कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
689

नेपालमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको लगभग ६६–६७ वर्ष भयो । यति लामो इतिहास बन्दासम्म पनि नेपालमा वार्षिक ११÷१२ लाख विदेशी पर्यटक भित्रिँदैमा हामी गर्व गर्छाैं । जे होस्, यहाँ नेपालको प्रदेश नम्बर–१ भनी चिनिने पूर्वी नेपालका पर्यटकीय महत्वका स्थलहरूका बारेमा केही उल्लेख गरिनेछ ।
८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन् । त्यसमध्ये पनि ५ वटा त १ नम्बर प्रदेशमा छन् । यसरी १ नम्बर प्रदेशमा रहेका ८ हजार मिटरमाथिका ५ वटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा अर्थात् चोमोलुङ्मा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से÷चे, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु छन् । त्यसैले प्रदेश नम्बर १ लाई महत्वपूर्ण प्रदेशका रूपमा लिनुपर्ने हुन्छ । किनकि माथि उल्लिखित हिमालमध्ये विश्वकै अग्लो हिमशिखर सगरमाथा (८ हजार ८ सय ४८ मिटर) सोलुखुम्बुमा पर्छ भने विश्वकै तेस्रो अग्लो कञ्चनजंघा (८ हजार ५ सय ८६ मिटर) ताप्लेजुङमा अवस्थित छ । त्यस्तै विश्वकै चौथो अग्लो ल्होत्से÷चे (८ हजार ५ सय १६ मिटर) सोलुखुम्बु, पाँचौं अग्लो हिमशिखर मकालु (८ हजार ४ सय ६३ मिटर) संखुवासभा र छैटौं अग्लो हिमशिखर चो ओयु (८ हजार २ सय १ मिटर) सोलुखुम्बुमा अवस्थित छन् ।

यहाँका जनताका लागि मात्र नभएर सम्पूर्ण नेपालीहरूकै लागि खुसीको कुरो के छ भने चाँडै विश्व जगत्ले मान्यता दिने क्रममा रहेका अरू ६ वटा ८ हजार मिटरभन्दा माथिका हिमालहरू पनि प्रदेश १ मै रहेका छन् । यीबाहेक पनि अन्य कैयौं ७ हजार मिटर माथिका, ६ हजार मिटरमाथिका र ५ हजार ५ सय मिटरमाथिका हिमालहरू पनि यही प्रदेशमा रहेका छन् । साविकका ३ अञ्चल र १४ जिल्ला रहेको यो प्रदेश नेपालकै होचो ठाउँ केचनाकल, विश्वकै गहिरो उपत्यका अरुण उपत्यका, विश्वकै अग्लो हिमशिखर सगरमाथा, नेपालमा फूल फुल्ने ३२ प्रकारका लालीगुराँसमध्मे २८ वटा लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी, मुक्कुमलुङ युमा (पाथीभरा देवी), अन्तुडाँडा, भेडेटार, रत्नाङ्गे डाँडा, पिकेडाँडालगायत हजारौं प्राकृतिक तथा सांस्कृतिक एवम् जातीय, भाषिक, धार्मिक विविधताले भरिपूर्ण छ ।
प्रदेश १ मा हिमालबाहेक जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भौगोलिक विविधता, वनजंगल, वनस्पति, पूmल फुल्ने बिरुवा, जीवजन्तु, चराचुरुङ्गी, खोलानाला, छाँगा–छहरालगायत अन्य प्राकृतिक सम्पदाहरू पनि पर्यटकीय दृष्टिले हेर्दा आकर्षक रहेका छन् । जातीय विविधताको कुरो गर्दा यो प्रदेशमा ६ हजार वर्षभन्दा बढीको इतिहास रहेको प्राचीन किराँती जाति (कुलुङ, बाहिङ, साम्पाङ, लिम्बू, मेवाहाङ, धिमाल, थामी, याक्खा, बान्तावा, हायु, सुनुवार आदि) लाप्चा, सतार, थारु, दनुवार, गनगाई, राजवंशी, मेचे, बोडो, शेर्पा, जिरेल, तामाङ, गुरुङ, मगर, खवास, नेवारलगायतका आदिवासी जनजाति अनि खस आर्य समूहका बाहुन, क्षेत्री, ठकुरी (धनकुटामा थोरै संख्यामा छन्), गिरी, पुरी, भारती (दशनामी समूह) फेरि लगाउने जोगी (यिनीहरू तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँ पालिका, मेहेले स्कुलमाथि छन्), खस आर्यभित्रकै कथित दलित अर्थात् शिल्पीहरू, कामी, दमै, सार्कीलगायतका जातजातिको बसोबास छ ।
धार्मिक पर्यटनका हिसाबले पनि १ नम्बर उत्कृष्ट गन्तव्य हुन सक्छ । यहाँ महत्वपूर्ण धार्मिक स्थलहरू छन् । सुनसरीको दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, वराह क्षेत्र, आदिवासीहरूले पनि उत्तिकै श्रद्धापूर्वक मान्दै आएको बूढासुब्बा, झापाको अर्जुनधारा, माईस्थान, कन्काईमाई, धनकुटाको छिन्ताङदेवी, जालपादेवी, धनकुटाको सदरमुकाम बजारस्थित आठपहरिया जातिले कुल पूजा गर्ने मार्गा (माङहिम), तेह्रथुमको सिंहवाहिनी, भगवतीदेवी, ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा देवी), फक्ताङलुङ (जहाँ हरेक जनैपूर्णिमाको बेला किराँत धर्म मान्ने लिम्बूहरू खासगरी सत्यहाङ्मा पन्थमा लागेका लिम्बूहरूको ठूलो घुइँचो लाग्छ), संखुवासभाको धर्मदेवी, सिद्धकाली देवी, खोटाङको हलेसी महादेव आदि धार्मिक स्थलहरू पनि महत्वपूर्ण रहेका छन् । यसरी हेर्दा पर्यटकीय हिसाबले १ नम्बर प्रदेशलाई अब्बल मान्न सकिन्छ ।
-निनाम कुलुङ ‘मंगले’