कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६
505

विदेश भूमिमा गरिने दुःखको मोल र स्वदेशमा बगाइने पसिनाको मोल दाँजेर हेर्दा स्वदेशको रोजगारी नै दिगो र दरिलो हुनेमा दुईमत छैन ।

हामी नेपालीहरूको धारणा के छ भने सीप सिकेर मात्र के गर्नु ? खर्च मात्रै गरेर के गर्ने ? बरु विदेश गइयो भने एकमुस्ट कमाइ भइहाल्छ अनि विदशी पैसालाई नेपालमा आई सुखसयलको जीवनयापन गरौं र विवाह गरी घरजम गरांै भन्ने मात्रैै छ, तर के बिदेसिनु र कमाउनु मात्र ठीक हो ? यही निर्णय लिनु सही हो त ?
वास्तवमा विदेश भूमिमा गरिने दुःखको मोल र स्वदेशमा बगाइने पसिनाको मोल दाँजेर हेर्दा स्वदेशको रोजगारी नै दिगो र दरिलो हुनेमा दुईमत छैन । किनभने स्वदेशी रोजगारीले स्वाभिमानी बनाउँछ भने विदेशी रोजगारीले परनिर्भरता बढाउँछ ।

नेपालमा बसेर केही हुँदैन भन्ने महानुभावहरूलाई सुझाव छ, नेपालमै आत्मनिर्भर भए विदेशमा तीन वर्षमा कमाउने रकम नेपालमा तीन महिनामै कमाउन सकिने देखिन्छ । कुनै पनि काम सानो हँुदैन, कामलाई सानो मान्नेले संसारको कुनै पनि ठाउँमा कमाउन, जमाउन सक्दैनन् । उदाहरणका लागि एक जना कपाल काट्ने हजामको दैनिक कमाइ कति होला ? विचार गर्नुहोस त ।
तर, हामी सभ्य बन्न खोज्छौं । त्यो त मधेसी दाजुभाइले गर्ने पेसा हो, हामीले गर्न सुहाउँदैन भनिन्छ । अनि खाढी देशमा चाहिँ अर्काको गाली बेइज्जति सहेर भाँडा मस्काउनुपर्ने हो कि टेबल सरसफाइ गर्ने हो ? थाहापत्तो हुँदैन ।
पेसा–व्यवसायलाई कसैले सानो–ठूलो भन्छ भने त्यस्तो मानिस घमन्डी हो । आफूसँग सीप छ भने कसैको भर परिरहनु पर्दैन । कसैलाई यो गर, त्यो गरिदेऊ भन्नु पर्दैन । तपाईं–आफूमा सिलाइ–कटाइसम्बन्धी सीप छ भने तपाईं भोको पर्नुहुन्न । तपाईंले अरू दुई–चार जनालाई स्वदेशमै रोजगारी दिन पनि सक्नुहुन्छ । त्यति बेला तपाईंले आफ्नो मात्र परिवार चलाउनुभएको हुँदैन, अरू चार जनाको नेतृत्व पनि गरिरहनुभएको हुन्छ । तपाईंले आफूले आफूलाई गर्व गर्न पाउनुहुन्छ र सधैं शिर ठाडो पारेर गर्वका साथ भन्न सक्नुहुन्छ— म कर्म गरेर देशमा मेहनत गरेर स्वाभिमानी भई बाँचेको छु ।
नेपाल सरकारले पनि स्वदेशमै स्वाभिमानी बन्नका लागि विभिन्न किसिमका सीप सिकाउने कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रममा हामी पनि उपस्थिति जनाउन सक्छौं । सरकारले आफ्नो इच्छाअनुसारको तालिम प्रदान गरिरहेको छ वा सरकारले दिएको तालिम लिन मन नलागेको खण्डमा हामी विदेश जानका लागि म्यानपावरका दलालहरूलाई दिन छुट्याएको पैसा लिएर आफूलाई मन परेको तालिम सिक्न सक्छौं र नेपालमै स्वाभिमानी भएर रोजगारी गर्न सक्छौं । रोजगारीका प्रशस्त बाटाहरू सिर्जना गर्न सक्छौं ।
यस्ता रोजगारीले हाम्रो भविष्यसम्म दिगो र दरिलो जीवन बनाउन मद्दत गर्छ । त्यसैले हामी स्वदेशको विकासमा जोड दिऊँ र स्वदेशमै रोजगारी सिर्जना गरौं । सरकार र सम्बन्धी नियामक निकायले पनि बिदेसिने नेपालीहरूलाई नेपालमै स्वाभिमानी हुन सकिन्छ भन्ने जस्ता कार्यक्रम र प्रभावकारी अभियान चलाउनुपर्छ, जसको प्रभावले देशमा नै केही गर्नुपर्छ भन्ने सोचको विकास हुन सकोस् ।
झलनाथ खतिवडा
गठ्ठाघर, भक्तपुर