प्रकाश शर्मा ढकाल
बिहिवार, बैशाख १२, २०७६
513

सुरक्षा निकाय पनि भीभीआईपी उडान–तालिकाको सूचना प्रवाह गर्ने-गराउनेतर्फ थप संवेदनशील हुनु नितान्त आवश्यक देखिन्छ ।

फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीसमेत हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उडानसम्बन्धी मापदण्डको परिपालनामाथि प्रश्न मात्र उठाइएन, उच्च पदाधिकारीहरूको उडान सुरक्षित बनाउन थप कदम चाल्नुपर्ने आवश्यकता महसुससमेत गरियो । सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली फागुन २१ मा चन्द्रगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने क्रममा उहाँ सवार यति एयरलाइन्सको उडान एनवाइटी ९२६ काठमाडांैको आकाशमा लामो समय होल्ड भयो । उपत्यकाभित्रको आकाशमा लगातार फन्को मार्दासमेत उक्त उडानले प्राथमिकता पाएन । मुलुकको कार्यकारी प्रमुख सवार उडानले भीभीआईपी सवार उडानले पाउनुपर्ने प्राथमिकता नपाएको मात्र होइन, उक्त विमानलाई आकाशमा होल्ड गराई अर्को उडानलाई प्राथमिकता दिई अवतरण गराएपछि छानबिनका लागि एक समिति गठन नै भयो । समितिले आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरिसकेको छ । हेलिकप्टर दुर्घटनाका सम्बन्धमा जाँचबुझ आयोगले आफ्नो कार्य गरिरहेको छ । प्रधानमन्त्री सवार उडान होल्ड भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले उक्त उडानका सम्बन्धमा भएको यथार्थ विवरण पत्ता लगाउने, अतिविशिष्ट व्यक्तिहरू सवार उडानमा अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा पु-याउनुपर्ने प्राथमिकता पूरा भए-नभएको पत्ता लगाउने र कमी-कमजोरी गर्ने-गराउने कर्मचारीउपर गर्नुपर्ने कारबाहीको सिफारिस गर्ने, अतिविशिष्ट व्यक्तिहरूको उडान सुरक्षाका थप उपायहरूसहित भविष्यमा अवलम्बन गर्नुपर्ने सुरक्षा व्यवस्थासम्बन्धी सुझावहरूसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको थियो ।
भीभीआईपी उडान तथा भीभीआईपी सवार उडान व्यवस्थित गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित वायुसेवा कम्पनीहरूको ग्राउन्ड ह्यान्डलिङ म्यानुअल, अप्रेसन म्यानुअल, इम्पोर्टेन्ट प्यासेन्जर ह्यान्डलिङ प्रोसिड्युर्सलगायतका विभिन्न मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरूको व्यवस्था गरिएको छ, जसमा नागरिक उड्डयन कार्यालय, वायुसेवा कम्पनीका विभिन्न पदाधिकारी तथा शाखाहरूको स्पष्ट जिम्मेवारी र उत्तरदायित्वसमेतको किटानी व्यवस्था रहेको छ । यी व्यवस्थाको अक्षरशः पालना नगर्दा-नगराउँदा वा ती सर्तहरूको पालना भए-नभएको नियमित रूपमा अनुगमन तथा मूल्यांकन नहुँदा बेलाबखत यस्ता घटनाहरू भइरहन्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको म्यानुअलले भीभीआईपी भनेर राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उपराष्ट्रपतिलाई परिभाषित गरेको देखिन्छ । समग्रमा आधा दर्जन पदाधिकारीलाई अतिविशिष्ट व्यक्तिका रूपमा परिभाषित गर्दा पनि यसको व्यवस्थापन त्यति जटिल देखिंदैन ।
भविष्यमा यस प्रकारका घटनाहरू हुन नदिन कसले के गर्ने भन्ने स्पष्ट हुन जरुरी देखिन्छ । यस्ता उडानहरू नियमित एवं विश्वसनीय बनाउनका लागि नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सम्बन्धित वायुसेवा सञ्चालक कम्पनी, विमानस्थलस्थित कार्यालय, सुरक्षा निकाय तथा भीभीआईपीको सचिवालयसमेत थप संवेदनशील हुनुपर्ने देखिन्छ ।

नागरिक उड्डयन मन्त्रालय
नेपाल सरकारको कार्य विभाजन नियमावलीबमोजिम नागरिक उड्डयन क्षेत्रको प्रमुख नियमनकारी निकायको रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्रालयले नागरिक उड्डयनसम्बन्धी नीति, कानुन मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने गराउने तथा सोको नियमित नियमन गरी उल्लंघन भएको पाइएमा कानुनी कारबाही गर्ने र भविष्यमा त्यस्ता कमी–कमजोरी हुन नदिने प्रबन्ध मिलाउनुपर्ने देखिन्छ । त्यसै गरी मन्त्रालयले हवाई यात्राका लागि विशिष्ट तथा अति विशिष्ट पदाधिकारीहरूको विवरण अद्यावधिक गरी सम्बन्धित सबै पक्षलाई सोबारे सूचितसमेत गराउन आवश्यक छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण
हवाई सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने प्रमुख जिम्मेवार निकाय प्राधिकरण भएकाले प्राधिकरण थप संवेदनशील हुनु जरुरी देखिन्छ । जारी निर्देशिका तथा मापदण्ड, एवं विधि र प्रक्रियाको परिपालना भए–नभएको नियमित रूपमा अनुगमन गर्ने-गराउने प्रमुख जिम्मेवारी पनि प्राधिकरणको रहेको छ । तोकिएको विधि र प्रक्रियाको परिपालना नगर्ने कर्मचारी, वायुसेवा कम्पनी जोसुकैलाई कारबाहीको दायरामा ल्याई भविष्यमा यस्ता गल्ती दोहोरिन नदिनु आजको आवश्यकता देखिन्छ । आफू मातहतका विमानस्थल कार्यालय, वायुसेवा प्रदायक कम्पनीका कर्मचारीहरूका लागि विशेष अभिमुखीकरण तालिमको प्रबन्ध मिलाउने, विद्यमान मापदण्डमा सुधारको आवश्यकता पहिचान गरी अद्यावधिक गर्ने-गराउने विषयमा ध्यान पु-याउनु जरुरी छ ।

वायुसेवा प्रदायक कम्पनी
यस्ता कम्पनीहरू त्यस्ता व्यक्तिहरूको टिकट बुकिङ वा टिकट जारी गर्दा आफ्नो आन्तरिक प्रयोजनका लागि भीभीआईपी संकेत दिने, उडान हुने मिति, समयभन्दा पहिले सम्बन्धित विमानस्थल तथा गन्तव्य विमानस्थलका पदाधिकारीहरूलाई औपचारिक रूपमा सूचना प्रवाह गर्ने, आफ्नो फ्लाइट प्लान तथा फ्लाइट प्रोगाममा भीभीआईपी सवार हुने कुरा लिखित रूपमा उल्लेख गर्ने-गराउने, सम्बन्धित विमानस्थलस्थित आफ्ना कर्मचारीहरूलाई सूचित गरी थप जिम्मेवार बनाउने, चालक तथा चालक दलका सदस्यहरूलाई सूचित गर्ने-गराउने कार्यमा संवेदनशील हुनुपर्छ । त्यस्ता उडानका लागि चालक दलका सदस्यहरूको योग्यता र न्यूनतम अनुभवसमेतको मापदण्ड बनाइ लागू गर्नुपर्ने देखिन्छ । यसले अतिविशिष्ट व्यक्तिको सत्कार, सम्मान तथा अन्य हस्पिटालिटीसमेत प्रभावकारी हुन सक्छ । चालक दलले पनि आफ्नो उडानमा अतिविशिष्ट व्यक्ति सवार रहेको कुरा सम्बन्धित विमानस्थललाई समयमै जानकारी गराउनुपर्छ ।

विमानस्थल कार्यालय
भीभीआईपी सवार भई हुने उडानसँग सम्बन्धित विमानस्थल कार्यालयले त्यस्ता व्यक्तिहरूले आफ्नो विमानस्थल प्रयोग गर्ने नगर्ने सम्बन्धमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसमेतबाट नियमित रूपमा सूचना लिने, वायुसेवा प्रदायक कम्पनीहरूबाट औपचारिक रूपमा जानकारी प्राप्त गर्ने, निजहरूको फर्किने उडान तालिकाका बारेमा सुसूचित हुने मात्र होइन, गन्तव्य विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयमा समेत यस प्रकारको उडानसम्बन्धी सूचना प्रवाहको व्यवस्था मिलाउनुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक मोफसलका विमानस्थलस्थित कार्यालयका पदाधिकारीहरू भीभीआईपीको स्वागत, सत्कारसमेतमा तल्लीन रहने अर्थात् भीभीआईपी ह्यान्डलिङका सबै प्रक्रिया पूरा गर्ने तर सम्बन्धित अन्य निकायमा सोका बारेमा जानकारी गराउनेतर्फ ध्यान पु-याउन नसकेका उदाहरणहरू पनि छन् ।

भीभीआईपीको सचिवालय
सचिवालयले भीभीआईपीको भ्रमण तालिकाका बारेमा सुरक्षा निकाय, सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी, उड्ने तथा गन्तव्य विमानस्थलका पदाधिकारी, उडान गर्ने वायुसेवा कम्पनीलाई समयमै जानकारी गराउनुपर्छ । सचिवालयबाट सुरक्षा निकाय तथा उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रम आयोजकसम्मलाई मात्र कार्यतालिकाबारे जानकारी गराउने तर विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय, वायुसेवा कम्पनीलाई यस्ता सूचना सम्प्रेषण नगर्ने प्रचलन रहेको देखिन्छ ।

सुरक्षा निकाय
प्रायः सबैजसो यस्ता उडानका बारेमा सुरक्षा निकायलाई समयमै सूचित गरिन्छ र सुरक्षा निकायले पनि सोहीअनुसार सुरक्षाको प्रबन्ध मिलाउने गर्छ । सुरक्षा निकायले पनि आफ्नो सञ्चारमाध्यमबाट गन्तव्य स्थानको सुरक्षा निकायलाई सूचना सम्प्रेषण गर्ने गरेको देखिन्छ । तर, विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय, सम्बन्धित वायुसेवा कम्पनीलाई सूचना सम्प्रेषण गर्ने गरेको देखिंदैन । सुरक्षा निकायले पनि आवश्यकतानुसार सम्बन्धित सबै निकायमा भीभीआईपीको उडान तालिकाको सूचना प्रवाह गर्ने-गराउनेतर्फ थप संवेदनशील हुनु नितान्त आवश्यक देखिन्छ ।
प्रश्न अति विशिष्ट पदाधिकारीको हवाई यात्राको मात्र होइन, समग्र नेपाली हवाई क्षेत्रको विश्वसनीयताप्रति पनि हो । ट्राफिक व्यवस्थापन, विमानस्थलको गुणस्तर, नेपाली विमानको अवस्था, यात्रु सेवा प्रवाहमा संलग्नहरूको व्यवहार सबै क्षेत्रमा बारम्बार प्रश्न उठ्ने गरेको छ । आम सर्वसाधरणबाट आएका गुनासोको सम्बोधन समयमै गर्न सकिएन भने नेपाली आकाश भविष्यमा झन आलोचित हुँदै नजाला भन्न सकिँदैन । यसतर्फ सरोकारवाला सबै क्षेत्रको ध्यान जानु जरुरी छ ।