दिलीपकुमार मुनंकर्मी
आइतवार, माघ ६, २०७५
734

सेयर बजारको दीर्घकालीन विकास र बजार पुँजीकरणको यथार्थ जानकारीका लागि तथ्यांकमा शुद्धीकरण र गणना विधिमा सुधार अपरिहार्य छ ।

बजार पुँजीकरण र गणना
बजार पुँजीकरण भनेको धितोपत्र वा सेयर बजारमा सूचीकृत कम्पनीहरूको कायम सेयरको रुपैयाँमा अभिव्यक्त प्रचलित कुल बजार मूल्य हो । सूचीकृत सबै कम्पनीको कुल बजार मूल्यको योगलाई सामान्यत: बजार पुँजीकरण भनिन्छ । यस हिसाबले सूचीकृत कम्पनीहरूको तत्कालको कुल बजार मूल्य नै बजार पुँजीकरण हो । यसले सूचीकृत कम्पनीहरूको सेयरको माग र आपूर्ति, व्यवसाय, मुनाफा, जोखिमजस्ता पक्षहरूको विश्लेषणका आधारमा क्रेताले तिरेको वा तिर्न चाहेको प्रतिकित्ता सेयरको बजार मूल्य र सोका आधारमा बजारमा कम्पनीको मूल्यगत हिस्सा र प्रभावलाई अभिव्यक्त गर्छ ।
सामान्यत: कम्पनीको कायम सेयर कित्तालाई प्रतिकित्ता अन्तिम कारोबार मूल्यले गुणन गरेर कम्पनीको बजार पुँजीकरण निकालिन्छ । सूचीकृत कम्पनीको बजार पुँजीकरणलाई जोडेर समग्र सेयर बजारको पुँजीकरण निकालिन्छ ।
नेपाली पुँजीबजारको सन्दर्भमा सूचीकृत कम्पनीहरूको न्यूनतम १० कित्ता सेयरको कारोबार मूल्यका आधारमा कायम हुने प्रति एक कित्ताको मूल्यले कुल सेयर संख्यालाई गुणन गरेर पुँजीकरण निकालिन्छ । १० भन्दा कम कित्ता जतिसुकै मूल्यमा कारोबार भए पनि पुँजीकरण गणना प्रयोजनमा प्रयोग हुँदैन । उदाहरणका लागि नेपाल टेलिकमको सूचीकृत १५ करोड कित्ता सेयरलाई प्रतिकित्ता कारोबार मूल्य रु. ७ सय ३३ ले गुणन गर्दा आउने रु. १ खर्ब ९ अर्ब ९५ करोड नै नेपाल टेलिकमको बजार पुँजीकरण हो । सूचीकृत कम्पनीको सेयर मूल्य परिवर्तनसँगै बजार पुँजीकरण परिवर्तन हुन्छ । नयाँ कम्पनीहरू सूचीकृत भएको अवस्थामा पहिलो कारोबार दिनको अन्तिम कारोबार मूल्यले कम्पनी र बजार पुँजीकरणमा योगदान गर्छ ।

केही भ्रम र यथार्थता
प्राय: व्यक्तिले बजार मूल्यलाई नै कम्पनी तथा सेयर मूल्य मूल्यांकनको औजारका रूपमा लिने गरेका छन् । तर, सेयरको प्रचलित मूल्य उचित वा अनुचित अर्थात् सस्तो वा महँगो बजार मूल्यले मूल्यांकन गर्दैन । यस्तै बजार पुँजीकरणले सूचीकृत सेयरको बजार मूल्य र धितोपत्र बजारको मौद्रिक अवस्था बताए तापनि कति हुनुपर्ने, यथार्थ छ वा छैन केही बताउँदैन । बजार पुँजीकरणले कम्पनीको प्रचलित बजार मूल्य र सोका आधारमा सेयर बजारको मूल्यगत आकार मात्र जनाउँछ ।
बजार मूल्यका आधारमा सेयरधनीहरूको समृद्धि र सम्पत्ति पनि आंशिक सत्य मात्र हो । किनभने प्रचलित बजार मूल्यले केवल किनबेच भएको वा तत्कालीन अवस्थामा भएको कारोबारका आधारमा उक्त कम्पनीका सम्पूर्ण सेयरधनीहरूको सम्भावित सम्पत्ति अर्थात् स्वप्निल (भर्चुअल) सम्पत्तिलाई मात्र अभिव्यक्त गर्छ । उदाहरणको लागि नेपाल टेलिकमको सूचीकृत १५ करोड कित्ता सेयरको ठूलो हिस्सा कारोबारका लागि उपलब्ध छैन, तर सबै सेयरको मूल्य बजारको प्रचलित दरमा गणना हुँदा सबैभन्दा बढी पुँजीकरण भएको कम्पनी मान्नु कति यथार्थ लगानीकर्ता र अर्थविद्हरूका लागि विचारणीय हुनेछ । यस्तै कुनै कम्पनीको केही लाख कित्ता थप हुँदा आपूर्ति बहानामा बजार मूल्य प्रभावित हुने हाम्रो बजारमा तत्काल कायम मूल्यका आधारमा गणना गरिएको कम्पनीको पुँजीकरण र सेयरधनीको सम्पत्ति केवल क्षणिक हुन र यसले वास्तविक अवस्था व्यक्त गर्न सक्दैन ।
तैपनि बजार पुँजीकरण र प्रचलित बजार मूल्यलाई पूर्णत बेवास्ता पनि गर्न सकिँदैन । यसले सेयर बजारको तत्कालीन अवस्थालाई सतही रूपमा भए पनि देखाइरहेको हुन्छ ।

नेपालको बजार पुँजीकरण र केही प्रश्न
नेप्से परिसूचक १८८१ हुँदा २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको बजार पुँजीकरण हाल १४ खर्ब ४८ अर्ब हाराहारी रहेको छ, जहाँ २०२ कम्पनीका ३ अर्ब ९४ करोड ५१ लाख ६ हजार ८ सय कित्ता सेयर सूचीकृत छन् । बजार पुँजीकरण र कुल गार्हस्थ उत्पादनको अनुपात करिब ४८ प्रतिशत छ । नेपाल टेलिकमले नेतृत्व गर्दै आएको बजार पुँजीकरणका मुख्य दस कम्पनीहरूमा नेपाल इन्भेस्टमेन्ट, नविल, स्ट्यान्डर्ड चार्टर, एभरेस्ट, हिमालयन, एनआईसी एसिया र नेपाल एसबीआई बैंकबाहेक भर्खर सूचीकृत अप्पर तामाकोसी हाइड्रोपावर र नेपाल लाइफ इन्स्युरेन्स छन् ।
अर्थतन्त्रको मेरुदण्ड मानिने उत्पादन र सेवा उद्योगहरूको दरिलो उपस्थिति नभएको मात्र होइन, धितोपत्र धितोपत्र बजारका मुख्य औजार डिबेन्चर, बन्डको समेत उपस्थिति नभएको नेपाली पुँजीबजार विशुद्ध सेयर बजारका रूपमा रहँदै आएको छ । विश्व पुँजीबजारभन्दा फरक चरित्रको नेपाली पुँजीबजारमा बजार पुँजीकरणको गणनाको सामान्य सूत्रबाट गणना गरिएको बजार पुँजीकरणको तथ्यांक र अर्थतन्त्रसँगको सम्बन्ध कति स्वाभाविक भन्ने निम्न प्रश्नहरू उठेका छन् :
१. मूल्यगत विभेद : अन्तर्राष्ट्रिय प्रचलन विपरीत नेपालमा एउटै कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको कारोबार प्रक्रिया र मूल्यसमेत फरक हुन्छ । त्यसले सामान्य सूत्रअनुरूप प्रतिकित्ता कारोबार मूल्यले सूचीकृत सेयर संख्यालाई गुणन गरी बजार पुँजीकरण गणना गर्नु नै गलत हुनेछ । सूचीकृत कम्पनीको करिब ५५ प्रतिशत सेयर संस्थापक रहेको अवस्थामा सर्वसाधारण सेयरको केही कित्ताले सम्पूर्ण सेयरको यथार्थ मूल्यको प्रतिनिधित्व हुन नसक्ने मात्र होइन, संस्थापकमध्ये पनि निश्चित संस्थापक सेयर मात्र सहज कारोबरको विशेष व्यवस्था भएको नेपाल इन्भेस्टमेन्ट र नविल बैंकको सेयरको तीन थरी मूल्य कायम हुने अवस्था छ ।
२. बुकक्लोज र सूचीकरण : कम्पनीहरूले बोनस सेयर प्रस्ताव गरी बुक क्लोज गरेसँगै प्रचालित सेयरमूल्यमा प्रस्तावित बोनस दरअनुरूप मूल्य समायोजन गरिन्छ, तर सोही अनुपातमा सेयर संख्यामा समायोजन हुन नसक्दा बजार पुँजीकरण प्रभावित भएको देखिन्छ । बोनस सेयरसहित बुक क्लोज गरेका एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, ग्लोबल आईएमई, सिटिन्स इन्टरनेसनल, हिमालयन, नेपाल एसबीआई, सिद्धार्थ बैंकका साथै निर्धन लघुवित्तजस्ता कम्पनीहरूको मूल्य समायोजनसँगै सूचीकृत सेयर संख्या समायोजन नहुँदा बजार पुँजीकरण फरक परेको आशंका गरिएको छ । उदाहरणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको १८ प्रतिशत बोनस सेयरको बुक क्लोजसँगै बजार मूल्य ६ सय ८१ बाट ५ सय ७७ रुपैयाँमा समायोजन गरिएसँगै सूचीकृत सेयर संख्या समायोजन नहुँदा बैंकको पुँजीकरण करिब १० अर्बभन्दा बढीले प्रभावित भएको अनुमान गरिएको छ ।
३. समन्वयको अभाव : कम्पनीहरूको कायम यथार्थ सेयर संख्या र सूचीकृत सेयर संख्याबीच समेत केही फरक देखिएको छ । उदाहरणका लागि नेप्सेको तथ्यांकअनुसार मेगा बैंक नेपालको १० करोड ४८ लाख ९३ हजार ९ सय ७१ किता सूचीकृत छ, जबकि कम्पनीका अनुसार १० करोड २८ लाख ५५ हजार २ सय ७० कितामात्र सेयर कायम छ । फरक २० लाखभन्दा बढी कित्ताको अन्तिम कारोबार मूल्यअनुसार पनि बजार पुँजीकरण ३४ करोड ६५ लाखले फरक पर्ने देखिन्छ । यस्ता उदाहरण अन्य केही कम्पनीहरूमा पनि पाउन सकिन्छ ।

सुधारका उपाय
लगानीकर्ताहरूको लगानी निर्णय मात्र होइन, सेयर बजारको आकार र अर्थतन्त्रसँगको सम्बन्धसमेत परिभाषित हुने बजार पुँजीकरणको तथ्यांक शुद्ध र यथार्थ हुनु अति जरुरी छ । गलत तथ्यांकका आधारमा गरिने लगानी वा नीतिगत निर्णयहरूको परिणाम गलत नै हुनेछ ।
१. सेयरको मूल्यगत भिन्नताले सिर्जना गरेको गलत पुँजीकरणलाई सुधार गर्न सबैभन्दा उत्तम विकल्प अन्तर्राष्ट्रिय प्रचलन अनुरूप संस्थापक र सर्वसाधारण सेयरको एउटै मूल्य कायम गर्नु हुनेछ । मूल्यगत भिन्नता कायम नै रहने अवस्थामा कम्पनीमा कायम संस्थापक र सर्वसाधारण सेयरको हिस्साअनुसार फरक मूल्यमा पुँजीकरणको गणना गरेर बजार पुँजीकरण निकालिनुपर्छ ।
२. बुकक्लोज र सूचीकरण बीचमा हुने सेयर संख्याको फरकबाट बजार पुँजीकरणमा प्रभाव पर्न नदिन कम्पनीको साधारण सभाले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्र मूल्य र सेयर संख्या एकै पटक समायोजन गरिनुपर्छ । होइन भने प्रस्तावित बोनस सेयरको आधारमा मूल्यसँगसँगै सूचीकृत सेयर संख्या पनि समायोजन गरिनुपर्छ । विकल्पमा सूचीकरण प्रक्रियामा रहेको सेयर संख्यालाई अलग्गै उल्लेख गर्न सकिन्छ ।
३. कम्पनीमा कायम र सूचीकृत सेयर संख्याको फरकबाट बजार पुँजीकरणमा पार्ने प्रभाव नगण्य भए तापनि कम्पनीले बोनस वा हकप्रद सूचीकरण गर्दा यथार्थ विवरण उपलब्ध गराउनुपर्ने र सोही आधारमा नेप्सेले उक्त कम्पनीको सूचीकृत सेयर संख्या कायम गरी तथ्यांकमा एकरूपता ल्याउन जरुरी देखिन्छ ।
४. कुल बजार पुँजीकरणमा सुधारका लागि हाल प्रचलित न्यूनतम कित्ताको आधारमा पुँजीकरण गणना विधिमा नै परिमार्जन गरी दैनिक वा साप्ताहिक वा निश्चित प्रतिशत सेयरको कारोबारबाट कायम हुने औसत मूल्यका आधारमा कम्पनीको पुँजीकरण गणना गर्ने विकल्प रहन्छ । अर्को विकल्प कारोबारका लागि उपलब्ध फ्लोटेड सेयरका आधारमा दैनिक बजार पुँजीकरण गणना र सार्वजनिक गर्ने तथा कुल बजार पुँजीकरण केवल मासिक वा साप्ताहिक रुपमा सार्वजनिक गर्न सकिन्छ ।
बजार पुँजीकरणको सोझो सम्बन्ध सूचीकृत कम्पनी, सूचीकृत पहिलो दिनको अन्तिम कारोबार मूल्य, सेयर संख्या र मूल्यसँग हुन्छ । आधाभन्दा बढी सेयरको फरक मूल्य र कम्पनीको यथार्थभन्दा फरक सेयर संख्याको आधारमा गणना गरिएको बजार पुँजीकरणका आधारमा सेयरधनीको सम्पत्ति र अर्थतन्त्रमा पुँजीबजारको हिस्सा सम्बन्धी तथ्यांक सही मान्ने आधार देखिन्न । सेयर बजारको दीर्घकालीन विकास र बजार पुँजीकरणको यथार्थ जानकारी लागि तथ्यांकमा शुद्धीकरण र गणना विधिमा सुधार अपरिहार्य छ ।

सातामा धेरै पढिएको