कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५
497

देशमा लगानी गर्ने राम्रो वातावरण भए देशमा रहेको पुँजी बाहिर जान कम हुन्थ्यो । लगानी देशभित्रै भए देशको अर्थतन्त्र पनि राम्रो हुन्छ ।

मानिसहरू विभिन्न व्यावसायिक कार्ययोजनाका लागि आफ्नो केही रकम लगानी गर्छन् । लगानी गरेको रकमले कुनै व्यवसायबाट राम्रो प्रतिफल पाइछ त कुनै व्यवसायबाट घाटा । पुँजीबजारमा लगानी नेपालमा मात्र नभई विश्वव्यापी रूपमै भएको पाइन्छ ।
आज हरेक युवा, हरेक आर्थिक क्षेत्रमा काम गर्ने व्यवसायी, विद्यार्थी वर्ग, गृहिणीलगायत अधिकांश मानिसको रोजाइको लगानी पुँजीबजार विश्वव्यापी रूपमा अगाडि बढ्दै गइरहेको छ ।

त्यस्तैगरी हाम्रो देश नेपालमा पुँजीबजारमा लगानी गर्नेहरूको भीड हरेक ब्रोकर हाउसमा लाग्ने गर्छ । त्यहाँ सेयर खरिद तथा बिक्री हुनुका साथै विभिन्न ठूला कम्पनीको निष्कासन हुने सेयर संख्या, सेयरको मूल्यलगायत देशमा रहेको पुँजीबजारको विषय अध्ययन गर्न मानिसहरू आउने गर्छन् ।
राजनीति दलका नेतादेखि देशका उच्च ओहदामा बस्ने मान्यजनहरूले समेत सेयर बजारमा लगानी गरिरहेका छन् । कम्पनी हेरी १ हजारदेखि लाखौं–अर्बौंसम्म बजारमा दैनिक सेयर किनबेच भएको छ । सर्वसाधारणले आफ्नो गच्छेअनुसारको बढी (आईपीओ) र देशमा बढी चलेका कम्पनीहरूको सेयर किन्ने गर्छन् ।
मानिसहरूले आफ्नो पुँजीअनुसार लगानी गर्ने क्षेत्र भनेको जलविद्युत् क्षेत्र, बैंक र वित्तीय सस्था, ठूला उत्पादन मूलक कम्पनी, बिमाक्षेत्र, कृषिलगायत धेरै साना तथा ठूला क्षेत्रमा आफ्नो केही रकम लगानी गर्छन् र प्रतिफल भने केही महिनापछि मात्र हुने गर्छ । कुनै कम्पनी नाफामा भएको खण्डमा प्रतिफल पनि चाँडै हुन्छ भने अत्यधिक नाफामा हुने कम्पनीहरूले लगानी गरेको पुँजीका आधारमा कम्पनीको केही हिस्सा सर्वसाधारणलाई बोनससमेत दिने गरेको पाइन्छ । बोनस दिने कम्पनीमा बढी बैंक तथा वित्तीय संस्थाहरू पाइएको छ ।
देशमा हरेक दिनजसो नयाँ–नयाँ कम्पनीको सेयर विभिन्न दररेटमा बजारभित्र आइरहेको हुन्छ । त्यसमा पनि सर्वसाधारणले बढ्दो आकर्षणका साथ मूल्यअनुसार बढी पुँजीका हिस्साहरू किनिरहेका हुन्छन् । कोही सर्वसाधारण भने पुँजीको कम हिस्सा किन्ने गर्छन् । यसको प्रतिफल सेयर पर्ने र नपर्ने हुन्छ । परेको खण्डमा पुँजी दोब्बर हुन आउँछ भने नपरेमा आफूसँग भएको पूरै रकम फिर्तासमेत आउने गर्छ ।
देशमा हुने बेला–बेलाको राजनीतिक घटनाक्रमले गर्दा पनि लाखौं–करोडौं बराबरको पुँजीबजार ओरालो लागिरहेको हामी सुन्न सक्छौं । देशमा हुने बन्द, हड्तालले गर्दा अर्बौं रुपैयाँ राज्यले घाटा बेहोर्ने त छँदै छ, सर्वसाधारणको समेत पुँजीबजारमा नकारात्मक प्रभाव पर्दा धेरैको उठीबाससमेत भएको हामी अनुमान गर्न सक्छौं । नाफा भएका बेला पुँजीको मूल्य बजारमा अत्यधिक बढेको अवस्थामा सेयर धनीहरूलाई अत्यधिक नाफासमेत हुने गरेको छ ।
मानिसहरू हरेक सार्वजनिक ठाउँ होस्, हरेक साथीभाइबीच जम्काभेट होस्, बजारमा हुने पुँजीको विषयमा टीका–टिप्पणी गर्ने गर्छन् । यसले अझ पुँजीमा लगानी गर्ने हौसला प्रदान गर्छ भन्ने आममानिसको सोचाइ रहेको पाइन्छ । देशमा लगानी गर्ने राम्रो वातावरण भए देशमा रहेको पुँजी बाहिर जान कम हुन्थ्यो । लगानी देशभित्रै भएमा देशको अर्थतन्त्र पनि राम्रो हुन्छ । देश समृद्ध हुन देशभित्र भएको स्रोत, साधन र पुँजीलाई आर्थिक रूपमा मजबुत बनाउनुपर्छ । देशको पुँजीबजार भोलिको समृद्धिको मुख्य मेरुदण्ड हुन सक्छ ।
—गोविन्द चापागाईं