कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
418

नेपालमा वि.सं. ०६२-६३ को दोस्रो जनआन्दोलनको प्रतावले आएको राजनीतिक परिवर्तनपछि नेपालमा घुम्न आउने विदेशी पर्यटकको संख्या लगातार बढ्दो क्रममा रहेको देखिन्छ । नेपाल सरकारको गृह मन्त्रालयमातहत रहेको अध्यागमन विभाग, पर्यटन मन्त्रालयमातहतको पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले विभिन्न समयमा प्रकाशित गर्ने गरेको हरेक पटकको तथ्यांकमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढेको देखिन्छ ।
त्यस्तै पछिल्लो तथ्यांकअनुसार सन् २०१९ को पहिलो चार महिनामा ४ लाख ४५ हजार १ सय ९ सय विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ३ लाख ८६ हजार ३० थियो । यसरी हेर्दा नेपाल पर्यटन बोर्डले पछिल्लो पटक प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१८ को पहिलो चार महिनामा भन्दा सन् २०१९ को पहिलो चार महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १५.३० प्रतिशतले बढी हो ।

यसरी नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको धेरै संख्या जहिले पनि तीनतिरबाट घेरिएको छिमेकी देश भारतका पर्यटकले ओगट्ने गरेको थियो । तर, यस वर्षको पहिलो चार महिनामा भने पहिलो पटक भारतीय पर्यटकलाई उत्तरी छिमेकी देश चीनका पर्यटकले उछिनेका छन् । यो कीर्तिमान नेपालको पर्यटन इतिहासमै पहिलो हो । सायद अब यो कीर्तिमान लगातार रूपमा चीनको पोल्टामा रिहरहन पनि सक्छ ! यो किन पनि संभव छ भने चीनले नेपालप्रति सदाशयता देखाएर विगतमा बन्द रहेको तातोपानी नाकालगायत हालसम्म खुल्न नसकेका केही नयाँ उत्तरी नाकाहरू खोल्दैछ । यसले पक्कै पनि नेपाल भ्रमण गर्न आउने चीनको मुख्यभूमिबाट तिब्बतको ल्हासा, पोताला दरबार, मानसरोवर, कैलाश आदि क्षेत्र घुम्न आएका चिनियाँ पर्यटक र रेल, बस तथा ल्हासासम्म हवाई यात्रा गरेर नेपाल आउन चाहने चिनियाँ पर्यटकहरूलाई सजिलो हुनेछ । हुन त नेपाल भ्रमण गर्न चाहने चिनियाँ पर्यटकलाई गत केही वर्षदेखि नेपाल सरकारले भिसा निःशुल्क गरेको छ । यसले गर्दा पनि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकहरू लगातार बढ्दो क्रममा छन् ।
तर दुःखको कुरो, हालसम्म जुन–जुन देशका विदेशी पर्यटकलाई नेपाल सरकारले भिसा शुल्क लिँदै आएको थियो, ती देशका पर्यटकलाई भने भिसा शुल्क थोरै भए पनि घटाउनुपर्नेमा बढाएको छ । हुन त यसले नेपाल आउन नचाहने तेस्रो देशका पर्यटकहरूलाई त्यत्रो ठूलो असर त नपार्ला, तर निश्चय नै नकारात्मक असर भने पर्ने नै छ, किनभने हालै आएको सरकारको निर्णयअनुसार यसअघि नेपाल सरकारले नेपाल आउने विदेशी पर्यटकलाई १५ दिने भिसाका लागि २५ अमेरिकी डलर लिँदै आएकोमा अबदेखि ३० डलर लिने निर्णय गरेको छ । त्यस्तै ३० दिनका लागि विदेशी पर्यटकलाई अबदेखि ५० अमेरिकी डलर भिसा शुल्क लाग्ने भएको छ । यसअघि नेपालमा आउने पर्यटकलाई ३० दिनको ४० अमेरिकी डलर भिसा शुल्क लाग्ने गरेको थियो । उता लगभग तीन महिना अर्थात् ९० दिनका लागि नेपाल आउन चाहने वा आउने विदेशी पर्यटकलाई नेपाल सरकारले १ सय २५ अमेरिकी डलर भिसा शुल्क तोकेको छ । यसअघि ९० दिन नेपाल बस्ने विदेशी पर्यटकले १ सय अमेरिकी डलर भिसा शुल्क तिर्थे । साथै नेपाल आएका विदेशी पर्यटकले कुनै पनि कारणले म्याद थपेर बस्न चाहेमा प्रतिदिन थप ३ अमेरिकी डलर तिर्नुपर्नेछ । यसअघि म्याद थपेर नेपाल बस्ने विदेशी पर्यटकहरूले थप २ अमेरिकी डलर तिर्थे ।
यसरी नेपाल भ्रमण गर्न आउन चाहने विदेशी पर्यटकलाई लाग्ने भिसा शुल्कमा थप भएको भिसा शुल्क रकमले नेपाल भ्रमण वर्ष–२०२० लाई असर पर्ने त होइन ? हामीले जति नै ‘स्याल हुइयाँ !’ गरे पनि नेपाल भ्रमण वर्ष–२०२० मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको वास्तविक संख्या भनेको १६-१७ लाख त हो ।
–निनाम कुलुङ ‘मंगले’