खेतबहादुर खत्री
मंगलबार, चैत्र १९, २०७५
1465

पूर्वसचेतना प्रणालीको व्यवस्था गर्ने र त्यसका आधारमा संकटको अवस्था नआउँदै सावधानी अपनाउन सकिन्छ ।

सार्वजनिक संगठनमा जुनसुकै बेला यसको तोकिएको उद्देश्य पूरा नहुने अवस्था, संगठनमा जोखिम बढेको अवस्था तथा उक्त अवस्थालाई नियमित प्रक्रियामा ल्याएर संगठनलाई अघि बढाउन आवश्यक पर्ने समय एकदम कम भएको स्थिति हुन्छ । पुरानो विधि, प्रक्रिया र प्रणालीले काम नगर्ने र संगठनलाई रूपान्तरण गर्नुपर्ने हुन सक्छ । संकट सिर्जना भइसकेपछि यसको व्यवस्थापन गर्नु निकै जटिल विषय हुन्छ तर यसलाई सिर्जना नहुँदै रोक्नु वा न्यूनीकरण गर्नु नै खासमा संकट व्यवस्थापन हो भन्दा गल्ति हुन्न । तर, हरेक संगठनमा जुनसुकै बेला संकटको घडी आउन सक्ने हुनाले यसको योजनाबद्ध रूपमा तयारी, सञ्चार प्रणालीको व्यवस्था, पूर्वसचेतना प्रणाली, संकटको अवस्थामा नेतृत्वको भूमिका तथा संकट व्यवस्थापनमा सार्वजनिक प्रशासनजस्ता विषयमा यहाँ सविस्तार प्रस्तुत गर्न खोजिएको छ ।
संकट कुनै पनि बेलामा, जुनसकै परिमाणको सानो वा ठूलो संकट आउन सक्छ । कोडाक कम्पनी राम्रोसँग चलेकै थियो तर डिजिटल प्रविधिसँग यसले रूपान्तरण गर्न नसक्दा बजारमा प्रतिस्पर्धा गर्न सकेन । हाम्रो मुलुकमा केही वर्षपहिले सिन्धुपाल्चोकमा गएको पहिरोले एक किसिमको सार्वजनिक सेवा प्रवाहमा संकट सिर्जना गरेको हो । यसको दायरा ठूलो थियो । उक्त स्थानमा बस्ती बसाल्न नहुने पहिले नै कतिपय अनुसन्धानकर्ताले निष्कर्ष निकालेका थिए तर पनि हाम्रो त्यतातिर ध्यान गएन । पूर्वसचेतना प्रणालीको व्यवस्था गर्ने र त्यसका आधारमा संकटको अवस्था नआउँदै सावधानी अपनाउन सकिन्छ । नयाँ नयाँ प्रविधि, उपकरणको प्रयोगले संगठनले सही ढंगले अवलम्बन नगर्दा पनि कतिपय संगठनमा संकट सिर्जना भएको छ । जस्तो कि हुलाक सेवाका संगठनमा हुलाक वस्तुको संकलन, ढुवानी र वितरणमा सूचना प्रविधिको सही ढंगले र पर्याप्तताका हिसाबले पनि अवलम्बन नगरिंदा हाम्रो हुलाकको औचित्यमा प्रश्न उठेको छ । व्यवस्थापकीय सीप तथा सक्रियता, सावधानीको कमी छ । अनिवार्य अपनाउनुपर्ने, कानुनमा भएका व्यवस्था समेत व्यवस्थापकले ध्यान दिएका छैनन् । अरू संगठनमा आएको संकट आफ्नोमा पनि आउन सक्छ भनी इमानदारीपूर्वक स्वीकार नगर्ने हाम्रो आदत हट्न सकेको छैन । भवन संहिताको पालना गराउने निकायले यसमा कडाइ गरेको भए भूकम्पमा परी हुने करिब ८ हजार संख्याको मानवीय क्षतिको कमी हुन सक्ने अवस्था थियो । संकटमा पुगेका संस्थाहरूलाई स्वतन्त्रपूर्वक अध्ययन गरी संकटमुक्त गराउन पेस गरिएका प्रतिवेदन इमानदारीपूर्वक कार्यान्वयनमा ल्याइएको पाइन्न । हुलाकमा देखा परेका संकट सम्बोधन गर्न बेला–बेलामा कार्यदल गठन भएका थिए । कार्यदलले प्रतिवेदन पनि दिएका छन्, तर प्रतिवेदन निर्माण र कार्यान्वयनमा ठूलो दरार देखा परेको छ । यस्ता प्रतिवेदनले दिएका सुझावहरू वस्तुगत ढंगले कार्यान्वयन नगर्ने हो भनी समस्या झन् जटिल हुने, संगठनको अस्तित्वमै प्रश्नचिह्न सिर्जना नहोला भन्न सकिन्न । संकट व्यवस्थापन भन्ने विषय संकेत देखिनेबित्तिकै सम्बोधन गर्ने विषय हो । संकट आइसकेपछि सम्बोधन गरौंला भनेर पुरातन कार्य प्रणाली, नीति–नियमबमोजिम यसको समाधान निकाल्न नसकिने विषय बोध हुन सकेको देखिएन । यथास्थितिवादी सोच छ हाम्रो । समयमै संगठनका जनशक्ति, प्रविधि, कार्यप्रणाली, व्यवस्थापन सीपमा चुस्त– दुरुस्त नराख्दासम्म हामीले संकट निम्त्याउनेतिरको यात्रामा छौं भन्ने कुरा भुल्नु हुन्न ।

संगठनमा आन्तरिक र बाह्य कारणले संकट देखा परेका हुन्छन् । संगठनका लगानीकर्ता, उत्पादक, वितरक, कर्मचारी सबैले यस्तो बेलामा संगठनलाई विश्वास गर्न सकेका हुन्नन् ।
अरूलाई दोष थुपारेर केही हुने होइन । जस्तोसुकै जटिल सवाल पनि अमुक संगठनमा कामकाज गर्ने नेतृत्व लगायतका जनशक्तिले नियन्त्रण गरी दैनिक कार्यव्यापार नियमित गर्न सक्ने गरी क्षमताको विकास र विस्तार गर्न सक्छन । व्यवस्थापक तथा नेतृत्वले नियमित प्रक्रियाभन्दा पर पुगेर सिर्जनात्मक र नवीन सोचको विकास गर्ने आधारभूमिको तयार हुन्छ । यसैबाट उनीहरूमा जोखिमको पूर्वानुमान गर्ने, जोखिमको सामना गर्ने र तार्किक निष्कर्षमा पु¥याउने ल्याकतको विकास गर्छन् । यो अवसर त हो तर पनि गुमेको वा गुम्न लागेको साख पुनः प्राप्त गरी कार्यव्यापार नियमित रूपमा अघि बढाउनु सजिलो काम पटक्कै होइन । नोकिया मोबाइल कम्पनी एक समय निकै लोकप्रिय थियो, तर यसले आफ्ना प्रतिस्पर्धीको रणनीतिलाई टक्कर दिने गरी नयाँ विशेषतासहितको मोबाइल सेट बजारमा ल्याउन नसक्दा पछि प¥यो । अहिले नोकिया कम्पनीका उत्पादन सामसुङ, एप्पल कम्पनीसँग प्रतिस्पर्धामा छैनन् भन्न सकिन्छ । फोर्ड कम्पनीमा सुरुका वर्षमा लगानीकर्ता र व्यवस्थापक एउटै थिए । पारिवारिक रूपमा सञ्चालित थियो कम्पनी तर दोस्रो विश्वयुद्ध पछि यसको सेयर बजार निरन्तर घट्न लाग्यो । घाटामै चल्यो केही दशक । अनि फोर्ड कम्पनीको तत्कालीन मालिकको नाती पुस्ताले नयाँ व्यवस्थापन र नेतृत्वमा परिवार बाहेकका सक्षम मानिस भिœयाएर यसलाई संकटबाट बचाएको कुरा व्यवस्थापनका पिता पिटर ड्रुकरले बताएका छन् । छोटो वा लामो समयावधिका लागि आइपर्ने संकट जति गम्भीर प्रकृतिको हुन्छ, त्यसलाई निराकरण गर्न सक्ने नयाँ नेतृत्व जन्माउन पनि संकट सहायक हुन सक्छ । इन्जिन फेल भएका बेला सयौं यात्रुलाई सहज रूपमा सुरक्षित जहाजलाई अवतरण गराउने पाइलट नै क्षमतावान हुन् । प्राकृतिक वा मानवनिर्मित संकट सामना गर्दा सरोकारवालाहरूमा अभूतपुर्व एकता गर्ने अवसर समेत हो । उपयोग हुन नसकेका क्षमताको उपयोग हुने र सम्भावनाको ढोका खुलाउने सामान्य आधार पनि यसले सिर्जना गरिदिन्छ ।
जसले जे भने पनि सार्वजनिक संगठनको संकट व्यवस्थापन नीतिको कार्यान्वयनको नेतृत्व यसका मानव स्रोतले लिनुपर्छ र लिएका पनि छन् । नेपालमा वि.सं. २०७२ मा गएको भूकम्प र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक क्षेत्रमा देखा परेका संकटलाई स्थिरीकरण गरी मुलुकलाई नियमित रूपमा अगाडि बढाउन यसैले नेतृत्व लिएको थियो । भूकम्पमा फसेका नागरिकको उद्धार गर्न, उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरी प्रभावितहरूलाई राहत सामग्रीको वितरण गर्न, भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्ने कार्य गर्न संगठन संरचनाको व्यवस्था गरी योजनाबद्ध रूपमा त्यतिबेला देखा परेको संकटलाई तुलनात्मक रूपमा नियन्त्रणमा लिएको छ । यही सार्वजनिक प्रशासनले त्यो बेलाको संकटमा खानेपानी, यातायात प्रणाली, विद्युत् अपूर्ति, शिक्षा तथा स्वास्थ्य प्रणालीलाई चलायमान गराउन छिटो भन्दा छिटो सुरुवात गरेका थियो । सेवा प्रवाह, शान्ति सुरक्षाको स्थितिलाई लिएर संगठनमा सरोकारवालाले सानो तिनो संकट सिर्जना गर्न सक्ने हुनाले सार्वजनिक प्रशासन यसको व्यवस्थापनका लागि जनशक्ति, स्रोत, योजना, कार्यप्रणाली आवश्यक कानुनको व्यवस्थाका लागि सूचना साझेदारी, अनुभव आदानप्रदान राजनीतिक नेतृत्वसँग गर्नु आवश्यक छ । पूर्वसचेतना प्रणाली निर्माणमा प्रशासनले नेतृत्व लिन सक्छ । यसैले पनि संकटले निम्त्याउन अनगिन्ती समस्यालाई सम्बोधन गर्न सक्छ । व्यवस्थापनमा अलिकति चनाखो, जिम्मेवारी बोध गर्ने प्रशासकको बाहुल्यता हुँदा पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
संकट व्यवस्थापनको प्रक्रियामा प्रभावकारी, सरल, इमानदारीपूर्ण सञ्चार प्रणाली पूर्वसर्तका रूपमा रहेको हुन्छ । संगठनमा संकट देखा पर्नासाथ अनेक खालका अफवाफ फैलिन सक्ने जोखिम रहन्छ । यथार्थता एकातिर र सरोकारवालाको बुझाइ अर्कातिर हुन सक्ने हुनाले यो समयमा सञ्चार प्रणाली प्रभावकारी सञ्चार समूहको गठन र कार्यादेश दिने, प्रवक्ता तथा सूचना अधिकारीलाई थप सशक्त बनाउने गर्नुपर्छ । झूटा खबरहरू फैलिएको अवस्थामा तुरुन्तै सच्याउने गरी अगाडि बढ्नुपर्छ । सरोकारवालाहरूसँग पुगेका समाचारहरूको रुजु गरी सच्याउने गर्नुपर्छ । संकटपछि उद्धार, राहत वितरण, पुनःस्थापना, पुनर्निर्माणलगायतका कामकाजको प्रगति र पछिल्लो अवस्थाका बारेमा सूचनाको निरन्तर अन्तक्र्रिया र साझेदारी आवश्यक पर्छ । आमसञ्चार र सामाजिक सञ्जालमा संकट व्यवस्थापनका क्रियाकलापको वस्तुपरक रूपमा सूचनाको प्रवाह गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसले व्यवस्थापकीय सक्षमता झल्काउँछ ।
संगठनको उद्देश्य पूरा गर्ने सन्दर्भमा देखा परेका अवरोध समाधान गरी यसलाई नियमित रूपमा गतिशील राख्नको लागि उक्त संगठनको नेतृत्वको प्रमुख भूमिका हुने गरेको छ । संकटको सम्बोधन गर्न आवश्यक संरचना निर्माण, आवश्यक दिशानिर्देश गर्न समेत यसको औचित्य देखिन्छ । विपरित अवस्था समेत सरोकारवालासँग नियमित अन्तक्र्रिया गरी विश्वासको वातावरण सिर्जना गर्न सक्छन् । संकट प्राकृतिक होस वा मानव निर्मित, त्यसको पूर्वानुमान गरेर संकटका बेला पहिले देखा पर्ने संकेतबमोजिम अगाडि बढ्न, संकट आइसकेपछि त्यसलाई योजनाबद्ध रूपमा सम्बोधन गर्न आवश्यक पर्ने रणनीतिको निर्माण र कार्यान्वयन, मानव र गैरमानवीय स्रोतको परिचालन, संगठनको जवाफदेहिता र उत्तरदायित्व निर्वाह गर्न, नतिजामुखी कार्यसम्पादन गर्न, सरोकारवालाहरूलाई प्रभाव पारी विश्वासमा लिन पनि नेतृत्वको आवश्यकता पर्छ । सकेसम्म नेतृत्वले संगठनमा संकट आउने वातावरणको सिर्जना गर्नु हुँदैन । आइहालेमा त्यसलाई सहज ढंगले सम्बोधन गर्न इच्छशक्ति, प्रतिबद्धता र इमानदारिता आवश्यक पर्छ ।
संकटको सहज निकासका लागि पूर्वतयारी त गर्नुपर्छ नै, तर पनि कस्तो खालको योजनाले संकटलाई सहजै रूपमा पार लगाउन सक्छ भन्न सकिन्न । यसको सहज निकासका लागि आपत्कालीन योजनाको आवश्यकता पर्छ । हुन त कतिपय लेखकले आपत्कालीन उद्धार, राहत कार्यक्रम, पुनःस्थापना कार्यक्रम र पुनर्निर्माण कार्यक्रम जस्ता कार्यक्रम तहगत रूपमा यस्तो खालको योजनामा समावेश गरिनुपर्ने बताउँछन्, तर यस्तो प्रकृतिको योजना सबै परिवेशको संकटमा लागू गर्न सकिन्न । प्रत्येक क्रियाकलाप अत्यन्त सचेततापूर्वक नगरी संकटमा फसेको संगठन बाहिर निकाल्न गा¥हो हुन्छ । खासगरी संकटको पूर्वानुमानबमोजिम यसका लागि जिम्मेवार व्यक्ति र समूह, यसलाई आवश्यक पर्ने संस्थागत व्यवस्था, काम कर्तव्य र अधिकार, आवश्यक स्रोतको प्रबन्ध पहिले नै गर्नुपर्छ । खासमा अधिकांश संस्थाले यसबाट पार पाउन आवश्यक पूर्वतयारी गरेका हुँदैनन् भनेर यस विषयका जानका बताउँछन् । नेपालमा भूकम्प आउने करिब निश्चित नै थियो, तर पनि त्यसको सामना कसरी गर्ने, स्रोत कसरी जुटाउने, संस्थागत सबलीकरण कसरी गरी तयारी अवस्थामा रहने, जनशक्ति कति चाहिने र परिचालनका विधि के हुने ? विषयमा हाम्रो तयारी कम रहेको महसुस भयो । अचानक देखा पर्ने यस्तो परिस्थितिलाई योजनाबद्ध रूपमा स्थिरीकरणमा लैजाने गरी कुनै प्रयास हुन सकेको छैन । फलानो संगठनमा पो संकट आयो, मेरोमा त आउँदैन होला जसरी बिनातयारी बस्ने बानी कुनै हालतमा पनि ठीक मान्न सकिन्न ।
संकटबाट संगठनलाई वचावट गर्न र संकटमा गएको संस्थालाई यसबाट बाहिर निकाल्न विज्ञ सल्लाहकार टोली तथा उच्च व्यवस्थापक टोलीको आवश्यकता पर्छ । टोलीमा रहने बहुआयामिक अनुभवी, सीपयुक्त, रणनीतिकार सदस्यको समूहले चरणबद्ध रूपमा पारिस्थितिक योजनाको निर्माण र कार्यान्वयन गरी संगठनलाई संकटको घडीबाट बाहिर ल्याउँछन् । टोलीको एकता, धैर्य, संवेदनशीलता, निरन्तरता, अठोटको संयोजनले यस्तो गर्न सम्भव हुन्छ । तत्कालीन समयमा जनार्दन शर्मा र कुलमान घिसिङको टोलीले घाटामा गएको, निरन्तर लोडसेडिङको मारमा रहेका नेपाली नागरिकलाई लोडसेडिङमुक्त मुलुक बनाउन सहयोग गरेका थिए । उक्त प्राधिकरणको कार्यकारी निर्देशक उही कुलमान घिसिङ हुनुहुन्छ । प्राधिकरण नाफामा छ । उक्त संस्था हाल संकटबाट विमुख भइसकेको सरोकारवालाले विश्वास गरेका छन् ।
भूकम्प, आँधी, पहिरोजस्ता प्राकृतिक विपत्तिजन्य र मानवीय त्रुटिले हुने भयावह स्थितिसमेत अचानक देखा पर्ने होइनन् । कुनै पनि स्पष्ट संकेत नदेखीकन संकटको अवस्था सिर्जना भएको हुन्न । त्यसैले संकट व्यवस्थापनको सबैभन्दा राम्रो रणनीति भनेकै यसको ‘प्रिभेन्सन’ (रोक्ने) तिर लाग्नु नै हो । रोक्न खोज्दाखोज्दै पनि संकट आउन सक्ने हुनाले यसको सही ढंगले सम्बोधन गर्न काम, कर्तव्य र अधिकार, स्रोतसाधनले सम्पन्न, गतिशील नेतृत्वयुक्त, सबल र सक्षम संगठनको विकास गर्नु नै यसको उचित समाधान हो भन्न सकिन्छ । हरेक संगठनमा पूर्वसचेतना प्रणालीको स्थापना र यसको संकेतबमोजिम अगाडि बढ्दा पनि यसलाई सहज रूपमा सम्बोधन गर्न सकिन्छ ।