कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
182

अन्धविश्वासको पराकाष्ठाले दिनानुदिन समाज कता धकेलिँदैछ ? बोक्सीको आरोपमा मलमूत्र खुवाइएको, छाउपडी प्रथाले धेरै महिलाको ज्यान लिएको, दाइजो प्रथाले धेरै नारीको सिन्दूर पुछिएको, कता गइरहेको छ हाम्रो समाज ? यो अन्धविश्वासलाई चाँडै अन्त्य नगर्ने हो भने यसले मुलुकमा डरलाग्दो रूप सिर्जना गर्ने प्रस्ट देखिन्छ ।
विडम्बना त यो छ कि जति पनि अपराध गर्ने ती अपराधीहरू कानुनको दायरामा आउँछन्, तर सबैजसो अपराधी आवश्यक धरौटी दिएपछि रिहा हुन्छन् । पछि यिनै अपराधीहरूले देशमा डरलाग्दो रूप सिर्जना गर्छन् । धरौटी नभई अपराधीहरूलाइ कडा कानुनको कठघरामा उभ्याउन सकिने कानुन बनाउन मिल्दैन ? मृत्युदण्ड अथवा आजीवन कारावासको सजाए भए यस्ता दुर्घटना, अन्धविश्वासजस्ता जघन्य अपराध कम हुन सक्ने थियो ।

तर, देशका धेरै दुर्गम भागमा जहाँ अस्पताल सहज रूपमा पुग्न सक्ने अवस्था छैन, त्यहाँ धेरैजसो अझै पनि धामीझाँक्रीको भर पर्ने अवस्था देखिन्छ । केही समयसम्म झारफुकले बिरामी निको भए पनि घाउ पछिसम्म पनि भित्रै बल्झिने हुनाले अन्त्यमा झारफुकले नभएपछि बिरामीको मृत्युसमेत भएको अवस्था छ भने धेरै मानिसले अन्धविश्वासका कारण अमूल्य जीवन गुमाउनुपरेको अवस्था छ ।
१. छाउपडी : नेपालका दुर्गम जिल्ला वा धेरै ठाउँमा महिलाहरूलाई महिनावारी भएका बेला छातछूत गर्न हुँदैन भन्ने रुढीवादी परम्पराले गर्दा घरनजिकको छाउ गोठमा बस्न बाध्य तुल्याइन्छ । यसले गर्दा महिलाको निस्सासिएर मृत्यु हुने, आगलागीजस्ता घटना हुने तथा विषालु जीव, जनावरले आक्रमण गरी मृत्युसमेत हुने गरेको छ । यसको अन्त्य हुनु जरुरी छ ।
२. बोक्सी : बोक्सी प्रथा पनि अन्धविश्वासको प्रमुख कारण हो । बोक्सी प्रथाले विशेष गरी तराईमा बोक्सीको आरोप लगाई चरम यातना दिने, मलमूत्र खुवाउने, कुटपिट गरी हत्या गर्ने जस्ता प्रथाले गर्दा आज समाज पछाडि धकेलिँदै गएको अवस्था सिर्जना भएको छ । यस्ता प्रथा सिर्जना हुनु भनेको जघन्य अपराध हो । यस्ता प्रथाको अन्त्य हुनु जरुरी छ ।
३. बलि : केही दिनअघि मात्रै घटेको घटना हो । एक अन्धविश्वासी अपराधी शत्रुधन महतोले एक अबोध बालक आर्यन शाहलाई निर्ममतापूर्वक हत्या गरी चमेनिमाईलाई बलि चढाए । कुन देवी–देवताले अबोध बालकको बलि खान्छु भनेका छन् ? कुन भगवान्ले मान्छेको बलि खान्छु भनेका छन् ? अन्धविश्वासको पराकाष्ठाले समाज कतातिर धकेलिँदैछ ? यस्तो जघन्य अपराधको अन्त्य हुनु जरुरी छ र दोषीलाई कडा कारबाही हुनुपर्छ ।
४. दाइजो : समाजमा घट्ने अर्को कारण भनेको दाइजो प्रथा हो । भनेअनुसारको दाइजो माइतीबाट नदिँदा घरपरिवारबाटै विभिन्न मानसिक तनाव दिने, कुटपिट गर्ने, आगो लगाउने जस्ता जघन्य अपराध गर्ने गर्छन् । कति छोरी चेलिबेटीले ज्यान गुमाउँछन् । मानिसको अमूल्य सम्पत्ति भनेको दाइजो नै हो त ? जिन्दगी भए पो धन–सम्पत्ति जुटाउन सकिन्छ । यस्ता प्रथाको अन्त्य गरौं ।
५. जातीय भेदभाव : मानव जाति सबै एकै प्रकारका हुन् । राजधानीलगायत देशका पहाडी तथा तराई क्षेत्रमा हुने जातीय भेदभावका कारण धेरै मानिस आफ्नो हक–अधिकारबाट वञ्चित भएको अवस्था छ । मठमन्दिर, खानेपानीका ठाउँ, धार्मिक कार्य आदिमा दलितहरूलाई प्रवेश निषेध गरिन्छ । यो कस्तो अन्धविश्वास ? यस्ता अन्धविश्वास पनि तत्काल बन्द गरिनुपर्छ ।
यस्ता प्रथा जताततै छरिएर रहेका छन् । जब घटना हुन्छ तब मात्र बाहिर आउँछ । नत्र त्यसै सेलाएर जान्छ । घटनाको प्रतिवाद गर्ने समाजमा कोही पनि अग्रसर हुन पाउँदैनन् । समसामयिक रूपमा समाजमा आफन्तमा नै मिलेमतो गर्ने गरिन्छ । असले गर्दा झन्–झन् आपराधिक गतिविधि सिर्जना हुन्छ । त्यसैले यस्ता अन्धविश्वासको अन्त्य गर्नु जरुरी छ ।
गोविन्द चापागाईं