कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
538

संखुवासभा जिल्लाको दुर्गम क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिकाको वडा नम्बर २ को स्वास्थ्य चौकीमा कार्यरत एक अनमीलाई स्वास्थ्य सेवा विभागले काजमा गण्डकी अञ्चल अस्पताल पोखरा पठाएपछि स्थानिय मारमा परेका छन् । सबैतिर हारगुहार गरेर बल्लतल्ल गाउँमा पुराइएको अनमी अन्यत्रै काजमा लगिएपछि यतिबेला सिलिचोङका स्थानीय थप संकटमा परेका हुन् ।
गाउँपालिकाले आर्थिक भार ब्यहोरेर व्यवस्था मिलाएको स्वास्थ्यकर्मी विभागले अन्यत्रै लगिदिएको भन्दै गाउँपालिकाले स्वास्थकर्मीको तलब रोक्का गरेको छ । वडाको स्वास्थ्य चौकीलाई शून्य पारेर अन्यत्र पठाएको विरोधमा तलब रोक्का गरिएको गाउँपालिकाले जनाएको छ ।
अनेक प्रयासपछि ल्याएको एक जना महिला अनमी पनि अन्यत्र सुगम ठाउँमा काजमा पठाएर स्वास्थ्य विभागले दुर्गमका नागरिकहरुको स्वास्थ्य माथी खेलवाड गरेको सिलिचोङ गाउँपालिका २ का वडाध्यक्ष मोहनशमशेर कुलुङको भनाइ छ । २४ सै घण्टा प्रसूति सेवा दिँदै आएको स्वास्थ्य चौकीमा अनमी नहुँदा सेवा नै अवरुद्ध भएको कुलुङले जानकारी दिए ।
काजमा गएको अनमीको तलब सुविधा रोक्का गरी प्रभावित भएको स्वास्थ्य सेवा सुचारु गर्न तत्काल अर्को अनमी नियुक्त गर्न लागिएको सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले जानकारी दिए । हालसम्म सवारी साधनको पहुँच नरहेको सिलिचोङ गाउँपालिकाबाट सदरमुकाम आउन २ दिनको पैदल दूरी पार गर्नूपर्छ । अहिले उक्त स्वास्थ्य चौकीमा प्रसूति सेवा नहुँदा अनावश्यक खर्च लाग्नुका साथै ज्यानको जोखिम बढिरहेको गाउँपालिकाका अध्यक्ष राम बहादुर कुलुङले बताए ।