कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
345

लमजुङ-खुला ठाउँमा मासु काट्दा र त्यही मासु खाँदा स्वास्थ्यका हिसाबले हानीकार मानिन्छ । तर दिनैपिच्छे मासु काट्ने टोललै पिच्छे मासु पाइने देशभरिका सहरमा ब्यवस्थित पशु बधशाला प्रायः छैनन् । पशुबधशाला नभएकै कारण अत्यधिक मासु खपत हुने लमजुङको सदरमुकाम बेसीसहरमा पनि नागरिकहरू अस्वस्थ मासु खान बाध्य छन् ।
लमजुङ सदरमुकाम बेसीसहरलगायत जिल्लाका कुनै पनि स्थानमा व्यवस्थित पशुबधशाला नहुँदा स्थानीय अस्वस्थ मासु खान बाध्य छन् । मासुको अत्यधिक खपत हुने लमजुङमा मासु खुल्ला ठाउँमा काटिने र बिक्री वितरण पनि खुल्लै ठाउँमा हुने हुँदा बिक्री गरिएका मासु स्वस्थकर नभएको स्वास्थ्य प्राविधिकहरू बताउँछन् ।

जिल्लाको कुनै पनि ठाउँमा व्यवस्थित पशुबधशाला नभएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका सूचना अधिकृत खिला घिमिरेले बताए । घिमिरेले बध गर्ने ठाउँ नभएपछि सामान्यतय बिक्री गर्ने ठाउँलाई व्यवस्थित गर्न प्रयास गरिएको बताए । “जिल्लामा व्यवस्थित पशुबधशाला छैन,” घिमिरेले भने, बिक्रीकक्षलाई व्यवस्थित बनाएका छौँ, यद्यपि व्यवस्थित बधशाला नहुँदा बिक्री भएको मासु स्वस्थ छ भन्ने लाग्दैन ।”
चिकित्सकहरूका अनुसार खसी, बोका, राँगा, बंगुर, कुखुरालगायतका पशुपंक्षीलाई निश्चित ठाउँमा काट्ने र २४ घण्टासम्म फ्रिजमा राखेर मात्र खानका लागि स्वास्थ मानिन्छ । तर चिकित्सकले भनेजस्तो व्यवसायी र उपभोक्तामा ज्ञान नहुँदा बजारमा अस्वस्थ मासु नै खपत हुँदै आएको छ । उपभोक्ताहरू फ्रिजमा राखेको मासु मन नपराउने भएकाले व्यवसायीले बिक्रीका लागि मासु फ्रिजमा राख्ने नगरेको मासु संघ लमजुङका अध्यक्ष गुणराज सिलवालले बताए । “फ्रिजमा राखेको मासु राम्रो हो भनिन्छ तर हाम्रा ग्राहकले बासी भनेर लाँदैनन्,” सिलवालले भने, “उपभोक्तालाई यसबारे थाहा छैन र सकेसम्म फ्रेस मासु नै खरिद गर्न खोज्छन् ।” मासुजन्य पदार्थको उपभोगसम्बन्धी सचेतना आवश्यक रहेको सिलवालको भनाइ छ ।
ठाउँ अभावका कारण जिल्लामै अहिलेसम्म व्यवस्थित बधशाला बन्न सकेको छैन । बधशाला निर्माणका लागि आएको लाखौं रुपैयाँ बजेट पनि पटक–पटक फ्रिज भएको छ । सदरमुकाम बेसीसहरमा बधशाला निर्माणका लागि स्थानीय सरकारले योजना बनाएको दाबी गरेको छ । तर सानो रकममा व्यवस्थित बधशाला निर्माण हुने सम्भावना नदेखिएपछि यसैका लागि ठूलो बजेट खर्च गर्न निकाय तयार भएको पाइँदैन । बधशाला निर्माणका लागि चालू आवमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिँह अर्यालले बताए । “बधशाला निर्माका लागि योजना पारेका छौँ,” नगर प्रमुखले भने, “व्यवस्थित बधशाला बनाउन थोरै बजेटले नपुग्ने देखिएको छ, आगामी वर्ष विशेष छलफल गछौँ ।”
यसअघि तत्कालीन जिल्ला पशुसेवा कार्यालयले स्थानीय नागरिकको गुनासोलाई ध्यानमा राखेर बेसीसहरमा पशु बधशाला निर्माण गर्ने योजना बनाएको थियो । तर ठाउँ अभावको समस्या देखाउदै पटकपटक बजेट फ्रिज भएको थियो । बधशाला निर्माणको आवश्यक भए पनि सम्बन्धित निकायमा व्यवस्थित बधशाला निर्माणको स्पष्ट योजना नहुँदा उपभोक्ताहरू समस्यामा परेका हुन् । जिल्लामा कुखुरा, बुँगुर, खसी र राँगोको मासु अत्यधिक खपत हुने गरेको छ । व्यवस्थित बधशाला नहुँदा व्यवसायीले कुखुराबाहेक अन्य पशु बध गर्न घर आगनदेखि खोला–खोल्सासम्म धाउने गरेका छन् ।

सन्देश पौडेल