रमेश घिमिरे
आइतवार, बैशाख १, २०७६
339

जोखिमलाई उच्च महत्व दिएर टेक्ने र समाउने ठाउँ बलियो बनाएर मात्र व्यापारमा दौडिनुपर्छ ।

व्यापार विश्वासका आधारमा चल्ने हो भन्दै जोखिमलाई नजरअन्दाज गरेर पानीको फोकाजस्तै फैलाउँदै जानु हुँदैन । विश्वासमा अडेको व्यापारमा कसैले विश्वासघात गरिदियो वा बदनियतले दुष्प्रचार गरिदियो भने तासको घरजस्तो व्यापार ढल्न सक्छ ।

ऋण पाएपछि हचुवाको भरमा व्यवसाय सुरु गर्ने वा विस्तार गर्ने प्रवृत्तिले गर्दा बैंक ऋण, सहकारी ऋण, सरसापटी र चर्को मिटरब्याज सबैको मिश्रण भएको देखिन्छ । यस्तो खिचडी पुँजी जहिले पनि जोखिममै हुन्छ ।


बैंकका अधिकारीले बदनियत राखेर कौडीको मूल्यमा ऋणीको धितो लिलाम गरिदिने, मिटरब्याजमा ऋण लिनेहरू करोडौं रुपैयाँ ठगेर फरार हुने जस्ता घटनाहरू बजारमा सार्वजनिक भइरहेका छन् । यस लेखमा यस्ता घटनाका वास्तविक कारण र समाधानका उपायहरूबारे चर्चा गरिएको छ ।
कमसल धितो राखेर बैंक अधिकारी र ऋणीको मिलेमतोमा बैंक डुबाउने खेल केही समयअघिसम्म व्यापक हुने गथ्र्यो । अहिले बैंकिङ फ्रडले प्रवृत्ति परिवर्तन गरेको छ । बैंकका तर्फबाट पर्याप्त धितो राख्ने हुँदा बैंक समस्यामा नपर्ने तर ऋणीको व्यवसाय फस्टाउन नसकी लिलामीमा पर्ने प्रवृत्ति बढेका छन् ।
रोबर्ट फ्रस्टले भनेका छन्, “बैंकले सफा मौसम भएका बेला ग्राहकलाई छाता ऋण दिन्छ र पानी परेपछि फिर्ता लिन्छ ।” एउटा परिप्रेक्ष्यबाट हेर्दा यस भनाइमा सत्यता देखिन्छ । ऋणीले कुनै नयाँ आयआर्जनको कार्य सुरुवात गर्न लागेको छ भने बैंकले सहयोग गर्छ । तर, व्यवसाय राम्ररी सञ्चालन गर्न सकेन भने बैंकले थप सहयोग नगर्ने मात्र होइन, पुरानो सहयोग पनि फिर्ता लिन्छ ।
धेरै व्यवसायीहरू स्वपुँजीबिना नै व्यवसाय सुरु गर्छन् । साथीभाइसँग माग गरेको सापटीलाई स्वपुँजी देखाएर बैंकबाट ऋण लिन्छन् । वास्तवमा आफ्नो स्वपुँजी नै नभई सबै ऋणमा चलेको व्यवसायले नाफा गरेर ऋण तिर्नु भनेको असम्भव प्रायः हुन्छ । यसका लागि अस्वाभाविक उच्च मुनाफा हुनुपर्छ ।
सामान्यतया परियोजना लागतको २५ देखि ५० प्रतिशत स्वपुँजी हुनैपर्छ । तर यहाँ १–२ लाख गोजीमा भएको व्यक्तिले ५–७ करोडको प्रोजेक्ट सुरु गर्ने र त्यस्तै १–२ करोड खातामा भएको व्यक्तिले ४÷५ अर्ब रुपैयाँको प्रोजेक्ट सुरु गर्ने गरेको देखिन्छ ।
एउटा प्रोजक्टका लागि ऋण लिने र पुनः ऋण सापटी गरेर जेनतेन किस्ता तिरेर त्यो ऋणलाई नियमित गर्ने । त्यो ऋण सापटी चुक्ता गर्न पुनः पहिलेभन्दा ठूलो रकमको अर्को प्रोजेक्टको ऋण स्वीकृत गराउने प्रवृत्ति छ । चिल्लो कार, सुकुलो पहिरन, तडकभडक र रौनक प्रदर्शन गर्नेहरूलाई व्यवसायीहरूको वृत्तमा भन्ने गरिन्छ, “यसको आजको सबै सम्पत्ति बेचेर ऋण तिर्नुपर्ने हो भने सडक छाप हुने अवस्था छ ।” ऋणमा बनेको व्यवसायबाट नगद प्रवाह हुने हुुँदा धेरै मानिसले त्यसैलाई खेलाउँछन् ।
आजभोलि प्रायः बैंकहरूले पर्याप्त धितो लिने गर्छन् । धितो बलियो भएपछि ऋणीको वास्तविक स्वपुँजी छ÷छैन ? उसले पेस गरेको परियोजनाको व्यावसायिक सम्भाव्यता छ÷छैन ? परियोजनाको नाममा लिएको ऋण सही ठाउँमा लगानी गरेको छ÷छैन ? यस्ता कुरालाई गम्भीरतापूर्वक नलिई ऋण डिस्पर्स गर्ने प्रवृत्ति धेरै बैंकहरूमा देखिन्छ । यो प्रवृत्तिले केही समयपछि जग्गा लिलामीका सूचनाको संख्या अझ बढ्ने अनुमान गर्न सकिन्छ ।
व्यवस्थापकीय कमजोरी वा बाह्य कारण जे जसरी भए पनि कुनै प्रोजेक्टले नगद प्रवाह दिन सकेन भने बैंकले माया गरेर कर्जा थप्दै जान मिल्दैन । प्रोजेक्ट फेलियर भयो भने बैंक पनि फेल हुने प्रणालीबाट कर्जा प्रवाह गर्ने नीति नेपालमा छैन । प्रोजेक्टको सम्पूर्ण जोखिम ऋणीको हुन्छ । यहाँ प्रोजेक्ट फाइनान्सिङ हुँदैन, धितोको आधारमा कर्जा स्वीकृत गरिन्छ । बैंक सुरक्षित हुनैपर्छ ।
यदि प्रोजेक्ट फाइनान्सिङ नै गर्ने हो भने बैंकले अहिले जस्तो सहजै ऋणै दिने छैनन । प्राजेक्टको सम्भाव्यता हेरिन्छ, स्वपुँजीको वास्तविकता हेरिन्छ, डिस्पर्स भएको ऋण सोही प्रोजेक्टमा खर्च भइरहेको छ÷छैन हेरिन्छ, व्यवस्थापन कुशल भए÷नभएको हेरिन्छ अनि कुरा त उही हुन्छ, ऋण पाउनै कठिन हुन्छ । सजिलो ऋण खोज्ने र जोखिममा बैंक पनि साझेदार हुनुपर्छ भन्ने ऋणीको जिकिर उचित हुँदैन ।
स्वपुँजीबिना ऋणमा उद्योग व्यापार गर्ने फेसनले गर्दा विभिन्न विकृति फैलिएका छन् । ऋणको माग अत्यधिक भएका कारण बैंकहरूकै बार्गेनिङ पावर माथि छ । मागभन्दा आपूर्ति कम भएपछि कानुनले रोके पनि अदृश्य लागत बढ्छ नै । अर्थात् ऋण पाउन कमिसन र घूसको खेल हुने सम्भावना बढ्छ । बजारमा बैंकबाट ब्लाकमा ऋण मिलाइदिने दलालहरू सक्रिय छन् ।
नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात र तरलता अनुपातमा गरेको अनावश्यक कडाइका कारण पनि बैंकिङ विकृति बढेका छन् । २० प्रतिशत तरलता राखेर कर्जा प्रवाह गर्नुपर्ने हुँदा ऋणीका लागि योजनामा रहेको थप कर्जा रकम कहिलेकाहीं अनायासै रोकिन पुग्छ । थप आवश्यक पुँजीको अभावमा राम्रै चल्दै गरेको प्रोजेक्टसमेत धराशायी हुन सक्छ ।
राष्ट्र बैंकले फलानो उत्पादनमूलक क्षेत्रमा यति प्रतिशत कर्जा दिनैपर्ने र फलानो उपभोग्य कर्जामा यति प्रतिशतभन्दा बढी दिनै नपाइने भनेर सीमा निर्धारण गरेको छ । जुन शीर्षकमा कर्जाको माग छैन, त्यहाँ कोटा पु¥याउनुपर्ने र जहाँ अत्यधिक माग छ, त्यहाँ धेरै दिन नपाइने भएपछि शीर्षक मिलाएर कर्जा दिने सम्भावना रहन्छ । खुला बजारको अवधारणालाई जबरजस्ती रोक्न खोजे पछि बजारले बाँधमा प्वालहरू पारेरै छोड्छ । यसैका कारण कमिसन, घूस, दलाली र फर्जी कामले प्रोत्साहन पाउँछ ।
अर्कातर्फ ऋण पाएपछि हचुवाको भरमा व्यवसाय सुरु गर्ने वा विस्तार गर्ने प्रवृत्तिले गर्दा बैंक ऋण, सहकारी ऋण, सरसापटी र चर्को मिटरब्याज सबैको मिश्रण भएको देखिन्छ । यस्तो खिचडी पुँजी जहिले पनि जोखिममै हुन्छ ।
व्यापार विश्वासका आधारमा चल्ने हो भन्दै जोखिमलाई नजरअन्दाज गरेर पानीको फोकाजस्तै फैलाउँदै जानु हुँदैन । विश्वासमा अडेको व्यापारमा कसैले विश्वासघात गरिदियो वा बदनियतले दुष्प्रचार गरिदियो भने तासको घरजस्तो व्यापार ढल्न सक्छ । आफूले हिजो जस्तो उधारोमा सामान नपाउने तर तिर्नुपर्ने साहूहरू घर घेर्न आए भने व्यापार क्षणभरमै सिद्धिन्छ । त्यसैले जोखिमलाई उच्च महत्व दिएर टेक्ने र समाउने ठाउँ बलियो बनाएर मात्र व्यापारमा दौडिनुपर्छ ।