कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
534

लमजुङको बेसीसहर–१० स्थित खासुर गाउँ जिल्लाकै उत्कृष्ट रमणीय पर्यटकीय गन्तव्य हो । सदरमुकाम बेसीसहरबाट एक घण्टामै पुग्न सकिने खासुर गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको विशेष रोजाइमा पर्न थालेको छ ।
ग्रामीण पर्यटन प्रवद्र्धनमा डेढ दशकअघि नै बामे सरे पनि सशस्त्र द्वन्द्वका कारण ओझेलमा परेको खासुर गाउँले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न थालेको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५९ सालबाट पर्यटन विकासको अवधारणा ल्याइएको थियो । सोही बेला आन्तरिक पर्यटन विकास भन्ने नाराका साथ विशेष प्याकेज ल्याएको खासुर गाउँलाई तत्कालीन द्वन्द्वले निकै प्रभाव पारेको हो । द्वन्द्वको प्रभाव र प्रचारप्रसारको कमीले गर्दा उचाइ लिन नसकेको खासुर ग्रामीण पर्यटन विकास समितिका सचिव जीवराज घलेले बताए ।
“हामीले पर्यटन विकासका लागि पहिले नै पहल गरेका हौँ,” घलेले भने, “तर त्यही बेला मुलुकको द्वन्द्वले प्रभाव पा¥यो, अहिले धेरै पछाडि परेजस्तो भयौं ।”
पछिल्लो समय विभिन्न चुनौतीको सामना गर्दै र व्यवस्थापनलाई सुधार गर्दै जिल्लाकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन स्थानीय लागिपरेका छन् । स्रोत र सम्पदाले भरिपूर्ण भएको र पर्यटनबाटै समृद्धि सम्भव भएको भन्दै गाउँको प्रवद्र्धनमा विशेष लागिपरेको खासुर ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष पृथ्वीमान घलेले बताए ।
“अब समृद्धि पर्यटनबाटै सम्भव छ,” घलेले भने, “स्रोत र सम्पदाले हामी धनी छौँ, अब प्रचारप्रसारमा जोड दियाँै भने अवश्य पनि परिवर्तन देखिनेछ ।”
स्थानीयको मुख्य पेसा पशुपालन र कृषि भए पनि पछिल्लो समय स्थानीयले पर्यटनलाई विशेष प्राथमिकतामा राखेका छन् । पर्यटन विकाससँगै स्थानीय दिदीबहिनीहरूले व्यावसायिक सामूहिक खाजाघर सञ्चालन गरेका हुन् । स्थानीय खासुर प्रगति नारी समाजका रूपमा समूह दर्ता गरी सामूहिक खाजा घर सञ्चालन गरेपछि गाउँको पर्यटकीय विशेषता थपिएको छ ।
गाउँमा आएका पाहुनाहरूलाई सोही समूहका दिदी–बहिनीहरूले स्वागत गर्ने, खुवाउने र सांस्कृतिक कार्यक्रम देखाउने गर्छन् । ३५ जना अविवाहित नारी सदस्य रहेको सो समूहले पालैपालो पाहुनाहरूको सत्कार गर्ने समूहकी अध्यक्ष रूपा घलेले बताइन् ।
पर्यटकहरूलाई सामूहिक खाजाघरमा खाना खुवाए पनि बस्नका लागि होमस्टेको व्यवस्था छ । प्रतिघर दुईदेखि चार जनासम्म बस्न मिल्ने १५ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालन गरिएका घरहरूमा सफा कोठा, बाथररुम, शौचालय आदिको राम्रो व्यवस्था छ ।
खसहरू बसाइँ सरी घलेहरूले सुरु गरेको तथा खर्सु घलेले बस्ती सुरु गरेको कथनलाई खर्सुबाट अप्रभ्रंश भई सो गाउँको नाम खासुर रहन गएको किंवदन्ती छ । गाउँमा ४२ घर घले, ३० घर गुरुङ, २८ घर विश्वकर्मा, ४ घर परियार, ३ घर तामाङ, ६ घर मगर, १६ घर, घर्ती अन्य जातिको गरी जम्मा १ सय ५३ घरधुरी छन् ।
खासुर गाउँको मनमोहक दृश्य तथा यस गाउँको रहनसहन तथा कला–संस्कृतिको बेजोड नमुनाले बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाइरहेको छ । यहाँको प्रकृति, संस्कृति र रहनसहनले आनन्द मिलेको खासुर पुग्ने पर्यटकहरू बताउँछन् ।
“पाहुनाहरूलाई गरिने स्वागत, सत्कार र न्यानो अतिथ्यताले नै मनै फुरुंग भो,” खासुर पुगेकी सुशीला पौडेलले भनिन् ।
समुद्री सतहबाट ५ सय मिटरको उचाइमा रहेको खासुर गाउँका ढुङ्गाले छाएका घरहरूको दृश्य अर्को पर्यटकीय आकर्षण हो । बिहानै उठेर आँगनबाट देखिने अन्नपूर्ण हिमालले त झनै लट्ठै बनाएको खासुर पुगेकी काठमाडांैकी दशमी सुनुवारले बताइन् ।
“परम्परागत घरहरू निकै आकर्षक लागे,” सुनुवारले भनिन् “नजिकै जंगलका चराचुरुङ्गीहरूको मीठो चिरबिर र सिरसिर हावाले त स्वर्गीय अनुभूति दिलायो ।”
विशेष गरी खासुरमा घलेहरूको बाक्लो बस्ती भएकाले यो गाउँ गुरुङ संस्कृतिमा निकै धनी छ । रोधी, घाटुलगायतका गुरुङ संस्कृतिको संरक्षणमा ध्यान दिँदै पर्यटकहरू भिœयाउने पहलमा लागिपरेको स्थानिय शिक्षक नन्दमान घलेले बताए ।
गाउँमा एउटा सामुदायिक भवन छ । सो भवन खसु रोधी युवा क्लबको नामले परिचित छ । सोही सामुदायिक भवनमा पाहुनाका लागि यहाँको स्थानीय कला–संस्कृति प्रदर्शन गर्ने गरिन्छ ।
जब पर्यटकहरू खासुर पुग्छन्, उनीहरूमा आनन्द मिल्नु त स्वाभाविकै हो । पर्यटकको आगमनले यहाँका बासिन्दा पनि निकै खुसी छन् । आफ्नो गाउँमा पाहुनाहरूलाई स्वागत गर्न पाउँदा आनन्द लाग्ने स्थानीयहरू बताउँछन् ।
खासुरमा जसरी पाहुनाको स्वागत गरिन्छ त्यसरी नै पाहुनाको बिदाइ पनि गरिन्छ । गाउँमा आएका पाहुनालाई स्थानीय महिलाले फेरि–फेरि आउन निम्तो दिँदै टीका र फूलको माला लगाएर बिदाइ गर्छन् । एकपटक खासुर पुगेका प्रायः पर्यटकहरू त्यहाँको आतिथ्यता र सुन्दरताले लोभिएर पुनः आउने गरेका स्थानीयहरू बताउँछन् ।
सन्देश पौडेल