दिलीपकुमार मुनकर्मी
आइतवार, जेठ ५, २०७६
836

जारी बोनस सेयरले अनावश्यक चुक्ता पुँजीको बोझ र सेयरधनीको कुल सम्पत्तिको ह्रासले कम्पनी प्रताडित नहोस् भन्नेमा चनाखो हुनैपर्छ ।

बोनस अर्थात् सेयरधनीले प्रत्यक्ष नगद भुक्तानी नगरी लाभांश (नगद) का रूपमा पाउनुपर्ने रकमबाट भुक्तानी हुने गरी कम्पनीबाट सेयर लाभांशको रूपमा प्राप्त गर्ने थप सेयर । सामान्यतया: कम्पनीले व्यवसायबाट प्राप्त नाफाबाट कर तथा कोषहरू छुट्ट्याएर वितरणयोग्य मुनाफा सेयरधनीलाई लगानीको आधारमा समान दरमा लाभांश (नगद वा सेयर)का रूपमा वितरण गर्छन् । नेपालमा भने क)सर्वसाधारण लगानीकर्ताहरूको बोनस सेयर मोह,ख) व्यावसायिक आवश्यकता भन्दा रकममा तोकिएको चुक्ता पुँजी, ग) सेयर प्रिमियमसम्बन्धी कानुनी व्यवस्था,र घ) लाभांशलाई पुँजीमा परिणत गर्ने सहजता कारण कम्पनीहरू पनि पुँजीकोष बढाउने अन्य वित्तीय उपकरण हुँदाहुँदै बोनस सेयरलाई प्राथमिकतामा राख्छन् । यस्तै कम्पनीको व्यवस्थापन, नियमनकारी निकाय र सरकारलाई समेत धेरै चुक्ता पुँजी भएको कम्पनीको मात्र व्यावसायिक, प्रतिस्पर्धात्मक, संस्थागत क्षमता बलियो हुन्छ भन्ने गलत मान्यताले चुक्ता पुँजी बढाउन होड चलेको देखिन्छ ।
वास्तवमा कम्पनीको सबलता चुक्तापुँजी, संचित मुनाफा र जगेडा कोषहरू सहितको पुँजीकोषमा निर्भर हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय रूपमा लाभांश भन्दा पुँजीकोष बलियो भएको कम्पनी लगानीकर्ताको प्राथमिकता पर्दछन् । विदेशमा सेयरधनीले पाउने बोनस सेयरमा लाभांश कर समेत नलाग्दा समेतसेयर लाभांशरुचाउँदैनन् । सेयरधनीलाई लगानी वापत नगद भुक्तानी गर्नुपर्नेमा बोनसमार्फत सेयरधनीको सम्पत्ति एउटा शीर्षक (नाफा) बाट अर्को शीर्षक (पुँजी) मा सारेर कम्पनीले असक्षमता देखाएको रूपमा बुझिन्छ । यसैकारण पनि कतिपय मुलुकमा बोनस सेयर जारी गर्नुभन्दा पहिले धितोपत्र नियमकसमक्ष पुँजी वृद्धिको कारण र उपयोग सम्बन्धी विस्तृत कार्ययोजना नै पेस गर्नुपर्छ ।

बोनस सेयरको प्रभाव
कुनैपनि कम्पनीमा बोनस सेयरको प्रभाव भनेको व्यावसायिक चरित्रको आधारमा पुँजीगत आवश्यकता र व्यवस्थापनको पुँजी परिचालन क्षमतामा निर्भर गर्दछ । पक्कै पनि बोनस सेयरले पुँजीगत, व्यावसायिक र जोखिम वहन क्षमता बढाउँछ, तर त्यो व्यवसायको आवश्यकताभन्दा बढी भए कम्पनी पुँजीगत भारले थिचिएर मुनाफासँगै वित्तीय सूचकहरू र बजार मूल्यमा पनि नकारात्मक प्रभावको सम्भावना रहन्छ ।

(क)चुक्ता पुँजी र वित्तीय सूचक:कम्पनीको सेयरको अंकित मूल्यमा कायम चुक्ता पुँजीको आधारमा जारी हुने बोनस सेयरको दरमा नै चुक्ता पुँजी बढ्छ । बढ्दो चुक्ता पुँजीको असर बुझ्न नगद मात्र र नगद र बोनस (मिश्रित) लाभांश दिएका नेपाल टेलिकम, चिलिमे जलविदुत र स्ट्याण्डर्ड चार्टड बैंक नेपालको विगत चार वर्षको लाभांश र वित्तीय सूचकको अवस्था हेरौं ।
तालिका अनुसार टेलिकमको पुँजी स्थीर भएको अवस्थामा इपिएसमा परेको असर न्यून देखिएको छ । आव २०७२-७३ मा खुद मुनाफा घटेको अवस्थामा बाहेक इपिएस घटेको छैन । कम्पनीले आम्दानीको केही हिस्सा सेयरधनीलाई नगद लाभांशको रूपमा बाँडेर केहीसंचित जगेडामा राख्दा इपिएसमासन्तुलन कायम गर्न र नेटवर्थ र पुँजीगत क्षमता बढाउन सकेको देखिन्छ ।
अर्कोतर्फ चिलिमेले आम्दानीको धेरै हिस्सा मिश्रित लाभांशको रूपमा सेयरधनीलाई बाँड्ने क्रममा लाभांशको एक हिस्सा बोनस सेयरको रूपमा पुँजीकृत गर्दै गएको छ । यसले चुक्ता पुँजी बढ्दै गएको छ, तर पुँजी वृद्धिको तुलनामा आम्दानी बढाउन नसक्दा इपिएस घट्दो क्रममा रहेको छ । यससँगै नेटवर्थमा पनि कमी आएको छ । विशेषत: जलविदुत कम्पनीको आम्दानी स्थिर हुने तर लाभांशलाई बोनस सेयरको रूपमा पुँजीकृत गरी चुक्तापुँजी बढाउँदा इपिएस घट्दै गएर २०७५-७६ को तेस्रो त्रैमासमा रु. १५ (वार्षिक) र नेटवर्थ रु. १९४ मा झरेको छ । यसले कम्पनीले अनावश्यक रूपमा पुँजी बढाउन बोनस सेयर जारी गर्दा इपिएस र नेटवर्थमा गिरावट आएको स्पष्ट देख्न सकिन्छ । चिलिमेले कम्पनीको चुक्ता पुँजी नबढाईकन पनि संचित नाफाको आधारमा पर्याप्त रकम लगानी गर्न रोकिने अवस्था थिएन । बैंकहरू मध्ये उत्कृष्ठ मानिएको स्ट्याण्डर्ड चार्टर्ड पनि नियमकद्वारा थोपरिएको अनावश्यक पुँजीको मारमा परेको उदाहरण तालिकामा देख्न सकिन्छ । कुनै समयमा प्रति सेयर रु. १०० भन्दा बढी र २०७१-७२ सम्म प्रतिसेयर रु. ५७ कमाउन सफल बैंक नियामकको बाध्यात्मक निर्देशन बमोजिम बढाएको पुँजीको अनुपातमा आम्दानी बढाउन नसक्दा बैंकको इपिएस २०७४-७५ मा रु. २७ र २०७५-७६ को तेस्रो त्रैमासमा रु. २८ मा खुम्चिएको छ भने कुनै बेला रु. ३०० हाराहारीको नेटवर्थ रु. १७५ हाराहारी ओलिएको छ ।उल्लेखित केही उदाहरणले पनि कम्पनीहरूले व्यावसायिक आवश्यकताभन्दा बढी चुक्ता पुँजी बढाउने तथा आर्जित मुनाफालाई संचित कोषमा राखेर पुँजीगत क्षमता र नेटवर्थ बढाउनु सट्टा लाभांश पुँजीकृत गरी चुक्तापुँजी बढाउँदा बोनसको बोझलेथिचिएर इपिएस, नेटवर्थ र बजार मूल्यमा नकारात्मक प्रभाव झेल्न बाध्य देखिएका छन् । नेपाल टेलिकमसँगै युनिलिभर, बोटलर्स नेपाल, हिमालयन डिस्टिलरीजस्ता कम्पनीहरूले कैयौं वर्षदेखि चुक्तापुँजीनबढाएसन्तुलित लाभांश वितरण गरी उच्च दरको इपिएस र नेटवर्थ कायम गरी पुँजीगत क्षमतामा समेत बढाउन सफल भएका छन् । तसर्थ, बैंक तथा वित्तीय संस्थाहरूमा पनि चुक्ता पुँजीभन्दा पुँजीकोष व्यवस्थापनमा जोड दिइनुपर्छ ।

ख) माग र आपूर्ति तथा बजार मूल्य : धितोपत्र बजारमा कम्पनीको सेयरको मूल्य वित्तीय नतिजासँगै भविष्यको सम्भावना अनि माग र आपूर्तिले निर्धारण गर्ने मान्यता राखिन्छ । कम्पनीले चुक्ता पुँजी बढाउँदा जारी गरिने सेयरले आपूर्ति स्वभाविक रूपले बढ्छ । यस अवस्थामा जारी बोनस सेयरको अनुपातमा धितोपत्र बजारमा कम्पनीको सेयरको माग बढ्न नसके मूल्यमा कमी आउँछ । यस्तै, जारी हुने बोनस सेयरको दरमा एक्सचेन्जले मूल्य समायोजन गर्छ । एकातिर वित्तीय सूचकमा नकारात्मक प्रभाव र मूल्य समाोजन, अर्को्तिर बढ्दो आपूर्तिले सित्तैमा पाएको देखिने बोनस सेयरले अन्तत: क्षणिक सुखबाहेक सेयरधनीको धनसम्पत्ति वृद्धिमा नकारात्मक प्रभावको संभावना बढी रहन्छ ।
चर्चा गरिएका कम्पनीहरू मध्ये सेयरबजारको बुल र बियरिस चक्रको अवस्थामा समेत नगद लाभांश बाँडेर इपिएस र नेटवर्थमा स्थिरता कायम गर्न सफल नेपाल टेलिकमको सेयर मूल्यमा उल्लेख्य कमी आएको छैन भने मिश्रित लाभांश बाँडेका चिलिमेको २०७१-७२ को तुलनामा करिव ६८ प्रतिशत र चार्टर्डको २०७२-७३ को मूल्यबाट ८१ प्रतिशतले सेयरको बजार मूल्य घटेको छ । आव २०७४-७५ मा बोनस सेयर जारी गरेका कतिपय कम्पनीहरूको बुक क्लोज अगाडिको मूल्य त के, समायोजित मूल्य समेत पाउन नसकेको अवस्था छ । यसले पनि बोनस सेयरको प्रभाव बजार मूल्यमा नकारात्मक हुने संभावनालाई औंल्याएको छ ।

बोनस सेयर नाफा कि घाटा ?
लगानीकर्ता वा सेयरधनीका हिसावले अंकित मूल्यमा आफूले नगद भुक्तानी नगरी थप सेयर पाउनु एकक्षणको लागि खुसीको कुरा हुनसक्छ । अझ बोनस दिने कम्पनीको सेयर उच्च मूल्यमा किन्न लालायित हुने नेपाली सेयरबजारमा बोनस सेयरको निर्णय अल्पकालीन लगानीकर्ताहरूका लागि लाभदायक देखिन सक्छ । यस्तै बोनस सेयर अंकित मूल्यमा जारी हुनेहुँदा औसत लागत व्यवस्थापन र आधारमूल्यका आधारमा कर व्यवस्थापनका लागि समेत केही हदसम्म लाभदायी हुन्छ । अर्कोतर्फ कम्पनीका लागि समेत सेयरधनीलाई भुक्तानी गर्नुपर्ने लाभांश कम्पनीमा नै पुँजीकृत गर्न पाउँदा पुँजीगत आधार बनाउन र तरलता व्यवस्थापनमा सहज हुनेछ ।
यति हुँदाहुँदै पनि कम्पनीको व्यावसायिक आवश्यकताको आधारमा पुँजी व्यवस्थापनका लागि पुँजीकृत गरिने बोनस सेयर बाहेकको अवस्थामा चाहे त्यो नियामकीय आवश्यकता, कम्पनीको रहर र सेयरधनीको दवावमा जारी हुने बोनस सेयरले नाफाभन्दा घाटा हुने सम्भावना बढि हुन्छ । बोनस सेयर जारी भएको अवस्थामा (क) नेप्सेले गर्ने मूल्य समायोजना, (ख) सेयरको बढ्दो आपूर्ति र (ग) पुँजीको तुलनामा मुनाफा नहुँदा इपिएस र नेटवर्थमा कमी आउने अवस्थामा सेयरधनीहरूलाई नाफाभन्दा घाटा र धनसम्पति (वेल्थ) घट्ने जोखिम बढी हुने कारण सामान्यत: अन्तर्राष्ट्रिय रूपमा बोनस सेयरलाई घाटाको लगानी वा बोझ मान्ने चलन रहिआएको छ ।

निष्कर्ष
लगानीकर्ता वा सेयरधनीहरूले पनि तत्कालीन लाभका लागि बोनस सेयर वा लाभांशभन्दा पुँजीकोषमा ध्यान दिनुपर्छ । कम चुक्ता पुँजी र ठूलो संचित कोषले कम्पनीलाई दीर्घकालीनरूपमा मजबुत र मूल्यगत उचाई कायम राख्ने कुरा युनिलिभर, बोटलर्स नेपालले व्यवहारमा नै देखाएका छन् । पुँजीकोष सवल बन्दा जोखिम व्यवस्थापनका साथै कुनै साल कुनै कारणवश कम्पनीले पर्याप्त आम्दानी गर्न नसक्दा पनि संचितिमा पर्याप्त रकम रहेमा यसबाट नियमति लाभांश दिन पनि सक्छ । कम्पनीले नगद लाभांश बाँड्न नसक्नु भनेको कम्पनीसँग पर्याप्त तरलता वा नगद प्रवाह नहुनु पनि हो ।सेयरधनीलाई पर्याप्त नगद लाभांश दिएर पनि तरलता र नगद प्रवाह कायम गर्न सक्नु मात्र नै व्यवस्थापकीय सफलता हो । उच्चदरको बोनस सेयरले मात्र कम्पनीको व्यवस्थापकीय दक्षता पुष्टि गर्दैन ।
पुँजीकोषसँग सोझो व्यावसायिक क्षमता जोडिएका बैंक तथा वित्तीय संस्था मात्र होइन, अन्य क्षेत्रका कम्पनीहरूले समेतकसैको दवाव र बढी दरको लाभांश भन्दाव्यावसायिक आवश्यकताका आधारमा चुक्ता पुँजी, पुँजीकोष र मुनाफाको सन्तुलन कायम हुनेगरी बोनस सेयर जारी गर्ने रणनीति अपनाउनु पर्छ । जारी बोनस सेयरले कम्पनी अनावश्यक चुक्ता पुँजीको बोझले र सेयरधनीको कुल सम्पत्तिको ह्रासले प्रताडित नहोस् भन्नेमा चनाखो हुनैपर्छ ।