प्रा.डा. मदनकुमार दाहाल
सोमवार, फाल्गुन ६, २०७५
1159

आगामी पञ्चवर्षीय योजनामा अबको आर्थिक विकासको
उद्देश्य, लक्ष्य, नीति र रणनीति स्पष्ट रूपमा दिग्दर्शित हुनुपर्छ ।

आयातमा आधारित महँगी नियन्त्रण, स्वदेशमा रोजगारी प्रवद्र्धन, जनशक्तिको गुणस्तर अभिवृद्धि र सम्भाव्य क्षेत्रका आधारमा मुलुकको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय र विश्व अर्थतन्त्रसँग जोडेर उच्च, दिगो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्नु नै हाम्रो अर्थतन्त्रको मुख्य चुनौती हो ।

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित चालू आव ०७५-७६ को ६ महिनाको समष्टिगत सूचकांकका आधारमा विश्लेषण गर्दा मुलुकको अर्थतन्त्र दयनीय र भयावह रहेको छ ।

(१) मुद्रास्फीतिको दर ४.६ प्रतिशत छ र तुलनात्मक रूपमा महँगी धेरै नबढेको देखिए पनि बजारमा उपभोग्यलगायत सबै वस्तुको खुद्रा मूल्य अनियन्त्रित रूपमा बढेको छ । औपचारिक अर्थतन्त्र अनुमानित ४० प्रतिशत रहेको र भारतसँग खुला सिमाना भएकाले यो महँगीको दर उत्पादनमा होइन, आयातमा आधारित छ ।
(२) व्यापारघाटा कहालीलाग्दो रूपमा बढेर रु. ६७८.५ अर्ब पुगेको छ र कुल निर्यात (रु. ४५.४ अर्ब) ले एउटा वस्तु पेट्रोलियम पदार्थको आयात (रु. १०३.२ अर्ब) पनि धान्न सक्तैन, निर्यात–आयातको अनुपात ६ः९४ रहेको छ ।
(३) चालू खाता घाटा बढेर रु. १५२.२ अर्ब पुगेको छ र शोधनान्तर स्थिति अप्रत्याशित रूपमा रु. ६३.७ अर्बले ऋणात्मक रहेको छ ।
(४) वैदेशिक मुद्राको सञ्चिति घटेर रु. १,०५८.२ अर्ब पुगेको छ र यो सञ्चितिले ७.८ महिनाको वस्तु तथा सेवा मात्र आयात गर्न पुग्छ ।
(५) ‘रेमिट्यान्स’ डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएकाले केही बढ्न गई रु. ४४३.३ अर्ब मात्र पुगेको छ ।
(६) चालू आ.व. ०७५-७६ को ६ महिनाको अवधिमा कुल वार्षिक बजेट विनियोजन रु. १,३१५ अर्बमध्ये २५.९५ मात्र खर्च भएको छ, साधारण खर्चतर्फ विनियोजित रकम रु. ८४५.४ अर्बमध्ये ३१.९५ मात्र खर्च भएको छ, यसैगरी पुँजीगत (विकास) खर्चतर्फ विनियोजित रकम रु. ३१४ अर्बमध्ये १४.६५ मात्र खर्च हुन सकेको छ र वित्तीय व्यवस्थापनतर्फ रु. १५५.७ अर्बमध्ये रु. १५.१५ मात्र खर्च भएको छ; राष्ट्र बैंकको प्रतिवेदनमा यस अवधिको पुँजीगत खर्च कति भयो, स्पष्ट उल्लेख छैन ।
(७) चालू आव.मा प्रक्षेपण गरिएको राजस्व (रु. ९४५.५ अर्ब) परिचालन सकारात्मक (रु. ४११.१ अर्ब (४३.५५) रहे पनि राजस्वको संरचना भन्सार महसुल र ‘भ्याट’ जस्ता अप्रत्यक्ष करमा आधारित छ र यसको मार न्यून आय भएका वर्गलाई पर्छ । राजस्व परिचालनले साधारण खर्च मात्र धान्न पनि गाह्रो र पुँजीगत खर्च अपुग भएकाले बजेट निर्माण गर्दा प्रत्येक वर्ष आन्तरिक तथा बाह्य ऋणमा आश्रित हुनुपरेको छ । राजस्व र कुल गार्हस्थ्य उत्पादनको अनुपात (३१.५५) दक्षिण एसियाका मुलुकहरूको तुलनामा उच्च छ ।
(८) विगत ६ महिनामा नेप्से इन्डेक्स १,२३४.१३ बाट घटेर १,११२.८७ पुगेको छ र यसबाट सेयरमा लगानी गर्नेहरू निरुत्साहित भएका छन् । पुँजीबजारमा सुधार हुन सकेको छैन । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य कर्जाको अभाव छ । परिणामस्वरूप ब्याजदरमा निरन्तर उतारचढाव भइरहेको छ । यो अर्थतन्त्रको राम्रो लक्षण होइन ।
(९) सबै समष्टिगत सूचकांकहरू नकारात्मक रहेकाले चालू आवमा प्रक्षेपण गरिएको ८५ को आर्थिक वृद्धिदर हासिल हुन सक्तैन ।
(१०) अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा नेपाल विश्वको चौथो गरिब राष्ट्र हो र त्यसैगरी अरू मुलुकको तुलनामा नेपालको जीडीपी, जीएनआई परक्यापिटा, ग्लोबल कम्पिटिटिभ इन्डेक्स, ह्युमन डेभलेपमेन्ट इन्डेक्स (एचडीआई), डुइड बिजनेस इन्डेक्स, करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) र ग्रोस ह्यापिनेस इन्डेक्स अत्यन्त कम छ ।
(११) तसर्थ आत्मरतिमा डुबेर समृद्धिको कुरा गर्नु भन्दा मुलुकको मौजुदा दयनीय आर्थिक स्थितिलाई स्वीकार गर्दै यसमा कसरी सुधार गर्ने र कसरी आर्थिक विकास र समृद्धिको बाटोमा लम्कने तर्फ प्रयत्न हुनुपर्छ ।
(१२) आगामी पञ्चवर्षीय योजनामा अबको आर्थिक विकासको उद्देश्य, लक्ष्य, नीति र रणनीति स्पष्ट रूपमा दिग्दर्शित हुनुपर्छ ।
(१३) विक्षिप्त आर्थिक स्थितिलाई कति ढाकछोप गर्ने ? यो पुरानै रोगको निरन्तरता हो । विसंगतिहरू स्वीकार गर्ने हिम्मत हुनुपर्छ, अनि मात्र सुधारको गुञ्जायस रहन्छ ।
(१४) कृषिक्षेत्रको उत्पादन र निर्यातमा अभिवृद्धि, पर्यटन, जलविद्युत्लगायत सम्भाव्य साना तथा घरेलु एवं मझौला उद्योगहरूको विकास र भौतिक पूर्वाधारमा निजी र वैदेशिक लगानी प्रवद्र्धन र भ्रष्टाचार कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।
(१५) हाम्रो अर्थतन्त्र रेमिट्यान्स, आयात र थोरै अंशमा वैदेशिक सहयोगमा निर्भर छ ।
(१६) आयातमा आधारित महँगी नियन्त्रण, स्वदेशमा रोजगारी प्रवद्र्धन, जनशक्तिको गुणस्तर अभिवृद्धि र सम्भाव्य क्षेत्रका आधारमा मुलुकको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय र विश्व अर्थतन्त्रसँग जोडेर उच्च, दिगो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्नु नै हाम्रो अर्थतन्त्रको मुख्य चुनौती हो । अब हामीले अशातीत रूपमा मर्यादापूर्वकको आर्थिक विकास गर्न सकेनौं भने मुलुकको अस्मिता जोखिममा पर्ने निश्चित छ । जय राष्ट्र ! जय जनता !!