दिलीपकुमार मुनंकर्मी
आइतवार, चैत्र १०, २०७५
953

दीर्घकालीन लगानी वा कारोबार रणनीतिअनुसार बजारको चाल हेर्दै लगानी व्यवस्थापन गर्दै जानु बुद्धिमानी हुनेछ ।दीर्घकालीन लगानी वा कारोबार रणनीतिअनुसार बजारको चाल हेर्दै लगानी व्यवस्थापन गर्दै जानु बुद्धिमानी हुनेछ ।

 स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरूको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्छ । नेपाल स्टक एक्सचेन्जले प्रत्येक कारोबार भएको दिन यस प्रकारको परिसूचक गणना गर्छ । यसलाई नेप्से परिसूचक भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।

 १२ सय १२ बाट खुलेको चालू आर्थिक वर्ष ०७५÷७६ को नेपाली सेयर बजारको परिसूचक नेप्से विभिन्न उतारचढाव पार गर्दै २०७५ फागुन १९ गते ११ सयको न्यूनतम बिन्दुमा पुग्दा लगानीकर्ताहरूको छटपटाहट भने उच्चतम बिन्दुमा पुग्यो । हुनत मंसिरमा नेप्से १,११८ हाराहारीमा आइपुग्दा लगानीकर्ताहरू आत्तिएर राजनीतिक पार्टी, संसद्, सरकार, नियामक र सञ्चालकसम्मको ढोका ढकढक्याउन पुगेसँगै सरकारबाट ‘मुद्रा तथा पुँजीबजार समस्या पहिचान तथा समाधान समिति’ गठन भई समस्या पहिचान र समाधानको आशामा केही सुधारिँदै १,२१५ सम्म पुगेको नेप्से पुनः १,१०० को बिन्दुमा ओर्लियो । लगानीकर्ता, सरकार, नियामक र बजार सञ्चालकका अनेक प्रयासका बाबजुद चालू आवमा नेप्से परिसूचक १,२८० भन्दा माथि र १,१०० भन्दा तल जान सकेको छैन । चालू अबको १ सय ६७ कारोबार दिनमा ५२ दिन मात्र १,२०० माथि रहेको नेप्सेको औसत परिसूचक १,१८३ र न्यूनतम १,१०० रहेको देखिन्छ । हालसम्मको नेप्सेको उच्चतम बिन्दु १,८८१ को आधारमा हेर्दा नेप्से परिसूचक करिब ७८१ बिन्दु अर्थात् ४१.५ प्रतिशतको गिरावट आएको छ । परिसूचकको विगत हेर्दा उच्चतम बिन्दुभन्दा पुग्नु करिब ९ महिना अगाडि २०७२ कातिक १९ गते पनि नेप्से १,१०० मा थियो । उच्चतम बिन्दुबाट ओर्लन सुरु भएको करिब ३१ महिनामा बिन्दुगत हिसाबले परिसूचक पुनः उही १,१०० मा फर्किएको छ । यसरी ४० महिनाको चक्रमा नेप्से सूचक घुमिफिरी एउटै बिन्दुमा पुग्दा सेयर बजारको अर्को महत्वपूर्ण आधार बजार पुँजीकरण भने ११ खर्ब ५६ अर्बबाट १३ खर्ब ४३ अर्ब पुगेको छ ।
११ सयको परिसूचकमिति नेप्से बिन्दु कारोबार रकम (रु. करोड) बजार पूँजीकरण (रु. खर्ब)२०७२ कात्तिक १९ ११००.०९ १५.६३ ११.५७२०७३ साउन १३ १८८१.४५ २२६.६५ २०.७१२०७५ साउन १ १२०४.३१ २०.६१ १४.२६२०७५ फागुन १९ ११००.५८ २३.५३ १३.४३२०७५ चैत ७ ११४०.६० २४.८६ १३.९४
११ सय र लगानीकर्ताको मनोभाव
नेपालका लगानीकर्ता वा कारोबारीले कम्पनीको सेयरको माग र आपूर्ति तथा व्यावसायिक र वित्तीय अवस्थाभन्दा नेप्से परिसूचकलाई लगानी निर्णयको मुख्य आधार बनाउँदै आएका छन् । उनीहरू (क) नेप्से केवल सूचीकृत धितोपत्रहरूको कारोबार दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात मात्र भएको, (ख) सेयरको बजार मूल्य माग र आपूर्तिसँगै अन्य धेरै तत्व हरूले प्रभावित पार्न सक्ने, (ग) नेपालको बजार परिसूचकमा लगानी र कारोबार गर्न नमिल्ने, (घ) नेप्से तलमाथि हुँदै गर्दा देखिने नाफाघाटा केवाल स्वप्निल (भर्चुअल) हुँदा लगानीको वास्तविक नाफाघाटा सुनिश्चित नहुने तर्फ ध्यान दिँदैनन् । विगत साँढे दुई वर्षको अन्तरालमा नेप्से परिसूचक घट्दै १,१०० हाराहारी पुगेसँगै न्यूनतम बिन्दुका रूपमा मनोगत परिभाषित गर्ने लगानीकर्ता सोअनुरूपको खरिद व्यवहार अपनाउन पनि हिचकिचाउँछन् । विगतको अर्बौंको दैनिक कारोबार औसत रु. ३०.७२ करोडमा खुम्चिनुले लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनस्थितिमा नै रहेको देखिन्छ ।हुन त लगानीकर्ताहरू र केही प्राविधिक विश्लेषकहरूबाट नेप्सेको १,१०० बिन्दुलाई नै बियरिसको न्यून बिन्दुका रूपमा व्याख्या हुन थालेको छ । तर, कारोबार रकम, संख्या अनि प्राविधिक विश्लेषणका औजारहरूले यसको पुष्टि गरिनसकेको अवस्थामा आमलगानीकर्ताको मनोभावलाई गलत सावित गर्दै परिसूचक १,१०० भन्दा तल जान्छ वा जाँदैन भनेर शतप्रतिशत ग्यारेन्टी गर्न पक्कै सकिँदैन र कसैले गर्छ भने त्यो गलत हुनेछ । जसरी भूकम्प कहिले ? कति रेक्टर स्केलको ? कति क्षति गर्छ ? केन्द्रबिन्दु कहाँ हुन्छ ? भन्ने पूर्वानुमान असम्भव भएजस्तै नेप्से परिसूचकको उच्चतम–न्यूनतम बिन्दु कहिले तल–माथि जान्छ ? भन्ने ज्योतिष विज्ञान, लगानीकर्ताको अनुभव, प्राविधिक विश्लेषणबाट ग्यारेन्टी गर्न सकिन्न । विगतको चाल, लगानीकर्ताको मनोभाव र अनुभवका आधारमा पूर्वानुमान मात्र गर्न सकिन्छ ।२०७५ फागुन १९ गतेको १,१०० बिन्दु अहिलेसम्मको न्यूनतम देखिएको र त्यसपछिका दिनमा बिस्तारै परिसूचकसँगै कारोवार रकममा देखिएको वृद्धिले लगानीकर्ता बियरिस बजारलाई विस्तारै विदाइ गर्न अग्रसर भएको हो कि जस्तो देखिँदा कुनै दिन पुनः बिक्री चाप बढेर सूचक दोहोरो अंकले घट्नुले अन्योलतालाई पनि इँगित गर्छ । यससँगै दैनिक कारोबार २०–३० करोडको वरिपरि घुम्नु र खरिद चाप उल्लेख्य नबढ्नुले लगानीकर्ताहरूको मनमा कतै न कतै बजार अझै केही घट्छ कि भन्ने आशंका र खरिदको उपयुक्त समय भन्ने आत्मविश्वासमा कमी पनि झल्किन्छ । यसले लगानी निर्णय र व्यवस्थापनमा सचेतता र सजगताको आवश्यकता औंल्याउँछ ।
कस्तो रणनीति
बजार परिसूचक हेरेर र आधारभूत विश्लेषण गरेर लगानी वा कारोबार गर्ने लगानीकर्ताहरूसँग सदैव उपलब्ध हुने मुख्य तीन विकल्पहरू (क) किन्ने, (ख) बेच्ने, वा (ग) तटस्थ रहने नै हो । बजार परिसूचक र कारोबारको अवस्था, व्यक्तिगत जोखिमवहन क्षमता (रिक्स एपाटाइट), लगानी उद्देश्य, रकम, स्रोत, अवधिअनुसार कुनै वा मिश्रित रणनीति अपनाउन सकिन्छ ।१. किन्ने ः नेप्सेको १,१०० परिसूचक साँच्चिकै न्यूनतम भन्ने आत्मविश्वास भएका लगानीकर्ताको तत्कालीन रणनीति सेयर किन्ने नै हुनुपर्छ । सेयर बजारको बियरिस अवस्था भनेको बजारले दिएको किन्ने अवसर पनि हो । पछि बेच्न र औसत लागत घटाउन पनि सेयर किन्नैपर्ने हुन्छ, तर किन्दा औसत लागत व्यवस्थापन वा पूँजीगत लाभमा स्पष्ट हुनुपर्छ । व्यवसाय र मुनाफा ठिक तर औसत लागत बढी भएका कम्पनीको लागत घटाउन पनि सस्तो हुँदा सेयर किन्नु श्रेयस्कर हुनसक्छ । बियरिसको अन्तिम बिन्दु वा ‘बियरिस ट्र्याप’ को अवस्थामा केही नाफा भएका वा कम घाटा भएका सेयर बेचेर भए पनि भविष्यमा बजारको तुलनामा बढी मुनाफा दिने, निकै मूल्य घटेका, घाटा बढी भएका कम्पनीको सेयर बुद्धिमानी हुन्छ ।२. तटस्थ रहने ः परिसूचक न्यूनतम भएकोमा विश्वस्त छैन भने तटस्थ रहन सकिन्छ । यसलाई ‘पर्ख र हेर’ वा ‘होल्ड’ रणनीति पनि भनिन्छ । यसमा आफूसँग भएको सेयर नबेच्ने वा बजारबाट नकिन्ने विकल्प हुन्छ । यसोगर्दा केही महँगोमा बेचेर पुनः सस्तोमा किन्ने, छोटो अवधिमा केही मुनाफा कमाउने, र सस्तोमा किनेर औसत लागत घटाउने अवसरबाट भने वञ्चित हुनुपर्नेछ । बियरिस बजारको सबैभन्दा चुनौती नै सेयरको कित्ता जोगाउनु वा बढाउनु हो । थप लगानी गर्न आँट र रकमले साथ नदिएको अवस्थामा पनि बजार मूल्य घटाएर बेच्न उक्साउन थापिने ‘मूल्य पासो’मा नफस्नु वा नडराई आफूसँग भएको सेयर जोगाउनु लगानी व्यवस्थापनको एउटा विकल्प हुन सक्छ ।३. बेच्ने ः बजारको कारोबार र लगानीकर्ताको सेयर किनबेच व्यवहारले १,१०० को परिसूचकलाई पूर्ण पुष्ट्याइँ नगरिसकेको अवस्थामा अझै घट्छ भन्ने बलियो सोच भएका लगानीकर्ताले केही सेयर बेचेर घाटा कम गर्न वा ‘स्टप लस’ रणनीति अपनाउन सकिन्छ । तर, बजारले लगानीकर्ताको विगतको ९०० को बिन्दुलाई केही हदसम्म गलत सावित गर्दैै १,१०० मा नै सोच्न झकझक्याएको अवस्थामा‘स्टप लस’रणनीति अपनाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ ।४. छोटो अवधिको कारोबार गर्ने ः नेप्से परिसूचकको उतारचढावले दीर्घकालीन लगानी निर्णय गर्न कठिन भएको अवस्थामा छोटो अवधिको कारोबार वा लगानी गर्न सकिन्छ । बियरिस र ‘बियरिस ट्र्याप’ को अवस्थामा आमरूपमा अपनाइने कारोबार रणनीति ‘सर्ट सेल’ हो । नेपालमा ‘इन्ट्रा डे’ (सोही दिन किनबेच) को प्रावधान नभएको अवस्थामा ‘सर्ट सेल’ लाई व्यवहारमा अपनाउन भने सहज छैन । बजार र कम्पनीको कारोबारको सूक्ष्म अध्ययन गर्दै स–सानो कितामा छोटो अवधिको कारोवार वा थोरै–थोरै गर्दै किनबेचको विकल्प अपनाउन सकिन्छ ।आमभावना र केही विश्लेषणले नेप्सेको १,१०० लाई न्यूनतम भन्न खोजे पनि लगानी व्यवहार र कारोबार रकमले पुष्ट्याइँ नगरेको वर्तमान अवस्थामा बियरिस अवस्थाको अन्त्य मानेर लगानीमा हतारो वा केही मुनाफा बुक गर्नु अगाडि थप सचेत र सजग हुनैपर्छ । ११ देखि १३ सयको चक्रमा बजार लामो समय र धेरै पटक घुमेको नेप्से कता जान्छ ? कहिले अगाडि बढ्छ र बुलको लयमा फर्कन्छ त्यो अनिश्चित छ । बजारको चरित्र हेर्दा विगतमा जस्तो ११ सयबाट अबको ९ महिनामा १,८८१ पार हुने वा ९ सयको हाराहारीमा पुग्ने सम्भावना कम नै छ । यस अवस्थामा दीर्घकालीन लगानी वा कारोबार रणनीति अनुसार बजारको चाल हेर्दै सोही लयमा आफ्नो लगानी व्यवस्थापन गर्दै जानु बुद्धिमानी हुनेछ । सेयर बजारमा बियरिस ‘मन नपरेको पाहुना’ हो भने ‘बियरिस ट्र्याप’ चातुर्य क्रेताले थापेको पासो हो । ‘हूलमूलमा जीउ र अनिकालमा बीउ जोगाउनु’ भनेजस्तै सेयर बजारको बुलमा पैसा जोगाउनु र बियरिसमा कित्ता जोगाउनु वा थप्नु नै बुद्धिमानी हुन्छ ।पक्कै पनि लगानीकर्ताहरूले नेप्सेको बिन्दुभन्दा कम्पनीको प्रतिसेयर आय, मूल्य आम्दानी अनुपात, नेटवर्थ जस्ता सूचक र व्यवसाय, व्यवस्थापन, सुशासनलाई हेर्दै औसत लागत, लाभांश र लगानीमा प्रतिफलतर्फ ध्यान केन्द्रित गर्नु श्रेयष्कर हुनेछ । यसका साथै आफ्नो विद्यमान पोर्टफोलियो पुनरावलोकन गरी कम्पनीहरूको आधारभूत अवस्था, जोखिम बहन क्षमता, लगानीको स्रोत, लागत (ब्याज) र वैकल्पिक अवसरको विश्लेषण गरी तटस्थ बस्ने, घाटा कम गर्ने (स्टप लस), थप लगानी गर्ने, औसत लागत घटाउने, लगानी गरिएका कम्पनी परिवर्तन गर्ने वा किनबेच गर्ने रणनीति अपनाउन सकिन्छ ।