अमरराज आचार्य
आइतवार, जेठ २६, २०७६
349

तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरण गठनदेखि छोरीलाई सय रूपैयाँ प्रदान गर्नेलगायतका विषय समेटेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख धनश्याम पाण्डेयले उपमहानगरपालिकाको विकासका लागि विभिन्न योजना अघि बढाउने घोषणा गरेका हुन् ।
उपमहानगरपालिकाले दाङलाई प्रादेशिक राजधानी बनाउन राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालाहरूसँग समन्वय गरी काम गर्ने र प्रदेश राजधानी बनाउन सहयोग पुग्ने पूर्वाधार विकासमा जोड दिएको छ । त्यस्तै सडक तथा पूर्वाधार विकास प्राधिकरण स्थापना गरेर १ वर्षभित्रै ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अख्तियारी गरिएको छ । २७२ बुँदे नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, महिला, बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, उद्योगी व्यवसायी, उद्यमशीलता, श्रम रोजगारी विकास, पशुपालक तथा संरक्षण, जातजाति, कला, संस्कृति तथा पर्यटन विकास, कानुनी मामिला तथा न्यायिक समिति, विज्ञान, सूचना सञ्चार तथा प्रविधि, स्वास्थ्य, शिक्षा, सार्वजनिक वित्त, योजना कार्यान्वयन तथा दिगो व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलगायतका विषय समावेश गरिएको छ ।
नीति तथा कार्यक्रममा ‘स्मार्ट छोरी विहेवारी, बिस वर्ष पारी’ अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । अबदेखि जन्मने हरेक छोरीलाई २० वर्ष नपुग्दासम्म मासिक एक सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ । उक्त रकम बैकमा जम्मा हुनेछ र २० वर्षपछि एकमुष्ट रूपमा प्राप्त हुने जनाइएको छ ।
यसैगरी तुलसीपुरमा व्यवस्थित सशुल्क पार्किङदेखि रात्री बजार, ठेला तथा नाङ्लो पसललाई निश्चित ठाउँमा व्यवस्थापन गर्ने र भूउपयोग नीति ल्याएर जमिनको खण्डीकरण रोक्ने कुरालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । युवा, बालबालिका, दलित, जनजातिलगायतका समस्या समाधाका लागि जनसंसद् सञ्चालन गरिने पनि नीतिमा उल्लेख छ । उज्यालोे तुलसीपुर अभियानमार्फत शहरी क्षेत्रमा सडक बत्ती जडान गरिनुका साथै हरेक ठाउँमा कम्तिमा आठ मिटरसम्मको बाटो निर्माण गरिने कुरालाई पनि जोड दिइएको छ । लैगिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै ८० वर्ष पुरा गरेका ज्येष्ठ नागरिकलाई पर्यटकीय र धार्मिक स्थलमा घुमाउने कार्यक्रम समेटिएको छ । कृषि क्षेत्रको विकासका लागि मेयर कृषि तथा पशु विकास कार्यक्रममार्फत् उपमहानगरपालिकाभित्रका किसानलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउनुका साथै कुनै पनि जमिन बाँझो राख्न नपाइने नीतिलाई निरन्तरता दिइएको छ । दुर्गम क्षेत्रमा पशुशिविर सञ्चालनका साथै वधिया भाले बनाउने थारुको सीपको बौद्धिक सम्पत्तिको संरक्षणलाई ध्यान दिने कुरालाई प्राथमिकतामा राखिएको छ । संक्राममा रहेको ब्यारेकलाई क्रान्ति संग्रहालयका साथै बहुसांस्कृतिक केन्द्रका रूपमा विकास गरिने भएको छ ।
थारुजातिमा रहेको महतवा प्रथालाई कानुनी मान्यता दिनका लागि पहल गरिनुका साथै हरेक टोलमा योग केन्द्र स्थापना गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उपमहानगरपालिकालाई पेपरलेस बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिने र वडामा तिव्रगतिको इन्टरनेट सेवा पु¥याउनका लागि अप्टिकल फाइवर बिछ्याउने कुरालाई समेत निरन्तरता दिइएको छ ।
‘उज्यालो तुलसीपुर’ अभियान सञ्चालन गरी नगरका सबै नागरिकमा बिजुली तथा वैकल्पिक उर्जाको पहुँचलाई वृद्धि गरिने भएको छ । यो वर्ष शहरी क्षेत्रमा सडक बत्ती जडानलाई तिव्रता दिइने छ । ‘जनताको वन, जनताकै धन’ भन्ने नारालाई मध्यनजर गरी सामुदायिक र निजी पारिवारिक वनलाई दिगो व्यवस्थापन गरेर जीविकोपार्जनका साथै हरित रोजगारीको सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिनेछ । फोहरलाई मोहरमा बदल्नका लागि फोहोर मैला प्रशोधन केन्द्रको स्थापना गरिनेछ । दिगो रूपमा फोहोर मैलाको व्यवस्थापन गर्न नागरिक समुदाय, टोल विकास संस्था, निजी क्षेत्र, सहकारी र अन्य साझेदार संस्थासँग सहकार्य गरिने नीति ल्याइएको छ ।
त्यसैगरी उपमेयर महिला सुरक्षा कार्यक्रम, लैगिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि ज्येष्ठ नागरिक तिर्थयात्रा कार्यक्रममा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्ष तुलसीपुर उपमहानगरपालिका र पाँच नम्बर प्रदेशका धारपानी, लुम्बिनी, स्वर्गद्वारी जस्ता पर्यटकीय र तिर्थस्थलहरूमा भ्रमण गराउनका निम्ति आवश्यक नीति बनाई बजेट विनियोजन गरिने भएको छ ।

अबदेखि जन्मने हरेक छोरीलाई २० वर्ष नपुग्दासम्म मासिक एक सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ ।

 सार्वजनिक दायित्वका क्षेत्रहरू शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सुपथ मूल्य पसल जस्ता क्षेत्रमा सेयर तथा जगेडा कोष परिचालन गरी व्यवसायिक काम गर्ने उद्देश्यले स्थापित भएका सहकारी संस्थालाई सेयर सदस्य संख्या, जगेडा कोष, सेयर पुँजी तथा व्यवसायिक योजनाको मूल्यांकनका आधारमा पालिकाबाट सेयर तथा अनुदान प्रदान गर्ने नीति लिई सार्वजनिक क्षेत्रको सेवालाई सर्वसुलभ एवं सस्तो बनाउने नीतिमा उल्लेख छ । तुलसीपर उपमहानगरपालिकामै रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक आयुर्वेदिक, योग र पौराणिक शास्त्रहरूको अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै यसको समयानुकुल आधुनिकीकरण र व्यवसायी वनाउन विश्वविद्यालयसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेलगायतका नीति तथा कार्यक्रम उपमहानगरपालिकाले अघि सारेको छ ।