दिलीपकुमार मुनंकर्मी
आइतवार, फाल्गुन २६, २०७५
3383

सेयर लगानीकर्ताले लगानी गर्दा मुख्यतया प्रतिसेयर आम्दानी र लाभांश (बोनस र नगद) मा ध्यान दिन्छन्, तर लगानीमा प्रतिफल (डिभिडेन्ड यिल्ड) लाई बेवास्ता गरेको वा नबुझेको देखिन्छ । लाभांश अंकित मूल्यमा दिइन्छ । अंकित मूल्यमा किनिएको अवस्थामा बाहेक लाभांशको प्रतिफल दर घोषित लाभांश फरक हुन सक्छ । यसका लागि दोस्रो बजारबाट किनिएको मूल्यका आधारमा लगानीमा प्रतिफल दर (डिभिडेन्ड यिल्ड) गणना गर्नुपर्छ । कुल लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल नै डिभिडेन्ड यिल्ड हो । प्रतिफल दर लाभांशमा निर्भर रहे पनि लगानीकर्ताले लगानी निर्णय गर्दा लगानीमा प्राप्त हुने वास्तविक प्रतिफलको दरलाई ध्यान दिनुपर्छ ।
लाभांश र प्रतिफल दर के हो ?
(क) लाभांश (डिभिडेन्ड) : कम्पनीको व्यवसायिक गतिविधिबाट सम्पूर्ण खर्च, तिर्नुपर्ने र छुट्याउनुपर्ने रकम (कोष) समेत कटाएर बाँकी लाभमा सेयरधनीको अंश वा हिस्सा नै लाभांश हो । लाभांश बाँडफाँडका लागि तोकिएको बुकक्लोजको मितिसम्म सेयरधारण गरेका सेयरधनीले मात्र लाभांश पाउनयोग्य हुन्छन् । लाभांशका रूपमा वितरणका लागि उपलब्ध मुनाफा रकमबाट सञ्चालक समितिले नियामकीय व्यवस्था (नियामक भएमा) बापत रकम व्यवस्था गरी नगद वा बोनस सेयर वा दुवै किसिमको लाभांश प्रस्ताव भई साधारणसभाबाट पारित भएपश्चात् तोकिएको बमोजिम वितरण गर्छन् । जुनसुकै लाभांश (नगद वा बोनस) मा हाल ५ प्रतिशत लाभकर लाग्छ । सूचीकृत कम्पनीले जारी गरेको लाभांश (नगदमा शर्तसहित र बोनसमा अनिवार्य) पश्चात् एक्सचेन्जले मूल्य समायोजन गर्छ (थप जानकारीका लागि मूल्य समायोजन विधिको अध्ययन गर्नुहोला) ।
(ख) प्रतिफल दर (डिभिडेन्ड यिल्ड) : लाभांश कम्पनीले अंकित मूल्यका आधारमा गणना र वितरण गर्छ । तर, अंकित मूल्यमा नै सेयर किनेका वा विभिन्न समयमा धितोपत्र बजारबाट सेयर किनेका प्रत्येक लगानीकर्ता मात्र होइन, एकै लगानीकर्ताको पनि प्रत्येक कारोबार र धारण गरेको अवधिअनुसार प्रतिसेयर खुद वा औसत लागत फरक हुन सक्छ । यसरी फरक लागत र समान लाभांश दरले प्रत्येक लगानीकर्ताको खुद वा औसत लगानीमा प्राप्त हुने प्रतिफलको दर फरक पर्छ । वास्तविक लागतको आधारमा प्राप्त प्रतिफल प्रतिशत वा प्रतिसेयर प्रतिफल नै लगानीकर्ताको लगानीमा प्रतिफल दर (डिभिडेन्ड यिल्ड हो । प्रत्येक कारोबार वा कुल लगानीको वा औसत लागतका आधारमा प्रतिफल दर गणना गर्न सकिन्छ । (क) कुल लाभांश (नगद + बोनस सेयर कित्ता गुणा अंकित वा बजार मूल्य)-कुल लगानी गुणा १००, (ख) प्रति सेयर लाभांश-प्रतिकित्ता औसत लागत गुणा १००, र (ग) प्रतिसेयर लाभांश-प्रतिकित्ता लागत गुणा १०० सूत्र प्रयोग गरेर प्रतिफल प्रतिशत वा दर निकाल्न सकिन्छ । त्यसैले प्रतिफल दर गणना वा विश्लेषणका लागि लगानीकर्ताले कुल लागतका आधारमा प्रतिकित्ता औसत लागत वा प्रत्येक कारोबारको प्रतिकित्ता लागत निकाल्नुपर्छ । उदाहरणका लागि रामले एनएमबी बैंकको १ सय कित्ता सेयर एफपिओबाट प्रतिकित्ता रु. ३ सय ३३ का दरले ३३ हजार ३ सय रुपैयाँमा किन्यो र पछि पुन: केही कित्ता बजारबाट रु. ३ सय ७५ (सबै कमिसन समेत) का दरले रु. ३७ हजार ५ सय रुपैयाँमा थप १०० कित्ता किन्यो । मानौं, बैंकले आव ०७४-७५ का लागि बोनस सेयर १० प्रतिशत र नगद २० प्रतिशतसमेत ३० प्रतिशतका दरले लाभांश दियो भने उसको प्रतिफल दर निम्नअनुसार हुनेछ ।

खरिद                कित्ता कुल लागत   लाभांश (रकम) प्रतिफल दर (%)
एफपिओ             १००    ३३,३००      ३,०००            ९.०९
बजारबाट            १००    ३७,५००      ३,०००            ८.००
औसत               २००    ७०,८००      ६,०००            ८.४७

उदाहरणअनुसार रामले एनएमबी बैंकबाट ३० प्रतिशत नै लाभांशमा पाउँदासमेत एफपिओमा ९.०९, बजारबाट किनेकोमा ८ र औसतमा ८.४७ प्रतिशत गरी फरक दरमा प्रतिफल पाएको देखिन्छ । बोनस सेयरको लाभ रकम गणना कसरी गर्ने त्यो आफैंमा निर्भर हुन्छ । यहाँ बोनसमा प्राप्त १० प्रतिशत सेयर अर्थात् २० कित्तालाई कम्पनीको अंकित मूल्यमा गणना गरिएको छ । लाभांशपश्चात् सेयरधनीको सेयर कित्ता बढे पनि बोनस सेयरपश्चात् सेयर मूल्य समय बजारको तत्कालीन मूल्य मात्र हेर्ने हो भने बोनस सेयरबाट लाभ भने नहुन पनि सक्छ ।

लाभांश र प्रतिफल दर
हाल नेप्सेमा सूचीकृत २७ र सूचीकरण नभएको राष्ट्रिय वाणिज्य बैंकसमेत कुल २८ बैंकहरू सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेकामध्ये २४ वटा बैंकले गत आव ०७४-७५ मा औसत १५.५२ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेका छन् । यहाँ लाभांश घोषणा गरेका बैंकहरूको प्रतिसेयर लाभांशलाई बुक क्लोज मितिको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य र बुक क्लोज नभएका बैंकको हकमा हालैको अन्तिम कारोबार मूल्यलाई प्रतिकित्ता लागत मानेर बैंकहरूको प्रतिकित्ता प्रतिफल दर हिसाब गरिएको छ ।
लाभांश घोषणा गरेका २४ बैंकमध्ये नेपाल इन्भेस्टमेन्टले सबैभन्दा बढी ४० प्रतिशत र कम सिभिलले ४.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांशमा घोषणामा नेपाल इन्भेस्टमेन्ट र नविल अब्बल देखिए पनि करिब ७.७५ प्रतिशतको प्रतिफलसहित गुणात्मक रूपमा एनएमबिले सबैलाई उछिनेको छ । सामान्यत: लगानीमा ५ प्रतिशतभन्दा बढी औसत प्रतिफल प्राप्त हुनुपर्ने मान्यता राख्ने हो भने आव ०७४-७५ मा एनएमबिसँगै बैंक अफ काठमाण्डू, कृषि, नेपाल इन्भेस्टमेन्ट, प्राइम र नेपाल बंगलादेश बैंकले मात्र लगानीमा ५.०९ देखि ७.७५ प्रतिशतका दरले सन्तोषजनक प्रतिफल दिएको देखिन्छ । यस्तै १६ प्रतिशत बोनस सेयर लाभांश दिएको ग्लोबल समेत ९ बैंकले ४.०५ देखि ४.९४ प्रतिशत तथा नेपाल एसबिआई बैंकसमेत ५ बैंकले ३.०४ देखि ३.७२ प्रतिशत हाराहारी प्रतिफल देखिन्छ । स्ट्यान्डर्ड चार्टर, सिभिल, एनआईसी एसिया र सिटिजन्सको प्रतिफल दर २.४१ देखि २.८८ प्रतिशत मात्र रह्यो । कुमारी, सिभिल र एनसिसि बैंकले आव ०७३-७४ को समेत लाभांश दिन बाँकी रहेको अवस्थामा हाल ती बैंकहरूको सेयर खरिद गर्ने लगानीकर्ताहरूको वास्तविक प्रतिफल दर बढी हुने सम्भावना छ ।
निचोड
लगानी निर्णय लिँदा आधारभूत वित्तीय सूचकहरूको अतिरिक्त लाभांश र वास्तविक प्रतिफल दरमा समेत ध्यान दिनुपर्छ । उच्च लाभांश दिने कम्पनीको प्रतिकित्ता लागत समेत बढी हुँदा वास्तविक प्रतिफल कम हुन सक्ने यथार्थतालाई ध्यान दिई लगानी गर्दा सम्भावित लाभांश र लागतका आधारमा प्रतिफल दरको विश्लेषण गर्नु बुद्धिमानी हुन्छ । आव ०७४-७५ को लाभांश हेर्दा नेपाल इन्भेस्टमेन्ट, एनएमबि र बैंक अफ काठमाण्डूले पुँजीगत जगेडा प्रयोग गरी प्रतिसेयर आम्दानीको तुलनामा बढी लाभांश दिएको देखिएको छ भने लाभांशमा नेपाल इन्भेस्टमेन्ट अब्बल भए पनि एनएमबी बैंकबाट लगानीकर्ताले बढी प्रतिफल पाएको देखिन्छ । तसर्थ, लाभांश र प्रतिफल दर पूर्वानुमान गर्दा यस्ता पुँजीगत जगेडा रकम, अघिल्लो वर्षको सञ्चित मुनाफा र चालू आवको मुनाफालाई समेतलाई ध्यान दिनुपर्छ । सामान्यतया पुँजीगत जगेडा रकममा सेयर प्रिमियम, पुँजी फिर्ता कोष जस्ता रकम पर्छन् । यस्तै, एनएफआरएस विधिसँगै बैंकहरूको विभिन्न किसिमको मुनाफा देखिने अवस्थामा खुदमुनाफा वा वितरणयोग्य मुनाफालाई चलाखीपूर्वक हेर्नुपर्छ ।