कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
732

केही अघि गण्डकी प्रदेश सरकारले हालसम्म पर्वतारोहीहरूका लागि आरोहण गर्न नेपाल सरकारले प्रतिबन्ध लगाएको माछापुछ्रे हिमाल खुला गर्नेबारे सुझाव दिन एक कार्यदल गठन गरेको छ । हुन पनि सन् १९५६-५७ तिर तत्कालीन सरकारले प्रतिबन्ध लागाएको थियो । त्यसअघि खुल्लै थियो ।
आज पनि हाम्रो देश नेपालको सहर बजारमा जन्मिएका र पढालेखा, शिक्षित र चेतनशील भनिएकाहरूले नै धार्मिक अन्धविश्वास र परम्रागत रूपमा चलेको रुढिवादलाई मान्दै र अनुसरण गर्दै आएको देखिन्छ भने गाउँघरमा जन्मेहुर्केका र सोझासिधा मानिएका मान्छेहरूको मनमा त झनै धर्म र देवी–देउताप्रति मनमा गहिरोसँग आस्था र विश्वास गढेर रहेको हुन्छ नै ।

हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन हिमाल माछापुछ्रेका बारेमा रहेका केही धार्मिक विश्वास र मूल्यमान्यता पनि जोडिएको देखिन्छ, तर अब यो हिमाल आरोहणका लागि खुला गरेर गण्डकी प्रदेश सरकारको आयस्रोतको गतिलो माध्यम बनाउन सकिन्छ । गण्डकी प्रदेश सरकारले माछापुछ्रेलाई खुला गर्न के–कसो गर्दा राम्रो हुन्छ ? भनी अध्ययन गर्नका लागि विज्ञहरूको एक टोली गठन गरेसँगै हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन हिमाल माछापुछ्रेलाई अझैं पनि निषेधित रूपमै राख्नुपर्ने भनी केही व्यक्तिले आवाज उठाएको भन्ने समाचार पनि आएको थियो ।
अचम्म त के छ भने यसरी माछापुछ्रे हिमाललाई अझैं पनि र सदासर्वदाका लागि निषेधित नै राख्नुपर्छ भनी गुरुङ जातिका एक जना डाक्टरले समेत प्रतिक्रिया दिएका थिए । जो हाल कुनै प्राज्ञिक संस्थाको प्रमुख भएका छन् । उनको भनाइ थियो, “माछापुछ्रे हिमाललाई हिन्दू धर्मावलम्बीहरूले साक्षात देवी मान्ने भएकाले उक्त हिमाल चढ्नका लागि खुला गरिनु हुँदैन ।” निश्चय नै यसरी पढालेखा मात्र होइन, कुनै एक विषयमा विज्ञता हासिल गरेका पिएचडी डाक्टरको चेतनाको स्तर र बुझाइ यस्तो हुन्छ भने अपेक्षित रूपमा कम पढालेखा, अशिक्षित, पाखे, चेतना–शून्य ! मानिएका-भनिएका र गाउँघरमा जन्मेका हुर्केका र सोझासीधा मानिएका जनको मनमा त धर्म र देवी–देउताप्रतिको सोचमा के–कस्तो सोचाइले घर गर्दा होे ?
जे होस्, माछापुछ्रे हिमाल खुला गर्ने सम्बन्धमा कुरो गर्दा यो हिमाल सुरुदेखि पर्वतारोहीहरूलाई आरोहणका लागि निषेध गरिएको हिमाल होइन । लगभग ६२-६३ वर्ष अघिदेखि मात्रै माछापुछ्रे हिमाल पर्वतारोहीहरूलाई आरोहण गर्न प्रतिबन्ध लगाइएको हो । त्यसैले ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुछ्रे हिमाललाई आगामी दिनमा पर्वतारोहीहरूका लागि फेरि खुला गर्ने हो भने गण्डकी प्रदेशको प्रदेश सरकारको सोच र विचारका बारेमा एक पर्यटन मजदुर भएको नाताले हेर्दा प्रदेश सरकारकोे सो विचार धेरै राम्रो हो भन्ने ठान्छ । त्यसैले गण्डकी प्रदेश सरकारले हालसम्म प्रतिबन्धित रूपमा रहेको माछापुछ्रे हिमाल सक्दो छिटो खुला गर्नेतर्पm कदम चाल्नका लागि राजनीतिक निर्णय गरेर यही पर्यटकीय मौसममा पर्यटकहरू जान पाउने गरी निर्णय गर्नुपर्छ । माछापुछ्रे हिमाल किन र कसको स्वार्थमा प्रतिबन्धित भयो ? भन्ने तल चर्चा गरिनेछ ।
हो, कुनै एक विदेशी पर्वतारोहीको स्वार्थका कारण तत्कालीन सरकारले आरोहणका लागि प्रतिबन्ध लगाएको हो । माछापुछ्रेमाथिको प्रतिबन्ध हालसम्म पनि कायमै रहनु भनेको निश्चय नै दुःखद मान्नुपर्छ । त्यसो त सन् २००१ मा पनि राष्ट्रिय समाचार समितिले पर्वतारोहीका लागि ‘निषेधित उक्त चुली’ (माछापुछ्रे) अब पुनः पर्वतारोहीका लागि खुला गर्ने कि नगर्ने ? भन्ने सम्बन्धमा पोखराका बुद्धिजीवी, पर्यटन व्यवसायीलगायत सम्बन्धित विषयमा सरोकार राख्ने मानिसहरूसँग छलफल चलाएको थियो । स्मरणीण छ, उक्त छलफलका क्रममा मुख्यतया तीनवटा विषय उठान भएको थियो— १. खुला गर्ने कि नगर्ने भन्ने विषयमा भाग लिएका पहिलो पक्षले माछापुछ्रे हिमाल सुन्दर र पवित्र भएकाले पर्वतारोहणका लागि खोल्न नहुने, २. दोस्रो पक्षले अध्ययन गर्नुपर्ने र ३ तेस्रो पक्षले साविकका गाविस र स्थानीय बासिन्दाहरूसँग सोध्नुपर्ने-स्थानीयवासीहरूको धारणा बुझ्नुपर्ने भन्ने विचार राखेका थिए ।
–निमाम कुलुङ ‘मंगले’