कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
373

—प्रकाश पाक्साँवा

तेह्रथुमको आठराईमा गाउँघरमा भेटिने हरेक व्यक्तिले तपाईंसँग परिचित मुस्कान दिनेछन् । सोध्नेछन्, “हजुर कहाँसम्म ? केका लागि आउनुभो ?” त्यतिमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउनेछन् । चियापानी टक्र्याउनेछन् । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन् । बारीमा सुन्तला फलेको छ वा अम्बा, मकै पाकेको छ वा काँक्रा, तपाईंलाई चखाउँछन् । आफ्नो घरमा आइदिएकोमा, आफ्नो चुलोमा पाकेको खानेकुरा खाइदिएकोमा कृतज्ञसमेत हुन्छन् । अहो ! यस्तो हार्दिकता अरू कहाँ पाइन्छ ? हाम्रा गाउँघरको भित्री सौन्दर्य हुन् यी ।
गाउँघरको जनजीवन, रहनसहन, चालचलन आदिसँग साक्षात्कार गर्ने हो भने तपाईंसँग यस्ता थुप्रै विकल्प छन् । हुन त हामी घुमफिर गर्ने भन्नासाथ सहर वा कुनै चिनिएका गन्तव्यबारे सोच्न थाल्छौं । नाम चलेका ठाउँहरूको पर्यटकीय थलोबारे सोधीखोजी गर्न थाल्छौं । यद्यपि कुनै पनि गाउँमा गएर तपाईंले आफ्नो यात्रालाई रोमाञ्चक र स्मरणीय बनाउन सक्नुहुनेछ ।

त्यसमाथि अहिले होमस्टेको प्रचलन छ । धेरैजसो गाउँमा आगन्तुकलाई बस्न, खानका लागि अनुकूल बनाइएको छ । ती भेगमा स्तरीय वा सुविधायुक्त होटल, रेस्टुराँ, लज नहोलान् । तर, हार्दिकतापूर्वक स्वागत गर्ने घर भेट्नुहुनेछ । ती घरमा तपाईं परिवारजस्तै भएर बस्न सक्नुहुनेछ । रैथाने बासिन्दासँग घुलमिल गरेर यात्राको फरक स्वाद लिन सक्नुहुनेछ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा ‘खोरङदेन सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याइएको छ । पर्यटकिय दृष्टिकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुना स्थलका रूपमा चिनाउनका लागि जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो ।
सदरमुकाम म्याङलुङदेखि ६५ किलोमिटर उत्तरपूर्वमा रहेको यस स्थानमा सञ्चालन गरिएको होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलहरू हो । लिम्बू समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लिम्बू जातिको सांस्कृतिक नाच तथा खाना परिकारहरू, वेशभूषा आदि र लोप हुने क्रममा रहेका संगिनी तथा बालन नाचहरू पर्यटकले देख्न पाउने खोरङदेन सामुदायिक होमस्टेकी अध्यक्ष सिर्जना लामा फोम्बोले बताइन् । “हामीले दुुई स्थानमा होमस्टे सुरु गरेका छौं,” उनले भनिन्, “सान्थाङमा आर्यन समुदायको संस्कृति र छोटीबजारमा लिम्बू समुदायको संस्कार–संस्कृति पर्यटकले देख्नेछन् ।”
आठराई क्षेत्रमा अवस्थित ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर गर्दै स्थानीय जातजातिको संस्कार, संस्कृति, रीतिरिवाज, वेशभूषा, खानपान आदि कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पनि चिनाउने अभिप्रायले सञ्चालित होमस्टेमा करिब एक दर्जन घरले पाहुना पर्खेर बसेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भिœयाउने लक्ष्यले सुरु भएको यहाँको होमस्टे प्रवद्र्धनका लागि आठराई गाउँपालिका वडा नं. २ ले वार्षिक रूपमा बजेट बिनियोजन गर्ने वडाध्यक्ष दिलकुमार पाहिमले बताए । “चालु आवमा २ लाख विनियोजन भयो, अब प्रत्येक वर्ष क्रमागत रूपमा होमस्टे प्रवद्र्धनका लागि बजेट छुट्टिन्छ,” उनले भने ।
होमस्टेमा घरबास आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ । लिम्बू जातिको बाहुल्य रहेको खाम्लालुङमा च्याब्रुङ, पालाम, यालाङजस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक तान्ने ध्येयले गाउँपालिकाले समेत पर्यटन गुरुयोजना बनाई सम्भावित क्षेत्रहरूको डीपीआर तयार गर्न लागेको आठराई गाउँपालिकाका उपाध्यक्ष रूपदेवी कन्दङ्वाले बताईन् । उनले भनिन्, “आठराईको समृद्धि भनेकै पर्यटन हो, त्यसैले पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सक्दो पहल गर्नेछ ।”
यहाँ आउने पर्यटकहरूलाई माला र स्थानीय संस्कृतिको गीत र नाचले स्वागत गरिन्छ । अग्र्यानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, याङबेन, किनेमा तथा स्थानीय परिकारहरूमा पर्यटक रमाउने गरेका छन् । पर्यटकीय क्षेत्रहरूको अवलोकनसँगसँगै पर्यटकहरूले लोप हुने क्रममा रहेको स्थानीयका संस्कृतिहरू पनि देख्न पाउने स्थानीय डिल्लीप्रसाद निरौलाले बताए । उनले भने, “संगिनी, बालन, नौमतीलगायतका पुराना संस्कृति हामीले सुरक्षित गरेर राखेका छौं ।”
यस क्षेत्रमा याकुम्बा गढी, झाँक्रीगुफा, मैयायक झरना, चमेरो ओढार, लिही ढुंगा, अँधेरी खोलालगायतका पर्यटकीण्य क्षेत्रहरूको अवलोकन गर्न सकिन्छ भने यहाँबाट कन्चनजंघा तथा कुम्भकर्णलगायतका हिमश्रृङ्खलाहरूको पनि दृश्यावलोकन गर्न पाइने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । होमस्टेलाई निरन्तरता दिन सके यस स्थानलाई जिल्लाकै नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।