पले यसै महिना जी–२० को सम्मेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने अनुमान लगाइएको छ । जानकारका अनुसार दुवै देशबीच कुनै सम्झौता हुने आशा भने निकै कम छ । किनकि चीनले पनि विगतका वार्ताहरूमा अमेरिकासँग आफ्नो अडानमा टसन मस गर्दै आएको छ । पछिल्लो समयमा दुई देशबीचको तिक्ततामा झनै वृद्ध भएको छ । चीनले आफ्ना नागरिकलाई अमेरिकाको यात्रामा सचेत रहनका लागि अलर्ट जारी गरिसकेको छ । अमेरिकी सांसदले पनि चिनियाँ विद्यार्थीका लागि भिषाको नियम कडा बनाउने माग गरेका छन् ।
अमेरिकी अर्थ मन्त्री स्टेभेन नुचिनल अमेरिका व्यापार विवादमा चीनसँग अर्को वार्ताका लागि तयार भएको बताइसकेका छन् । तर, कुनै पनि किसिमको सम्भावित सम्झौताका लागि दुवै देशका शीर्ष नेताले यसै महिनाको अन्त्यमा हुन बैठक कुर्नु आवश्यक देखिएको छ ।
चीन तथा अमेरिकाबीचको व्यापारयुद्ध गत वर्षको मार्चदेखि चल्दै आएको छ । उक्त समयमा ट्रम्प प्रशासनले चीनबाट आयात हुने स्टिल तथा आल्मुनियममा भारी भन्सार लगाएका थिए । यसको जवाफमा चीनले पनि अर्बौँ  डलरका अमेरिकी आयातमा भन्सार लगाएको थियो ।
युरोपेली संघ (ईयू) पछि अमेरिका नै चीनको दोस्रो ठूलो व्यापार साझेदार मुलुक भएकाले अमेरिकासँगको विवादका कारण चीन केही दबाबको स्थितिमा देखिएको छ । यसै वर्षको पहिलो चार महिनाको अवधिमा अमेरिकाबाट चीनमा हुने व्यापारमा २० प्रतिशतले गिरावट आइसकेको छ । जनवरीदेखि अप्रिलसम्मको अवधिमा दुई देशबीच ११ खर्ब युआनको व्यापार भएको थियो ।
हामी निष्कर्षमा के भन्न सक्छौं भने अमेरिकाले चीनविरुद्ध व्यापारयुद्ध छेडेर चिनियाँ वस्तुमा ठूलै परिमाणमा भन्सार शुल्क लगाए पनि अमेरिकामा चिनियाँ निर्यात रोकिएको छैन र अमेरिका हार्दैछ । गत महिना चीनसँगको व्यापारमा अमेरिकाले २६.८९ अर्ब डलरको घाटा व्यहोरेको थियो ।