सुदर्शन अधिकारी
आइतवार, चैत्र १०, २०७५
523

वैदेशिक रोजगारीमा जाने मुख्य देशहरूमा एक वर्षभित्रमा ज्यान गुमाउनेहरूको संख्याले पनि वैदेशिक रोजगारीको जोखिमपूर्ण वास्तविकता छर्लङ्गै हुन्छ ।

आफ्नो देशमा रोजगारीको अभाव भएकै कारण दैनिक १७ सयभन्दा बढी युवा जनशक्ति बिदेसिन बाध्य छन् । देशमा उद्योग, कलकारखानाहरू स्थापना नहुँदा र हाम्रो कृषिलाई रोजगारीको आकर्षक क्षेत्र बनाउन नसक्दा बर्सेनि थपिने ४ लाखभन्दा बढीको संख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि हरउपाय अपनाई वैदेशिक रोजगारीका लागि अन्य राष्ट्र पुग्छन् । बेरोजगारीको चरम समस्या छ भन्ने वास्तविकता हालै मात्र लोकसेवा आयोगले ६ हजार जनाका लागि आवेदन माग गरेकोमा ६ लाखभन्दा बढी उम्मेदवारबाट आवेदन पर्नुले पनि स्पष्टै हुन्छ । हाम्रो देशमा ठूला–ठूला राजनीतिक परिवर्तनबाट व्यवस्था परिवर्तन गरियो, तर आम जनसरोकारका विषयमा कुनै सरकारले पनि ठोस कार्य सम्पादन गर्न भने सकेनन् ।
अस्थिर राजनीति र संक्रमणकालीन अवस्था भनेर विकास, रोजगारी सिर्जना र आर्थिक वृद्घि हुन नसकेको बताउने दलहरू पूर्ण मात्र नभई दुईतिहाइको मत पाएर पनि जनअपेक्षाअनुरूपका कार्य गर्न नसक्नु उदेकलाग्दो विषय भएको छ । २०४६ सालको जनआन्दोलनपश्चात् राम्ररी सञ्चालन भएका उद्योगहरू निजीकरणका नाममा बिक्री गर्ने कार्यले उद्योग थप संकटमा परेर अन्ततः बन्द भए । महत्वपूर्ण र धेरै श्रमिक खपत गर्ने उद्योगहरू हेटौंडा कपडा उद्योग, हिमाल सिमेन्ट, गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना, हरिसिद्घि इँटाटायल कारखानालगायतका दर्जनौं उद्योग बन्द भएपश्चात् औद्योगिक विकासमा थुपै्र चुनौती थपिँदै गए । राज्यले आफ्नो विशेष पहलबाट उद्योग स्थापना गर्नेतर्फ कुनै चासो देखाएको पाइँदैन ।

युवा जनशक्ति आफ्नै देशमा श्रम गर्न इच्छुक भएर पनि रोजगारी क्षेत्र नभएर आफ्नो घरखेत धितो राखेर ४० डिग्रीसम्मको तापक्रम भएको अरबका खाडीसम्म पसिना बगाउन पुगेका छन् । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने रेमिट्यान्स भित्र्याउने लाखौं युवाले विदेशमा भोग्नुपरेको कारुणिक पीडाले जो–कोहीको मन दुख्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवाहरूको अकालमा मुत्यु हुने क्रम बढ्दो छ, जसले वैदेशिक रोजगारीप्रति जोखिम बढाएको छ । विदेश जानु अगाडि गर्नुपर्ने पूर्ण कार्यहरू जस्तै सीप सिक्ने सम्बन्धित देशको कम्पनी कस्तो र के सुविधा उपलब्ध हुन सक्छ, भाषाको ज्ञान आदिमा कामदार स्वयं सजग भएर लाग्नुपर्ने हुन्छ । विदेश पठाउने संस्थाले पनि आफूमातहत जाने जनशक्तिलाई सकेसम्म बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर भएर कार्य गर्नुपर्छ । एउटा कामका लागि भनेर अर्को काममा लगाउने पारिश्रमिक सम्झौता भएअनुसार नदिने जस्ता समस्या पनि थुप्रै छन् ।
वैदेशिक रोजगारीमा जानेहरू दुर्घटनामा पर्ने, अस्वस्थ खानपान र अनुपयुक्त बसाइ मुत्युका कारण बनेको देखिन्छ । सुतिरहेकै अवस्थामा मुत्यु हुनेको संख्या पनि ठूलो छ । वैदेशिक रोजगारीमा जाने मुख्य देशहरूमा एक वर्षभित्रमा ज्यान गुमाउनेहरूको संख्याले पनि वैदेशिक रोजगारीको जोखिमपूर्ण वास्तविकता छर्लङ्गै हुन्छ । सबैभन्दा बढी ३ सय २२ मलेसियामा, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, युएईमा १ सय ३, कुबेतमा ४८, ओमनमा ११, बहराहनमा १० र अन्य राष्ट्रहरूमा ९ गरी कुल ८ सय ७७ जनाले कामकै सिलसिलामा ज्यान गुमाएका छन् । आजभोलि हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरदर दैनिक ३ वटा शव वैदेशिक रोजगारीमा जानेहरूको आउँछ । आफ्नो ज्यान नै जोखिममा राखेर विदेशको भूमिमा पसिना बगाउने नेपाली युवाहरूको दर्दनाक अवस्थाप्रति राज्य पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ।
रोजगारीका लागि आकर्षण बनेको देश मलेसियामा चिसो मौसम भए पनि अस्वस्थ खानपानका कारण बढी युवाले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउँछ । अस्वस्थकर मदिरा मुख्यकारक बनेको देखिन्छ । मुत्युको भने न्यून परिश्रमिकका कारण सस्तो र गुणस्तरहीन मदिरा पिउनुपर्ने बाध्यताले पनि श्रमिकलाई पिरोलेको पाइन्छ । आफ्नो अपेक्षाअनुरूप काम नपाउँदा वा अन्य विविध कारणले आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ । सडक दुर्घटनाबाट अकालमानै ज्यानगुमाउनेको संख्यापनि वृद्घि भएर गएको छ । कार्यक्षेत्रमा हुने जोखिम, दुव्र्यवहार, पारिवारिक मनमुटाव, ऋणको बोझ आदिले पनि आत्महत्याका घटना बढेको देखिन्छ । आफ्ना श्रमिक सुरक्षित वातावरणमा कार्य गर्ने अवस्था सिर्जनाका लागि श्रम मन्त्रालयले गम्भीरताका साथ पहल गर्नुपर्छ ।
माथिको तथ्यांक हेर्दा रोजगारीकै लागि मातृभूमि छाडेर मासिक ३०–४० हजार पारिश्रमिकका लागि ज्यानको बाजी थापेर दैनिक बिदेसिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नेतर्फ अब ढिला गर्नु हुँदैन । हाम्रो मुख्य रोजगारीको क्षेत्र भनेकै कृषि र पर्यटन हुन् । कृषिक्षेत्रमा युवालाई आकर्षित गर्नका लागि राज्यले कार्यान्वयनमा दृढता देखाउनु जरुरी हुन्छ । कृषि ऋण सहज बनाउने, बिनाधितो कर्जा प्रदान गर्ने, उत्पादित वस्तु खरिदको व्यवस्था मिलाउने, सिँचाइ, मल–बीउ आदिको व्यवस्था गर्ने लगायतका कार्यहरू गर्ने हो भने अवश्य पनि युवाहरू आफ्नै देश र माटोमा श्रम गर्न तत्पर हुनेछन् ।
विदेशमा जाने कामदारले जति आम्दानीको आकर्षण देख्छन् त्यति नै जोखिमपूर्ण जीवनयापन गर्नुपर्ने हुन्छ । पछिल्लो एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये ७५ प्रतिशतले जोखिमयुक्त कार्य गर्नुपर्ने हुन्छ । मुल कुरा, क्षणिक रूपले आर्थिक लाभ भए पनि अन्ततः वैदेशिक रोजगारी देशका लागि घातक हुन्छ । वर्तमान समयमा त शिक्षित, अर्धशिक्षित र निरक्षर सबैको आकर्षणको स्थल विदेश बन्दै गएको छ त्यसले ब्रेनड्रेनको समस्या निम्त्याइरहेको छ । अहिले हरेक परिवारमा कुनै न कुनै व्यक्ति विदेश पुगेका छन् । आज आफ्नो परिवारका सदस्य विदेशमा छ भन्दा गर्व गर्ने संस्कृतिको विकास हुँदै गएको छ । अध्ययनका लागि अमेरिका, युरोप, अस्टे«लियालगायतका देशमा जाने लहर पनि उत्तिकै बढेको देखिन्छ ।
विदेशमा श्रम गर्न जानेले विचार पु-याउनुपर्ने भनेको सम्बन्धित देशको भाषा, धर्म, संस्कृति, भौगोलिक बनावट, हावापानीको अवस्था आदिको जानकारी लिएर सकिन्छ भने त्यस देशको भाषा सिक्ने, आफूले गर्ने कार्यका बारेमा सीप हासिल गर्ने जस्ता पक्षमा गम्भीर हुनैपर्छ । देशको अर्थतन्त्रको आधार बन्दै गएको रेमिट्यान्सलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि राज्यले प्रभावकारी नीतिनिर्माण र त्यसको कार्यान्यनमा जोड दिनुपर्छ । आज लगभग ७० प्रतिशत घरमा रेमिट्यान्स पुगेको तथ्याङ्क देखिन्छ, जसले हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनमा समेत झन्डै २५ प्रतिशत योगदान पु-याएको छ । यसरी हेर्दा आर्थिक रूपले वैदेशिक रोजगारी प्रतिफल दिने महत्वपूर्ण क्षेत्र भएर पनि दीर्घकालका लागि हानिकारक नै हुन्छ । त्यसैले आफ्नो देशका युवाशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्छ ।
बालबालिका र वृद्घवृद्घा मात्रै रहने अवस्था देशमा आएको छ । सबल र युवा जोस–जाँगर भएका सबै बाहिरिने प्रवृत्तिले देशका उर्वर भूमि बाँझो रहने, उत्पादन घट्ने, खाद्यान्न आपूर्ति कम भएर आयातमा निर्भर हुँदै जानुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ । जनशक्तिको अभावमा कृषिकार्य हुनै छाडेका छन् । उत्पादन कम लगानी बढी हुने भएकाले कृषिप्रति आकर्षण घट्दै गएको देखिन्छ । ६ महिना लामो प्रतीक्षा, लगानी र मेहनत गरेर उत्पादन भएको वस्तुले लागत उठ्ने पनि प्रतिफल नपाउँदा कृषक निराश हुनु स्वाभाविक नै हो । तसर्थ कृषि पेसालाई आकर्षक बनाउने दिशामा सरकारले थप गम्भीरता देखाउनु जरुरी छ, जसले गर्दा उत्पादन वृद्घि तथा रोजगारी सिर्जनामा समेत टेवा पुग्छ ।