सुदर्शन अधिकारी
बुधवार, बैशाख ११, २०७६
387

प्रजातान्त्रिक शासन–व्यवस्था भएका राज्यमा नागरिक शिक्षाअन्तर्गत शासन–व्यवस्थासम्बन्धी ज्ञान वा स्वशासनको शिक्षा पनि पर्छ ।
शासन–व्यवस्थामा जनताको सहभागिताको मात्रा जति बढी भयो त्यति नै शासन–व्यवस्था बलियो हुन्छ भने जनताको संलग्नता र सहभागिताको मात्रा शासनमा जति न्यून भयो त्यो व्यवस्था त्यति नै कमजोर बन्दै जान्छ ।

नागरिकका लागि आवश्यक पर्ने सबै क्षेत्रका बारेमा सामान्य शिक्षा हुनु नै नागरिक शिक्षा हो । नागरिक शिक्षाले समाजका सदस्यहरूलाई नागरिक अधिकार, कर्तव्य, शासकको दायित्व, आदर्श नागरिकका लागि आवश्यक गुणहरूजस्ता विषयमा ज्ञान दिने कार्य गर्छ । नागरिक भनेको के हो ? नागरिक हुनु र नहुनुमा के अन्तर हुन्छ ? नागरिक अधिकारको उपयोग कसरी गरिन्छ ? समाज र राज्यबाट नागरिकले कस्तो नागरिक शिक्षा प्राप्त गर्न सक्छन् ? जस्ता सवालका बारेमा स्पष्ट जवाफ दिने कार्य नागरिक शिक्षाले गर्छ । प्रजातान्त्रिक शासन–व्यवस्था भएका राज्यमा नागरिक शिक्षाअन्तर्गत शासन–व्यवस्थासम्बन्धी ज्ञान वा स्वशासनको शिक्षा पनि पर्छ । नागरिक शिक्षाले प्रजातन्त्र भनेको कस्तो शासन–व्यवस्था हो ? यसमा जनताको कस्तो स्थान रहन्छ ? शासनमा जनता कसरी सहभागी हुन्छन् भन्ने जस्ता कुरा बताउने कार्य गर्छ ।

प्रजातन्त्र भनेको जनताको शासन हो, यस व्यवस्थामा जनताको समान हिस्सा हुन्छ । जनताद्वारा छानिएर गएका जनप्रतिनिधिहरूमार्फत नै देशको शासन–व्यवस्था सञ्चालन हुन्छ । जनताबाट चुनिएर गएका प्रतिनिधिहरूले नै देशका लागि आवश्यक सबै कानुन निर्माण गरी लागूसमेत गर्छन । प्रजातन्त्रिक व्यवस्थामा राज्यका नागरिकहरू प्रजाका रूपमा नभई नागरिकका रूपमा रहेका हुन्छन्, त्यसैले शासकले दिएका सुविधाको उपयोग गर्ने र शासकको आज्ञा चुपचाप स्विकार्न नभएर एवं आफ्ना प्रतिनिधिमार्फत शासनमा सहभागी हुन्छन् भन्ने ज्ञान नाागरिक शिक्षाबाट प्राप्त हुन्छ । नागरिक शिक्षा त्यस्तो शिक्षा हो जसले समाजका सदस्यहरूलाई राजनीतिक चेतना प्रदान गर्छ । साथै, नागरिकलाई राजनीतिमा सक्रिय सहभागिताका लागि प्रोत्साहित समेत गर्छ । नागरिक शिक्षाले नै नागरिकलाई सचेत र अधिकार तथा कर्तव्यप्रति उत्तरदायी बनाउँछ ।
नागरिक शिक्षाको क्षेत्र भनेको नागरिकलाई राज्यप्रति कर्तव्यपरायण शासकप्रति आज्ञाकारी बनाउन बढी जोड दिन्थ्यो, किनभने पहिले–पहिले सामान्य नागरिकलाई शासनको अधिकार हुन्थ्यो । वर्तमान समयमा प्रजातान्त्रिक धारणा व्यापक भएकाले राज्यमा सदस्यहरू राजनीतिक अधिकारयुक्त हुन्छन् । त्यसैले आजभोलि यसअन्तर्गत अधिकार र कर्तव्यको बोध हुने दुवै कुरा पर्छन् । नागरिक शिक्षालाई सामाजिक मूल्य–मान्यता र राजनीतिक प्रणालीले निर्धारित गरेको हुन्छ । त्यसैले गर्दा एउटा सामाजिक र राजनीतिक प्रणालीले निर्धारित गरेको नागरिक शिक्षा अर्को प्रणालीमा लागू नहुन सक्छ । एउटा परम्परागत र निरङकुस शासनअनुसारको नागरिक शिक्षा प्रजातान्त्रिक र उदार समाजको भन्दा फरक हुन्छ । त्यसैले नागरिक समाज गतिशील भएकाले नागरिक शिक्षा पनि समाजसँगै परिवर्तित भैरहन्छ । त्यसैले नागरिक अधिकार यति नै हो भनेर किटान गर्न पनि कठिन छ ।
नागरिक शिक्षाको क्षेत्र निर्धारण गर्न गाह्रो र परिवर्तनशील भए पनि सामान्यतया नागरिक शिक्षाअन्तर्गत राज्यको सदस्यता वा नागरिकता आदर्श नागरिक लागि आवश्यक गुणहरू नागरिक अधिकार नागरिक समाज र राज्यप्रतिको दायित्व नागरिक समाजमा विद्यमान रजनीतिक आर्थिक तथा सामाजिक असमानताजस्ता सवालहरू यसअन्तर्गत पर्छन् । त्यसैगरी प्रजातान्त्रिक शासन–व्यवस्था भएका राज्यमा नागरिक शिक्षा भन्नाले स्वशासनसम्बधी शिक्षा भएकाले त्यस्तो स्थानमा यसअन्तर्गत प्रजातान्त्रिक शासन प्रणाली प्रजातान्त्रिक धारमा मूल्य र मान्यताहरू शासनमा नागरिकको स्थान र सहभागिताको आधार जनप्रतिनिधिहरूको जिम्मेवारी निर्वाचनको महत्व तथा बहुलवादी समाजमा सबै वर्गको सहिष्णुताजस्ता कुराहरू यसअन्तर्गत पर्ने विषयहरू हुन् । समाजमा हरेक सदस्यले आफ्नो अधिकारको प्रयोग गरी अरूको अधिकारको हनन नहुने गरी गर्नुपर्छ ।
अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटामै हुन्छन् । एउटा व्यक्तिको अधिकार र अर्को व्यक्तिको कर्तव्य र एउटा व्यक्तिको कर्तव्य अर्को व्यक्तिको अधिकार हो । अधिकारको हकदार त्यही व्यक्ति हुन्छ जो आफ्नो कर्तव्य पालन गर्छ । कर्तव्यको दुनियाँमा मात्र अधिकार जीवित रहन सक्छ । सबैले केबल अधिकार मात्र खोज्ने र कर्तव्य पालन नगर्ने हो भने त्यस्तो अवस्थामा अधिकार कायम हुन सक्तैन । समाजका सदस्यले नागरिक शिक्षा प्राप्त गरे भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन हुने गरी गर्दैनन्, किनभने उनीहरूलाई आफ्नो अधिकारको सीमा के हो ? र आफू समाजको सदस्य भएको नाताले समाजप्रतिको आफ्नो कर्तव्य के हो ? भन्ने कुराको ज्ञान हुन्छ । नागरिक शिक्षाले समाजका सदस्यलाई अधिकारप्रति सचेत बनाउनुको साथै आफ्नो कर्तव्य पालन गर्न प्रेरित गर्छ ।
नागरिक शिक्षाले अनुशासनपूर्ण जीवन बिताउन प्रेरित गर्ने हुँदा त्यसबाट अनुशासनपूर्ण समाजको निर्माणमा मद्दत पुग्छ । कुनै पनि राज्य आदर्श हुन समाज पनि आदर्श हुनुपर्छ । समाज आदर्श हुनका लागि आदर्श नागरिक हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले आदर्श नागरिक के हो ? र आदर्श नागरिक हुन् के कुरा आवश्यक पर्छ भन्ने कुराको ज्ञान दिई आदर्श नागरिक निर्माणमा सहयोग पु-याउँछ । राजनीतिक चेतना र ज्ञान भएका नागरिक भएमै योग्य र सक्षम शासक हुन सक्छन् । नागरिक शिक्षाले नागरिकलाई राजनीतिक चेतना प्रदान गर्ने हुँदा पनि यो ज्यादा महत्वपूर्ण भएको छ । प्रजातान्त्रिक शासन–व्यवस्थामा नागरिकमा प्रजातान्त्रिक मूल्य, मान्यता र ठोस प्रतिबद्धताको आवश्यकता पर्छ । प्रत्येक नागरिकमा प्रजातान्त्रिक आदर्शबारे आवश्यक ज्ञान र त्यहीअनुरूपका सीप र दायित्व भएमा प्रजातन्त्र दिगो र बलियो हुन्छ ।
नागरिक शिक्षाले संकीर्ण भावना हटाई नागरिकमा सामूहिक र सामाजिकताको भावना विकसित गराउँछ । यसले समाजमा रहेका विविध समूहहरूबीच सहिष्णुताको वातावरण सिर्जना हुन्छ । त्यसैले नागरिक शिक्षाको अभावमा जातीय, भाषिक, धार्मिक र क्षेत्रिय आधारमा साम्प्रादायिक दंगा र हिंसासमेत हुन सक्ने हुँदा बहुलवादी समाजमा सामाजिक एकता कायम गर्न र सहिष्णुताको वातावरण बनाउन यसको महत्व अझ बढी देखिन्छ । नागरिक शिक्षाले प्रजातान्त्रिक शासन–व्यवस्थामा बहुमत र अल्पमत दुवैको महत्व दर्साउँछ । अल्पमतको पनि सम्मान गर्दै जाने र बहुमतले गलत कार्य गर्न खोजेमा रोक्ने कार्य पनि गर्छ जसका लागि नागरिक शिक्षाको महत्वपूर्ण भूमिका स्वयं सांसदहरूलाई पनि उत्तिकै खाँचो हुन्छ । प्रजातान्त्रिक शासन–व्यवस्थामा जनताका सहभागिताको बढी महत्व रहन्छ ।
शासन–व्यवस्थामा जनताको सहभागिताको मात्रा जति बढी भयो त्यति नै शासन–व्यवस्था बलियो हुन्छ भने जनताको संलग्नता र सहभागिताको मात्रा शासनमा जति न्यून भयो त्यो व्यवस्था त्यति नै कमजोर बन्दै जान्छ । नागरिक शिक्षाले शासनमा राजनीतिक सहभागिताका लागि प्रोत्साहित गर्छ । त्यस्तै प्रजातान्त्रिक व्यस्थामा प्रजान्त्रिक आदर्शअनुरूपको आचरण प्रजातान्त्रिक र राजनीतिक चेतनाबिनाको समाजमा मानवअधिकार, सामाजिक मूल्य–मान्यता र आदर्श कानुनको शासन उत्तरदायित्वपूर्ण व्यवहार सामूहिक भलाइजस्ता महत्वपूर्ण पक्षको आशा गर्न सकिँदैन । समग्रमा भन्नुपर्दा नागरिक शिक्षाले आफ्नो कर्तव्यबोध, अधिकार, सामाजिक प्रतिष्ठा र आफूले अरूप्रति गर्ने व्यवहारलगायतका विविध पक्ष समेटने भएकाले नागरिक शिक्षा आजको सन्दर्भमा अझै महत्वपूर्ण भएको छ ।