कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
331

रमेश भट्टराई ‘सहृदयी’, bhattarairamesh353@gmail.com

संसारले एकै उद्देश्यले पर्व जसरी साझा मुक्तिको कामना गरेर मनाउने दिवस रहेछ— अन्तर्राष्ट्रिय मजदुर दिवस । देशले गर्व गर्नुपर्छ, हाम्रो कृषिप्रधान मुलुकमा सर्वसाधारण नेपाली श्रमप्रेमी छन्, श्रम गर्न चाहन्छन् । काम र कामअनुसारको दामको माक्र्सवादी सोचमा आजको समाज सधैँ सचेत छ । आज ४० प्रतिशत युवाशक्ति भएको देशले युवाको श्रम बाहिर बेचिँदा दुःख मान्नुपर्छ । यहाँ त अर्काको शोषण गरेर पेटको जोहो गर्ने रत्तिभर शैली नभएकालाई श्रमको शिक्षाभन्दा बढी सम्मान गर्ने नीतिको खाँचो छ । लोभ र डाहको भावभन्दा पनि कर्मको फल खाने, अर्काको पसिना नखाने आदर्शताले सम्पन्न समाजमा भन्दा विपन्न समाजलाई प्रभाव पारेको देखिन्छ । यसको अर्थ शोषण गर्ने कुलीन सामन्तवादी शैलीका विरुद्धमा चर्कने आवाजमा स्वार्थ होइन, मात्र मानवीय अधिकारको आवाज बुलन्द हुन्छ । श्रमशोषणमा दाह्रा ङिच्याएर बस्ने सोचको अल्पसङ्ख्यक सामन्तले बहुसङ्ख्यक श्रमिकलाई कसरी शोषण गरेछ— अचम्मको इतिहास रहेछ । सभ्यतादेखि निरीह वर्गको अपमान भएको हुँदो हो । शक्तिशालीलाई दलाएका हुनन् । आदर्शवादीले चाणक्यको ‘परिश्रम गरे दरिद्रता नासिन्छ, मानिस अयोग्य हुँदैन’ भन्ने भावलाई बोध गरेका हुनन् ।
इतिहासलाई नियाल्दा अमेरिकाको सिकागो सहरमा सन् १८८६ मे १ देखि मे ४ सम्म घटेको घटना स्मरणीय बन्यो । सन् १८८९ मा पेरिस अन्तर्राष्ट्रिय महासभाको पे्रmन्च क्रान्तिको याद गर्दै बसेको बैठकमा विश्वका लगभग ८० ओटा देशहरूद्वारा श्रमिकहरूको सम्मान गर्ने निर्णय भयो । यसै सन्दर्भहरूका आधारमा सन् १८९० देखि अन्तर्राष्ट्रिय मजदुर दिवसले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकी मजदुरहरूले यो आन्दोलनलाई चर्काएको प्रसङ्ग जोडिन्छ । सिकागो सहरको चउरमा मे ३ का दिन भइरहेको मजदुरहरूको सभामा तत्कालीन प्रहरीको एउटा समूहले हस्तक्षेप गर्दा ६ जना मजदुरको हत्या भएको थियो । यसको विरोधमा ४ मेमा भएको सभामा प्रहरी र मालिकका एक एजेन्टद्वारा हस्तक्षेप गर्दा ४ जना मजदुर मारिएका थिए । सिकागोको हे मार्केट काण्डको घटनालाई सम्झेर मे १ लाई श्रमिकको स्मरणीय दिन मानिन्छ ।

शारीरिक, बौद्धिक या जुनसुकै खाले श्रमको मूल्य न्यायसम्मत हुनुपर्छ ।


सिकागोमा भएको सर्वसाधारण जनताको हताहत भएपश्चात् यसपूर्व १६ घण्टा काम गर्नुपर्ने जटिल अमानवीय त्रूmरताको इतिहास मेटिएको पाइन्छ । तर, विडम्बना भनौँ– आज १ सय २९ वर्षपछि पनि नेपालले हलिया प्रथा, कमैया प्रथाका तुससँग पौँठाजोरी खेल्नुपरेको छ । वि.सं. २००३ फागुन २१ गते विराटनगर जुट मिलबाट मजदुरले आत्मसम्मानको अभिलाषा बोकेर दगुरिरहँदा नेपालमा व्यवस्था परिवर्तन भएका छन् । किसानले कामअनुसारको दाम पाउँदैन, बिचौलियाले सिन्डिकेट जमाउँछन् । केही सोच र शैलीले कछुवा गतिमा बाध्यतासँग बदलिने जमर्को गर्दो छ तर फरक शैलीबाट श्रमको अवमूल्यन पनि भइरहँदो रहेछ । कर्मचारीलाई काम लगाएर तलब नदिने, महिनौं दिनसम्म कुराउने, बेवास्ता गर्ने, फोन नउठाउने समस्याबाट मजदुर, श्रमिकहरू सधैँजसो पीडित हुन्छन् । निजी संघ–संस्थामा गधालाई जसरी पेलिँदा हात्तीको काम गराएर कुखुराको चारो दिइन्छ, सरकारले न्यूनतम श्रमिक मापदण्ड तोके पनि यथार्थताको छानबिन नहुनुले झारो टार्ने शैली बनेको देखिन्छ । आजभन्दा १९ वर्षअघि बल्ल नेपालबाट कानुनी रूपमा कमैया प्रथा अन्त्य दण्डनीय बन्यो । शारीरिक, बौद्धिक या जुनसुकै खाले श्रमको मूल्य न्यायसम्मत हुनुपर्छ ।
एक त आफ्नै मातृभूमिमा श्रमिकको सम्मान छैन, अर्कातिर परदेशमा पसिना बेच्ने श्रमिकको दशा झनै दर्दनाक छ । देशबाहिर र देशभित्र दुवैतिर श्रमिकहरू शोषित छन् । पार्टीवादले अप्ठ्यारो नपारेसम्म देशभित्र त अलिअलि सुनुवाइ होला, तर अर्काको देशमा कसले सुन्छ मजदुरको वेदना । नेपालीहरूले बाध्यतामा ‘ओटी’समेतमा काम गर्नैप¥यो । बाध्यता हुन्छ । यसर्थ विभिन्न नाममा मजदुर वर्गमाथि हमला भएका इतिहासका आधारमा मजदुर, श्रमिक वा श्रमजीवीहरूको आदरस्वरूप श्रमिक दिवस मनाउन थालिएको पाइन्छ । १९ औँ शताब्दीलाई विश्व इतिहासले उद्योग तथा औद्योगीकरण विकास भएको उर्वर समय मानिन्छ । ऐतिहासिक भौतिकवादका आधारबाट हेर्दा श्रमिक भनेको कुनै राजा, महाराजा वा समाजले कहलाइएका व्यक्ति होइन, बरु हरेक इतिहासका निर्माता श्रमजीवी जनता हुन् भनी बुझ्न सकिन्छ । हरेक व्यक्ति श्रमिक हुनुपर्छ— व्यवहारमा, यथार्थतामा अनि भावनामा पनि । मजदुर भनिसक्दा हामी झत्ते, झुत्रो, कमजोर, निरीह मान्छेको चित्र कोर्छौं । बच्चालाई अपमानजन्य शब्दले गाली गर्ने कुलीन संस्कारको भूत भिराउँछौँ । समाज सोचमा गरिब छ, तर श्रमिक भावनाका धनी हुन्छन् । श्रमको मूल्य र पसिनाको रहस्य तिनले बोध गर्छन् । फोहोर बटुल्ने, भारी बोक्ने, खेत खन्नेलाई सम्मान गर्न नसक्ने र आपूmलाई सभ्य ठान्ने सोच नै सामन्ती सोच हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरिब कविताभरि गरिबीको मूल्यभित्र जीवन देखे । प्रकृतिप्रदत्त भावमा श्रमिकको अस्तित्व लेखे । माक्र्सले श्रमिकको शक्तिलाई सम्मान गर्न सिकाए । अल्पसङ्ख्यकले चार घेरामा बाँधेकाहरूको आवाजलाई ओकल्न सिकाए । अब्राहम लिङ्कनले दासत्वको उन्मूलनार्थ विद्रोह गरे । नेल्सन मन्डेलाले काला जातिको श्रमिक मूल्यसँग सहर्ष सम्बन्ध बढाए । आखिर समृद्धि युगको नारा श्रमिकको पसिनाभरि फल्दो रहेछ । नेपालले सम्भाव्यताको चाङलाई पर्गेल्ने भिजन भएका व्यक्तित्वलाई एकजुट गराओस्, श्रमिकको सक्षमतालाई सम्मान गरेर रोजगार देओस् । बौद्धिक भेला तथा अनुसन्धान गराओस्, किनभने श्रमिकको परिश्रम देशको लगानी, देशको उत्पादकत्व श्रमिकलाई रोजगार, देशको समृद्धि श्रमिकको व्यक्तित्व विकास सबै आपसका पर्याय हुन् । अब देशले व्यक्तिको व्यक्तित्व र देशको अवस्थामा छलाङ मार्नुपर्छ ।
लुगा सिलाउने तल्लाघरे दाइ या दिदी हुन् या जुत्ताको तलुवा ठीक पार्ने माख्लाघरे कान्छा दाइ अर्थात् हलो तास्ने पल्लाघरे– समाजमा सबैको महŒव उस्तै र उत्तिकै हुन्छ । समाज परिवर्तन हुन समानताको श्रम–सम्मानवादी सोचको खाँचो छ । हिजो हलो जोत्नेले आज ट्याक्टर जोत्छन् । हिजोका भरिया दाइ आज ट्याक्टरमा सामान ओसार्छन् । प्रविधिले श्रमिकको समय, श्रम र सम्पत्तिलाई बचत गराएको छ । आजको युगान्तकारी समाजसँग श्रमिकको मर्मबोध आवश्यक हुन्छ । गाडीमा भाडा उठाउने स–साना बालबच्चादेखि घरेलु श्रमिक बनेका विपन्न वर्गको बाध्यतालाई बोध गरिनु आवश्यक हुन्छ । आज मुक्ति र स्वतन्त्रताका कुरा गरिरहँदा सहरका बिल्डिङका कुनाभित्र कँज्याइएका, होटलमा भाँडा माझ्न राखिएका, हिजो गोठालो बस्ने भनिएका जसरी आज घरको कामधन्दा गर्न विवस पारिएका श्रमिक, बालश्रमिकको मनोदशालाई मानवीय हिसाबले केलाउनुपर्छ । तिनलाई दबाब दिइएका वेदना संवेदनशील हुन्छन् । राज्यले तिनको भविष्यका लागि आवश्यक कार्ययोजना तय गर्न सक्नुपर्छ ।
खाली हात चुपचाप बस्ने मानिसको प्रकृति होइन । प्रायः कर्मविहीनलाई रोगले पनि आक्रमण गर्ने सम्भाव्यता देखिन्छ नै । कर्ममा तल्लीन हुनेले बिहान बिहानै दगुरिरहने बाध्यता खेप्नुप र्दैन । हामी प्लास्टिक टिप्नेलाई हेप्छौँ– तिनले सहर सफा नगरिदिए हामी सुकिला भनाउँदा फोहोरी बन्छौँ भन्नेसम्मको हेक्का नराख्ने सोचले आजको मान्छे सङ्कुचित देखिन्छ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक पनि तोकेको छ, तर वास्तविकता यहाँका युवाको श्रमलाई उचित सम्मान गर्न सकेन । देशको सक्षम युवा शिक्षा, रोजगारीजस्ता विभिन्न विधाका बहानामा परदेसिइरहेको छ । युवा न त बेरोजगार बन्न चाहन्छ न त देश बेरोजगारी बनाउन चाहन्छ । दुवैको लक्ष्य मिल्यो तर व्यवस्थापनको पाटो कमजोर छ । भिजनको अभावका कारण मुलुकले समृद्धिको सपनालाई तुहाउँछ कि भन्ने भयलाई मलजल गराइरहेको छ । श्रमजीवीलाई परजीवी बनाउँछ अनि आपूm किसानले अन्न, दाल–चामल–तरकारी–दही–दूध आदि नउब्जाए कसरी बाँच्थेँ र भन्ने ज्ञान नहुने कुलीनवादी आडम्बरले सम्पन्न भनिएका एकाथरी समाजलाई खुम्च्याउँदै गएको भेटिन्छ । मानवीय भावनाको कदर गर्न नजान्ने समाजले आफ्नो र आफ्नो श्रमको यथार्थतालाई बोध गर्न सक्दैन । यसर्थ यो अन्तर्राष्ट्रिय मजदुर दिवस केवल दिवसको नारा घन्काउन होइन, नेपालका श्रमिकको सम्मानका लागि स्मरणीय, उदाहरणीय सफलताको पर्व बनोस् ।