कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५
738

खेलकुद, अध्ययनबाहेक हातमा सीप भएकाहरूले मुडा बुन्ने, गुडिया बनाउने, टोपी बुन्नेदेखि क्यान्टिन चलाउने काम गर्ने गरेका छन् ।

सामान्यतया कारागार अपवादलाई बाहेक अन्यलाई अप्रिय लाग्छ । तर, कारागारमा श्रम गरेर कमाइ गरिरहेकाहरू भने कारागार प्यारो भएको बताउँछन् । यस्तै एक अपवाद हुन्— इलामका दीपक राई । कैद भुक्तान गरिरहेका राईलाई कारागार प्यारो लाग्छ । १२ वर्षदेखि विभिन्न कारागारमा बसिसकेका दीपक अहिले इलाम कारागार आइपुगेका छन् । अरू कारागारभन्दा इलाममा फरक अनुभव गरिरहेको उनी सुनाउँछन् ।
अपराध भुक्तान गर्ने कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायतका आधारभुत कुरामा पनि देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहेको अवस्थामा इलाम कारागारका कैदीहरू भने आफू बसिरहेको कारागारलाई सुधारगृहका रूपमा अथ्र्याउने गर्छन् ।

विराटनगरबाट कैदी जीवन सुरु गरेका दीपकले यसअघि झापा, सुनसरी, सप्तरीका जेलहरूमा कैद भुक्तान गरेको सुनाए । दुई वर्षअघि इलाम कारागारमा आएका उनले भने, “सप्तरीबाट आउँदा यो कारागार हैन, होस्टेलजस्तै लाग्यो ।”
बिरामी पर्दा सिटामोलसमेत नपाउने जेलहरूमा दुःख भोगेर आएका दीपकले यहाँ रुघा लाग्दासमेत स्वास्थ्यकर्मीको सेवा पाएको बताए ।
कारागारभित्र फुटसल खेल्नेका लागि खेल मैदानको व्यवस्था छ । कारागारअगाडिको पोखरीमा माछा सलबलाएको हेर्दै दिन काट्ने धेरै भेटिन्छन् ।
जेलर भक्तबहादुर खड्काका अनुसार करिब ९ सय पुस्तक रहेको पुस्तकालय, जिमखाना, भलिबल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्किपिङलगायतका खेलहरूका लागि सामग्री र मैदानको व्यवस्था जेलभित्रै रहेकाले पनि अपराधको पश्चात्तापबाहेक कैदीहरूले अरू असुविधा भोेग्नु पर्दैन ।
नेपालकै पहिलो नमुना कारागारका रूपमा भौतक संरचना निर्माण गरिएको कारगारको क्षमता १ सय २५ जना अटाउने हो । माओवादी द्वन्द्वको चपेटामा परेपछि पुनर्निर्माण गरिएको नयाँ जेललाई सुधारगृहको परिकल्पना गरेर निर्माण गरिएको भए पनि व्यवस्थापकीय पक्षमा भने धेरै कुरा सुधार गर्न आवश्यक रहेको जेलर खड्का बताउँछन् ।
उनका अनुसार आर्थिक अभावका कारण कैदीहरूको जीवनमा आमूल परिवर्तन ल्याउन सञ्चालन गर्नुपर्ने उत्प्रेरणात्मक कार्यक्रमहरू अहिले पनि गर्न सकिएको छैन । केहिलेकाहीं योगा र प्रवचनहरू भए पनि जीवनोपयोगी धेरै काम गर्न नसकिएको उनले सुनाए ।
अरू जेलहरूमा चौकीदार, नाइके र सहायक नाइके छनोट प्रभावशालीहरूको दबाबमा गर्ने भए पनि इलाम कारागारमा कैदीहरूले नै प्रजातान्त्रिक प्रक्रियाबाट आफ्ना अगुवाहरू छनौट गर्ने गरेको उनले बताए ।
कारागारमा ७० वर्षमाथिका वृद्धाहरूलाई बेग्लै राखिएको छ । नुहाउने र शौचालयको सहज पहँुच भएको कोठामा राखिएका वृद्धाहरूका लागि चौकीदारको व्यवस्था गरेको जेलर खड्काले बताए । कैदीहरूको अवस्था नियाल्न नाइटभिजन सीसी क्यामेरा जडान गरिएको छ भने स्वास्थ्य उपचारका लागि एक जना अहेबले कारागारमै सेवा प्रदान गर्दै आएका छन् । खड्काले भने, “प्राथमिक उपचारका लागि उपकरण, बेड र स्वास्थ्यकर्मी अस्पतालमै उपलब्ध छ ।”
भर्खरै चौकीदारमा नियुक्त दीपक राईका अनुसार खेलकुद, अध्ययनबाहेक हातमा सीप भएकाहरूले मुडा बुन्ने, गुडिया बनाउने, टोपी बुन्नेदेखि क्यान्टिन चलाउने काम गर्ने गरेका छन् । मुडा बनाउने पेसाबाट मात्रै करिब ५० जनाले रोजगारी पाएको राईले बताए । काम गर्नेले क्षमताअनुसारको आयआर्जन गरेर दिन काटिरहेको उनले बताए ।
इलाम कारागारको मुडा निकै चर्चित मानिन्छ । कारगारका कैदीहरूले महिनामा १ सय ५० को हाराहारीमा मुडा बिक्री गर्ने गरेका छन् । कारागारको मुडा प्रतिगोटा ३ सयदेखि ५ सयसम्ममा बिक्री हुने गरेको राईले बताए ।
जेलर खड्का भन्छन्, “जेललाई सुधारगृहकै रूपमा विकास गर्न प्रयास गरिरहेका छौं ।” सरकारले उपलब्ध नगराएका सुविधाहरू स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा पनि उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताए ।
टीका खतिवडा