प्रकाश शर्मा ढकाल
शनिवार, बैशाख २८, २०७६
778

संघीय संरचनामा प्रवेश गरेसँगै प्रदेश सरकार तथा स्थानीय तहको प्राथमिकताप्राप्त क्षेत्र पर्यटन बनेको देखिन्छ । रारा अर्थात् धर्तीकी अप्सरा नेपाली तथा बाह्य पर्यटकको रोजाइको गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । यसै पृष्ठभूमिलाई आत्मसात् गर्दै संघीय सरकार तथा कर्णाली सरकारको संयुक्त पहलमा कर्णाली रारा पर्यटन वर्ष, २०७५ समेत मनाइएको छ । ५ लाख पर्यटक रारा पु¥याउने लक्ष्य लिएको कर्णाली प्रदेश सरकारले यसको प्रगति सार्वजनिक पनि गरिसकेको छ । ५ लाख पर्यटक रारा नपुगे पनि यो अभियानले लाखौं नेपालीलाई कर्णाली तथा राराको पर्यटकीय सम्भावनाका बारेमा सुसूचित चाही पक्कै गरायो ।
रारा ताल र यसको आसपास क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना देखिन्छ । पर्यटन प्रवद्र्धनका माध्यमबाट आय र रोजगारी सिर्जना गरी त्यस क्षेत्रको बृहत्तर विकास गर्न सकिने सम्भावना पनि उत्तिकै देखिन्छ । यस क्षेत्रमा ५१ प्रजातिका जनावरहरू पाइन्छन् भने राष्ट्रिय पन्छी डाँफे, कालिज, मुनाललगायत २ सय ७२ प्रजातिका पन्छीहरू पाइन्छन् । विश्वमै सबभन्दा उच्च क्षेत्रमा पाइने माछाका प्रजातिहरू यहाँ पाइन्छन् ।

सम्भावनालाई अवसरमा परिणत गर्न नसकेका कारण अन्य क्षेत्र जस्तै रारा क्षेत्र पनि पछाडि परेकोमा सायद दुईमत होला । यस आलेखमा राराको दिगो पर्यटकीय विकासमा देखिएका समस्या र भविष्यमा गर्नुपर्ने कार्यहरूको सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

के हुन् मुख्य समस्या ?
पर्यटकीय पूर्वाधार : रारा ताल राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र परेका कारण अन्य पर्यटकीय क्षेत्रमा जस्तो सहजै पर्यटकीय पूर्वाधारहरू निर्माण गर्ने अवस्था देखिँदैन । रारासम्म पुग्ने सडक मार्ग, तालको परिक्रमाका लागि पैदल मार्ग, सडक लेन, घोडाका लागि अलग्गै मार्ग निर्माण, शौचालय, तालको वरिपरि आराम स्थल, खाना नास्ताको प्रबन्ध, आवासका लागि होटल तथा लजहरू, मनोरञ्जनका अन्य पर्यटकीय क्रियाकलाप, तालमा डुंगा सञ्चालनजस्ता विषयमा विशेष ध्यान पुग्न नसक्दा पर्यटकको बसाइ स्मरणीय बन्न नसकेको मात्र होइन, यस क्षेत्रका बारेमा नकरात्मक सन्देशसमेत फैलिएको छ ।
सीमसार क्षेत्रमा क्षति : तालवरिपरि रहेको सीम क्षेत्रमा घोडा हिँडाउँदा केवल हिलोमा परिणत भएको छ । घोडाको मलमूत्रका कारण दुर्गन्ध फैलिनुका साथै त्यस्तो क्षेत्रमा रहेका वनस्पति, जडीबुटी, जीवजन्तुसमेत त्यस स्थानबाट लोप हुने खतरा बढ्दै गएको छ ।
तालको सरसफाइ : पर्यटकको संख्यामा वृद्धिसँगै तालको सरसफाइमा प्रतिकूल असर परेको स्पष्ट देखिन्छ । चाउचाउ, बिस्कुट, चकलेटलगायतका खोल, जुसका बट्टा, पानीका बोतल, तालको किनारा तथा पानीमा यत्रतत्र देखिन्छन् । यसैगरी घोडा तालकै किनारा–किनारा हिँडाउने कार्य भइरहेका कारण घोडाको दिसा तथा पिसाबसमेत तालमा मिसिने गरेको पाइयो । तालमा यत्रतत्र लडेका रूखहरू बाहिर ननिकालिएका कारण तालको सौन्दर्यमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
क्षेत्राधिकारको समस्या : रारा क्षेत्रको संरक्षण तथा विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहको भूमिका के–कस्तो हुने, संघअन्तर्गत पनि राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, ताल संरक्षण विकास समिति, नेपाली सेनासमेतको भूमिका के हुने भन्ने स्पष्ट हुन नसकेका कारण केही द्विविधा उत्पन्न भएको छ । यसकै कारण प्रदेश पर्यटन मन्त्रालयद्वरा विनियोजित बजेट खर्च व्यवस्थापनमा समेत अन्यौलता सिर्जना भएको छ ।
होटल तथा अन्य संरचना : रारा तालको किनारैमा दुईवटा व्यावसायिक होटल तथा नेपाली सेनाको व्यारेक, राष्ट्रिय निकुञ्जको कार्यालय तथा निवाससमेत रहेको पाइयो । त्यहाँबाट निस्कने जैविक तथा अजैविक फोहोर तालसम्म पुग्ने गरेको, होटलहरूले क्याम्प विस्तार गर्दा वन जंगल थप कटान हुन जाँदा संरक्षणमा समेत असर परेको छ भने जलचर लोप हुने खतरा बढेर गएको छ ।
जंगली जनावर तथा वनस्पति संरक्षण : बढ्दो मानवीय क्रियाकलाप, सवारी साधनबाट निस्कने ध्वनिजन्य तथा अन्य प्रदूषणका कारण जंगली जनावर, चराचुरुङ्गी तथा स्थानीय वनस्पति (जडीबुटी) लोप हुन सक्ने सम्भावना बढ्दो छ ।
आधारभूत स्वास्थ्यसेवाको अभाव : रारा क्षेत्रका स्थानीय बासिन्दा एवं भ्रमणका लागि जाने पर्यटकका लागि आधारभूत स्वास्थ्य सुविधाको प्रबन्ध नहुँदा पर्यटकमा मानसिक तनावसमेत देखिन्छ ।
कोसेलीघरको अभाव : पर्यटकहरू जहाँ भ्रमण गर्छन् त्यसको सम्झनास्वरूप स्थानीय उत्पादन ल्याउने प्रवृत्ति विश्वमै देखिन्छ । रारा क्षेत्रमा हुने स्थानीय उत्पादन, स्थानीय हस्तकलाका सामानलगायतका सामानको कोसेलीघरको प्रबन्ध नहुँदा पर्यटकहरू त्यति उत्साहित भएको देखिँदैन । यसले स्थानीय जनताको आयस्तर वृद्धिमा समेत सहयोग पु¥याउनेमा सो हुन सकेको देखिएन ।
अन्य पर्यटकीय क्षेत्र ओझेलमा : रारा महादेव, लगुदा शिव मन्दिर, जेफेश्वर शिव मन्दिर, छायाँनाथ महादेव लगायतका अन्य धार्मिक पर्यटकीय महŒवका स्थान तथा अन्य सम्भावित पर्यटकीय क्षेत्रको प्रचार–प्रसार नहुँदा त्यस क्षेत्रमा पुग्ने पर्यटकहरू रारा तालको अवलोकनमै सीमित हुने गरेको छ ।

कसरी विकास गर्ने त ?
गुरुयोजना निर्माण : यस क्षेत्रको दिगो पर्यटन सम्बन्धमा संघीय सरकारको नेतृत्वमा प्रदेश र स्थानीय तहको सहकार्यमा गुरुयोजना निर्माण गरी सोहीबमोजिम यस क्षेत्रको पर्यटकीय विकास गर्नु टड्कारो आवश्यकता देखिन्छ ।
संरचनाहरूको स्थानान्तरण : ताल किनारामा रहेका होटल, ब्यारेक, निकुञ्जको कार्यालय तथा आवाससमेतका संरचना स्थानान्तरण गरी ताल किनाराबाट निश्चित दूरी बाहिर लैजार्ने र थप संरचना बनाउनुपर्ने भए पनि सोही परिधि बाहिर मात्र बनाउने गरी मापदण्ड तयार गर्नुपर्ने देखिन्छ ।
पर्यटकीय पूर्वाधार निर्माण : रारा ताल तथा आसपासका अन्य पर्यटकीय गन्तव्यको भ्रमण गर्ने पर्यटकका लागि आवश्यक पर्यटकीय पूर्वाधारजस्तै खाना तथा बासका लागि होटल तथा लज, बीच–बीचमा टी सपहरू, शौचालय, पदयात्रा साइकल तथा घोडा सवारका लागि छुट्टै निर्माण, पर्यटन सूचना केन्द्र स्थापना, कोसेलीघरको निर्माण तथा अन्य पर्यटकीय गतिविधिका लागि आवश्यक संरचनाहरू निर्माण गर्नुपर्ने देखिन्छ ।
घोडाको मलमूत्र व्यवस्थापन : रारा क्षेत्रमा १ सय ५० बढी संख्यामा रहेका घोडा स्थानीयहरूको आय आर्जनको स्रोत भए पनि यसबाट सिर्जित फोहोर व्यवस्थापन प्रभावकारी बनाउनका लागि झोला झुन्ड्याई संकलन गर्ने र कुनै एक निश्चित स्थानमा विसर्जन गर्ने व्यवस्था गर्नु नितान्त आवश्यक देखिन्छ ।
होमस्टे व्यवस्थापन : यस क्षेत्रमा रहेका मुर्मा गाउँ, लामाचौर तुमा, सल्लेरी, झ्यारी, ताल्चा, बाउपानि लगायतका गाउँ बस्तीमा पर्यटकका लागि होमस्टे सञ्चालन गर्नु उपयुक्त देखिन्छ । यसले एकातर्फ ताल तथा अन्य क्षेत्रमा अनावश्यक संरचना निर्माणलाई निरुत्साहित गर्छ भने अर्कातर्फ स्थानीय समुदायको आयसमेत बढाउँछ ।
तालको पानीमा पर्यटकीय गतिविधि सञ्चालन : तालको पानी निकास भई गएको स्थानमा सम्भाव्यता अध्ययन गरी जल क्रीडास्थलहरू निर्माण गर्ने, नुहाउने धाराहरूको व्यवस्था, पर्यटक तथा डुंगा संख्याबीच तादात्म्यता हुने गरी सञ्चालनको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
तथ्यांक व्यवस्थापन : रारा क्षेत्रमा पुग्ने पर्यटकको तथ्यांक संकलन गर्नका लागि पर्यटक सूचना केन्द्र स्थापन गर्नुपर्ने देखियो । तथ्यांक संकलन, विश्लेषणका आधारमा भावी कार्यक्रम तय गर्न सहज हुने हुँदा यस कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखियो ।
क्षमता विकास कार्यक्रम : स्थानीयवासी, व्यवसायी, घोडा मालिकलगायतको क्षमता विकासका लागि सघन तालिम सञ्चालन गर्नुपर्ने देखियो । होमस्टे सञ्चालनका लागि सरसफाइ, कुक तथा अतिथि सत्कारसम्बन्धी विशेष तालिम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
सञ्चार एवं स्वास्थ्य सुविधा : यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरू तथा स्थानीय समुदायको प्रमुख समस्या सञ्चार सुविधाको पहुँच तथा प्राथमिक स्वास्थ्य रहेको सन्दर्भमा यस्ता सेवा उपलब्ध गराउनपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
पर्यटकीय खेलकुद गतिविधि : भौगोलिक अवस्थिति साहसिक पर्यटकीय गतिविधिका लागि उपयुक्त देखिएको सन्दर्भमा प्याराग्लाइडिङ गल्फ, साहसिक साइकल यात्रा, परम्परागत स्थानीय खेलहरू सञ्चालन गर्ने, मुर्मा टपसम्म केबलकार सञ्चालन गरी यस क्षेत्रलाई पर्यटकीय खेलकुदको आकर्षक केन्द्रका रूपमा विकास गर्नुपर्ने देखिन्छ ।
अनुसन्धान केन्द्रका रूपमा विकास : तालमा पाइने जलचर, निकुञ्ज क्षेत्रमा पाइने अमूल्य जडीबुटी, वनस्पति, जंगली जनावर, उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्थानीय प्रजातीका धान, कोदोलगायतका अन्नबाली आदिको अध्ययन–अनुसन्धान गर्नका लागि अनुसन्धानकर्तालाई प्रेरित गर्ने गरी यस क्षेत्रको विकास गर्नुपर्ने देखिन्छ ।
अन्य : सिंजा क्षेत्र, रारा, खप्तड क्षेत्र समेट्ने गरी पर्यटकीय सर्किटको विकास गर्ने, पैदल मार्ग, भ्यूटेक, पुलहरू, भ्यूटावर आदि नियमित रूपमा मर्मत–सम्भार गरी दुरुस्त बनाउनुपर्ने देखिन्छ । यसका लागि जिम्मेवार निकाय किटान हुनसमेत जरुरी देखियो ।
अन्त्यमा, सम्भावनालाई अवसरका रूपमा लिई उपयोग गर्न नसक्दा रारा क्षेत्रमा आशातीत रूपमा पर्यटक आकर्षित गर्न सकिएको छैन । जाने पर्यटकहरूका लागि सेवा प्रवाह प्रभावकारी रूपमा प्रदान हुन सकेको देखिँदैन । खाना, बस्ने सुविधाका लागि उचित प्रबन्ध हुन नसक्दा समस्या देखिएको छ । थप पर्यटकीय पूर्वाधारहरू निर्माण गरी विकास एवं प्रवद्र्धन गर्न सकिएमा मात्र संरक्षणका साथसाथै पर्यटकीय हिसाबले समेत राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पु¥याउन सक्ने देखिन्छ ।